भावकेशर बरालके गर्दै छन् उनीहरू ?
संस्कार र संस्कृतिकै गुलाबी झन्डामा बेरिएर देउसी गीत गाउँदै छन् भन्ने सुन्छु । बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे अचानक... अचानक आज कोको आइपुगेका छन् गोलघरको आँगनमा र, आखिर के गर्दै छन् उनीहरू ?

भावकेशर बराल :
सेतो चहकिलो ब्यानरभित्र
काला घुर्मैला अक्षरहरूमा
के-के पोतिएको छ हँ ?
संस्कृति….भातृत्व….मानवता ….
या यस्तै अरू केही !
मलाई थाहा छ
यी सब गुलिया लड्डुहरू हुन्
घिउसित खान मिल्ने चिल्ला सपनाका लड्डु
आज बाह्र वर्ष भयो
घरको मूल ढोकामा ताल्चा मारिएको
किन कोही आइपुगेनन् आजसम्म
कहिल्यै कसैले खोजी गरेन आजसम्म
अचानक… अचानक आज
संस्कृति र भातृत्वको भद्दा राग अलाप्दै
कोको आइपुगेका छन् गोलघरको आँगनमा
र, आखिर के गर्दै छन् उनीहरू ?
सुनेको छु
वर्षौदेखिका निशाचरहरू
दिउँसै निस्फिक्री घुम्न थालेका छन् ।
भन कसरी बिर्सनू
रातमा हठात् घरकै कोठाभित्रबाट
एक्कै छिन है बा भनेर बाहिरिएका
छोराको लास इपिलको हाँगामा बेवारिस झुन्डिएको
छोरीको बलात्कृत नग्न शरीर उखुबारीमा मिल्किएको
घरको आँगन घरि सामन्तवाद घरि आतङ्कको केन्द्र बनेको
त्यतिबेला कुन अँध्यारो कोठीमा कस्तो योजना बनाउँदै थिए
मानवअधिकारका कथित हिमायतीहरू ?
सुरक्षाको ठेक्का पाएका कुलीन ठेकेदारहरू ?
वात्सल्य वियोगको घोर पीडामा छट्पटाउँदै
आँसुको पोखरीमा डुबेर पनि
अन्तिमपटक श्रद्धाका सेता आँचलमा
संस्कारको सनातन अँजुलीभरि
सन्तानका सम्झनाले भरूँभन्दा
किरियाघरबाटै मलाई गलहत्याउनेहरू
मसानघाट बनेको घरको अन्धकार चौघेराभित्र
संस्कार र संस्कृतिकै गुलाबी झन्डामा बेरिएर
देउसी गीत गाउँदै छन् भन्ने सुन्छु ।
बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे
अचानक… अचानक आज
कोको आइपुगेका छन् गोलघरको आँगनमा
र, आखिर के गर्दै छन् उनीहरू ?
०००
काठमाडाैं








































हो,…निशाचरहरू दिउसै निस्फिक्री घुम्न थालेका छन्’…।
बधाई छ बराल सर ।