भावकेशर बरालबुद्ध र आगो
एकपटक फेरि हेर कसरी मेरा आँखामा दनदनी बलेको छ- आगो हो, मै हुँ बुद्ध आफ्नो जन्मको पच्चीस सय वर्षपछि घोषणा गर्छु- ए ! मान्छेहरू म भगवान् होइन मान्छे हुँ- तिमीजस्तै ।

भावकेशर बराल :
हो,
मै हुँ बुद्ध
करिब
पच्चीस सय वर्षअघि
जन्मेको थिएँ
यहीँको माटामा
र, पाएँ बुद्धत्व
यहीँको धुलामा ।
थाहा छैन
आज कहाँ छन्- ती मानिस
जसले
मलाई बनाए बुद्ध
र, लीन भए आफू
शून्यभित्र पञ्चमहाभूतमा
शीतका थोपाजस्तै।
सायद,
उनीहरूले नै बनाए मूर्ति
र, चढाए आस्थाका फूल
तर, आज पनि
किन पुज्दै छ- मान्छे
मलाई भगवान् बनाएर ।
आफ्नो जन्मको
पच्चीस सय वर्षपछि
घोषणा गर्छु
ए ! मान्छेहरू
म भगवान् होइन
मान्छे हुँ- तिमीजस्तै ।
भत्काऊ-
मेरा गुम्बाहरू
र, बनाऊ पाठशाला
अनि
आउनेछु पढ्न
जीवनको नयाँ पाठ,
जलाऊ
मूर्ति तथा फोटाहरू
र, सजाऊ
विश्वको मानचित्र
भूगोलको त्यही सीमाभित्र
पाउनेछौ- मेरो राष्ट्रियता ।
सल्काऊ
आफूमाथिको अन्धकार
र, त्यही
आकाशबाट चिहाएर
जुधाऊ
मेरा आँखामा आँखा ।
हिजो
गुम्बाकै कापबाट
देख्यौ मलाई बुद्ध
र, पूज्यौ मूर्ति
आज
बादल फाटेको आकाशबाट
एकपटक फेरि हेर
कसरी मेरा आँखामा
दनदनी बलेको छ- आगो
तपतप चुहेर शीतजस्ता पसिना
कसरी बनेको छ- पीडामा आँसुको पोखरी
चारो टिप्न छाडेर आँगनमा
कसरी सिकार खेलिरहेका छन्- परेवा
खरपाखाभित्र लुकेर बाघ
कसरी चपाइरहेको छ- घाँस ?
हो,
मै हुँ बुद्ध
आफ्नो जन्मको
पच्चीस सय वर्षपछि
घोषणा गर्छु-
ए ! मान्छेहरू
म भगवान् होइन
मान्छे हुँ- तिमीजस्तै ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































