साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेताभक्त

धर्म मान्नेले बिहान बिहान नेताको आरती गरौं । पशुपति जान छोडेर नेताको घर धाऊँ । लेखकले नेतागाथा लेखौं, पत्रकारले नेताको जयजयकार लेखौं । आउनुस् हामी सबै मिलेर नेता पूजा गरौं ।

Nepal Telecom ad

डा. टीकाराम पाेखरेल :

आजकल म ज्यादै नेताभक्त भएको छु । किन म यसरी नेताभक्त भएको होला भनेर अरुले ममाथि प्रश्न बर्साउनुलाई मैले अस्वाभाविक मानेको छैन । तर सबैले ख्याल गर्नुपर्ने कुरा के हो भने म जस्तो सिद्धान्तवादी मान्छे त्यत्तिकै ख्यालख्यालमा नेताभक्त भएको चाहिँ होइन । नेताहरुको गुण हेर्दा हेर्दा नेताहरुप्रति नतमस्तक भएर नै म नेताभक्त हुन पुगेको हुँ । त्यसैले त म हरपल मेरा प्रिय नेताहरुको बोली सुन्न, अनुहार हेर्न र बखान सुन्न आतुर छु । नेतागाथा सुनिरहन्छु, नेताको अनुहार हेरिरहन्छु र दुई चार जनाको झुन्ड पाउनेबित्तिकै नेतागाथा गाउन थालिहाल्छु ।

म दिनभरि गोरू जोतिए झै काममा जोतिन्छु । बेलुका थकित हुन्छु, तर जति नै थकाइ लागेको किन नहोस् मेरा प्रिय नेताहरुको अनुहार हेर्न र बोली सुन्न म बेलुका भएपछि टिभी अगाडि धर्ना कसेर बस्छु । आखिर मैले मेरा प्रिय नेताहरुलाई देख्ने, भेट्ने र सुन्ने ठाउँ यही मेरो घरको कोठामा रहेको थोत्रो टिभी नै त हो । त्यसैले त यो मेरो घरको थोत्रो टिभीलाई पनि म धन्यवाद दिन्छु जुन टिभीले मलाई वर्षों वर्षदेखि मेरा प्रिय नेताहरुसँग साक्षात्कार गराइरहेको छ ।

त्यसो त मैले कहिलेकाहीँ मेरा प्रिय नेताहरुलाई प्रत्यक्ष साक्षात्कार गर्न नखोजेको पनि होइन, तर कहाँ पाउनु र ? म एकजनाको नेता भापो मैले भेट्न पाउनु ? बिचरा २ करोड पैस‌ठ्ठी लाख जनताका नेता न परे । कहिले कुन जनता र कहिले कुन जनताको घर दैलोमा पुग्दै मेरा नेताज्यूहरुलाई फुर्सद नभएकाले मैले भेट्ने सौभाग्य नपाउन स्वभाविकै हो । देशका यत्रो जनताको भारी बोकेर बसेका नेताहरूलाइ भेट्न नपाए पनि म सन्तुष्ट छु । उनीहरुले जनताको समस्याका भारी आफ्‌नो थाप्लोमा थापिदिएकोमा म नेताहरुप्रति साहै गौरवान्चित छु । उनीहरुको यो त्याग, तपस्या, बलिदानीले गर्दा नै मैले पनि महान् नेताको भक्त हुन पाएको छु ।

यो देशको प्रगतिको लागि मेरा नेताज्यूहरु ज्यान छोडेर हाम फाल्नु भएको छ । यसरी देशको लागि हामफाल्ने नेताहरुको अवमूल्यन गर्दै कसैकसैबाट कुर्सीका लागि हाम फालेको भन्ने हल्काफुल्का टिप्पणी गरेको पनि मैले सुनेको छु, तर त्यस्ता आलोचकहरुले बुझ्‌नुपर्ने कुरा के हो भने कुर्सी नचढी देश नबन्ने हुनाले हाम्रा नेताज्यूहरु कुर्सी चढ्न आतुर हुनुहुन्छ । त्यसैले मलाई पनि आजकल कुर्सीप्रेमी नेता ज्यादै मन पर्छ ।

मैले भनेको कुरा सत्य होइन भने भनिदिनुस् विश्वमा कुर्सीमा नचढी फर्सीमा चढेर देश कसले बनाएको छ र ? यदि त्यस्तो फर्सीमा चढेर कुनै नेताले देश बनाएको इतिहास कत्तै छ भने भनिहाल्नुस् नेताहरुलाई सिंहदरबारका कुर्सी छोडेर फर्सी चढ्न फर्सीबारीतिर जाने सल्लाह दिऊँला । होइन त्यस्तो उदाहरण छैन भने देश र जनताको लागि कुर्सीका लागि हारालुछ गर्ने नेतालाई त हामीले स्यालुट पो मार्नुपर्छ त । त्यसैले बरू तपाईं पनि कुर्सीप्रमी नेताको भक्त हुनुस् र फर्सीप्रेमी अर्थात् फर्सी खाएर बाँच्नेहरुको आजैदेखि आलोचना गर्न थालिहाल्नुस् ।

कुर्सी चढेका मेरा नेताको चमत्कार हेर्नुस्, देशका पहाडी कुनाकाप्चालाई विकासले पोतेर स्वीट्जरल्याण्ड बनाइसके । काठमाडौंका सहरलाई सिंगापुर बनाइसके । विकासले गर्दा नयाँसडक न्यूयोर्क जस्तो देखिन थालिसक्यो, पुतलीसडकले पेरिसलाई बिर्साउने भइसक्यो । भक्तपुर र भ्यान्कुभरमा कुनै फरक छैन, ललितपुरले लन्डनको झझल्को दिन थालिसक्यो । कीर्तिपुर जाउँ कोपेनहेगनभन्दा कम छैन, यस्तो विकास देख्दा देख्दै अब देशको विकास भएन भन्नेहरुको बोलिमा कुनै दम छैन । त्यसैले म त भन्छु, यस्ता महान् नेताको भक्त हुनुको हामीसँग अरु कुनै विकल्प छैन ।

विना संविधान पनि देश चल्छ भनेर हाम्रा नेताहरूले विश्वलाई पाठ पढाइसके । प्रतिस्पर्धाको दौडमा भाग लिएर विश्वमा डाढे नेपाली भनेर नचिनिने भनी छिमेकी बिहारलाई आफूभन्दा अगाडि लगाइसके । नेताले जे गरे पनि सकारात्मक आँखाले हेर्नु है भनेर जनतालाई आदर्शको पाठ सिकाइसके । नेताको काममा जति ताली बजाए पनि हाम्रा ताली नदुख्ने बानी बनाइसके ।

विश्वका स्थापित द्वन्द्व र न्यायका मान्य सिद्धान्तलाई आत्मसात गर्नुभन्दा आफ्‌नै देशको मौलिक द्वन्द्व र न्यायको सिद्धान्तमा विश्वास गर्ने पाठ सिकाए । दोषीलाई कारवाही होइन पुरस्कार दिने नयाँ कानुनी मान्यताको विकास गरे । मेलमिलाप गर्दा भन्दा झगडा गर्दा आमजनतामा राजनीतिक चेतना बढ्ने ठानी झगडालाई मलजल गरेर फलाए फुलाए । झगडै झगडाले देश झलमल्ल बनाए ।

जनताका झुपडी साना भए पनि सबै नेताले ठूला भवन बनाए । भलै देश र जनता गरिबै किन नहुन् कम्तीमा पनि धनी नेता बस्ने देश भनेर देशलाई विश्वसामु चिनाए । नेपाली पर्यटनलाई टेवा दिन नसके पनि महिनैपिच्छे विदेश घुमेर सिङ्गो विश्व पर्यटन उद्योगलाई टेवा पुऱ्याए । सरकार बनाउने र गिराउनेदेखि विकासका कुरासम्ममा विदेशीसँग सरसल्लाह लिएर मात्र गर्ने मान्यताको विकास गरी नेपाली विश्वबन्धुत्वको उत्कृष्ट नमुना बाँडे ।

उहिले बुद्धले आफ्‌नो गालामा कसैले एक थप्पड हानेमा अर्को गाला पनि थापिदिनु भनेर पाठ सिकाएथे रे । अहिले हाम्रा नेताज्यूहले पनि हामी नेताले जे गरे पनि धैर्य गर्नु र ताली बजाइरहनु है भनेर जनतालाई धैर्यको पाठ सिकाए । यस्तो आदर्श पाठ सिकाउने नेताको म भक्त नभएर भो, लौ तपाइँ आफैं भन्नुस् म के गरौं ?

देशका सुकुम्बासीले मात्र देश नसिँगारिने ठानी हुकुम्बासीहरु बढाउन पनि नेताहरुले प्रोत्साहन गरे । भोट र नोटबिचको विनिमय कला सिकाए । राजनीतिमा बाहुबलको भूमिका विषयक नाटक मञ्चन गरेर जनतालाई राजनीतिमा प्रशिक्षित गरे । शान्तिमा अशान्ति हुन्छ र भ्रान्तिमा मात्र शान्ति हुन्छ भन्ने मान्यताको विकास गरे । देशको राजनीतिमा जतिसुकै ग्रहदशा भए पनि पाँचतारे होटलमा केही वरिष्ठ नेताहरु बसेर बेलुका स्वस्तिशान्ति गरेपछि जस्तासुकै ग्रहदशा भए पनि टरेर जाने भन्ने कुरा व्यवहारमै गरेर देखाइदिए ।

मेरा नेताका यस्ता गुणैगुण देख्दा कहिलेकाहीं त यस्ता गुणवान् नेता हाम्रै देशका नेता त हुन् भने जस्तो लाग्छ । हाम्रा नेता यस्ता महान् छन् भन्दा कहिलेकाहीँ त म आफैँलाई विश्वास लाग्दैन, सपना जस्तो पनि लाग्छ । तर सोच्दासोच्दै झल्याँस्स हुन्छु सपना होइन यो विपना नै हो, हामीले यस्ता गुणवान् नेता पाएकै हौं । त्यसैले त म नेताभक्त भएको छु ।

हामीले नेपाललाई विश्वमा चिनाउन मेरो हिमाल, मेरो सगरमाथा, मेरो गौतमबुद्ध भनेको धेरै भयो । समय परिवर्तनशील छ, त्यसैले अब यस्ता पुराना कुरा छोडेर नयाँ गौरव गर्न लायक कुराहरु खोजौं । सगरमाथा र गौतमबुद्ध भन्दा पनि हाम्रा गौरव गर्न लायक कुरा भनेका हाम्रा नेता हुन् । हाम्रा नेताले राम्रा नेताको देश भनेर हाम्रो देशलाई विश्वमा चिनाउन सक्तछन् । त्यसैले हामी पनि यस्ता महान् नेताको गौरवगाथा गाऊँ, एकछिन पनि ढिला नगरौं, नेताभक्त बनौं, नेताभक्तहरु बढाउँदै लैजाउँ । टोलटोलमा नेताभक्त सम्प्रदायको विकास गरौं । धर्म मान्नेले बिहान बिहान नेताको आरती गरौं । पशुपति जान छोडेर नेताको घर धाऊँ । लेखकले नेतागाथा लेखौं, पत्रकारले नेताको जयजयकार लेखौं । आउनुस् हामी सबै मिलेर नेता पूजा गरौं । जय नेता ।

०००
हाइ, हाइ नेपाल बन्द (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x