भावकेशर बरालमायाको बिस्कुन
बिहानैदेखि मनमा फुलाएर बैँसालु गुलाब तिनै फूलका पत्रहरूले सजाएर म आउने बाटो थालीका खण्ड खण्डमा भरेर कुमारी माया कुर्दा कुर्दै लोलाएछन् श्रीमतीका आँखा ।

भावकेशर बराल :
प्रणय दिवसमा
हातमा रातो गुलाब
र, तिनै गुलाबी वास्नामा छरेर मायालु चाहना
एकाबिहानै मायाकै खोजीमा निस्किएको मन
दिनभरि घरतिर फर्किएन ।
राजमार्गका अनगिन्ती घुम्तीहरूमा
नागबेली नदीजस्तै बग्दाबग्दै
बगरमा मिल्किएको बग्रेठोजस्तो
अथवा कुनै अम्मलीले यत्नपूर्वक
आफ्ना ओठले धित मरुन्जेल चुमेपछि
एस्ट्रेमा फ्याँकेको चुरोटको ठुटोजस्तो
उदास उदास र निराश निराश बनेको मन
रहरका काल्पनिक छालहरूसित हुत्तिँदै
मायाको बिस्कुन फिजाएर बेखबर भयो ।
ओइलाएको गुलाब बोकेर बेलुका
युद्धमा हारेको अभिशप्त सिपाही जस्तो
अथवा सिकार गुमेको घाइते बाघ जस्तो
अबेला निस्प्राण घर फर्किएको तन
छट्पटाइरह्यो भोकले विक्षिप्त सिंहजस्तो ।
न मेटियो मायाको प्यास न भेटियो फूलमा सुवास ।
बिहानैदेखि मनमा फुलाएर बैँसालु गुलाब
तिनै फूलका पत्रहरूले सजाएर म आउने बाटो
थालीका खण्ड खण्डमा भरेर कुमारी माया
कुर्दा कुर्दै लोलाएछन् श्रीमतीका आँखा ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































