साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडकको आत्म सवाइ

भगवानसँग बिन्ति गरौँ भने आडको मन्दिर भत्किएको छ । शहरी घर बङ्गलाका नक्सा बनाउने बेलामा जनताको दुख नदेख्ने यति बाटोको भाग बाँकी मान्छेको भाग भनेर वैज्ञानिक तरिकाले पहिल्यै छुट्ट्याउनुकाे परिणाम त हाे याे ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

सबैले मलाई कुल्चिन्छन् । मैमाथी हिंड्छन् । दौडन्छन र उफ्रन्छन् । साडी बेरिएका ढाडी देखि इँटा चिम्निले जस्तो धुवाँको मुस्लो फाल्ने गाडीसम्म मैमाथि हिँड्ने र गुड्ने गर्छन् । कतै कतै त मलाई एक निमेष फुर्सद दिँदैनन् ।तिनका आवाज यति कर्कश हुन्छन् कि मेरो कान नभएको नै जाती भो ।

हो म बाटो नै हुँ । संसारभरिको बाटो । तलतिर कहिँ ढुङ्गा कहिँ माटो । माथिपट्टि कालो खैरो खाटो । म कति पक्की छु अनि कतै कच्ची । कतै यामानको ठुली त कतै सानी बच्ची । उकाली ओराली भिर पहरा छहरा गाउँबस्ती सोझो बाङ्गो हराभरा नाङ्गो जतासुकै म पुगेको छु ।

कुनैबेला साह्रै सानो गल्ली म हुँदा हिँड्थे मान्छे हल्ली हल्ली । अहिले त आकाशमा समेत छु । जलचर थलचर ग्रहगण तारा, सूर्य लगायत किटसमेत सारा, कोहि भने हिंड्छन् ममा कोहि खोज्छन चारा ।

मैले दुनियाँको कुल्चाइ सहेँ, उफ्राइ सहेँ, आन्दोलन सहेँ, जुलुस सहेँ । घाम सहेँ पानी सहेँ । बिरामीलाई अस्पताल लैजान होस् कि हरामीलाई कारागार म नभै हुन्न । तर के गर्नु यी मनुवादेखि वनका डुलुवासम्मलाई जिउज्यानै अर्पेर सहयोग गरे पनि मेरो दुख पीडा बुझिदिने कसले ? मेरो जिउमा कतै ठुल्ठुला खाल्टा नामका घाउ छन् । पहराहरूले लहरा चुँडाएरै ममाथि ढुङ्गा बर्साउँछन् । मलाई गहिरो सम्झेर पहिरो मैमाथि ओइरिन्छ । कोहि कसैले मलाई यो पीडाबाट मुक्त पारेन ।

मेरै नाममा चर्का चर्का नारा लाउनेले मेरै नामको बजेटमा नङ्ग्रा दाह्रा धसिरहे । लाजै पचाएर असारमा अलकत्रा गिटीको पातलो पत्र रोप्दै बसिरहे । साराको आँखामा धूलो छर्दै झारा टार्दै हाँसिरहे । द्रव्यपिचास दलाल ठेकेदारहरूसँग गहिरो माया गाँसिरहे । मेरै आडका ऐतिहासिक मठमन्दिर, ढुङ्गेधारा ठाँटिपाटी चौतारा मासिरहे । यो सबै सहिरहेँ । तै पनि मेरो नाममा काम गर्ने सद्बुद्धि र सत्विवेकका कोहि भएनन् ।

मेरो मर्म यो युगका विदेशवादी अधर्मवानहरूले कहिल्यै देखेनन् सुनेनन् । बरु उल्टै कसैले ढल कसैले मल कसैले दुर्गन्धित जल मैतिर बगाइरहे । एउटाले सम्म्याएर पुरेको घाउ निको नहुँदै अर्कोले फेरि कोट्ट्याए । मलाई अनेक तरिकाले चिर्दै खन्दै मेरो खाटोको आयु छोट्याए । मनुवाले त यस्ता हजारौं निर्लज्ज हर्कत मैमाथि गरे गरे । खोलानाला समेत उनीहरूतिर लागेर अघि सरे ।

जब वर्षा लाग्यो तब खोलानालाको खाँडो जाग्यो । हिउँदभरी चुपचाप बसेका खोलानालाले वर्षा लागेपछि हल्ला गर्दै ढुङ्गाका डल्ला ल्याएर मेरै कोखामा हाने । धमिलो पानी लगाएर मेरै चोक्टा ताने । मलाई तलबाट युवावहीन गाउँघर जस्तो खोक्रो पारे । यात्रुहरूको यात्रा असुरक्षित अवस्थामा झारे ।

नेपाल देशको स्थिति जसरी भ्रष्टाचारको, कमिशनखोरको, विदेशवादको, नाता झोलेवादको युवाहिनताको दाह्रा नङ्राले बेस्सरी चिथोरिएर खोक्राएर झोक्राएर दोब्राएर घोक्रयाएर बसे पनि सुन्दर शान्त अनि सँस्कृति र प्रकृतिले सजाएको भनिन्छ त्यसैगरी माथिपट्टि एक पत्र खाटो मात्र बसेर भित्रपट्टि त्यस्तै खोक्रो अनि दुर्दशाग्रस्त छु म । झन अहिलेको डोजरे विकाशले त मेरो हरिबिजोग नै बनाएको छ । बुद्धो न सुद्धो ठाउँ कुठाउँ मलाई पुर्‍याउँछन् अनि बस्तीको अस्तित्व मास्ने गरि पहिरो झर्छ । गल्ती गर्ने कतातिर मस्तीमा सास्ती र यातना दुर्गम गाउँबस्तिमा ।

भगवानसँग बिन्ति गरौँ भने आडको मन्दिर भत्किएको छ । शहरी घर बङ्गलाका नक्सा बनाउने बेलामा जनताको दुख नदेख्ने यति बाटोको भाग बाँकी मान्छेको भाग भनेर वैज्ञानिक तरिकाले पहिल्यै छुट्ट्याउनु पर्नेमा जथाभावी गर्ने पछि सडक बिस्तारको तडकभडक गर्नेहरूले जनताको उठिबास लगाई लखेटेको देख्दा देशै थर्काउने गरि डाँको छोडेर रुन मन लागेको छ । कहिलेकाहीँ त लाग्छ यो देशका पशुपतिनाथपनी यसैगरी जनतालाई सताउने नरपशुका मात्र नाथ रहेछन् कि ?

अझ मेरै जिउज्यान भएर नेपाल सिद्ध्याउन खोज्ने यहाँको धर्म संस्कृति सहिष्णुता यहाँको प्रकृति खनिज यहाँको नागरिकता सबै सबै विदेशीको पोल्टामा सुम्पन मरिहत्ते गर्ने गराउने तथाकथित स्वदेशी अनि विदेशी हिँडेको देख्दा त तिनका बिरुद्ध यो २८औँ कलियुगको दुर्गेचण्डी मै बनुँजस्तो हुन्छ । मौन नै भए पनि अत्यधिक मुटु छियाछिया हुन्छ, मन धर्धरी दिनरात रुन्छ ।

अनि सोच्छु यदि म निर्जीवको जत्तिको मात्रै बुद्धि भएका २० जना नेता नेपालमा भए के हुन्थ्यो होला !! म जड बाटोले यति कल्पिन सक्दा यहाँका सृष्टिका सबभन्दा बुद्धिमान भनाउन चाहने मानवले नसोचेर नगरेर बस्न सक्ने महान् आत्माहरूलाई तिम्रा यो महानताको लागि अनन्तकोटी नमस्कार ?!

०००
२०८१ असार २४
चितवन ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
CN Kanel Harit
CN Kanel Harit
1 year ago

रामकृष्णजीको यो लेखाइले मन छोयो । साह्रै राम्रो छ । यसले नछोएको पाटो र बाटो कुनै छैन । आखिर बाटोकै ‘अन्तर्लाप’ । 
फेरि पनि भनेँ- राम्रो छ, धेरै बधाई ! अझ शुद्धाशुद्धिमा लेखक तथा ‘फित्कौली टिम’ दुबैले ध्यान दिनु परेको अवस्था । अर्को अझ खतरा आओस् । –हरित

Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x