साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाताले माग्न पाइँदैन

भोजनका लागि लिएको दर्ता शुल्कले सन्दिग्धको पगरी गुँथेर दाताले मागेको आरोपमा जञ्जीर भिराएर फुली पड्काउने दाउ खोज्ने राज्यपालकका मुखतिर तेर्स्याइएका माइकहरूको प्रदर्शनी चलाउने ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मानिसको पहिचान निश्चित भूगोलभित्रको बसोबासका आधारमा हुने गर्छ । कुन देशको ? कुन प्रदेशको ? कुन जिल्लाको ? कुन गाउँको ? उसको परिचय खुल्ने कागजका लागि आवश्यक सूचनाको हकदार हुन औपचारिक सम्बन्ध देखिनु पर्छ । मानिसले बनाएका निश्चित घेराहरूलाई मानिसले नै तोड्छ, छोड्छ र जोड्छ पनि । अनि बसाइँ सर्छ । नयाँ पहिचानमा समाहित हुन्छ । बस्छ, रमाउँछ । यस वापत नागरिक अधिकार- मतदाता, करदाता हुन जोडबल गर्छ । सामाजिक परिवेशमा घुलमिल हुन्छ । समाजिकीकरणको प्रक्रियाद्वारा अघि बढ्छ । सङ्घ संस्थामा आबद्धता जनाउँछ । सामाजिक भूमिका खोज्छ । आजको युगमा उसले कुनै न कुनै रुपमा नेतृत्व सम्हाल्छ । सम्हाल्ने मानिसको सहयोगी बन्छ । मानिसबाटै जन्मिन्छ नेता । केही अपवादका देश वाहेक सबैले आफ्नो नेतृत्व आफै चयन गर्छन् यो शताब्दीमा । राज्यका अन्य सञ्चालकले आफ्नो अभियान अन्तर्गत सेवा जारी राख्छन् । कल्याणकारी राज्यको अवधारणा अन्तर्गत जनताका समस्या समाधानतर्फ राज्य सचेतनापूर्वक लागेको पाइन्छ । लाग्नु पर्छ ।

तेस्रो विश्वका मुलुकहरूमा यो लोकल्याणकारी राज्यको अवधारणा फलाक्दा फलाक्दा नेताहरूको नसा साँडिएर अनि जनताका कानहरूमा जे बोलेपनि कल्याणको नारा घन्किन थाल्छ । मानिस मानिसको एक अर्काको सवाल जवाफमा पनि कानहरूले जनकल्याण मात्र सुन्न गरी नेताहरूका कर्ण प्रिय वाणीहरूले सर्मथकको अप्रेसन गरिसकेका हुन्छन् । समर्थकहरूको भिड अन्य आवाज पहिचान्न छोडिसकेको हुन्छ । पहिचान केवल आफ्नो दलबलको आवाजको मात्र गर्न सक्छ । दल आवाजलाई बलमा परिणत गरी गोल गोल भन्न उद्दत हुन्छन् दल सदस्यहरू । सघन रूपमा छल गरी फल प्राप्त गर्न जन सेवाका नाममा दान पात्र खडा गर्छन् । जनदाताको खोजिमा आवधिक रुपमा निस्कने कानूनी पात्रो निर्माण गरिएको हुन्छ ।

जनता सेवार्थीको रुपमा देखा पर्छन् । वास्तवमा जनता दाताको दाता नै हुन्छन् । जनकाम नै दान गर्ने हो । जबसम्म जनता तबसम्म मनग्य दान गर्नु पर्छ । अन्य कुरा सोच्न पनि हुँदैन । दान नगर्ने भए जनताबाट माथि उठ्नै पर्छ । जमिन छोड्नै पर्छ । माटोको सम्बन्धबाट अलि उँचो भए जस्तो हुनु पर्छ । दाताः मतदाता, करदाता, अन्न दाता- त्यही हो जनता । किन चाहियो यिनै जनतालाई विकास र सरसुविधाको खाता । खातामा जन्मदेखि मृत्य सम्म दर्ता गरेर दाता बनेपछि दिनेलाई माग्नु किन पर्‍यो ? जन्मिँदै बाआमाले जन्म दर्ता गरेर दान गर्न सिकाइ सके । अनि स्कुलमा नाम दर्ता त्यसै भएको छ र ? अहँ, छैन । बिहेबारीको पनि त दर्ता शुल्क तोकिए बमोजिमको बुझाएकै छ । हो छुटेको छ क्या र तिर्न- न्वारनको, जन्मदिन मनाउँदाको अनि भात खुवाइको कर तिरेको छैन नि ! त्यो कर किन नलगाएको होला सरकारले जस्तो लाग्दैन ? लाग्छ नि ! दाताले दिन नपाउँदा कस्तो छट्पटी हुन्छ ।

स्वच्छिक हो नि दान । टाउको दुख्यो अस्पतालमा नाउँ दर्ता गराउनै पर्‍यो, हुन्छ त्यसै ? नाउँ दर्ता । अँझ दर्तावाल डाक्टरले बोलाएको ठाउँमा पुग्नु परेन ? अनि डाक्टर चाहिँ दर्ताविहीन हो र ? उसले पनि त पढ्दा चढाएको दर्ता शुल्क कम चर्को छ ? घरिनाले तिहुनमा ठिक्क हालेको नुनमा अघरिनाले रिसले थपेको अतिरिक्त नुनको स्वाद भन्दा कम छैन नि डाक्टरले पढ्दा तिरेको मुल्य । मोल उठाउँ है, उठाउँ । मोल तिर्नु हाड्डि चुस्नू भन्ने संस्कार हो हाम्रो । ठेकिएको दर्ता शुल्क तिरेर जन्मे हुर्केकाले असुल्नु पर्दैन ? पर्छ ।

दाताले माग्नु पर्छ भनेर कसले भन्यो ? जन्मिँदै देताकार भएर जन्मिने अहिले चाहिँ माग्ने । मिल्दैन । मिल्दै मिल्दैन । माग्ने भए त्यो बाउले तिरेको जन्म दर्तादेखि नै माग्नु पर्थ्यो । आमाले पेटमा आएको बेला जँचाएर तिरेको होइन ? अनि भ्रुण नहुँदै तिर्न शुरु गर्नेले अहिले माग्नु न्याय सङ्गत हुँदैन । अहिले निवेदन दर्ज गर्ने हो भने म दिन पाउँ भनेर गर्नुपर्छ । पढ्दा मागेर पढेको होइन नि ! पैसा तिरेर पढ्नेले जागिर चाहिँ माग्ने । दिएर पढ्नेले जागिर पनि दिन सक्नु पर्छ । रोजगारी चाहियो भनेर माग्ने । रोजगरी पनि दिन सक्नु पर्छ, दिने वानी परेकाले । खानेपानी चाहियो भनेर माग्ने। पुल हाल्नु पर्‍यो भनेर माग्ने ? मिल्छ माग्न ? बाटो पनि बनाइदिनु पर्‍यो रे ! धुवाँधुलो उडाउन थाल्यो स्वास्थ्यमा खराबी आयो भनेर विकासवादी जुलुस निकाल्ने ? जन्मिँदै निकाल्नु पर्दैन जन्म दर्ता तिर्दैनौ भनेर । जँचाउन जाने बेला म जन्मिदैन भन्नु पर्दैन ? उतिबेला बाआमाले खुरुक्क तिरेको सम्झिनु पर्दैन ?

माग्ने हो भने खुरुक्क चुनावमा जाने । टिकट माग्ने । उम्मेदवार दर्ता शुल्क बुझाउन माग्ने । मत माग्ने । मतो माग्ने । जनता दान दिन सीपालु हुन्छन् । चन्दा दाता पनि खोज्ने । चन्दा माग्ने । दाताले दान दिन्छन् । दिने वातावरण बनाउँछन् । चुनाव जित्ने हो । नमागेर चुनाव जित्नु त उही हो । चुनाव जित्ने जित्ने जसरी नि जित्ने । सुरुकसुरुक उक्लेर सरकारमा जाने । सरकारमा जाने वातावरण मिलाउन माग्ने । व्यापारी खोज्ने । उनको मन जोख्ने अनि माग्ने । नमाग्न त जनता हुनु पर्छ । जनताले माग्न पर्दैन । माग्न पाउँदैन । माग्न पाइँदैन । किनभने साधारण मानिसले हो दिने । ऊ दाता हो । दाता खातापिता हुन्छ ।

सरकारमा बसेर सिटामोल माग्ने । स्वास्थ्य सुविधा माग्ने । स्वदेशमा होइन विदेशमा उपचार माग्ने । घुम्न जान माग्ने । सरकार चलाउन माग्ने । घर चलाउन माग्ने । परिवार चलाउन माग्ने । कार्यकर्ता पाल्न माग्ने । पुलपुलेसा बनाउन माग्ने । सवारी साधन चढ्न माग्ने । सवारी चलाउन चालक माग्ने । सुरक्षाका लागि बडी गार्ड माग्ने । आकाशमा उड्न चिलगाडी धर्तीमा गुड्न ल्याण्ड रोवर, स्क्रपियो, ल्याण्डक्रुज के के छ आको माग्ने । न आको माग्न आदेश दिने । खानपानका लागि माग्ने । लालनपालनका लागि माग्ने । बाहिरतिर रिक्रियसनका लागि बायोलोजिकल ब्रेकमा बस्न अतिरिक्त प्रेमी प्रेमीकाको बन्दोबस्तका लागि माग्ने ।

इच्छापूर्ति गर्न माग्ने । इच्छा बढाउने । इच्छा शक्ति बढाउने । माग पनि बढ्दै जान्छ । माग अनुसार आपूर्ति बढाउने । आपूर्तिका लागि परिवार बढाउने । सङ्ख्या बढाउने । जनघेरा साँगुरो पार्ने । मनघेरा फराकिलो पार्ने । आसेपासे, ढोके, हुक्के बढाउने । माग्न खटाउने । स्वदेशमा माग्ने विदेशमा माग्नेको दक्षता अभिवृद्धि गराउन नयाँनयाँ प्रविधिको विकासका लागि प्रशिक्षित गर्ने माग्ने ।

धातुले शरीर सजाउन भन्सारमा मुसा पाल्ने । मुसाको माग बढाउने । छुचुन्द्रोलाई भारी बोकाउने । घोडालाई दौडाउने । बिरालोलाई दूध बोकाउने । हात्ती र साँडेको बारले बिरालो, छुचुन्द्रो र मुसोको बाटो क्लियर गर्ने । घोडा हिनहिनाएर अरुको आवाजलाई निस्तेज पार्ने । मगमगाउने अत्तर सोत्तर पारेर सौन्दर्य सामग्रीहरूको आयात बढाउन माग्ने । दल्ने, छर्कने । सुँघाउने । अत्तर सुँघेर गरौँ गरौँ लाग्ने भावनाको विकास गरी उत्प्रेरित गर्ने । आयात गर्ने जनदाताहरू खोजेर भरिया दान माग्ने । हिनहिनाएको घोडाले आवाज रोकेर, हात्तिले बडेमानको जिउ गलेको बेला थकाइ मार्दा मुसोले सूचना चुहाएमा आयात गर्ने बाउरु जनदाताहरूलाई झ्यालखानामा हाल्न माग गर्ने । आयात र निर्यात गर्ने जन दाताहरूलाई जेलदातामा बढोत्तरी गरेर दाता सम्मान सम्मेलनको आयोजना आँखामा पट्टी बाँधेर जन सुरक्षाकर्मीहरूबाट गराउने । पत्राकारहरूको मागमा वृद्धि गर्ने । सञ्चार माध्यममा तरङ्ग फैलाएर दाताहरूको भण्डारफोर गर्ने । कल्याणकारी राज्यको भूमिकाको बखान गर्न लगाउने ।

दिने दाताको जय खाने भूताको जय । भरिया जेलमा गए । भोजनका लागि लिएको दर्ता शुल्कले सन्दिग्धको पगरी गुँथेर दाताले मागेको आरोपमा जञ्जीर भिराएर फुली पड्काउने दाउ खोज्ने राज्यपालकका मुखतिर तेर्स्याइएका माइकहरूको प्रदर्शनी चलाउने । रेडियो र टेलिभिजनमा घन्कि घन्काउने अनि सामाजिक सन्जालतिर पोत्ने । दर्ज्यानी चिन्हले सुशोभित हुने औसर जुराउने । दाताले दान गर्ने हो माग गर्ने होइन भन्दै चोर औला र माइली औँलाले चुड्की बजाउने काम सम्पन्न गर्ने । माउ हराएको जानकारी गराउने । चारोको लोभमा फसेका भाडाका चल्लाहरू खोरतिर पठाउने । सरकारको प्रगति विवरण छाप्ने । फरार माउ सरकारी अधिकारीको कुममा हात राखेर निदाएको हेर्ने ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x