साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र कि लुटतन्त्र !

तिमी पनि बनाउ एउटा राजनीतिक गुट त्यहि गुटको भद्रगोलमा जे पाए पनि लुट लुटतन्त्र चलेको छ तिमी पनि लुट लुट्न नसक्ने कायरहरु निल घुटुघुटु थुक डाह गर्ने गर्दै गर्छन, तिमी जे पाए पनि लुट ।

Nepal Telecom ad

उमेश रेग्मी :

एकदिन सडकको छेउमा बसेर चिया पिउंदै थिएँ। अचानक अगाडिबाट एउटा ठूलो गाडी सायरन बजाउँदै आयो। ‘हेर्नुस् न, लोकतन्त्रमा जनताका सेवकहरु कतिसम्म व्यस्त हुन्छन् !’ संगै बसेको साथीले व्यङ्ग्य गर्दै भने। गाडीभित्र को थिए, थाहा भएन, तर सडकका सारा सवारी रोकेर उनी गए। त्यसपछि मलाई लाग्यो, लोकतन्त्र साँच्चिकै महान् चीज रहेछ, यत्रो मानिसलाई बाटोमा रोक्ने शक्ति दिने ! गाडीभित्रका व्यक्तिको काम शायद बाटोमा रोकिएका ति सबै मान्छेहरुका काम भन्दा बढी महत्वपूर्ण होला ! त्यसैले उनले लोकतन्त्रको सहि उपयोग गरेका होलान्। के लोकतन्त्रको उपयोग यस्तै हो त ? मन भित्र प्रश्न उत्तर चल्न थाल्यो लोकतन्त्रको परिभाषालाइ लिएर।

हाम्रो देशमा लोकतन्त्रको परिभाषा किताबमा एउटा छ, तर वास्तविकतामा त्यो अर्कै छ। किताब भन्छ, लोकतन्त्र भनेको जनता नै सर्वोच्च हुने शासन व्यवस्था हो। व्यवहारमा भने ‘जनता सर्वोच्च’ भन्ने कुरा चुनावको बेला मात्र लागू हुन्छ। त्यसपछि सर्वोच्च को हुन्छ, त्यो सबैलाई थाहा छ। लोकतन्त्रका अगुवा नेताजीहरु ‘जनताको सेवा गर्ने’ कसम खान्छन्, तर सेवा कस्तो भन्ने कुरा ‘ब्रेकफास्ट इन अमेरिका, लञ्च इन लन्डन, डिनर इन दुबई’ को सूची हेर्दा थाहा लाग्छ। चुनाव आउँदा एक पटक जनतालाई राजाको अनुभूति हुन्छ र ‘हाम्रो भोटले देशको भविष्य निर्धारण गर्छ !’ भन्ने दरिलो सोच पैदा गर्छ। अनि त्यहि वेला ‘हामी तपाईँको सेवक हौँ, हामी तपाईंका घरका मान्छे हौँ।’ भन्ने मधुर वाणी हरेक नेताको मुखबाट सुन्न पाइन्छ।

चुनाव सकिन्छ ती ‘सेवक’ भिआईपी बन्न पुग्छन, अनि हुन्छन आम जनताको पहुँच भन्दा बाहिर। तर उनीहरुको समावेशिताको नारा भने बुलन्द हुन थाल्छ। समावेशिता भन्नासाथ सबै समुदायको समान सहभागिता हो भन्ने बुझ्दछु म ! तर यहाँ त्यस्तो हुँदैन, वास्तविक समावेशिता कतै हराउँछ र शुरु हुन्छ दलिय समावेशिता जसको परिभाषा अनुसार कुनै दलको नेता मन्त्री हुने बित्तिकै उनको परिवारभित्र ‘समावेशिता’ सुरु हुन्छ, छोरा, बुहारी, ज्वाइँ, भान्जा, भान्जी… सबैलाई अवसर दिनुपर्छ ! किनभने लोकतन्त्रमा सबैलाई समान अवसर चाहिन्छ, होइन र ?

लोकतन्त्रको सबैभन्दा ठूलो विशेषता भनेको ‘बजेट’ हो। बजेट आउनु भनेको गाई दुहुनु जस्तै हो, जनता गाई हुन्, नेताजी गाईवाला। पाँच वर्षमा एकपटक चुनावको बाछो जन्माइन्छ, अनि बाँकी समय गाई दुहिन्छ। जब बजेट विनियोजन हुन्छ, तब नेता, कर्मचारी र ठेकेदारको त्रिमूर्ति बन्छ। ‘जनताको लागि काम गर्नुपर्छ’ भन्ने हेक्का राखेर बजेट पास हुन्छ, तर त्यो बजेट कता बाट कता जान्छ भनेर चासो राख्ने फुर्सद जनता माझ कसलाई छ र ?

अब नीति निर्माणको कुरा गरौँ। लोकतन्त्रमा नीति बनाइन्छ, तैपनि जनता दु:खी नै छन्। किन ? किनभने नीति निर्माण एउटा गजबको खेल हो। नीति यस्तो बनाउनुपर्छ कि जनतालाई केहि भयो जस्तो लागोस्, तर नेताहरुलाई मात्र फाइदा होस्। सडक बनाउनुपर्यो भने यस्तो बनाइन्छ कि अर्को वर्ष फेरि बनाउनु परोस्। ठेकेदारलाइ पनि फाइदा अनि आफूलाई पनि ! डाक्टर नै नभए पनि अस्पताल चाहिँ बनाउनु पर्छ, बजेट सिध्याउनै पर्छ। ठेकेदारलाइ पोसाउनै पर्छ अनि औषधि उपचार गर्ने भन्दै विदेश जान बजेट छुट्टयाउनै पर्छ। लोकतन्त्रको सदुपयोग गर्नैपर्छ। शिक्षा सुधार्नुपर्यो, तर पाठ्यक्रम यति जटिल बनाइन्छ कि विद्यार्थी नै पढ्न छाडून्। अनि तल्लो स्तरका विद्यालयहरु झन् नबिग्रिउन् भन्ने कुरा विशेष ध्यान राखिन्छ, ताकि गरिब जनता सधैँ ‘हामीलाई अवसर मिलेन’ भन्दै नेताहरुलाई फेरि भोट हालिरहून्।

प्रतिपक्ष, जसको काम भनेकै ‘विरोध गर्ने’ हो। सरकारले ठिक गरे पनि ‘गलत छ’ भन्नु पर्यो। सरकारले गलत गरे भने ‘अझ गलत छ’ भन्नु पर्यो। संसद् भवनभित्र बहस हुनुपर्ने हो, तर त्यहाँ ढुंगामुढा, नाराबाजी र माइक भाँच्ने प्रतियोगिता हुन्छ। अनि जनता सोच्छन्, ‘ए, हाम्रो करको पैसाले यति राम्रो ड्रामा देख्न पाइयो !’ यस्तो लोकतन्त्रको अतुलनिय उदाहरण कहाँ देख्न पाइनु !

अब कुरा गरौँ ‘भ्रष्टाचार’ को। लोकतन्त्रमा भ्रष्टाचार एकदम निष्पक्ष रुपमा गरिन्छ। साना कर्मचारीदेखि ठूल्ठूला नेतासम्म सबैलाई समान अवसर दिइन्छ। कसैले घूस खान पाएन भने ऊ आफैंले रिजाइन गर्न सक्छ। किनभने यहाँ लोकतन्त्र छ, सबैलाई स्वतन्त्रताको अधिकार छ ! अनि यस्तो अधिकारको गुणगान गाउन हाम्रो मिडिया सदैब तत्पर रहन्छ। लोकतान्त्रिक मिडिया भनेको सरकारको गतिविधि अनुगमन गर्ने, सत्य समाचार प्रवाह गर्ने र जनताको आवाज उठाउने संस्था हो। तर हाम्रो लोकतन्त्रमा मिडिया दुई प्रकारका छन्: एक, सरकारको गुनगान गाउने, दुई, प्रतिपक्षको गीत गाउँने। बीचको कुनै छैन।

पत्रकारिताको नियम पनि अचम्मकै छ, जसले बढी विज्ञापन दिन्छ, उसले बढी बोल्न पाउँछ। चाहे त्यो सत्य बोलोस् वा अरु केहि। बिच बिचमा छापिने समाचारहरु पनि अचम्मकै हुन्छन जस्तै तीज पर्व आयो भने चेलीबेटीहरुले दर खान्छन्, अनि नेताजीहरुले बजेट दर खान्छन्। दसैँ आयो भने जनता मासु, भात, रोटी खान्छन्, अनि नेताजीहरुले नयाँ नियुक्ति, ठेक्का, र पद खान्छन्। छठ आयो भने जनता घाटमा पूजाआजा गर्छन्, अनि नेताजीहरु घाटा भए जस्तो देखाएर विदेशी अनुदान खान्छन्।

लोकतन्त्र यस्तो चीज हो, जहाँ जनताले कर तिर्छन्, नेताजीहरुले त्यसको सदुपयोग गर्छन्, आफ्नो सुखसुविधाका लागि। सरकारी गाडी चढेर नेताजी भन्छन्, ‘जनताका लागि हामीले धेरै संघर्ष गरिरहेका छौँ।’ जनता भने बसको ढोकामा झुन्डिएर कार्यालय जान्छन्। नेताजी सधैँ आशा बाँडिरहन्छन, ‘अबको पाँच वर्षमा देश बद्लिन्छ’, ‘अबको सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ’, ‘अबको पालो हाम्रो पार्टीको हो’। यस्ता सपनाहरु जनतालाई देखाइन्छ, ताकि उनीहरुले सधैं आशामा बाँचेको अनुभूति गरुन्।

अन्त्यमा, लोकतन्त्र भन्ने कुरा एउटा यस्तो आइटम हो, जसलाई नेताहरु ‘लुटतन्त्र’ बनाउन माहिर छन्, अनि जनताले त्यही लुटतन्त्रलाई लोकतन्त्र भनेर सहन बाध्य छन्। त्यसैले, प्रश्न उठ्छ— लोकतन्त्र कि लुटतन्त्र ?

तर उत्तर चाहिँ स्पष्ट छ— जबसम्म जनता सचेत हुँदैनन्, तबसम्म लुटतन्त्र नै लोकतन्त्र हो !

लोकतन्त्रको यस्तो महान उपलब्धिमा आउनुहोस् तपाईं हामी मिलेर यो गीत गाउँ।

लुटतन्त्र चलेको छ
तिमी पनि लुट
के के लुट्ने नसोच
जे पाए पनि लुट

खुशी लुट, शान्ति लुट
सत्य पनि लुट
सुन, चाँदी, धन सम्पत्ति
जे पाए पनि लुट
लुटतन्त्र चलेको छ
तिमी पनि लुट

नेता जस्तो तिमी पनि
बोल, झुठ माथि झुठ
झुठै झुठको यो संसारमा
जे पाए पनि लुट
लुटतन्त्र चलेको छ
तिमी पनि लुट

तिमी पनि बनाउ
एउटा राजनीतिक गुट
त्यहि गुटको भद्रगोलमा
जे पाए पनि लुट
लुटतन्त्र चलेको छ
तिमी पनि लुट

लुट्न नसक्ने कायरहरु
निल घुटुघुटु थुक
डाह गर्ने गर्दै गर्छन, तिमी
जे पाए पनि लुट
लुटतन्त्र चलेको छ
तिमी पनि लुट

विरोधी जति सबैलाई
तिमी भटाभट भुट
बाँकि केहि राख्नै हुन्न
जे पाए पनि लुट
लुटतन्त्र चलेको छ
तिमी पनि लुट ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काठमाडौँ

काठमाडौँ

उमेश रेग्मी
रक्सीको गुणगान !

रक्सीको गुणगान !

उमेश रेग्मी
गाईजात्रा !!

गाईजात्रा !!

उमेश रेग्मी
अस्पताल जाँदा

अस्पताल जाँदा

उमेश रेग्मी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x