साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरिनाको भेषमा बाउरुको रजाइँ

उनीहरू यति सम्म भ्रममा हुन्छन् कि फिरङ्गिका सक्कल दर्जाका बेठे बाउरु आफै हो र घरेलु घरिना पनि आफै हो । यो दोहोरो भूमिकामा घरिनाको भेषमा बाउरुको रजाइँ चलिरहेको हुन्छ क्षणिक रूपमा ।

Nepal Telecom ad

शिवप्रसाद जैँशी :

घरिना र बाउरु बडो गजबका शब्द हुन् । घरिना मालिकको भूमिकामा हुन्छन् भने बाउरुहरू भने कामदारको रुपमा । नेपाली भाषाको उद्गम थलो मध्यपश्चिम र सुदुरपश्चिममा चलनचल्तीमा धेरै प्रयोग हुने शब्द हुन् घरिना र बाउरु । घरिना घरपट्टी वा घरको साँचो बोकेकी महिला । कविलालाई अन्न पकाएर सन्तुलित रूपमा बाँड्ने आमा । भविष्यमा हुन सक्ने अन्नको अभावको जोखिमको आँकलन गरेर पूर्व व्यवस्थापन गर्ने योजनाकार । घर भित्रकी मुली । अर्कोतिर घरको प्रायः खेतीपतीको मौसममा झिक्कै प्रयोगमा आउने शब्द बाउरु । घरिनाका प्रकार हुँदैनन् । एक घर एक घरिना । बाउरुका केही प्रकार छन् । भुँडे बाउरुः ज्यालाको रुपमा तोकिएको अनाज नालि (दुई पाथी), वा पाथी जेहोस् पछि काम गर्ने गरी अग्रिम रूपमा लिनेलाई भुडे बाउरु भनिन्छ । अनाज दिने घरिना र लिने बाउरुको बीचमा सहमती हुन्छ खेतीको मौसममा अनिवार्य रुपमा भुँडेको मात्रा अनुसार मालिक अर्थात घरिनाले भने बमोजिम काममा सामेल हुने । बिहानको खाना दिउँसोको खाजा र बेलुकाको खाना भने काम गरेको दिन उपलब्ध हुन्छ ।

अर्को प्रकार हो बेठे बाउरु । बेठोमा काम पहिले गर्ने र खेतबारीको अन्न पाकेपछि मात्र खालोपुलोको रुपमा अन्न प्राप्त गर्ने समझदारी हुन्छ । बेठे बाउरु स्थायी भागेको रूपमा हुन्छ । यो हकदार बाउरु हो । बाउरु र घरिना समाजिक मान्यता अनुरुप एक अर्कामा बाँधिएका हुन्छन् । घरिनाको हक बाउरुमा र बाउरुको हक घरिनामा लाग्छ । घरिनाले बाउरु र बाउरुले घरिना परिवर्तन गर्न सक्दैन । एक अर्काले मेरो हक लाग्छ भनेर एक अर्कालाई आफ्नो हकको सवक सिकाउन पनि पछि पर्दैनन् । यसमा पनि खाना र खाजाको व्यवस्था काममा लगाउने व्यक्तिले नै बाउरुलाई उपलब्ध गराउँछ । ज्याला अन्न भने खलोपुलोको रुपमा खेतीपाती पाकेर सनेली सकेपछि मात्र पाउछ बाउरुले । यो बाउरु बलियो रुपमा प्रकट हुन्छ र घरिनालाई आफ्ना सर्तहरू शालिन ढंगले हकभोग अन्तर्गत पुरा गराउन सफल हुन्छ ।

अर्को प्रकार हो ज्याले बाउरु । ज्याले बाउरुमा कुनै पनि कार्यका लागि बाउरु लगाउँदा ज्यालाको रूपमा रकम वा अन्न तत्काल काम गरेकै समयमा भुक्तानी गर्ने । उपलब्ध गराउने । यो बाउरुमा खाना खाजाको व्यवस्था सहित बाउरु लगाएमा ज्याल थोरै हुन्छ । खाना खाजा बाउरु आफैले व्यहोर्ने गरी काममा लगाएमा ज्याला बढी हुन्छ । दुवै पक्षको सहमतिमा वा समाजको चलनचल्तीका आधारमा निर्धारण गरिन्छ ज्याला ।

घरिनाले बडो सचेत र सजग भएर काम गर्नु पर्छ । बाउरुले खेत जोत्दा डान्नो राख्न सक्छ भनेर उसलाई तेले भात वा तल्याय रोटी दिएर खुसी पारेर राम्ररी खनजोत गराउनु बडो कुटनीतिक काम मानिन्छ । खेतमा डान्नो नराखोस्, इल्चोभिटो राम्ररी खनोस्, खन्ने बेला नखनिकन नछोपोस् भनेर फकाइएको हो बाउरुलाई । बाउरुको कामलाई सम्मान गरिएको हो । बाउरु तागतिलो होस् र खेतमा राँटा राम्ररी तान्न सकोस् मन्ने असली मनसाय घरिनाको प्रकट भएको हुन्छ व्यवहार मार्फत । बाउरुलाई बर्गतिलो बनाएर खेतीपाती सपार्ने शुद्ध मन घरिनाको हुन्छ । घरिनाले जितजितको मात्र कल्पना गर्छन् ।

वास्तवमा उहिल्यै खेतबारीमा काम गर्दा जग्गा जमिनमा बढी भएका मानिसहरूले कम भएका मानिसहरूलाई लगाउँथे वा एक्लैले नभ्याउने समूहमा गर्नु पर्ने काम जस्तै रोपाइँका लागि बाउरु अनिवार्य हुन्थ्यो । हाल यो सबै प्रथा र प्रकारको अन्मुलन भै सकेको छ । ज्याले बाउरु मात्र अभ्यासमा समान्य जीवन शैलीमा छ, समाजमा, घरमा । समान्तवादको अवशेष पनि हो यो प्रथा । समाजले पुँजिवादमा फड्कामारे पछि परम्परागत बाउरु प्रथाले पनि फड्को मार्योव र ज्याले बाउरुमा परिणत भयो पूर्णतया ।

यो बाउरु प्रथा घरबाट उक्लेर राष्ट्रमा प्रवेश भएको आँकलन गरीदै पो छ आजकाल । राष्ट्रमा प्रवेश भएपछि राजनीतिमा भने यी सबै बाउरुहरूको भरमग्दुर उपयोग भै रहेको पाइन्छ । विशेष गरी अल्पविकसित राष्ट्रहरूमा । भनिन्छ नेपालको राजनीतिमा बाउरुहरूको बाहुल्यता छ भन्नेमा कुनै शङ्का छैन । बाउरुहरूको बगाल नै छ भनिन्छ । बाउरुहरू भुँडे पनि छन् । बेठे पनि छन् र ज्याले पनि छन् । भुँडे बाउरुमा बाउरुले धोका दिन सक्छ तर धोका पाउदैन किनकि यसमा ज्याला भुँडको रुपमा अग्रिम प्राप्त गरिसकेको हुन्छ । बेठेमा बाउरुले धोका पाउन सक्छ । काम फत्ते गरी सकेपछि मालिकले नदिन पनि सक्छ । सुनिन्छ भारतमा इन्दिरा गान्धीले बेठे बाउरुको रुपमा सिक्किमका लेण्डुप दोर्जेलाई प्रयोग गरिन् र सिक्किम भारतमा बिलय गराइन् । सक्किम विलय गराइ सकेपछि लेण्डुपलाई भेट्न पनि अस्वीकार गरिन् । पछि लेण्डुप पछुताएर काम भएन ।

राजनीतिमा बाउरु साङ्लो निर्माण भएको छ कि भन्ने पनि छन् । वास्तवमा साङ्लोविहीन राजनीति गर्न कठिन हुन्छ । फरिङ्गीले यहाँ बाउरुलाई नै घरिना बनाए र अभौतिक साँचो आफ्नो हातमा राखेका छन् र विभिन्न प्रकारका बाउरुहरू को साङ्लो निर्माण गरेका छन् । भुँडे बाउरु नियुक्त गर्दा उनका छोरा छोरी चेला चपेटालाई शिक्षादान गरेर दीक्षित बनाइ भावी बाउरुहरू जन्माएर राखेका छन् । यी भुडे बाउरुहरूले नुनको सोझो भएर फिरङ्गिको सेवा खेतिपातीको कुनै एक मौसममा मात्र काम गर्नु पर्ने छैन बल्कि पुस्तौँपुस्ता हाजिर हुनु पर्ने छ । आधुनिक विज्ञानको युगमा मन्द बिख भन्नु पर्ला यसलाई ।

भुडे बाउरुको सङ्ख्या डरलाग्दो देखिएको छ । उपल्लो तहमा घरिनाको रुपमा एक जना भुँडे, बेठे र ज्याले सबै प्रकारको संयुक्त खिचडी बाउरु नियुक्त गरी पासवर्ड आफ्नो हातमा राखेर घरिनाको भ्रम छर्न सन्जाल निर्माण गरेका छन् । तिनै बाउरु रूपी घरिना मार्फत सत्ता हत्याएर शासनमा आसन गराइ कुरीकुरी गर्छन् अदृश्य घरिनाहरू ।

अलिअलि फकाउछन् । तेले भात पठाउँछन् । तल्याय रोटा पनि पठाउँछन् । चिल्लोको स्वाद र शरीरमा आर्जन हुने शक्तिको भ्रममा पर्छन् यी बाउरु । आफूलाई ख्वामितले बेठे बाउरु बनाएको भान परेर मक्ख पर्छन् । सुत्केरी भएको बेला खुवाइने तेले भातमा मक्ख पर्छन् र सुत्केरीले प्रसव वेदनाबाट दिएको नयाँ प्राणको सुखानुभूतिको मुस्कान छोडे झैँ फुत्किन्छ यिनको पनि मुस्कान र बाउरु हो भन्ने बिर्सेर घरिना बन्न खोज्छन् । यिनको हाँसो फुत्किन नपाउदै फिरङ्गिले पासवर्ड परिवर्तन गरी दिन्छ । यिनीहरू हिस्स बुढी हरिया दाँत हुन्छन् तर चेत भने फर्किदैन । उता फिरङ्गिले भने अर्को बाउरु तयार गर्छ । फिरङ्गिले आलोपालो बाउरु अन्तर्गत यिनका मुटु, कलोजो, फोक्सो अनि समग्रमा यिनको सासको गति आफ्नो नियन्त्रणमा लिएको हुन्छ ।

बाउरे साँङ्लोमा बाँधिएका आलोपालो बाउरुहरू बँधुवा भएपछि यिनले पनि अरु सहायक बाउरुहरूको खोजी गर्छन् । आफ्ना निजी बाउरु तयार गर्छन् । निजी बाउरुहरू भने स्थायी प्रकृतिका हुदैनन् । जता ज्याला उतै फर्कन्छन् । अनी नयाँ बाउरुहरूको खोजी हुन्छ । फिरङ्गीले यी तल्लो दर्जाका बाउरुहरू परिवर्तन गर्न कठपुतली घरिनालाई एक्ल्याउन विभिन्न बहाना बनाउँछन् ।

कहिलेकाहीँ भुड उपल्लो बाउरु मार्फत नपठाइ सोझै तलतल पठाइदिन्छन् विभिन्न औजारहरू मार्फत । कानूनी औजार प्रयोग गर्छन् । हलो, हलानु, जुवा र हलौँडोको हत्या गरेर अनि कलमलाई निष्क्रिय बनाएर कानुनमै डान्नो पार्छन् । साँगठनिक औजार प्रयोग गर्छन्- गैर सरकारी संस्था जन्माउछन् अलिअलि रकम पठाएर गाउँगाउँमा खटाउछन् बाउरुहरू । स्कुलमा खाजा पठाउँछन् । अन्नबारी बाँझो बनाउन सघाउँछन् । स्कुललाई बस दिन्छन् मास्टर मक्ख । यता मुखिया बाउरु जान्छ उदघाटनमा । संस्कार र संस्कृतिमा डान्नो पार्छन् आफ्नो छिराएर रैथाने मेटाएर । भाषामा डान्नो पार्छन् जिब्रो बिगार्न लगाएर । भेषभूषामा डान्नो पार्छन् पुरातनको पगरी गुथेर । कर्म र कृतिमा डान्नो पार्छन् रुढीवादको बिल्ला भिराएर ।

आफ्नो पनको अन्नमा डान्नो पारेर देशको भाकारी रित्याउँछन् । रैथाने बिउँबाली खेतीपाती सिध्याउँछन् । गाईभैँसी, चल्ला, चाखुडा भुटीकुटी पार्छन् । आफ्ना आफन्त बोकी गुटीमुटी घरिनाको भेषमा सत्तासिन भयौना बाउरुहरू बस्छन् ।

बेठे, भुँडे र ज्याले सबै थरिका बाउरुहरूको साँङ्लो आफू अनुसार निर्माण गरेको अत्तोपत्तो ती उपल्ला बाउरुहरूलाई हुदैन । उनीहरूलाई घरिना नै हो भन्ने महसुस भएको हुन्छ । उनीहरू यति सम्म भ्रममा हुन्छन् कि फिरङ्गिका सक्कल दर्जाका बेठे बाउरु आफै हो र घरेलु घरिना पनि आफै हो । यो दोहोरो भूमिकामा घरिनाको भेषमा बाउरुको रजाइँ चलिरहेको हुन्छ क्षणिक रूपमा । अल्पकालका लागि । अल्पकालमा पल्किएकाहरूका गिदीमा दीर्घकालको सपना र विपना दुवै डिलिट भइसकेको हुन्छ । वास्तवमा उनीहरूलाई यो पनि थाहा हुँदैन कि- घरिना बन्न सजिलो हुन्न कविला अघाउन आफ्नो भोक लुकाउन सक्नु पर्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Durga prasad Adhikari
Durga prasad Adhikari
1 year ago

परम्परित सामाजिक यथार्थ बाउरु बलियो होस !खेतका राँटा तान्न सकोस ( बाउरु पल्केउनु, पाउनु न पल्केउनु) ।अहिले को सम सामयिक राजनैतिक व्यँग्य । राज नैतिक बाउरु !आह !

Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
1
0
Would love your thoughts, please comment.x
()
x