साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइरल हुने सूत्र !

जसले राम्रो गर्छ उसलाई झटारो हान्नुपर्छ । जो कामचोर छ, जो बुद्धि नभएको आलु छ उसैलाई सबैले चर्का चर्का नारा लगाएर ठालु बनाउनुपर्छ । देशमा रमिता चलेको बेला रमिते बन्न सक्नुपर्छ ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

अँ- साँच्ची आजभोलि मान्छे जस्ता पशुहरूलाई त भाइरल हुन मन पर्छ भने तपाइँ हामी सबै पशु जस्ता मान्छेहरूलाई भाइरल हुन मन नपर्ने कुरै भएन । मेरै कुरा गर्नुहुन्छ भने एकाएक कसरी भाइरल बन्ने हो भन्ने चिन्ताले रातमा निद्रा र दिनमा भोकमात्र होइन हजुर सबैकी साझा नेपाल आमा मरे पनि शोक छैन । जन्मने जन्मिरहन्छन् । मर्ने यहाँ मरिरहन्छ । त्यहि जन्मेर-मर्ने बेलाबिचको समयमा नै त हो भाइरल हुने । इच्छा, आकाँक्षा, रहर भन्ने कुरा आ-आफ्नो औकात अनुसार गर्ने हो । अरुले चन्द्रमामा बस्ती बसाले, मंगल ग्रहमा बसाईँ सरे भनेर चिन्ता किन लिनु हामीले ? हजुर-हामीलाई, हाम्रो समाज देश, काल, परिस्थिति अनि हाम्रो मन, मुटु र मस्तिष्कमा तात्तातो फल्न र फलाउन सकिने कमालको जिनिस भनेको एकाएक भाइरल हुने हो ।

भर्खरै नागपञ्चमी सकिएर त्यसपछिको जनैपूर्णिमा समेत गैसकेको हुनाले अब कुरा लामो-लामो गर्नुभन्दा झ्याप्पै सूत्रतिर छिरौँ है त ।

१.भाइरल हुनको लागि सबै भन्दा चुरो कुरो भनेको गर्न हुने, गर्न मिल्ने, परिश्रम लाग्ने सबै कामकुराहरू गर्न छोडौँ । हत्केलामा असार उमार्नेहरूको सङ्गत गरियो भने भाइरल भन्ने कुरो यो जन्ममा मात्र होइन अर्को जन्ममा पनि भइँदैन । त्यसैले यसको लागि चाहिने अचुक औषधी भनेको अल्छी बन्नु हो । सबै अल्छी बनौँ । आफू अल्छी, परिवार अल्छी, समाज अल्छी अनि सिङ्गो मुलुक अल्छी बनेर पौरख गरेपछि फल्ने एकमात्र कुरो भनेको भाइरल हो ।

२.भाइरल हुनको लागि आफ्नो आँखा जे जस्तो भए तापनि सत्ता, शक्ति अनि त्यो प्राप्त गर्ने माध्यम भक्तिको पावरवाल चश्मा प्रयोग गरौँ । जसले गर्दा अल्छीको जाँगरमा भक्तिको मेशिन घुमाएपछि सबैभन्दा आफू ठूलो भइन्छ । उमेरका कुरा छोडौँ, आफ्नै नाकको सिँगानको खोट्टरी फाल्न नजान्नेहरूले समेत आफूलाई भाइरल बनाउने सुन्ड, मुन्डलाई पाल्न सक्छन् । कसैले गर्न नसक्ने अद्भूत काम गरेर भाइरलको राँको बाल्न सक्छन् । एकै रातमा सडकपतिबाट अरबपति, कसैले नचिनेको कमिलाछापबाट हात्तीछाप, घरपरिवारकाले चिन्न नभ्याउँदै राज्यले परिचय बनाइदिन्छ । भाइरल भएपछि अन्यबाट आइलाग्ने र जाइलाग्ने कुराहरूको बेलिविस्तार गरेर त साध्य नै छैन हजुर ।

३.“एनि हाऊ-जसरी हुन्छ पैसा कमाऊ” भाइरल हुने अर्को शूत्र हो । काम गरेर त, परिश्रम गरेर त जसले पनि कमाउँछ पैसा । भाइरल हुनको लागि त काम नै नगरी बोराभरि पैसा कमाउनुपर्छ । अल्छी भएर नै पैसा कमाइने काममा रमाउनुपर्छ । पैसा आउँछ भन्ने गन्ध पाएपछि एक नम्बरी काम त धेरैले गर्छन् । भाइरल हुनको लागि त मज्जाले दुई नम्बरी काम गर्नुपर्छ । कृषि प्रधान देश भनेर मख्ख नपरौँ । आफूले निकै दुःख गरेर फलाएको अन्नबाली, पशुपालन र फलफूल बेचेर अहिलेसम्म कोही पनि भाइरल हुन सकेको छैन । भाइरल हुनको लागि त अरुले दुख गरेर जन्माएर हुर्काएका मान्छे बेच्नुपर्छ । एक छाक मिठो मसिनो खान कहिल्यै नपुग्ने इमान्दारिता, सदाचार र नैतिकता बेच्नुपर्छ । गर्न नहुने काम कहिल्यै गर्न नदिने इमान, जमान र लोकलाजलाई बेच्नुपर्छ । अनि बल्ल भइन्छ भाइरल । अनि बल्ल मारिन्छ प्रगतिको बाजी । अनि बल्ल चढिन्छ उन्नतिको सगरमाथा ।

४.सेलीब्रेटी भएर भाइरल हुनको लागि देखाउनु हुने, देखाउन मिल्ने कुरा देखाएर कोही भाइरल बन्न सकिदैन । अरुले देखाउन नसकेको कुरा देखाउनुपर्छ । अरुले भेट्टाउन नसकेका कुरा भट्याउन सक्नुपर्छ । हुँदै नभएको खोक्रो रवाफ दिनुपर्छ । कसैले केही बोल्नै नसक्ने गरि जवाफ दिनुपर्छ । अरुको बौद्धिक सम्पत्तिलाई चोर्न सक्नुपर्छ । सोसल मिडियाको मन, मुटु र मस्तिष्क फोर्न सक्नुपर्छ । दुनियाँलाई यस्तो देखाउनुहोस् कि आफूभन्दा अर्को उत्तम गायक कोही छैन, आफूभन्दा अर्को उत्तम नायक कोही छैन । यत्ति भएपछि भाइरल पक्का ।

५. साहित्यकार भएर समेत भाइरल हुनुपर्छ । यसको लागि सोसल मिडियामा उपन्यास भन्दा लामा लामा कविता भट्याउन सक्नुपर्छ । त्यही पनि आफूले मात्रै लेखेको नभई अन्य ठाउँ ठाउँमा देखेको समेतलाई ताल मिलाएर भन्न सक्नुपर्छ । एउटै कविताको पचास ठाउँमा विमोचन र चर्चा परिचर्चा गर्न पर्छ । यति हुँदा पनि भाइरल हुने छाँट आएन भने बसाइँ सरेरै भए पनि अन्तर्राष्ट्रिय कविमा छलाङ् मार्नुपर्छ । धेरै नै पुरस्कार र सम्मान पाएर भाइरल हुनु छ भने त अझ त्यो सम्मान र पुरस्कारलाई लाग्ने पैसाको मूल्य भन्दा बढी मूल्य संस्थापकहरूलाई चन्दा दिएर, त्यो सम्मान र पुरस्कार भन्ने कुरो आफूले किन्न जान्नुपर्छ । पुरस्कारको दाउ थाप्ने सबैलाई चिन्न जान्नुपर्छ ।

६. भाइरल हुने उत्तम दाऊ भनेको राजनेता नै हो । राजनेता हुनको लागि अलिकति राज्य बेच्न सक्नुपर्छ । अलिकति संविधान बेच्ने, अलिकति नीति बेच्ने, अलिकति थिति बेच्ने, अलिकति रीति बेच्ने, अलिकति पद्दति बेच्ने अनि त राजनेता एकाएक भाइरल मात्र होइन अन्य सबै कुरामा समेत आइरल भइन्छ । यत्तिले मात्र डोज पुगेन भने अलिकति राष्ट्र बेच्ने अनि अलिकति राष्ट्रियता बेच्ने अनि त फालाफाल कसो ?

७. ब्यापारी भएर भाइरल हुनु छ भने जुस बेचेर अहिलेसम्म कोही भाइरल भएका छैनन् । यसको लागि त राजस्व छलीको आइडिया बेच्न सक्नुपर्छ । डेटिङ, सेटिङ र भेटिङमा घुस बेच्न सक्नुपर्छ । भाइरलको हुनको लागि उत्तम अस्त्र कालाबजारी, सिण्डिकेट, तस्करी, चोरी र डकैतीलाई धर्म मान्नुपर्छ । इमान्दार हुन त सरम मान्नुपर्छ ।

८. सर्वसाधारण नागरिक भएर भाइरल हुनको लागि समेत धेरै बाटाहरू खुला छन् । यसको लागि काम केही गर्न हुन्न । जसले राम्रो काम गर्छ उसको खुट्टा सबै मिलेर तान्नुपर्छ । जसले राम्रो गर्छ उसलाई झटारो हान्नुपर्छ । जो कामचोर छ, जो बुद्धि नभएको आलु छ उसैलाई सबैले चर्का चर्का नारा लगाएर ठालु बनाउनुपर्छ । देशमा रमिता चलेको बेला रमिते बन्न सक्नुपर्छ । चौबिसै घण्टा जात्रा हेरेर रमाउन सक्नुपर्छ । चौबिसै घण्टा काण्ड समाउन जान्नुपर्छ ।

लौ त हजुर, अहिलेलाई भाइरल हुने सूत्र यत्ति नै । रात रहे अग्राख त पलाउँछ भन्छन् भने दिन पनि धेरै बाँकी छ अन्य धेरै सूत्रहरू अर्को भेटमा ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
टोप राज पौड्याल
टोप राज पौड्याल
1 year ago

बधाई छ बधाइ

Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
1
0
Would love your thoughts, please comment.x
()
x