उमेश रेग्मीलक्ष्मीप्रसादलाई भेट्दा !
अचानक आएको यस्तो निम्तोलाई महकविले तुरुन्तै हुन्छ भन्न सकेनन् तर ती नेताको जिद्दिपनको अगाडि उनको केहि सिप चलेन। अमरावतीदेखि सँगै भएकोले होला नेताको निम्तामा म पनि सहभागी हुने भएँ।

उमेश रेग्मी :
देशको स्थिति अनि नेताहरुको विगविगी देखि वाक्क बनेको म एक दिन भौतारिंदै गर्दा टुप्लुक्क इन्द्रको अमरावती नगरीमा छिर्न पुगेछु। ढोकामा बसेको द्वारपालले निकै खोजतलास गरेको थियो म माथि तर केहि नभेटेपछि छोडी दिनाले अमरावतीको सयर गर्ने सौभाग्य मिल्यो मलाई। हाम्रो देशको भिडभाड भन्दा पृथक अमरावती शान्त अनि सुन्दर थियो। म आफूलाई भाग्यमानी ठान्दै नगरको आनन्द उठाउन थालेँ, कहिले यता अनि कहिले उता गर्दै। बेलाबेलामा भेट हुने अप्सराहरुको सौन्दर्यले गजबको तरंग लेराउँथ्यो शरीरमा।
अकस्मात मेरा आँखाहरु आश्चर्यले भरिए। मेरा अगाडि महाकवि लक्ष्मी प्रसाद देवकोटा थिए। एक हातले चुरोटको बुङ्बुङ्ती धुँवा उडाइरहेका अनि अर्को हातले त्यहि भुइंमा छरिएको चुरोटका ठुटाहरू केलाइरहेका महाकविको हालत देख्दा मेरा आँखा रसाए। इन्द्रको अमरावतीमा पनि आफ्ना महाकविको यस्तो हालत मलाई सैह्य भएन। मैले अनुरोध गर्न थाले आफ्नै देश फर्किने, कमसेकम महाकवि भएर इज्जतका साथ बाँच्न त पाइन्छ। सबैको प्यारो हाम्रो महाकविको कति ‘हाइ हाइ’ हुन्छ होला भन्दै उनको पाउ समाई म पुकार गर्न थालेँ। आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेको थियो। मेरो अवस्थामा करुणा देखाएर महकविले स्वीकृति दिए नेपाल फर्किने। आफू स्वयम चाहिँ दिक्क भएर भौतारिदै अमरावती पुगेको कुरा भुलेछु सबै त्यसबेला। महाकविलाई देश फिर्ता लैजान पाएकोमा गौरवान्वित हुँदै आफैलाई धन्यवाद दिन थालेँ मैले।
अमरावतीबाट हिँडेका हामी दुइ काठमाडौँको टुँडिखेलमा आइपुगेपछि रोकियौँ। रोकिनुको कारण अरु के हुनु, उही खुलामन्चमा नेताहरुका भाषण अनि आमसभा भइरहेको रहेछ। महाकविले निकै चासो दिंदै सुन्न थाले एउटा नेताको भाषण। नेताहरुको एक अर्का माथिको गाली गलौज, भाषण सुनेर बसिरहेका निरिह जनता अनि नेताहरुको प्रत्येक शब्दमा वाह वाहि लगाउने चम्चेहरुको गतिविधिलाई महकविले आफ्नै भाषामा बर्णन गर्न थाले,
कुन नेतालाई गाली गर्ने, कसको गर्ने चाकडी ?
कुन नेताको झोला बोक्ने, कसलाई भन्ने पाखण्डी ?
कसलाई दिनु भोट चुनावमा, कसको गर्नु आश ?
यी भ्रस्टहरुको विगविगीले लग्दैछ हाम्रो श्वास !
उनका यस्ता अभिव्यक्ति नजिकै रहेको एउटा नेताले सुन्न पुगेछन्। उनी नजिकै आएर भन्न थाले, “जय होस् महाकविको ! भोट त हाम्रो पार्टीलाई दिनु पर्छ हजुर। हजुरले एक चोटी विन्ती गरिदिनु भयो भने सारा जनताले मान्छन् अनि हाम्रो जित पनि निश्चित हुन्छ। लौ न प्रभु त्यति सहयोग गरि दिनु पर्यो। बरु म हजुरलाई आफैसँग राख्छु, मेरै घरमा। मेरो आथित्यलाइ स्वीकार गर्नु पर्यो महाकवि। जाउँ मेरो घर।” अचानक आएको यस्तो निम्तोलाई महकविले तुरुन्तै हुन्छ भन्न सकेनन् तर ती नेताको जिद्दिपनको अगाडि उनको केहि सिप चलेन। अमरावतीदेखि सँगै भएकोले होला नेताको निम्तामा म पनि सहभागी हुने भएँ।
लक्ष्मीप्रसादले नेताको आतिथ्य स्वीकारे पनि उनको घरमा धेरै बेर भने टिक्न सकेनन्। उनको इसारामा म पनि सँगै बाहिरिए। मेरो प्रश्न भरिएको आँखा बुझ्न उनलाई बेरै लागेन र भन्न थाले,
सुन चाँदीका घरका खम्बा, करोडौंका छन् दिवार
अमेरिकी छन् घरका छाना, सिंगापुरका छन् द्वार
बेलायती बोतलका ती तरल तरंग
हरेक साँझ झुल्छन नेता अपार
कुन नेतालाई गाली गर्ने, कसको गर्ने चाकडी ?
कुन नेताको झोला बोक्ने, कसलाई भन्ने पाखण्डी ?
एकै छिनको बसाइमा कविजीका तिखा नजरले सबै देखि सकेका थिए। उनी आफ्नै तालमा फेरि गुनगुनाउन लागे,
नेतासँग विच सडकमा, झोले हिँड्दछ साथ
ढोग्द्छ खुट्टा, पुछेर जुत्ता, फोहोरी आफ्नै हात
बख्सिस मिल्छ चुनावताका सबैलाई मासु र भात
कुन नेतालाई गाली गर्ने, कसको गर्ने चाकडी ?
कुन नेताको झोला बोक्ने, कसलाई भन्ने पाखण्डी ?
उनका मुखारबिन्द बाट लयात्मक रुपमा प्रस्फुटित भावहरुको आनन्द बटुल्न थाले मैले। साथै उनले थोरै बेरमा संगालेका देशका अनुभवहरुलाई महसुस पनि गर्न थालेँ मैले।
हामी सिंहदरवार नजिकै पुगेछौँ। उनको मुहारमा मिश्रित भावहरु देखिन थाले। लाग्यो होला शायद उनी मन्त्री हुँदा कस्तो रौनक थियो तर अहिले यस्तो छ भताभुङ्ग चाला। मलाई हेर्दै भन्न थाले,
कुर्लन्छ नेता सिंहदरवारमा, झोलेहरुको तानामा
विवश छन् जनताहरु, आफ्नै पीडा दु:खको गानामा
बिकीरहेछन् हर कोहि यहाँ टोल, गल्ली अनि थानामा
कुन नेतालाई गाली गर्ने, कसको गर्ने चाकडी ?
कुन नेताको झोला बोक्ने, कसलाई भन्ने पाखण्डी ?
अबोध बालकझैँ म उनको पछि लागि रहे अनि उनका भावनाहरु सुनिरहे। उनलाई अमरावती नै फर्कन मन लागेको जिकिर गर्दै थिए, अनि साथमा देशका अपराधीहरुलाई सजाय दिनुपर्ने पनि भन्दै थिए,
फर्क फर्क हे जाउ समाउ, गर्दैछन् भाग्ने दाउ
हतकडी लगाई ती हातहरुमा कारागार लैजाउ
देशभक्तिको पाठ अब, तिमी सबैलाई पढाउ
कुन नेतालाई गाली गर्ने, कसको गर्ने चाकडी ?
कुन नेताको झोला बोक्ने, कसलाई भन्ने पाखण्डी ?
यति भन्दै उनी अकस्मात विलाए। म झस्याङ्ग हुँदै उठ्न थालेँ। आँखा मिचेँ। दलिन नियालेँ। अघिको कुरा सबै स्वप्न पाे रहेछ। मुखबाट अनायासै निस्कियो “जय होस् महाकविको”।
०००
लण्डन
Subscribe
Login
0 Comments
Oldest






































