हरि खनालकुरा हिजोको
उनले सोधिहाले 'ए हजुर. त्यो कुलिङका कुरा के भयो ? त्यसलाई कसरी टुङ्ग्याउँदै हुनुहुन्छ ?' 'ए बाबा धतुर के आइलागेको मलाई ?' मलाई त अचानक काँडाले घोचेजस्तो भयो । वरिपरिका मानिसले ती अपरिचितको सम्बोधन सुनेर सिँहदरवारतिरको मान्छे त ठानेनन् ?

हरि खनाल :
हिजो जीवनको बेग्लै अनुभव र अनुभूतिको दिन बनेर आयो । कहिलेकाहीँ त्यस्तो नमुना दिन पनि आउँदोरहेछ ।विधाताले नै लेखेर आएको होला त ? म सोच्नै सकिरहेको छैन । यति भनेपछि हजुरलाई कुतुहल लागेन ? म सुनाउँछु ।
ओछ्यानबाट उठ्नै नपाई एउटा फोन आयो । ‘बधाई छ हजुर ।’
‘के उपलक्ष्यमा बधाई हजुर ?’
‘के थाहा नपाएजस्तो गर्नुहुन्छ हो । मैले सबै थाहा पाइसकेँ ।’
‘अब साँच्ची पर्याे । के थाहा पाएका होलान् ? मैले खाएको मैले लाएको म सुतेको र उठेको ? कि शौचालय गएको पनि देखे ? इरान र अमेरिकाले खोमेनी कहाँ बसेका छन् भनेर देख्यो भन्थे । अहिले त प्रविधिले के के गर्यो गर्यो । कुन दिन कसले शौचालयमा दिशा गरिरहेको फोटो पनि सार्वजनिक गरिदिन्छ ।’ मनभरि प्रश्नैप्रश्न र आशङ्का।
‘हजुर फलानो संस्थाको प्रमुखमा नियुक्त हुनुभएको हैन र ?’
अब भने मलाई हाँसोले छोप्यो । म मजाले हाँसे । अनि अर्को अर्थ नलागोस् भनेर भनेँ ‘मैले झोला बोकेको छैन ।’
‘झोला नबोके पनि तोकेको लेबी त बुझाउनुभयो होला नि ?’ छोडेन फोनको आवाजले ।
‘कति तोकिएको थियो र ?’ जानकारी लिई हालूँ न भनेर प्रश्न पठाइहालेँ ।
‘एक क ।’ उताको जवाफ आयो । क को नाम सुनेर मलाई भन्भन्ती रिङ्गटा लाग्यो । सानो छँदा बाबाले बाह्रखरी अगिल्तिर राखेर कपुरी क भन्दा त यस्तो रिङ्गटा छुट्दैनथ्यो । जमाना बदलेपछि क पनि कहाँबाट कहाँ पुग्यो पुग्यो । केहीबेर सोचेँ र मुस्किलले समालिएर भनेँ ‘ए हजुर एकपटक फोन नम्बर चेक गर्नुस् न कतै म अर्कै परेँ कि ।’
‘ए हो रैछ सरी सरी । झण्डै अरू गोप्य कुरा पनि खोलेको ?’ फोनकर्ताले फोन राखे । नजिकै बसेर सुनिरहेकी मेरी पत्नी मुसुमुसु हाँसिन् । उनले भनिन् ‘एकछिन अँ अँ गर्न पर्दैन के बेहोस हुन खोज्या त ?’
‘सक्दिन यस्तो नक्कली कुरामा अँ अँ गर्न । तिमी सक्छ्यौ ?’ सोधेँ ।
‘म त केहीबेर अँ अँ गरिदिन्छु । अनि अलिबेरपछि रङ नम्बर भनिदिन्छू ।’ उनले हाँस्दै भनिन् । त्यसैबेला अर्को फोन आयो ।
‘हेलो ए बुढा !’ एउटा महिला स्वर थियो । मैले पनि भनिदिएँ ‘हजुर ।’ स्पिकर खुला भएकाले पत्नीले पनि सुनिन् । उनले चिलले चल्ला गाँजेझैँ फोन समात्न आइपुगिन् र बोलिन् ‘कसलाई खोज्नुभएको ? को बुढा ?’ उनले त्यति भन्नासाथ ‘सरी है रङ नम्बरमा गरेछु ।’ उताको आवाज आयो ।
‘अनि डार्लिङ भर्खरै एकछिन अँ अँ गर्नुपर्छ भन्थ्यौ त । किन खोसेकी फोन ?’
उनले झोक्किँदै भनिन् ‘यस्तो अर्काले बुढा भनेकोमा पनि अँ अँ गर्ने भनेको हो र ?’
‘अनि तिमी त गर्छु भन्थ्यौ त । ए बुढी भनेको फोन यसरी नै काट्छ्यौ ?’
मेरी पत्नी हाँसिन् । ‘बुढी भनेपछि रिस उठ्छ म त काटिहाल्छु । अहिल्यै बुढी त भएको छैन है ।’ पत्नीले अस्पष्ट स्पष्टीकरण दिइन् ।
यो गन्थने घटना बिहानैपखको हो । दिउँसो अर्को गज्जब भयो । एउटा फोन प्रस्ताव आयो ‘यसपालीको फलानो पुरस्कार तपाईँलाई दिने कुरा हुँदैछ के भन्नुहुन्छ ?’
‘त्यो साहित्य संस्था कुन पाटीको भातृसंस्था हो रे ?’ मैले सोधेँ ।
‘थाहा छैन र भन्या तपाईँ पनि जानी जानी सोध्नुहुन्छ ।’ जवाफ आयो ।
‘म त्यो दलको पनि सदस्य होइन । मलाई आवश्यक छैन र दिन पनि हुँदैन ।’ मैले निष्कर्ष नै सुनाएँ ।
‘दलको सदस्य नभए पनि पुरस्कारको रकम र व्यवस्थापन खर्च दिउँला भन्नुभएको छैन र भन्या ? ‘
‘पहिलो कुरा म त्यसो गर्दैगर्दिन । मलाई पुरस्कारको भोक छैन । गिद्धलाई मन्दिरको गजुरमा राखेर त्यो देवता बन्दैन न त देवतालाई जमिनमुनि राखेर त्यो राक्षस बन्छ ।’ मैले जवाफ राम्रैसँग दिएँ । तर उनले पत्याएनन् । उनले भने ‘ए हजुर सबै लेखकहरू यसै भन्छन् । यो त गीतमा भनेजस्तो यी त सब भन्ने कुरा न हुन् ।’ लामो हाँसो ।
‘हजुरले पत्याउनु भएन । म दलको सदस्य पनि होइन निवेशकर्ता पनि होइन । यति हुँदाहुँदै पनि मलाई दिन खोजिएको हो भने त्यो मलाई सिध्याउने प्रपञ्च हो । पत्रकार बोलाएर सिधै अस्वीकार घोषणा गरिदिन्छु ।’ मैले आवेगमा आएर भनेँ । उताका फेरि हाँसे ।
‘उनले भने पत्रकार ल्याउन पनि त कुनै न कुनैको सदस्यता चाहिएन र हजुर ?’
‘नभए मै पत्रकार बनेर लेख्छु । यो मुलुकमा स्वतन्त्र हुने भनेकै एक्लै हुन त हो नि ।’ मैले भनेँ ।
‘माथिका कुनै पनि सर्त नभई पुरस्कार दिन्छन् कि भनेर पत्याउनुभयो ?’
‘छैन । कुनै पनि दलको झोला नबोकेका कतै छन् र तिनले दिए भनेचाहिँ विचार गर्ने कुरा हो ।’ मैले जवाफ दिएँ ।
‘तपाईँसँग अलि अलि झर्छ कि भनेको नसकिने रहेछ । हस् त ।’ हाँस्दै उताकाले फोन राखे ।
फोनमा खाली त्यस्ता लफडावाला कुरा आएपछि मलाई लाग्यो आज फोनलाई माया गरेर सँगै राख्ने दिन होइन । म फोनलाई घरमै छोडेर बजारतिर निस्केँ । केहीबेरपछि एकजना भलादमी नमस्कार भन्दै मेरो सामुन्नेमा उभिए । मष्तिष्कको चोटाकोठा परिचालन गर्दा पनि उनी परिचित हुन् भन्ने आधार मिलेन ।
उनले सोधिहाले ‘ए हजुर. त्यो कुलिङका कुरा के भयो ? त्यसलाई कसरी टुङ्ग्याउँदै हुनुहुन्छ ?’ ‘ए बाबा धतुर के आइलागेको मलाई ?’ मलाई त अचानक काँडाले घोचेजस्तो भयो । वरिपरिका मानिसले ती अपरिचितको सम्बोधन सुनेर सिँहदरवारतिरको मान्छे त ठानेनन् ? त्यसै त्यसै डरले मेरा कपालका रौँ ठाडा भए । म चिच्याएँ ‘कुलिङ सुलिङ म जान्दिन त्यो फुलिङ बुलिङ भएर अब भुलिङ हुन लाग्यो । हजुर जानुहोस् म त्यताको हैन । म डुलिङमा निस्केको ।’
त्यति भनेर म सरासर हिँडे । ती अपरिचितको आवाजले पछिल्तिरबाट ठुँगिरहेको थियो ‘अब त यिनीहरूलाई पनि मान्छेको अघिल्तिर यसरी भाग्नुपर्ने समय आयो हकि ।’
अस्तु
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































