मनीषकुमार शर्मा ‘समित’कात्रोको खल्ती
फर्केको थियो एक पटक अंश माग्न । मरेपछि सबै तेरो त हो नि के भनेको थिएँ कलह मच्चियो । खुकुरीको धारमा धम्कायो ‘यत्रो सम्पत्ती सोहरेर बसेका छौ । मरे पछि साथ लादैनौ त होला नि ?’ उसका तीता शब्दले र व्यवहारले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।

मनीषकुमार शर्मा ‘समित’ :
“ए पर जा ! कता लास छुन आएको ? कहाँ कहाँबाट आउँछन् भिखारीहरू ।”
मृत देहको नजिक पुग्न खोज्दै गरेका एक झुम्रे- झुत्रे बुढा बा कर्कस आवाजले हच्किए र केही पछाडि सरे ।
फेरि मलामीसँगै उनी पनि सुस्तरी अघि बढे र नजिकै पुग्न खोजे । यो पटक एक मलामी उनलाई ठेलेर पर पुर्यायो । उनी ढलमलिँदै म नजिकै आइपुगे । उनलाई सम्हाल्दै सोधेँ-
“किन बा घरिघरि लासको छेउ पुग्नु हुन्छ ? तपाईको कोही आफन्त हो ?”
उनले एकोहोरो लासलाई हेरीरहे । केही बेरको मौनतापछि बिस्तारै भने “छोरा….।”
मृतक, टोलको निकै धनीमानी, पारिवारिक नातामा श्रीमती र सन्तान बाहेक कोही नभएको सबैलाई जानकारी थियो । अब यी बा कसरी निस्किए ? प्रश्नको ओइरो लाग्यो दिमागमा ।
“एक्लो सन्तान, आमाविहीन थियो, उसको खुशीको लागि के गरिन र ? हुर्कियो, बढ्यो, सहर छिरेर ठुलो मान्छे भयो । पढेबढेको गाउँ विरानो भयो ।”
“अनि कहिल्यै गाउँ फर्केन त ?”
“फर्केको थियो एक पटक अंश माग्न । मरेपछि सबै तेरो त हो नि के भनेको थिएँ कलह मच्चियो । खुकुरीको धारमा धम्कायो ‘यत्रो सम्पत्ती सोहरेर बसेका छौ । मरेपछि साथ लादैनौ त होला नि ?’ उसका तीता शब्दले र व्यवहारले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।”
“हैन कति साह्रो मतलबी र निर्दयी भएका अहिलेका सन्तान ?” लामो श्वास फेर्दै भने ।
उनले रुन्चे हाँसोमा भने-
“ऊ मात्र हैन म पनि निर्दयी छुँ। तिमीलाई के लाग्छ म उसको मलामी आएको हो र ? म त उसको कात्रोको खल्ती छाम्न आएको ।”
०००
मध्यपुर ठिमी, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest







































