साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडादमीका बडा बात

बडादमीहरूको सपना जपना एउटै काम, ढुकुटीलाई जतिसक्दो सुकुटी पार्ने । आखिर कथनी र करनीमा जतिसुकै आकाश जमिनको फरक भए पनि कसले के लछारपाटो लाउनसक्छ र !

Nepal Telecom ad

सुमी लोहनी :

मित्र तपैंलाई थाहा छ ? वाग्मती, विष्णुमती, रुद्रमती…आदि नदीनालाका किनार नजिकै अनेकौं मठमन्दिर छन् तर राजधानीको मुटुमै बग्ने इक्षुमतीको किनार या नजिकै बडा बडा दरबारहरू छन् । किन अथवा यसको कारण के होला ? कल्पनामै सही यसो खाली दिमाग बोकेर मगमगाउने त्यही सुगन्धमतीमा झ्वाम्मै फालहालेर पौडी खेल्नुभयो भने गुह्य कुरोको चुरो च्याप्पै तपैंको करकमलमा !

अब हेर्नुस् त मित्र ! खुसार्नीटारको वारिपारि होस् या इक्षुमतीको बाटैबाटो अथवा यसो भनौं इक्षुमती र वाग्मतीको मिलन नहुन्जेलसम्मको छेउछाउमा भएका बडा बडा महलमा बडा बडा बडादमीहरू बिराजिबक्सिन्छ । बेला बेलामा आलिशान हवेलीमा बस्ने बडा हजुरहरू बडा कुरा कवोली सर्वसाधारण मनुवाका खातिर भाषण गर्ने, अन्तर्वार्ता दिने, विज्ञप्ती निकाल्ने …आदि कष्ट गरिबक्सिन्छ । बडादमीका बडा बोलीवचनमा बडा बडा बात त हुने नै भए ।

अव कूल दरवारका मूली हुन् कि चीन र रुसका राजदूतावास बिचका (छिमेकी) दरबारका मूली हुन् या अरु दरबारका, कुरोको चुरो त ‘हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो’ भनेझैं उही एउटै हो क्यारे ! भनेअनुसार गर्नुनपर्ने भएपछि जति ठूला कुरा गरे पनि भइहाल्यो ! फेरि कहिलेकाहीँ हाड नभएको जिब्रो चिप्लिएर ‘गर्दिनँ’ भन्नुपर्ने कामकुरालाई ‘गर्छु’ या ‘खान्छु’, लिन्छु’ भन्नुपर्ने कुरालाई ‘खान्न, लिन्न’ भन्ने जस्ता बोलीवचन रोक्दारोक्दै पनि बडादमीका मुखारविन्दबाट फुत्त फालहालिहाल्छ ।

यस्ता कुरालाई कसैले केही वास्ता गरेनन् भने त खुदो भइहाल्यो, यदि कसैले प्रश्न गरेमा आफूले केही समयअगाडि छताछुल्ल पारेर बोलेभनेका कुरा सरक्क चाटेर घुटुक्क पारे भइहाल्यो । हद्द भए ‘हेर फलानो बडादमीले आफूले थुकेको थुक खकारसहितै चाट्यो’ भनेर पर्खालबाहिरका कसैले केही भनिहाल्यो भने पनि प्रत्यक्ष सुनिने होइन, सुनिहाले पनि नसुनेझैं गरे भइहाल्छ ।

‘झिँगोको श्रापले डिँगोको रौं पनि झर्ने’ होइन क्यारे ! कथंकदाचित सुनियो या देखियो र लाज लाग्नलाग्न खोज्यो भने, कुनाकाप्चाबाट इमान, जबान, नैतिकतासैतिकता आदिले च्याउन थालेभने ती जाबा लाजसाज…लाई च्याप्प च्यापेर इक्षुमतीमा फुत्त पारेपछि जैरे लाज, इमान, जबान, नैतिकता आदि इत्यादिको कुरै खत्तम । अब बेला बेलामा बडादमीलाई यस्ता झिनामसिना कुरा आफल्न टाढा जाने कष्ट गर्न नपरोस् भनेर बडे बडे दरबारहरू बडादमीका कामकुराजस्तै हररर मगमगाउने, सुगन्धित इक्षुमतीका किनारमा बनाइएका होलान् ।

यसरी आफ्नै बासनजिक बारैमास बास आउने इक्षुमतीले सजिलैसँग आफ्नो इच्छा पूरा गर्दिने भएपछि बडादमीहरूको सपना जपना एउटै काम, ढुकुटीलाई जतिसक्दो सुकुटी पार्ने । आखिर कथनी र करनीमा जतिसुकै आकाश जमिनको फरक भए पनि कसले के लछारपाटो लाउनसक्छ र ! डाडु आफ्नै, चम्चा आफ्नै, वरिपरिका चाटुकार भजनमण्डली पनि आफ्नै …यति भएपछि अरु के चाहियो र !

अझ आजकल त बडादमीहरूको शब्दकोशबाट लाज नै लज्जित भई लुत्रुक परेर लोप भइसक्यो रे ! भन्ने गाइँगुइँ छ लोकमाझ । र यो कुरा जानेर करैकरको करले करङ कर्‍याककुरुक भएका हामी भुइँमान्छेहरू अति प्रसन्न छौं, हैन त मित्र …???

०००
हाल, अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x