साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीको गुणगान !

हाइपोक्रेसी शब्द शायद यस्तै सोसाइटी अंकलहरूको लागि बनेको होला। अंग्रेजहरुले रक्सी बनाए, पिए, रमाइलो गरे, त्यो पनि खुल्लम खुल्ला गरे तर हाम्रा सोसाइटी अंकलहरू अझै गुपचुप नै छन् हाइपोक्रेसीको व्याख्या गर्दै।

Nepal Telecom ad

उमेश रेग्मी :

रक्सी भनेको के हो ? प्रश्न जटिल छ, उत्तर सजिलो छैन। साधारण भाषामा भन्दा यो मान्छेहरूको सोच बदल्ने, बोल्ने शैली बनाउने, र कहिलेकाहीँ त नाच्नै नजान्ने मान्छेलाई पनि “हिट”बनाउन सक्ने जादू हो ! “रक्सी पिउनु हुँदैन” भनेर ठूलाबडाले भन्छन, तर पिउनेहरू, “जिन्दगीको असली स्वाद यसैमा छ।” भन्दै रक्सीको बोतलमा झुल्छन्, रमाउछन् अनि कहिले कहिँ त यो संसार भुलेर खै कताको संसारमा भौतारिन पुग्छन्। अब, कसको कुरा सही हो त ? रक्सी पिउनेको वा नपिउनेको !

“म रक्सी पिउँदिन,” भन्ने मान्छे नै बिनाकारण तनावमाथि तनाव बोकेर हिंडेको पाइन्छ। तर, “म हप्तामा दुईचोटि मात्रै पिउँछु,” भन्ने मित्रलाई हेर्दा सिनेमाको हिरोझैँ देखिन्छ। जिन्दगीमा रक्सीका घुट्काहरूले ‘सामाजिक सम्बन्ध’ बलियो बनाउँछ भन्छन् यसका पारखीहरु। कसैले रक्सी पिएपछि ‘दर्शन’ दिन्छन्, कसैले आफ्ना ‘दुःखका उपन्यास’ सुनाउँछन्। आखिर, यो पेयले मान्छेलाई ‘अतिरिक्त बुद्धि’ किन दिन्छ ? यो त मस्तिष्क विज्ञानले पनि पत्ता लगाउन सकेको छैन। रक्सी पिउने सवाल केवल व्यक्तिगत छनोट वा आनन्दसम्म सीमित छैन। यो कतिपयको लागि ‘जीवनको कथा’ खोल्ने चाबी बन्छ। “रक्सीमा डुबेको साँझ” भनेर कति कविता र गीत लेखिएका छन्, कति मित्रताको कथा जुरेका छन्। अनि, कहिलेकाहीँ यही रक्सीले झगडा, दुश्मनी र आँसुका कथाहरू पनि सिर्जना गरेका छन्। गजब छ रक्सी अनि यसका पारखीहरु !

“रक्सीको गिलासमा सत्य लुकेको हुन्छ” भन्ने उखान पक्कैपनि हाम्रा पूर्वजहरुले बनाएका होलान, किनकि रक्सी पिएपछि मान्छे आफ्नो वास्तविक भावनाहरू पोख्न थाल्छ। कसैले नसोचेको कुरा सुनाउँछ, भन्नै नहुने कुरा पनि निस्फिक्री भन्न थाल्छ जसले मित्रहरूको बीचको सम्बन्ध झनै गहिरो बनाउँछ। मनोवैज्ञानिकहरू भन्छन्, रक्सीले मस्तिष्कलाइ केही समयका लागि ‘सुसुप्त’ बनाउँछ, जसले निर्णय क्षमतामा असर पुर्याउँछ। त्यसैले होला, कतिपयले रक्सी पिएपछि आफूलाई ‘नायक’ ठान्छन्, अरु सबै ‘खलनायक’ अनि आफु सबै भन्दा जान्ने अरु सबै फटाहा।

रक्सीको शक्ति नै अलग छ, हैन र ? केही मान्छे त गिलास उठाएसँगै आफूलाई प्लेटोको अवतार ठान्न थाल्छन्। उनीहरूको दर्शन यस्तो गहिरो हुन्छ कि “जिन्दगी के हो ?” को जवाफ खोज्दा संगै रहेको चिया पिउने ग्लास पनि घोत्लिन थाल्छ र सोध्छ, “मेरो पनि कुनै स्थान छ कि तिम्रो जिन्दगीमा ?” उत्तरमा केवल रक्सीको ग्लासहरुको “ट्याङ्ग्राङ्ग टुङ्ग्रुङ्ग” मात्रै सुनिन्छ मानौ उनीहरुले व्यंग गरिरहेको होस्, “यस्तो रसिलो जिन्दगीमा तिमीहरु जस्ताको के काम !” रक्स्याहाहरु आफ्नो अद्भुत ज्ञान दिन निकै सिपालु पनि हुन्छन। उनीहरूले आफ्नो ब्रह्माण्डीय ज्ञान बाँड्दै गर्दा, हामी जस्ताले चुपचाप सुनिरहनुको विकल्प हुँदैन किनभने बहस गर्न खोज्दा “तिमीलाई केही थाहा छैन !” भन्ने उत्तर मात्र सुन्न पाइन्छ।

अर्को प्रकारका, ती डान्सर महारथीहरू। उनीहरूलाइ एक सिप मात्र पर्याप्त हुन्छ, “धिन्चक-धिन्चक” गर्दै भुइमा खुट्टा बजार्न। यस्ताहरुलाई कुर्सी, टेबल, र भान्साको सिंक समेत डान्स फ्लोर बन्न पुग्छ। केही त सानैबाट लुकेको “रेमो डिसुजा” ब्यूँझिएझैं आफ्नो खुट्टाको चाल देखाउन थाल्छन्। अचम्म त के भने, रक्सीले तिनीहरूको शरीरको गुरुत्वाकर्षणको नियमसमेत खारेज गरेको भान हुन्छ। संधै हावामा उडेको जो हुन्छन।

रक्सीको झुलाइमा झुल्ने अर्को किसिमका पनि पाइन्छन हाम्रो वरीपरि। जो पहिले आँखा बन्द गरेर गहिरो ध्यानमा बस्छन्, र खोल्नेबित्तिकै आफैंलाई अर्जुन ठान्छन्। फर्किने बेला, “मेरो गाडी कहाँ छ ?” भन्ने प्रश्न उनीहरूको जीवनको सबैभन्दा ठूलो दार्शनिक समस्या हुन्छ। अनि अर्को बिहान, टाउको समाउँदै “म अबदेखि कहिल्यै पिउँदिन !” भन्ने वाक्यांश तिनीहरूको मन्त्र हुन पुग्छ तर जबसम्म अर्को शुक्रबार आउँदैन।

रक्सीको चमत्कार नै यस्तो छ हाँस्न, नाच्न र आफैंलाई महान् ठान्न सिकाउँने। अनि बिहान उठ्दा, “मैले यो किन गरें ?” भनेर जिन्दगीको अर्को पाठ पनि सिकाउने।

रक्सीको विभिन्न प्रकार पनि अचम्म लाग्दा छन्। तलका केहि उदाहरणहरुले यो कुराको पुष्टि गर्छ।
लोकल: सस्तो, गुणस्तरहीन, तर “यार यो बियर भन्दा कडा छ!” भन्नेहरूको पहिलो रोजाइ।
वाइन: “सोफिस्टिकेटेड” पिउनेहरूका लागि। “यार, स्वास्थ्यका लागि हो,” भनेर पिउने, तर दुई ग्लासपछि भाषण दिन थाल्ने।
विस्की: प्रायः “व्यस्त व्यापारीहरू” र “पार्टीका बादशाहहरू” को साथी।

रक्सी: अब, यो चाहिँ सिधै, केहि नमिसाइकन ‘पिउनु भनेकै मर्द हुनु हो’ भन्नेहरूको च्वाइस।
अनि पिउने तरिकाको के बयान गर्नु ! केही मान्छे आफ्नो गिलासलाई कत्ति सजाएर, प्रेमपूर्वक हेरेर, अलिकति अङ्ग्रेजी फलाकेर पिउँछन्। “यो माल्टेड वाइन हो” भन्दै बयान छाट्न थाल्छन, मानौ उनीहरूले आफैं उत्पादन गरेका हुन्। अर्को तिर, गिलास भर्नासाथ एकै सासमा घुट्क्याएर “आहा!” भन्ने डाइरेक्टहरू पनि हुन्छन्। “पिउनु त यसरि पो”, भन्दै पिउने तरिका सिकाउनेहरुको कतै कमि हुँदैन। दुइ शब्द बोल्ना साथ अङ्ग्रेजी फलाक्न थाल्नु रक्सी पिउने माहौलको रौनक हो भन्ने पारखीहरु रक्सी पिउनु पनि एउटा कला हो भन्न हिचकिचाउदैनन्।

“सोसाइटी अंकलहरूको” प्रवचन “रक्सी पिउनु नराम्रो कुरा हो”, जति पवित्र र गम्भीर सुनिन्छ, त्यति नै हास्यास्पद देखिन्छ जब तिनकै छोरो बारमा ‘ह्यापी आवर’ को ह्याप्पीनेस चुस्दै गरेको भेटिन्छ। अब यहाँ एक प्रश्न उठ्छ: यो ‘रक्सी नराम्रो’ भन्ने परम्परा सुरु कसले गर्यो? तर त्यस भनाइको बावजुद हरेक बार र रक्सीका भट्टीहरुमा संधै भिड किन हुन्छ ? रक्सीका ठेकेदारहरु नै नाफामा हुन्छन किन, अनि सरकारको खातामा पनि रक्सीकै कर बढी थुप्रिन्छ तर किन यो नराम्रो कुरा भयो ?

अझ रमाइलो कुरा के छ भने, हाम्रो समाजले यो विषयलाई यति गोप्य बनाउन खोजेको छ, मानौं यो कुनै ‘चन्द्रयान ५’ मिशन हो। बाल्यकालदेखि नै हामीलाई “पिउने मान्छे खराब हुन्छ” भनेर सिकाइन्छ, तर जब विवाह आदिको भोजमा ‘सज्जन’ हरूले आफ्ना प्यालाहरू ठोक्छन्, तब त्यही समाजले ताली बजाउँछ। अचम्म छ !

सोसाइटी अंकलहरू आफूलाई यस्ता विचारधाराका संरक्षक मान्छन्, तर उनीहरूका फ्रिजमा ‘रम’ र ‘विस्की’ को कलेक्सन देख्दा लाग्छ, उनीहरू ‘जैविक अनुसन्धान’ को लागि गृहकार्य गर्दै छन्। आखिर, यो ‘गुप्त खजाना’ हो, जसले समाजका ठूला र साना सबैलाई ‘हाइपोक्रेसी’ मा स्नातक गर्न सहयोग गर्छ। हाइपोक्रेसी शब्द शायद यस्तै सोसाइटी अंकलहरूको लागि बनेको होला। अंग्रेजहरुले रक्सी बनाए, पिए, रमाइलो गरे, त्यो पनि खुल्लम खुल्ला गरे तर हाम्रा सोसाइटी अंकलहरू अझै गुपचुप नै छन् हाइपोक्रेसीको व्याख्या गर्दै।
अब अन्त्यमा एउटै कुरा भन्न सकिन्छ, “पिउनु नराम्रो होइन, तर नपिउनु अझ राम्रो।” यो बुझेपछि, आफैंलाई हेर्नुस् – तपाईं बुद्धिजीवी बन्नुहुन्छ कि मस्त रमाइलो गर्ने ‘कूल मान्छे’ !

०००
लण्डन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x