साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खकार : एक उपहार

नाम चलाएर दाम असुल्ने विश्वका सेताकोटको सेवा र देशको ढुकुटीबाट मेवा ढेवा असुल्न सिपालु यो खकारले देश देशावर डुलाउँछ । आफन्त र परिवारजनलाई ब्राण्डीमा भुलाउँछ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

हेर्दा सुन्दा कस्तो कस्तो लाग्ला तर खकार र मान्छेको सम्बन्धलाई कुनै वेद पुराणमा उल्लेख गरेको पाइँदैन यसरी हेर्दा खकार उहिल्यै मान्छे बन्दादेखिकै हो भनेर लख काट्न चैँ सकिन्छ । डार्विन बुढाले पनि किरा समात्दा र च्याप्दा खकारको वारेमा सोच्नै भ्याएनन् क्यारे । लुइ पाश्चरले पनि दुध फाटेको देखे तर फोक्सो फाटेको देखेनन् होला । के थाहा उनकै पृय साथी खकार नै थियो कि ?

अब यसको बनावट विचार गरौँ । ‘ख’ भनेकोे ‘क’ वर्गको दोश्रो अक्षर हो र यो आफैँमा शब्द हो धातु हो भनेर भाषाविदहरू ठोकुवा गर्छन् । यो भाले जातिमा दरिन्छ । ‘ख’ भनेको खाली अर्थात आकाश हो, शून्य हो । यही ख मा कार फुँदो झुण्डिएर खकार शब्द जन्मेको हो । ‘कार’ आफैँमा अर्थ बोकेको शब्द त हो तर यो दोजिया जस्तै बन्छ जुन धातु वा शब्दले बोक्यो त्यस्तै अर्थ जन्माउने । यहाँ उल्लेख गरिएको कार क धनीमानी, साहु महाजन, नेता, अभिनेता आदिले आफू सहित कुकुर सवार चलाउने कार भने होइन । यो त एउटा फुँदो लुर्को हो । जस्तै साहित्यकार, कुचिकार, सुचिकार, पत्रकार, ताम्राकार, चित्रकार, चाटुकार, आकार, विकार, डकार आदि जस्तै यो ख को ऐँँजेरु बन्दा खकार भएको हो । जे होस् यसले वायु मण्डलसँग सम्बन्ध राख्छ र खकारले आप्mनो आकार लिइ सकेपछि यो प्राय मानव जातिको फोक्सोमा बसेर राज गर्छ ।

आकाशबाट बनेको हुनाले यो अनन्त छ । बाँकी कसैलाई राख्दैन । खर्कका भेडादेखि नर्कका लिँडासम्म यसले छाड्दैन । हामी नेपालीलाई त झन यो वरदान नै साबित भएको छ । लाम्पाते सुर्ति तानेर फुर्ति लाउनेदेखि फेटावाल चुरोट तान्ने केटासम्म, ट्याक्टर, बस चलाउने चालकदेखि, सिमेण्टको ढलान गर्ने ढालकसम्म खकारले अड्डा जमाएकै हुन्छ ।

खकारको स्वरुप, काम, रङ्ग आदि पनि मान्छे मान्छेमा फरक हुन्छ । मान्छेले के पेशोको मेसो पाएर दुखेसो चलाएको छ भन्नेतिर पनि खकारले ध्यान दिएको हुन्छ । जस्तैः भ्mयाल नभएको घुमाउने घर भित्रको अगेनुमा शिरीषका कट्मिरा दाउरा ठुसठुस पार्दै बाल्दा मडारिएर निस्किएको पिरो धुँवाबाट बनेको खकार कालो र खैरो रङ्गको हुन्छ । यसले निम्तो दिने भनेको दम र निमोनियालाई हो प्राय । बेलैमा सेफिक्जिम र सालबुटामोल गोलीले नहाने परमधामको बाटो समात्न लाउँछ यसले । नभए पनि उमेरले साठी, हातमा लाठी अनि मनले पाठी ताक्ने त पक्कै बनाउँछ । यसलाई शिरीषे खकार भने पनि हुन्छ ।

अर्को हो तेनेने खकार । यो खकारको जन्म प्राय गाउँघरमा सुत्केरीबाट हुन्छ । आमाले आप्mनो बच्चालाइ पेटिकोटमा पोको पारेर कुना पसेपछि “बेहुलीलाई रातो सुत्केरीलाई तातो” भन्ने उखानको बखान गर्न आउँछ यो जातको खकार । कोठाका सबै भ्mयाल ढोका बन्द गरेर तातो तेलले तालु तताउँदै सेक्दै गर्दा र घिउ मिश्रित जुवानुको झोलले यसको न्वारान सहजै गर्न सकिन्छ । फोक्सोदेखि जिब्रोको टुप्पोसम्मको लाम्सा एकै नासले लेप्सिने यो खकार गाउँघरमा धेरै रमाउँछ । यो शहरीया सुकुलगुण्डे खकार होइन । अँ बरु यसले इकोसिस्टमलाइ मदत भने गर्छ । रातभरिमा तयार भएकोे एकराते दही जस्तो यो खकार बिहानको पारिलो घाममा बसेर ख्वाक्क खोकेर पर हुत्याउँदा लोकल कुखुराले दशैँको दही झैँ ठानेर सुलुत्त गोजेरोमा पठाउँछ । कुखुराले कुनै प्रकृया पुर्‍याइरहनु पर्दैन सरकारी कर्मचारी र नेता मिलेर सार्वजनिक जग्गा निले जस्तो । त्यही तेनेने खकारको तागतले तङ्ग्रिएको भालेको झोल झानेर तानेपछि यता सुत्केरीको जीउ पनि तङ्ग्रिन्छ ।

अर्को कक्टेल खकार । यो शहरीया जहरिलो खकार हो । गाडीको धुँवा, सिमेण्ट र बाटोको धुुलो आदिबाट यो खकारको जन्म हुन्छ । शहरीया बन्ने रहर बोकेर साँझका छिचिमिरा झैँ शहर पस्नेहरूका लागि यो गतिलो उपहार पनि हो । गोरुलाई मोहोला लाएर बाली बिमाख गर्न जोगाए जस्तैै मान्छेले पनि मास्क नामधारी मोहोला लाउने चलन कक्टेल खकारबाट जोगिने व्यापारी मेलो मात्र हो । यो मोहोलाको काम खाली पुलिसलाई चोर र साधु छुट्याउन गाह्रो पार्ने मात्र हो ।

अब खकारका स्तरको चर्चा गरौँ । एउटा खकार गाउँमा जन्मन्छ, गाउँमै हुर्किन्छ र गाउँमै गुर्किन्छ । यस्को कुनै दर भाउ छैन । यसले पाउने भनेको “राम नाम सत्ते हो” मात्र हो । यो निम्न स्तरको खकार हो । अर्को मध्यम स्तरको खकारले शहर पसेर माइक्रोस्कोपको स्लाइड चढ्न पाउँछ तर जीवनभर कमाएको द्रव्य सेताकोटलाई बुझाइ सकेपछि यसले परमधामको बाटो तताउँछ र परिवारलाई “नाङ्गै जन्मिएको नाङ्गै जाने हो” भन्ने भजन मण्डलीमा खैँजडी बजाउन पठाउँछ ।

अर्को उच्च स्तरको खकार । यो खकारको हकदार हुन हावादारी नकचरो बन्नु पर्छ । प्राय सरकारी गाडीमा झण्डासँगै वरिपरि डण्डावालको झुण्डले घेरिएको हुन्छ यो स्तरको खकार । अलिअलि बाक्लो थुकदेखि नै डलर कुम्ल्याउने क्षमता भएको यो खकारको कमाइ नामुद क्रिकेटको बलरको भन्दा ज्यादा हुन्छ । नाम चलाएर दाम असुल्ने विश्वका सेताकोटको सेवा र देशको ढुकुटीबाट मेवा ढेवा असुल्न सिपालु यो खकारले देश देशावर डुलाउँछ । आफन्त र परिवारजनलाई ब्राण्डीमा भुलाउँछ । आफू परमधामको यात्रामा गयो भने पनि यसले सातपुस्ते श्रेष्ता लालपुर्जामा र देशी विदेशी बैङ्क खातामा मिलाएकै हुन्छ ।

अब तपाइँ कुन कोटीको कुन दर्जाको खकार बन्ने हो ? तपाइँकै जिम्मा । म भने राम नाम सत्ते हो रुपी खकारमै दरिन्छु ।
जदौ !!!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x