उमेश रेग्मीब्रह्मा, विष्णु र महेशमा तनाव !
उता विष्णुजीले संहारको काम सम्हाले । महादेवको सृष्टिमा अनौठो अनौठो अनि हेर्दै डरलाग्दा जीवहरु पैदा हुन थाले जसलाई ब्रम्हाजीले पालनपोषण गर्न अगाडि बढ्दा आफै डराएर पछाडि हट्नु पर्ने स्थिति आइपर्यो ।

उमेश रेग्मी :
हिन्दू धर्मको सबभन्दा शक्तिशाली टिम – त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु र महेश ! यिनले संसारको सृष्टि, पालनपोषण, र विनाशको जिम्मा लिएका छन् । तर हालसालै, देवलोकमा एउटा गजबको समस्या देखा परेको छ। ब्रह्मा, विष्णु, र महेशबीचको ‘कामको बाँडफाँड’ मा तगारो आइपरेको छ, जसले गर्दा देवलोकमा ‘त्रिमूर्ति टुटफुट’ को हल्ला चलिरहेको छ। ब्रह्मा, विष्णु र महेशले नै निर्णय गरेका थिए – ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता, र महेश संहारकर्ता हुनेछन् भनेर सृष्टि गर्नुपूर्व नै । कामको बाँडफाँड सुरुमा सबैलाई उपयुक्त लाग्यो । तर, हजारौँ वर्ष बित्दै जाँदा उनीहरू आफ्नो कामबाट दिक्क हुन थाले । यहि दिक्कलाग्नु नै समस्याको सुरुवात बन्न पुग्यो।
ब्रह्माको गुनासो सुनिन थाल्यो, “मात्र सृष्टि मात्रै गर्दै जाँदा हातको कला खेर गइरहेको छ। मलाई कहिलेकाहीँ पालनपोषण गर्न मन लाग्छ । के, मैले बच्चा जन्माएर स्याहार सुसार गर्न नपाउने ?” उता विष्णुको गुनासो अर्कै थियो, “पालनपोषणको जिम्मा निकै गाह्रो छ। यो त २४/७ को ड्युटी जस्तो भयो । छुट्टीको नामै छैन । मलाई कहिलेकाहीँ नाश गरिदिएर आफैँलाई ‘हिरो’ बनाउन मन छ ।” महादेव पनि के कम गुनासो गर्न, “म सँधै रौद्र रुपमा विनाश गरेर मात्रै बस्न सक्दिनँ । कहिलेकाहीँ मलाई पनि गमलामा मखमली फूल रोप्न मन लाग्छ ।”
त्रिमूर्तिले आ-आफ्नो समस्या वयान गर्न थाले । सबैभन्दा पहिले ब्रम्हा आए आफ्नो समस्या लिएर । आफू सृष्टिकर्ता भए पनि उनको सबैभन्दा ठूलो गुनासो भनेको, ‘मेरो पूजा कोही गर्दैन !’ भन्ने थियो। देवलोकको एउटा बैठकमा उनले भावुक हुँदै भने, “हेर्नुहोस्, विष्णुजीको दश अवतार छ । हरेक ठाउँमा विष्णुको पूजा छ । महेशजीलाई त महाशिवरात्रि जस्तो भव्य चाड छ । अनि मलाई हेर्नुहोस् ! चारवटा मुख छ, तर कसैले एउटा मन्दिर बनाएर मेरो पूजा गरेको छैन । के म यति पनि सम्मान पाउन लायक छैन ?”
यो सुनेर विष्णुले हाँस्दै भने, “तपाईंले आफूलाई पनि हेर्नुस् त, ब्रह्माजी । एक पटक सरस्वती मातालाई लुकाएर तपाईंले जे गर्नुभयो, त्यसपछि तपाईंको ब्रान्ड बिग्रियो । पब्लिक इमेज त तपाईं आफैँले बिगार्नुभयो नि !”
महेशले थपे, “हो, ब्रह्माजी, तपाईं अलिक बढी सृष्टि गर्नमा व्यस्त भएर मानव जातिको वास्तविक चाहना बुझ्न सक्नुभएन ।”
महेश र विष्णुको कुरा सुनेर ब्रम्हा विचरा न्याउरो मुख लगाएर एउटा कुनामा बसे । अब कुरा विष्णुको आयो । विष्णुले गुनासो पोखे, “हेर्नुस्, मलाई हरेक पटक पृथ्वीमा गएर अवतार लिनुपर्ने बाध्यता छ । कहिले म राम बन्छु त कहिले कृष्ण, कहिले माछा त कहिले नरसिम्ह । यी सबै रूप लिँदा लिँदा मैले कहिल्यै आराम गर्न पाएको छैन । के यो जिम्मेवारी ब्रह्माजीले लिन सक्नुहुन्न ?” कुनामा बसेका ब्रम्हा तातिए, “मैले १० अवतार लिनु भनेको थिएँ तपाईंलाई ? यसको वावजुद तपाईंलाई पूजा गरिन्छ । मेरो त कुनै अवतार पनि छैन, कुनै फ्यान नै छैन अनि कोहि मलाई पूजा पनि गर्दैनन् । तपाईं मलाई आफ्नो बोझ किन दिन चाहनुहुन्छ ? आफूलाई आफ्नै टेन्सन छ यहाँ कति ।”
महादेवले हाँस्दै भने, “विष्णुजी, तपाईंका सबै अवतारहरूले प्रेम-कथा चलाउँछन् । राम सीतासँग, कृष्ण १६,१०८ गोपिनीहरूसँग। तपाईँले नाटक गरेर मस्त जिन्दगी बिताउनुभयो। अब गुनासो गर्नु पर्दैन ।”
पालो आयो महादेवको, उनले गम्भीर स्वरमा भने, “मेरो गुनासो अलि फरक छ । म सँधै विनाशको पात्र बन्नुपर्छ । जुन कुरा बिग्रन्छ, मैले जलाएर भष्म गर्नुपर्छ । यस्तो लाग्छ, म अरूको समस्या समाधान गर्दै हिँड्ने क्लिनर मात्र हुँ । अरुको बिग्रेको कुरालाई क्लिन गरेपनि आफू चाहिँ खरानी घसेर हेर्दै डरलाग्दो भएर बस्नु पर्छ । मेरा वरिपरि विष्णुका झैँ गोपिनीहरु छैनन्, खाली भुत प्रेत घुमिरहन्छन । मलाई पनि कहिलेकाहीँ फूल रोप्न, संगीत सुन्न र ध्यान गर्न मन लाग्छ ।”
विष्णुले जवाफ दिए, “महेशजी, तपाईंले विनाश मात्र गर्नुभएको छैन। तपाईंको नृत्य, ताण्डव, एउटा कला हो। तपाईंको ताण्डवले पब्लिकलाई अति मनोरञ्जन दिन्छ। तपाईंलाई सम्मान पनि छ । तपाइको भव्य पूजा हुन्छ।” महादेवले यो सुनेपछि भन्न थाले, “त्यसो भए तपाईं दुबै जना मलाई विनाशको काम बाट छुटकारा दिलाउनुहोस्। मलाई पनि कहिलेकाहीँ सृष्टि गर्न मन लाग्छ । ब्रह्माजी, तपाईं मलाई केही सृष्टिको जिम्मा दिनुस् ।”
गुनासोहरुको सञ्जाल बढ्दै गएपछि त्रिमूर्तिबीच आपतकालीन बैठक बस्यो । बैठकमा सबैले आफ्ना गुनासो राखे, तर समाधान आउन सकेन । अन्ततः तीनै जनाले एउटा नयाँ सहमति गर्नुपर्छ भन्ने निर्णयमा पुगे। निम्न वमोजिम सहमतिम भयो पनि:
१. अब ब्रह्माले पनि पालनपोषणको केही काम हेर्नेछन् ।
२. विष्णुले समय-समयमा केही विनाश गर्नेछन्।
३. महेशले केही सृष्टिका काम सम्हाल्नेछन्।
यो सहमतिको हल्ला परालको आगो झैँ फैलियो देवलोकमा। देवगणले कुरा काट्न सुरु गरे, “अब ब्रह्माजीले पालनपोषण गर्दा बालकलाई के दिन्छन् ? चारवटा मुखले चार दिशाबाट खाना खुवाउँछन् कि के हो ?”
“महेशजीले सृष्टि गर्न खोजे भने, सृष्टिका नाममा चिता जलाएर संसार बनाउँछन् कि के गर्छन् ? सृष्टिको उपलब्धि भनेको सबै खरानी घसेका सन्ततिहरु पैदा हुने होलान्, हैन त !”
“विष्णुजीले विनाश गर्दा त्रिशूल लिन्छन् कि गधा र चक्रै घुमाएर चलाउँछन् ?”
हल्लाको वावजुद, देवगणलाई मन परोस् वा नपरोस् त्रिमूर्तिले आफ्नो काम शुरु गरे । ब्रह्माजीले पालनपोषण गर्न थाले भने महादेवले सृष्टिको आरम्भ गरे । उता विष्णुजीले संहारको काम सम्हाले । महादेवको सृष्टिमा अनौठो अनौठो अनि हेर्दै डरलाग्दा जीवहरु पैदा हुन थाले जसलाई ब्रम्हाजीले पालनपोषण गर्न अगाडि बढ्दा आफै डराएर पछाडि हट्नु पर्ने स्थिति आइपर्यो । फलस्वरूप देवगणले सृष्टि त ब्रम्हाले नै गर्नु पर्छ भन्दै अनसन बस्ने सुर कसे। उता विष्णुजीले एक पटक विनाश गर्न खोजे, तर मृदुल स्वभावकै कारण धेरै विध्वंस गर्न सकेनन् । “म यो जिम्मेवारी महेशजीलाई नै दिन्छु,” भनेर विनाश गर्नबाट पछि हटे । त्रिमूर्तिको कामको बाँडफाँड सोचे अनुरुप चल्न सकेन । अनुभवको कमि सबैमा प्रस्ट रुपमा देखियो ।
अन्ततः, तीनै जनाले पुरानो जिम्मेवारीमा फर्कनु नै सबैभन्दा सही विकल्प हो भनेर निष्कर्ष निकाले । यस घटनाले एउटा पाठ दियो – सबैलाइ आफ्नो भूमिकामा खुशी हुन सिक्नुपर्छ।
अब फेरि देवलोकमा शान्ति फर्कियो। त्रिमूर्ति पुनः पुरानै भूमिकामा फर्किए, र हामीले फेरि भन्न पायौँ:
“ओम् ब्रह्मा विष्णु महेशाय नमः।”
०००
लण्डन
Subscribe
Login
0 Comments
Oldest








































