साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयको पुकारा

हामीले आफैँलाई सुधार्ने सङ्कल्प गरिदिए पुग्छ ! मेरो देश– अरूले मारिदिनु पर्दैन हाम्रो बिउँझिएको चेतले नै बिउँताउनेछ केवल नेपाली हुनुको गौरव नभुलीदिए पुग्छ !!

Nepal Telecom ad

नन्दलाल आचार्य :

मेरो देश–
कसैले बिगारिदिएको होइन
हामी आफैँले बिगारेका हौँ
केवल जनता होसमा आइदिए पुग्छ !
मेरो देश–
अरूले मारिदिनु पर्दैन
हाम्रो अकर्मण्यताले निल्दैछ
केवल हामी ननिदाइदिए पुग्छ ।
दोष अरूलाई मात्र दिनु पर्दैन
यहाँ बौद्धिक वर्ग नै मौन छ
केवल उसले मुख नथुनिदिए पुग्छ !
कलमहरू बन्धक छन् यहाँ
सत्य लेख्न डराउँछन्‌
केवल कलम नबिकिदिए पुग्छ !
आउने चुनावमा
को आयो भन्दा पनि
हाम्रो चेत नहराइदिए पुग्छ !!!

मेरो देश–
कुनै विदेशीले लुटेको होइन
हाम्रै स्वार्थले खुम्चिएको हो
केवल इमानको तराजु ठिक भइदिए पुग्छ !
राजनैतिक आँगनमा–
अग्ला भाषणका फोकाहरू त धेरै फुटे
तर कुर्सीको मोहमा देशकै शिर निहुरियो
यहाँ नेतृत्वले पदलाई होइन
देशलाई पूजा गरिदिए पुग्छ !
आर्थिक सिमानामा–
हाम्रा पसिनाका थोपाहरू खाडीमा पोखिँदा
यहाँ बाँझो खेतले बाटो हेरिरहेछ
परनिर्भरताको यो भिखारी कचौरा फुटाई
आफ्‌नै माटोमा सुन फलाइदिए पुग्छ !
सामाजिक डबलीमा–
जात र धर्मका नाममा पर्खालहरू ठडिँदैछन्‌
मान्छेले मान्छेलाई चिन्ने आँखा धमिलिएका छन्‌
छरपस्टिएका मनहरूलाई उनेर फेरि
सद्भावको एउटै माला गाँसिदिए पुग्छ !
शैक्षिक मन्दिरमा–
डिग्रीका प्रमाणपत्रहरू त थुप्रिए धेरै
तर संस्कार र सीपको खडेरी पर्यो
कलिला मस्तिष्कलाई विदेशी सपना होइन
स्वदेशमै सम्भावना देखाइदिए पुग्छ !
सांस्कृतिक धरोहरमा–
हाम्रा रैथाने बाजा र भाकाहरू हराउँदैछन्‌
परचक्रीका रङ्गहरूले आफ्‌नै मौलिकता मेटिँदैछ
पुरानो धरातल बिर्सेर आकाश छुने होडमा
जरालाई माया गरिदिए पुग्छ !
दोष समयलाई मात्र दिनु पर्दैन
यहाँ हाम्रो आफ्‌नै विवेक बन्धक छ
केही नयाँ गर्नलाई आकाश खस्नु पर्दैन
केवल हामी “म“ बाट “हामी“ भइदिए पुग्छ !!

मेरो देश–
कुनै दैवले सरापेको होइन
हाम्रै मौनताले थलिएको हो
केवल बन्द ओठहरू अलिकति खुल्दिए पुग्छ !
राजनैतिक रङ्गमञ्चमा–
नीति त धेरै बने यहाँ, तर नियत सधैँ खोटियो
गणतन्त्रका फूलहरू त फुले, तर बास्ना बिचौलियाले लुटे
हामीले नेता रोज्यौँ, तर नेतृत्व कहिल्यै रोजेनौँ
अब मतपत्रमा चेतनाको रङ भरिदिए पुग्छ !
आर्थिक ऐजेरूमा–
कागजका नोटहरू त छापिए, तर उत्पादनको सुगन्ध हरायो
हाम्रो भान्सामा छिमेकीको अनुग्रह पाक्दैछ
रेमिट्यान्सको बैसाखीले कतिन्जेल देश दौडिएला ?
यहाँ श्रमलाई सिंहासन चढाइदिए पुग्छ !
शैक्षिक मरुभूमिमा–
विद्यालयका पर्खाल त ठडिए, तर सपनाहरू बाहिरिए
कण्ठ गरेका अक्षरले पेट पाल्न सिकाएनन्‌
कलम समात्ने हातहरू राहदानीको लाइनमा उभिए
शिक्षालाई बाँच्ने कला बनाइदिए पुग्छ !
सांस्कृतिक प्रदूषणमा–
चाडबाड त मनाइन्छ, तर आडम्बरको खोल ओढेर
हाम्रा मौलिक चाडहरू फोटो खिच्ने मेला मात्र भए
पुर्खाको नासोलाई आधुनिकताको नाममा नबेची
आफ्‌नो जराको माटो चिनिदिए पुग्छ !
सामाजिक ऐनामा–
ठुला महल त बने, तर छिमेकीको मन जोडिएन
भर्चुअल संसारमा रमाउँदा यथार्थको माया मर्यो
सत्य बोल्नेको घाँटी निमोठ्ने यो भीडमा
विवेकको दीप बाल्न अलिकति हिम्मत भए पुग्छ !
त्यसमा पनि–
देश बनाउन हिमालय पग्लिनु पर्दैन
न त कसैले जादुको छडी नै घुमाउनु पर्छ
भ्रष्टाचारको ऐजेरूलाई निर्ममतापूर्वक उखेलेर
सतीले सरापेको होइन, लोभले रित्तिएको यो देश चिनिदिए पुग्छ !

मेरो देश–
अभावले रित्तिएको होइन
भ्रष्टाचारको ऐजेरूले चुसिएको हो
केवल हातहरू सफा भइदिए पुग्छ !
सिंहदरबारका कोठाहरूमा–
फाइलहरू त नाच्छन्, तर स्वार्थको तालमा मात्र
न्याय खोज्न जानेको चप्पल तल्लो खुड्किलोमै खिइन्छ
यहाँ नियम नभएर होइन, नियत नभएर देश थलिएको हो
कानुनको डन्डाले ठुला माछा समातिदिए पुग्छ !
त्रिभुवन विमानस्थलको गेटमा–
हरेक साँझ एउटा सिङ्गो पहाड बाहिरिन्छ
मुलुकका खम्बाहरू बाकसमा फर्कने डर बोकेर जहाज चढ्छन्‌
आमाको आँसुले भिजेको यो माटोमा पसिना साट्न नपाउँदा
यहीँ सम्भावनाको बीउ रोपिदिए पुग्छ !
बिचौलियाको जालोमा–
किसानको पसिना सस्तो छ, उपभोक्ताको भान्सा महँगो
परिश्रम गर्ने भोको छ, गफ गर्नेको महल अग्लो
श्रमको मूल्यलाई दलालले होइन, बजारले चिनिदिए
यहाँ कोदालो बोक्ने हात सम्मानित भइदिए पुग्छ !
संस्कारको भग्नावशेषमा–
हामीले आधुनिकता त भित्र्यायौँ, तर सभ्यता बिर्सियौँ
फेसबुकका भित्तामा देश बनायौँ, तर धरातल बिर्सियौँ
अरूको गल्ती औँल्याउन जति सजिलो छ
आफैँलाई ऐनामा हेर्ने साहस अलिकति भए पुग्छ !
स्वास्थ्यका पसलहरूमा–
उपचार त छ, तर गरिबको पहुँचभन्दा टाढा
औषधीमा व्यापार छ, संवेदनाको यहाँ खडेरी छ
सरकारी अस्पतालका बेडहरूले नेता मात्र नपर्खिएर
दुखीको आँसु पुछिदिने केन्द्र भइदिए पुग्छ !
अन्त्यमा–
देश बिगार्ने कुनै अदृश्य शक्ति होइन
हाम्रै भोटले चुनिएका र हाम्रै मौनताले पालिएका हुन्‌
अब अर्को पुस्तालाई दोषी र रित्तो देश सुम्पिनु भन्दा
आजै हाम्रो चेतको मन्दिर ब्युँझिदिए पुग्छ !

अन्ततः मेरो देश–
केवल ढुङ्गा र माटोको थुप्रो मात्र होइन
यो त हाम्रो साझा भविष्य र पहिचान हो
केवल हामीले अपनत्व लिइदिए पुग्छ !
अब दोषको भारी–
इतिहासलाई सुम्पिएर मात्र केही हुने छैन
न त छिमेकीलाई सरापेर नै पेट भरिनेछ
आफ्‌नो घरको आगन आफैँ बढार्ने साहस बटुली
परिवर्तनको पहिलो पाइला आफैँले चालिदिए पुग्छ !
सत्य यो हो कि–
जबसम्म योग्यताको कदर हुँदैन
जबसम्म इमानभन्दा ठुलो लाभ मानिन्छ
तबसम्म यो चक्रव्यूह टुट्ने छैन
यहाँ चाकडीको पर्खाल भत्काइदिए पुग्छ !
आउने बिहानीमा–
कुनै मसिहा आएर देश बनाइदिने छैन
हाम्रै विवेकले सही र गलत छुट्याउनुपर्छ
झण्डा र एजेन्डाभन्दा माथि उठेर
राष्ट्रको मूल मन्त्र मात्र जपिए पुग्छ !
त्यसैले अब–
युवाका पाखुरालाई मरूभूमिमा होइन, मेरै पहाडमा खियाऊँ
बौद्धिक आँखालाई मौनताबाट होइन, सत्यको प्रकाशमा ल्याऊँ
यो देश बिग्रिएको होइन, अलिकति बिराइएको मात्र हो
हामीले आफैँलाई सुधार्ने सङ्कल्प गरिदिए पुग्छ !
मेरो देश–
अरूले मारिदिनु पर्दैन
हाम्रो बिउँझिएको चेतले नै बिउँताउनेछ
केवल नेपाली हुनुको गौरव नभुलीदिए पुग्छ !!

०००
२०८२ पुस १८ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x