कुमार खड्काटाउकाको मूल्य
अशिक्षित र रुढीबादी समाजमा मुट्ठी भरका टाठाबाठा बाहेक सबैको मूल्य अदृश्य शक्तिको टाउकोमा हुन्छ । तिनैले अतिरिक्त मूल्यको सिद्धान्त अनुसार नाफाको तर मार्दै शोषण गरिरहेका हुन्छन् ।

कुमार खड्का :
जे हुन्छ, जसो हुन्छ, टाउकोभित्रकै करामत हुन्छ
सुन्दर, विकृत, शुभ अशुभ उसै भित्र बरामद हुन्छ
शक्तिशाली यन्त्र छिप्छ खोपडीको झुपडीमा र त
ज्ञान, विवेकको कसि लाउने उस्कै अभिमत हुन्छ ।
बच्चामा खेल खेल्दा गाई कि त्रिशूल भनेर पाँचपैसे, दश पैसे ढ्याक टस गरेको याद अहिले पनि आउँछ । चाहे कपर्दी खेल्दा होस् या डण्डिबियो, हल्ला खेल्दा होस् या गिर्रा र लाम्पुछ्रे फ्याक्दा, बाघचाल होस् या बुद्धिचाल, गाउँचाल होस्, या नागचाल, रोजेको साइट, रङ, पाउनको लागि गाई कि त्रिशुल गरिन्थ्यो । अहिले पनि प्रायः जुनसुकै खेलमा टस गरेरै पहिलो चाल चल्ने प्रथा कायमै छ । जे भनेपनि टाउकोले प्रथम र अग्रिम प्राथमिकतालाई प्रतिकात्मक रुपमा प्रस्तुत गर्छ ।
विरोधि र सत्रु पस्ने एवं खेद्ने पछाडिबाट र प्रहार गर्ने टाउकोमै हो । कमजोर नाकाबाट छिरेर मूख्य अङ्गमा प्रहार गर्ने । शत्रुले लगाएको जुत्ता, खुट्टादेखि क्रमशः शिरसम्म हेर्छन् रे, मित्रले शिरपोसदेखि नियाल्छन्, भनिन्छ । आश र त्रास मान्छेको आँखामा देख्न सकिन्छ । अभिनय, हाउभाउ, कटाक्ष, भय, त्रास, माया, दया, क्रुरता जस्ता विविध भावभङ्गी आँखाबाटै धेरै हदसम्म बुझ्न सकिन्छ । तेस्रो आँखा भृकुटीमा हुन्छ, भन्छन् । मानिस सोच मग्न र चिन्ताग्रस्त हुँदा छातीमा ऐँठन भृकुटीमा टनटन घण्टी बज्दै दिमागी सङ्कुचन हुने कुरा भोगाइको ज्ञानले प्रमाणित गरेको छ । आखिर विशेष ज्ञान र सकारात्मक ऊर्जाको प्रतिनिधित्व धार्निको टाउकोले नै गर्छ ।
अष्ट चिरञ्जीवी मध्ये अश्वस्थामाले मणि लुकाएको स्थान मक्सद, रावणका दस टाउका, महादेवका त्रिनेत्र, मानव शरिरको पाँच ज्ञानेन्द्रीय र दस कर्मेन्द्रीयको सन्चालन गिदीरूपी लेदोले गर्ने भएकोले, सृष्टिकर्ता ब्रम्हाको चौतर्फी दृष्टिको रूपमा चार टाउके प्रसङ्ग समेतले यसको महात्म्य कति विशाल छ भन्ने स्पष्ट हुन्छ । अहिले चिकित्सा विज्ञानले दिमागी चेतना रहेसम्म विरामिको मृत्यु घोषणा गर्न नसकिने प्रोटोकल लागु गरेपछि सम्पूर्ण शरीरमा आफ्नो टाउको भन्दा महत्व कसैको बाउको नभएको कुरा स्पष्ट हुन्छ ।
मध्ययुगीन ग्रिक साम्राज्यमा सत्रुको टाउको काटेर लात्तिमार खेल्दै क्रोध शान्त पारेको प्रसङ्ग सँगै फुटबल खेलको विकाससम्म र सत्ता परिवर्तनको खेलमा भएका विभिन्न काण्डका जालझेल, सात साले क्रान्ति ताकाका चार टाउका र त्यो भन्दा माथिको पाँचौ टाउकाको प्रसङ्ग, दस वर्षे हिंसात्मक युद्धका सत्र हज्जार टाउकाको मूल्य र तिनकै टाउकाको मूल्यमाथि आफ्नो हितमा निहित विलाशी साम्राज्य खडा गरिएको प्रसङ्ग तथा समाज विकासका विभिन्न कालखण्डमा गुमेका टाउकाहरूको स्मरण कायम गर्न स्थापना गरिएका टाउकाहरूको हिसाबकिताब हेर्दा इतिहासनै टाउका जोगिएकाहरूले आफ्ना पक्षका टाउका गुमाएकाहरूको लागि टाउकालेनै लेखिएको या पुनर्जागरण गरिएको एकपक्षीय घन टाउके अभिलेखन हो भन्दा फरक नहोला कि जस्तो पनि लाग्छ ।
कोही घोडाको भएपनि टाउको हुनुनै राम्रो भन्छन् । सिंहको भन्दैमा पुच्छर बन्न खोज्ने कायर र पछौटेहरूले हो रे । रातारात पार्टिनेता बन्ने धुनमा टुट, फुट र गुट सिद्धान्तमा लागेका लिप्तहरूको झुण्ड र बजारमा उनीहरूको बढ्दो माग देख्दा हो जस्तो नि लाग्छ । यसरी बहादुर सैनिकहरूको कमान्डर बन्नु गर्वकै विषय हो, तर बहादुर कमान्डरको सैनिक बन्दा पनि टाउकाको मूल्य कायम होला भन्ने एकाथरि मान्यता सिथिल जस्तै भएको छ । चाहे अस्तित्व टिकाउमा होस् या आफ्नो बिकाउमा होस्, चाहे खेल जित्न होस् या अरुलाई थिच्न, टाउकाकै प्रयोग हुन्छ । ज्ञान लिन, बाँड्न होस् या आदर्श छाट्न होस्, सुद्धी बिग्रिन होस् या बुद्धि सप्रिन होस्, दिमाग भरिएको टाउको चाहिन्छ । वैज्ञानिक चमत्कारी होस् या दूर्व्यसनी र बलात्कारी होस्, गिदिको लेदोकै कमाल हुन्छ । फरक यति छ कि कसैको गिदी लिदिले भरिएको हुन्छ, कसैको सचेतनाका विधिले भरिएको हुन्छ । एउटा गिदी उज्यालोको खोजीमा हुन्छ, अर्को गिदी अन्धकारको रोजिमा हुन्छ । एउटा बुझपचाएर बौलाहा हुन्छ, अर्को लाज, घीन, सरम पचाएर शाहन्शाह बन्छ । मान्छेको चेतनाले काम गर्ने भएकोले सिङ र दाह्रा नदिएको हो भन्छन् प्रकृतिले, तर मूर्ख, मनुवाहरूको विधि व्यवहार हेर्ने हो भने त तिनको प्रहार सिङ र दाह्राको प्रहार भन्दा निकै घातक, धर्म, कर्तव्य, निष्ठा र इमानविरुद्धको पञ्चपातक हुन्छ । त्यसैले मान्छेको गिदिमै दार्हा, नङ्रा लगायतका विषालु हतियार मतियार भएर मिसिएका हुन्छन् ।
दानवी राज होस् कि ईश्वरिय राज होस्, सकारमा होस् कि नकारमा, पौराणिक होस् या आधुनिक, जङ्गली समाज होस् या सभ्य समाजको कुरा होस्, सामूहिक स्वार्थ पूर्तिका लागि सामुहिक नेतृत्व र सङ्गठन, जनशक्ति र त्यसको परिचालनको कुरा आउँछ, जनशक्ति लेभलिङको कुरा हुन्छ । आवश्यक्ताको सिद्धान्तमा सङ्गठन, नेतृत्व, व्यक्तिगत जिम्मेवारीको कुरो आउँदा एउटा पदिय सोपानको चुरो बन्छ । आखिर जे जस्तो प्रारूप बनाए पनि टाउकाकै कर्मको कमालभित्र प्रतिफलको धमाल हुने त हो नि ।
पदार्थबाट चेतना र चेतनाबाटनै पदार्थको प्रयोग, उपयोग, आविष्कार र सृष्टि हुन्छ । अन्य गौढ र दोश्रो दर्जाका कुरा हुन । चेतनाको ज्योती पूञ्ज यो ब्रह्माण्डको सबैभन्दा शक्तिशाली मेशिन भनेको मानिसको मस्तिष्क र त्यसलाई सुरक्षित रुपमा धारण गर्ने टाउकोको कुनै मूल्य तोक्नु आफैँमा जटिल विषय हुन्छ । सर्वप्रथम अरु टाउकाको मूल्य तोक्ने टाउकाको मूल्य कस्ले तोक्ने ? कसरी तोक्ने ? भन्ने प्रश्न आजको गम्भीर समस्या पनि हो ।
ब्रह्माण्डको सूचना रिसिभ, इन्पुटदेखि एनालाइसिस, उपयोग तथा आउटपुट निकाली मानव जीवन उपयोगमा सन्तुलित लगानी र प्रतिफल निकाल्ने काम दिमागले गर्दछ । मानव मस्तिष्कको तुलना अर्को मान्छेसँग मात्र हुनसक्छ, अन्यसँग् हुनै सक्दैन । मान्छेपिच्छे यसको मात्रा, क्षमता, उपयोगको तरिका फरक फरक हुनसक्छ । यसको समग्र विकास क्रमलाई विज्ञानले अहिलेसम्मकै सर्वमान्य सिद्धान्त मानिएको डार्विनको जीव विकास र ग्रेगर मेण्डलको विकासवादी सिद्धान्त, अन्तर्गत राख्ने प्रयास गरेको छ ।
अल्बर्ट आइन्स्टाइन, न्युटन देखि प्रो. हकिन्स सम्म सारा वैज्ञानिक, दार्शनिक, विद्वानसमेतका कुरा टाउकोभित्रकै मस्तिष्कका उपज हुन् । हाल सम्मका विधि व्यवहार, नीति, नैतिकता, नियम, कानुन, संविधान, राजनीति, अर्थ नीतिदेखि कुटनीतिसम्म सारा सञ्चालन गर्ने टाउके मध्येकै घनटाउके, खप्परे, तीन टाउके, चार टाउके, दस टाउकेहरूनै हुन् । बुद्धदेखि कन्फ्युसियससम्म, रामदेखि हरामसम्म, कार्ल मार्क्सदेखि हिटलर, स्टालिन हुँदै हाम्रै शरद्का खाओवादी, लोकतन्त्र र गणतन्त्रका डम्फु बजाउनेदेखि स्वतन्त्र भनिने घाँटीमा घण्टी झुण्ड्याउनेसम्म टाउको र टाउकोकै करामतले चर्चामा आएका हैनन् त ?
अघिअघि लाग्ने या पछुवा हुने, नेता बन्ने या कार्यकर्ता, बुद्धिमानी या अभिमानी बन्ने भन्ने सारा टाउकोकै कमाल हो जस्तो लाग्छ । टाउकोले बेमौसमी खेती गरे भन्न सकिन्न, मौसमी खेती गरे राम्रै उत्पादन हुन्छ, अन्य तत्वहरूको आवस्यकता र आपूर्ति पनि सही टाउको मार्फत हुनुपर्ने कुरा बेग्लै तथ्य र यथार्थतामा छँदै छ । सोझो बाटो विचारेर गाडी गुडाए गन्तव्यमा पुगिन्छ, नत्र भन्न सकिन्न । रुढिवाद होस् कि प्रगतिवाद, हिंसा र घात प्रतिघात होस् या साधुवाद, तन्त्र होस् या मन्त्र, …सारा चिजको जडनै टाउको र त्यसभित्रको गुदी हुन्छ । क्रान्तिकारीनै भ्रान्तिकारी हुनसक्छन्, मनोचिकित्सक नै मनोरोगी हुनसक्छन् । जोगीनै भोगी भइरहेका छन्, डाक्टरनै रोगी भइरहेका छन् । गुरु बने गुणका गुण, चेला बने चिनी,… सबै टाउकोकै कमाल त हो । यिनै अन्तिमका पदावलिहरूको नेतृत्व र कर्मले हामीलाई दिशाहिन र किंकर्तव्य विमुढ गराएको पनि हाम्रो जस्तै मुढी र दासी टाउकाहरू ज्यादा भएकोलेनै हो नि हैन र ?
कल्पना गर्ने पनि टाउको, आविष्कार गर्ने पनि उहीँ । बनाउने, बिगार्ने, मर्ने, मार्ने प्रमुख कारक पनि टाउकोकै कमाल, शरिरका सारा अङ्गहरू सहायक सेनाहरू जस्ता मात्र हुन्छन् । आखिर बुद्धि, विवेक, ज्ञान, विज्ञान, माया, दया, क्षमा, दान.. जे जे छन् सारा टाउकोकै कर्मका हालसाविकि मात्र त हुन् । विज्ञानको सदुपयोग या दुरुपयोग, राजनीति लगायत हरेक नीतिहरूको उपयोग वा उपभोग गर्न पनि यसकै कमाल हुन्छ । एटम वम्ब विस्फोटनदेखि क्लाउड सिडिङ्ग रेनको उत्पात, आणविक हतियार उत्पादन, ए.आईको प्रयोग, कृत्रिम सूर्यको उपयोग, जैविक हतियारको होडबाजी, अन्तरीक्ष पर्यटन सम्मका यावत कुरा टाउकाको कमालले हुदैछन् ।
ग्रास रुटमा विविध पेशामा आवद्ध स्वतन्त्र खाले श्रमजीवि टाउकाहरू छन्, विकास निर्माणमा विज्ञान प्रविधिको टाउको, त्यो भन्दामाथि विषय विज्ञहरूको टाउको, व्यवस्थापनको टाउको, व्युरोक्रेशिको टाउको, त्यो भन्दा अझै माथी गुण्डाराजको टाउको, लाजनीतिक व्यापारिको टाउको, माफियाको टाउको… ! बीचमै बसेर, रोलक्रम र मर्यादा मिच्दै भीडमै पसेर वा नेपथ्यमा बसेर भुँडी पड्काउने, घाँटीभन्दा ठूलो हड्डी अड्काउने टाउकाको मूल्य तोक्नै गाह्रो छ । सानो स्तरका मानव संशाधनको मूल्य माथिल्लाले तोकेका हुन्छन्, तर जति माथितिरका हुन्छन्, तिन्ले आफ्नो आफैँ स्वैच्छिक मूल्य निर्धारण गरेका हुन्छन्, न बजारमा जानकारी, न आवश्यक निर्धारणका आधारहरू… !
मानिसको परिचयनै सिर्जनात्मक प्रतिभा र चेतनशील तन्तुहरूको कारण भएको हो । जतिनै प्रविधिको विकास भए पनि मानव चेतना, प्रतिभासँगै सिर्जनशीलताको महत्व बढी हुन्छ । जति कृत्रिम जेहन्दारीका प्रविधि सक्रिय हुन्छन्, सिर्जनशीलता र संवेदनाको गयलिको कारण साधन मात्र हुने र साध्य हुनै सक्दैनन् । तसर्थ मानव टाउकाको मूल्य मेसिन र प्रविधिसँग दाँजेर कहिल्यै अवमूल्यन गर्न पनि सकिँदैन ।
जस्को अधिकार र संशाधनको पकड ज्यादा छ, उस्को कर्तव्य र जिम्मेवारी न्यून छ, जस्को अधिकार र संशाधनमा संकुचन छ, कर्तव्य र जिम्मेवारी ज्यादा छ । हाम्रो जस्तो समाजमा पहिलो तहकाले टाउकाको मूल्य तोक्ने अधिकार पाएका हुन्छन्, उस्ले अरुको छोडेर आफ्नै मूल्य बढी तोक्नाले काम गर्ने कालू, मकैखाने भालु भन्ने उखान चरितार्थ भइरहेको छ । प्रविधियुक्त श्रमशील मानव टाउकोको मूल्य नभएर ब्रेन ड्रेनको समस्याले उग्ररूप लिएको छ । श्रमशक्तिको अवमूल्यन भएर स्वदेशी पौरख कौडीको भाउमा विदेशीएका छन् । मूल्यवान टाउकाहरू मूल्य नपाएर पलायन हुदैछन् । आजको तीतो यथार्थ यहीनै हो ।
मूल्यहीन टाउकाहरूले मूल्य तोक्ने गर्छन्
मूल्यवान् टाउकाहरू कुलेलम ठोक्ने गर्छन्
अमूल्य ती टाउकाहरू चेतशून्य भएझैँ गर्दा
फुकादामे टाउकालेनै सुन, हिरा जोख्ने गर्छन् ।
जे भए पनि खुल्ला समाजमा सक्षमहरूले बेरोकतोक टाउकाको मूल्य आफैँ निर्धारण गर्न सक्छ भने निरङ्कुश समाजमा बहुसङ्ख्यक निम्छरो हुने सम्भावना र अरुले तोकेको टाउकाको मूल्यमा सधैँ थिचिनु र पिसिनु पर्ने हुन्छ । अशिक्षित र रुढीबादी समाजमा मुट्ठी भरका टाठाबाठा बाहेक सबैको मूल्य अदृश्य शक्तिको टाउकोमा हुन्छ । तिनैले अतिरिक्त मूल्यको सिद्धान्त अनुसार नाफाको तर मार्दै शोषण गरिरहेका हुन्छन् । बहुमूल्य टाउकाहरूले मूल्यहीन टाउकाको अवशान गर्दै अमूल्य टाउकाको मूल्य निर्धारण गर्नुपर्ने बेला आइसकेको सन्दर्भमा सम्बन्धित सबैलाई टाउको ठड्याएर आ आफ्नो टाउकोको मूल्य बुझ्दै आआफ्नो भूमिकामा रहन आह्वान गर्दछु । सकारात्मक टाउकाहरूको जय होस् !!
अस्तु…!!!
०००
आलापोट, काठमाडौं।









































निकै राम्रो सशक्त व्यङ्ग्य । हार्दिक बधाई ।