साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोर्ने फोर्ने – एक हौँ !

‘हो त फोर्ने भए फोरौँ । सब फोरौँ । घर फोरौँ, नाता फोरौँ, सम्बन्ध फोरौँ, समाज फोरौँ, पार्टी फोरौँ, सरकार फोरौँ, सकिन्छ र फाइदा हुन्छ भने देशै फोरौँ ।’ बजरङ्गी, ठाकुर र मोहम्मद दिगम्बरको प्रस्तावमा तयार भए ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

‘उ, उ, फेरि फुट्यो ।’ टिभी हेर्दाहेर्दै एक्कासी बजरङ्गी करायो ।
‘खै खै, के फुट्यो हँ ?’ अर्को कोठाबाट ठाकुर दौडिँदै बजरङ्गी भएको ठाउँमा आइपुग्यो ।
‘उ क्या उ टिभीमा ।’ टिभीतिर देखाउँदै बजरङ्गीले भन्यो ।
ठाकुरले टिभीतिर हेर्‍यो । टिभी फुटेको थिएन ।
‘होइन ए बजरङ्गी ! थोडी टिभी कहाँ फुटेको छ ? मज्जाले चलिराको टिभीलाई फुट्यो भन्छस् । तँ बहुलाइस् कि क्या हो ?’ ठाकुरले बजरङ्गीलाई भन्यो ।
‘टिभी होइन क्या, समाचार हेर्न समाचार ।’ बजरङ्गीले फेरि टिभितिर देखाउँदै भन्यो ।
ठाकुरले टिभीतिर हेर्‍यो । टिभीमा ठाकुरले हेर्दा फेयर एण्ड लभ्लीको विज्ञापन बजिरहेको रहेछ । ‘हाहाहाहाहा ….. हाहाहाहाहा… हाहाहाहाहा… ।’
ठाकुर अट्टाहटसँग हाँस्यो । उसको चर्को हाँसोको आवाज सुनेर माथ्लो तलामा बस्ने दिगम्बर, परमेश्वर र मोहम्मद पनि त्यहीँ आइपुगे ।

‘ए ठाकुर ! किन यसरी हाँसेको हँ ? तँ बहुलाइस् कि के हो ?’ दिगम्बरले ठाकुरलाई भन्यो ।
‘म बौलाएको होइन दिगम्बर, बरू यो बजरङ्गी बहुलायो । टिभीमा फेयर एण्ड लभ्लीको विज्ञापन आइराको छ । फुट्यो कि फुट्यो भनेर कराउँछ । थोडी फियर एण्ड लभ्लीले फुट्छ । यस्तो क्रिमले त बरु फुटेको गाला जोड्छ । चाउरी परेको गाला झरिलो बनाइदिन्छ । तर बजरङ्गी भन्छ कि फुट्यो ।’ ठाकुरले बजरङ्गीतिर सङ्केत गर्‍यो ।

‘अरे यार, मैले कहाँ गाला फुट्ने कुरा गरेको छु । मैले त पार्टी फुटेको कुरा गर्दै छु । फियर एण्ड लभ्लीको विज्ञापन आउनुअगाडि टिभीमा पार्टी फुटेको समाचार आइराको थियो । म गर्छु आग्राको कुरा ठाकुर गर्दैछ गाग्राको कुरा ।’ बजरङ्गीले दिगम्बरलाई स्पष्टीकरण पेश गर्‍यो ।
‘खै कहाँ फुट्या छ पार्टी ?’ मोहम्मदले अगाडि सरेर सोध्यो ।
‘भर्खरै त टिभीको समाचारमा आको थियो । तर अहिले गैसक्यो । थोडा तिमीहरुले हेर्न बाँकी छ भनेर समाचारले तिमीहरुलाई पर्खिन्छ र ? त्यहाँको माहौल हेरेर बजरङ्गीले पनि हल्का मजाख गरिदियो ।
‘पार्टी थोडी फुट्छ ? त्यो त पार्टी फुटेको होइन, नेता फुटेको हो नेता । पार्टी फुटकोमा परमेश्वरले हल्का आक्रोश पोख्यो ।

‘नेता कहाँ फुट्छ ? नेताको भूँडी हिजो जस्तो थियो, आज नि त्यस्तै छ । नेता फुटेको भा त थोडी नेताको त्यति ठूलो भूँडी चाहिँ कसरी बाँकी रहन्थ्यो ? बरू नेताको मन फुटेको होला । मोहम्मदले परमेश्वरको आक्रोशमा हास्य रस घोल्न खोज्यो । ‘हाहाहा… हाहाहाहा… हाहाहाहाहा… ।’ फेरि कोठामा सामूहिक हाँसो चल्यो ।
तर परमेश्वरको मुखबाट हाँसो खुस्किएको थिएन ।
‘कि हाम्रो यही हाँसो पनि फोरिदिउँ हो परमेश्वर ?’ आक्रोशित परमेश्वरलाई कुल गराउन दिगम्बरले अर्को तुक्का फाल्यो ।

‘कुरा हाँसोको होइन, कुरा सिरियस छ । यो पार्टी फुटेको पनि होइन, नेता फुटेको पनि होइन, नेताको मन फुटेको पनि होइन । बरु कुर्सी फुटको हो कुर्सी । एक कुर्सी फुटायो दो कुर्सी बनायो । एक पदलाई दो पद बनायो । दो पद चार बनायो । चार पद आठ । मिलेसम्म पद बढायो । बढाउन नमिले एउटालाई कुर्सीबाट झार्‍यो, अर्कोलाई चढायो । एउटा झर्‍यो, अर्को चढ्यो । फुटे पनि कुर्सी, उठे पनि कुर्सी । ओर्ले पनि कुर्सी, चढे पनि कुर्सी ।’ परमेश्वरले आफ्नो आक्रोश दर्शन छाँट्यो ।

‘ह्या छाड्दे यस्ता कुरा । फुटोस् कि जोडोस्, हामीलाई के मतलब । बरु फुटेर फाइदा हुन्छ भने हामी पनि किन नफुट्ने, किन नफोर्ने ?’ दिगम्बरले प्रस्ताव गर्‍यो ।
‘हो त फोर्ने भए फोरौँ । सब फोरौँ । घर फोरौँ, नाता फोरौँ, सम्बन्ध फोरौँ, समाज फोरौँ, पार्टी फोरौँ, सरकार फोरौँ, सकिन्छ र फाइदा हुन्छ भने देशै फोरौँ ।’ बजरङ्गी, ठाकुर र मोहम्मद दिगम्बरको प्रस्तावमा तयार भए ।
‘फाइदाको नै कुरो हो भने त फोरौँ न त फोरौँ ।’ एकैछिनमा परमेश्वर पनि फोर्नेमा सहमत भयो । परर्ररर….. समूहिक ताली बज्यो । तुरुन्तै नारा सुरु भयो ।
विघठन गर्ने – जिन्दावाद !
एकता गर्ने – मुर्दावाद !
फोर्ने फोर्ने – एक हौँ !
हाम्रो एकता – फेरि फोरौँ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x