गायत्री परिरोशनीआधुनिक भूत कर
। विशेष चुरो कुरो भनेको हामी गन्यमान्य साहु महाजनहरूको सवालमा हो । हामीलाई केहीमा पनि कर लगाउनु भएन अनि करको दर र दायरा पनि बढाउनु भएन । यत्ति काम गरिदेऊ सरकार जे होला होला ।

गायत्री लम्साल :
आजभोलि हामी सबैका तन, मन र मस्तिष्कमा एउटा नयाँ भूतले तर्साउने गरेको छ । अरुको भन्दा नितान्त आफ्नै मनभित्रको भूत । कस्तो अचम्मको भूत । समय क्रममा अरू सबै भूतहरू मोटाउँदै जाँदा यसको पनि त मोटाउने पालो आउँछ भन्ने हामीलाई थाहा नभएको हो र ? अरुलाई वर्षेपिच्छे अनिवार्यतामा पारेर कालोनिलो बनाउने भूतले समय क्रममा सधैँ आफू छुटिरहन पाइन्छ भन्ने कत्रो तागत हाम्रो ? जीवन पछिको मृत्यु जस्तै अनिवार्य रूपमा ठोक्किनै पर्ने भूतसँग अँ- है म त कहिल्यै ठोक्किन्न भन्ने कत्रो हिम्मत ?
समयक्रममा आविष्कार भएका नयाँ नयाँ टेक्नोलोजीलाई पनि सजिलै छल्न सक्छु भन्ने कत्रो झन् बडेमानको टेक्नोलोजी छ है हाम्रो मनभित्र ? सधैँ ढुक्कसँग अरबौँ कर ठगी गर्दा, अरबौं कर चुहावट गर्दा कसैले आन्दोलन गरेनन्, कुनै मिडियाले सम्प्रेषण गरेनन्, यसले यति कर ठग्यो भनेर ? अहिले आएर एकाएक करको दायरा बढाएर ठग्न पाउनेको अधिकारमाथि हनन गर्न पाइन्छ ? तिर्नेले, इमानदार सोझासाझा, गरिब नागरिकले सरकारले जति भन्यो उति कर तिरेकै छन् । हामीजस्ता महान् ठालु, महाजनहरूले सधैँ कर छली गरी गरी फलिफाप प्राप्त गर्न पल्कनेहरूले, सबैलाई शोषण गरेर आफू मात्रै मास्तिर हलक्कै हल्किनेहरूले किन तिर्नुपर्यो कर ? कर नतिरे पनि राम्रो सुटेडबुटेड भएर हिँडेकै छौँ, देशको लागि भन्दै दिनहुँ करोडौँको कर छली गरेकै छौँ । यहाँ कर भन्ने कुरो नतिरे पनि विश्वको अरबपतिको सूचीमा परेकै छौँ । सधैँ छलकपट जस्तो इमानदार धन्दाबाट समाजमा निकै गन्यमान्यमा परेकै छौँ । सबैको हाइ हाइ भएकै छौँ । सबैको नमस्ते खाएकै छौँ ।
जब आफूले ठग्न पाउने, आफूले छल्न पाउने कुरामा सरकारले दमन सिर्जना गर्छ अनि हामी चुप लागेर बस्न त हामी भद्र, भलाद्मीहरूको नैतिकताले कहाँ दिन्छ र ? सधैँ पाएको आफ्नो अधिकार खोसिँदा कसको मन रुन्न र ? तपाईं नै भन्नुहोस् न । आज स्थानीय तहमा पाँच वर्षसम्म सधैँ एकनासको तिर्ने गरेको एकीकृत सम्पत्ति कर पाँच वर्षपछि पाँच प्रतिशत बढाउँदा हामी बढी बुझ्ने बुझक्कडहरूले पाँच गुणा बढायो नभन्ने हो भने त हाम्रो कहाँ गनितो मनितो हुनु नि ? त्यसै भएर सबै एकजुट हुँदै करको आतङ्क सिर्जना गरेकै हो । गरेको कुरालाई जस्ताको जस्तै हो भनिन्छ । जानेको गर सरकार केही डर छैन ।
अझै हामीले कर छल्न पाउने नैसर्गिक अधिकारमाथि हनन गर्ने प्रयास गर्छ भने, पुौंपुर्खादेखि छल्दै आएको करलाई अहिले आएर तिर्नुपर्छ भनेर हामी खुरुक्क मान्ने तोरी लाउरे हैनौं सरकार । याद राख्दा उपयुक्त हुन्छ । हामी भनेका त साहु महाजन हौं । कर छलेर आफ्नो दुनो भर्न कसरी सक्छौँ भन्ने कुरा पूरापूर थाहा छ । सरकारमा जानेहरूलाई चुनाव जित्नको लागि मागेजतिको चुनाव खर्च हामीले केही नभनी दिएकै हौँ । अहिले आएर तिमीहरूले कर तिर, कर छल्न पाउँदैनौ भनेर हामी मान्छौँ ? तिनै परे पनि पहिला हामीले दिएको चुनावखर्चको सामाव्याज समेत असुल नगरी त ज्यान जाला हामीले सरकारलाई कर तिर्नेवाला छैनौँ ।
याद गर्नु, सरकारले अनिवार्य कर तिर्नुपर्ने कानुन बनाउँछ, करको दायरा बढाउँछ, करको दर वृद्धि गर्छ तर हामी भनेका घरानिया, सुझबुझले भरिपूर्ण भएका नागरिक हौं । सरकारले जे-जे भन्छ, त्यही-त्यही मान्ने सोझा नागरिक होइनौँ । हामीले त सबै जनमानसमा भ्रम सिर्जना गरिदिन सक्छौँ । आधुनिक जमानामा एउटा आधुनिक भूतको रूपमा कर हो भन्ने कुरा सर्वसाधारणमा पूरापूर विश्वास सिर्जना गर्न सक्छौँ । अहिले पनि त हामीले के के गर्यौँ भनेर थाहा होला नि होइन ? डुङ्गा तर्न लागेको पैसालाई सरकारले कर लियो भनेकै छौँ, घरजग्गा किनबेच गर्दा दलालले लिने पैसालाई पनि कर भनेकै छौँ । साइकल पसललाई कर लगाउँदा साइकल चढ्नेले कर तिर्नुपर्यो भनेर होहल्ला मच्चाएका हौँ ।
पहिला-पहिला जस्तो कर छल्न पाइएन भने, कर चुहावटमा रोकावटको अवस्था सिर्जना भयो भने हामी मुखमा पानी हालेर बस्नेवाला छैनौँ सरकार । सकेजतिको कसरत गरिन्छ । दैनिक उपभोगको लागि आफूलाई चाहिने सामान किन्दा दिएको पैसालाई पनि सरकारले कर लियो भनिन्छ । मनोरञ्जनको लागि सिनेमा हलमा छिर्न लिएको टिकटको पैसालाई पनि कर नै हो भनिन्छ । जुवा खेलेर हारियो भने त्यो सबै पैसालाई सबै उसले नै कर लियो भनिन्छ ।
असम्भव केही छैन । मात्र हामीभित्र इच्छाशक्ति प्रबल हुनुपर्यो जे मन लाग्यो त्यही गर्न सकिन्छ । एउटा कमिलोले त बाँच्नको लागि कत्रो सङ्घर्ष गर्छ भने हामी त मानिस । त्यसमा पनि चानेचुने होइन हजुर, कर कसरी छल्न सकिन्छ भन्ने कुरामा, कर कसरी चुहावट गर्न सकिन्छ भन्ने कुरामा पुस्तौंपुस्ता अगाडिदेखि सनातन विद्यावारिधी नै गरेर बसेका छौँ । कोही कसैले हाम्रो ज्ञानलाई हरण गर्न सक्दैन । देश हाम्रै हो, नागरिक हामी नै हौं भने आत्तिने र मात्तिने गर्नु किन ? जे जति गर्दा पनि सधैँझैँ कर छली गर्न पाउनुपर्छ भन्ने हाम्रो जायज मागलाई सरकारले सुनुवाइ गरेन भने हामी पनि आन्दोलनमा उत्रनै पर्छ ।
माइतीघर मण्डलामा बलात्कारीलाई फाँसी दिनुपर्छ भनेर अर्धनग्न आन्दोलन गरेजस्तै हामीले पनि ठुला ठुला साहु महाजनहरूलाई कर छुट दिनुपर्छ, कर नतिरेर देशलाई कङ्गाल बनाउन सधैँभरि लुट्नुपर्छ भन्दै अर्धनग्न होइन, सर्वनग्न आन्दोलन गर्नेछौँ । अनि त हाम्रो जायज माग पूरा नभएर कसको माग पूरा हुँदोरहेछ ? कर निकै उठाएर के-के नै गर्छु भनेका छौ होला । तिमीले गर्ने कुरा सबै देखिएकै छ । हामी सुको कर नतिरे तापनि मज्जाले चिल्ला गाडी चढेकै छौं । तिमीले भने जति कर ऋण मागेर खुरुक्क तिर्नेहरूले आज पनि तुइन तर्न छोडेका छैनन् । जन्मेदेखि कर तिरेको तिर्यै गर्दा पनि मर्दासम्म एक छाक मिठो मसिनो खान पाएका छैनन् । हरमा एकसरो नरम कपडा लाउन पाएका छैनन्, घरमा परालको छानो हाल्न पाएका छैनन्, भने हामीलाई किन धक्कु लाउँछौ है ?
ख्याल गर्नु सरकार, तिमीहरू पनि हामीजस्तै एक दिनका मात्रै होइनौ । अर्को पटक सरकारमा जान फेरि चुनाव जित्नै पर्छ होला ? चुनाव जित्न हामी धनाढ्यहरूसँग चन्दा माग्न पनि पर्छ होला ? चन्दा दिँदा हामीले बार्गेनिङ गर्ने भनेका कर छली र कर चुहावटमा नै हो त्यो पनि थाहा छ होला पक्कै । अहिले र पहिले जस्तै सिधा, सोझा नागरिकहरूमाथि जतिसुकै कर लगाऊ हामीलाई केहीको टाउको दुखाइ छैन । हामी ठुला व्यापारी, महाजन, धनीमानीहरूलाई भने तिमीले दिँदै आएको छुट भने यो पटक पनि दिनको लागि हामी जोडदार पहल गरिरहन्छौँ । यदि हामीले भनेको मानेनौँ भने अर्को चुनावमा हामीले एक कौडी पनि चन्दा दिनेछैनौँ भनी अहिले नै घोषणा गरिदिन्छौं ।
‘मारे पुण्य पाले पाप’ अहिले त करको सवालमा हाम्रो प्रमुख एजेन्डा नै यही हो । सर्वसाधारण नागरिकलाई करको दर बढाऊ, दायरा बढाऊ र कुचुक्क पारेर मार हाम्रो केही गुनासो छैन । विशेष चुरो कुरो भनेको हामी गन्यमान्य साहु महाजनहरूको सवालमा हो । हामीलाई केहीमा पनि कर लगाउनु भएन अनि करको दर र दायरा पनि बढाउनु भएन । यत्ति काम गरिदेऊ सरकार जे होला होला । कुनै नौलो कुरा होइन यो । पहिलेदेखि अहिलेसम्म चलनचल्तीमा नै रहेको र भएको विषय हो । यत्ति गर्न सक्यौ भने अहिले चलिराखेको कर आतङ्कलाई हामीले निर्मूल पार्न सक्छौँ । गाँसबासको रकम कटाएर भए पनि तिमीलाई सबैले कर तिर्नेछन् । कर तिर्दातिर्दै भोकभोकै तिनीहरू मर्नेछन् । अनि तिमीलाई महान् पुण्य प्राप्त हुनेछ । अहिलेलाई करको करकर यत्ति ल !
०००
‘रुद्रघण्टी’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest









































