साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गठबन्धनीय मुचुल्का

हामी उपल्लाधिपतिहरुले कुनै योग्य, काबिलियत, काम लाग्ने, गर्जो टार्न सक्ने गतिलो व्यापार व्यवसाय फलिफाप भएको व्यापारिक साधुसँग बसेर रात्रिकालीन भोजमा रमाउने छौँ ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

लिखितम हामी वफादार अधिपतिहरू आगे नेपाल देशे, सुदूरपश्चिम राज्य, हाल काजीका, खानदान, कान्तिपुर तीर्थस्थान बसोबास भएका थान १, नेपाल देशे कोशी राज्य हाल भादगाउँले थान १, नेपाल देशे गण्डकी राज्य जन्मस्थाने हाल ललितपुर बासस्थाने थान १ बीच राजीखुसी, भेदभाव रहित, करकापमा नपरी, प्रसन्न मुद्रामा सहमतिमा पुग्न एकआपसमा सहमत भएका छौँ ।

सत्तामा रहँदा जेजे कुरा गर्छौ विपक्षमा पुगेपछि त्यही कुराको विरोध गर्नु हाम्रो स्वधर्म हुनेछ। सत्तामा रहँदा जनता बिर्सने रोगलाई नियमित र अनिवार्य ठानी ओखतीमुलो नगरी राजधर्मको भूमिका अदाह गर्नेछौँ। सत्ताबाट विपक्षको स्थानमा पुगेपछि विपक्षीय धर्म निर्वाह गर्न जनताको नाम जप्नेछौँ । जनताको साथ र समर्थन प्राप्त गर्न प्रयत्नशील रहनेछौँ।आफू असम्मिलित सत्ताको निन्दा गर्नेछौँ।सत्तामाथि जाइलाग्ने छौँ ।आफू असम्मिलित गठबन्धनले गर्ने कार्य सही हुन सक्दैन भन्ने कुराको जिकिरका लागि बोल्न, लेख्न र भन्न स्वतन्त्र हुनेछौँ । सत्ता गठबन्धन विरुद्ध बहस पैरवीमा रोकटोक छेकबार हुने छैन। बाहिर बारुद ओकल्नेछौँ । भित्रभित्र नयाँ गठबन्धन बनाउन तानाबाना बुन्न कम्मर कसेर लागी पर्नेछौँ ।नयाँ गठबन्धनको भने ढोका बन्द गर्ने छैनौ । कतिबेला को थाङ्नामा सुत्ने त्यसको जिम्मेवारी भने हाम्रो बसमा निहित राख्ने छैनौ।

हामी आपसमा मिल्दा एक अर्काका परिपूरकको रुपमा हुने छौँ। एक अर्काको शयन कक्षसम्म पुग्न हामीलाई छुट हुनेछ। आलिङ्गन, अङ्कमाल र चुम्बन सम्मको छेकबार हुने छैन। मन, घर, गाउँ, प्रदेश र देश अनि विदेशका सबै कुरा एक अर्कामा मिष्ठान्न भोजन सहित खोल्ने छौँ । आधुनिक सङ्गीतमा परम्परागत बाजाको प्रयोग गरी गायन र नृत्यमा रम्ने छौँ। रमाउने छौँ। मन, मुटु, मस्तिष्क सहितको दीर्घकालीन सामीप्यताका लागि सहमत हुने छौँ। गठबन्धनमा हुँदा पोखिन लागेको लाजको पित्कोलाई थाङ्नाले पुछेर छोप्ने छौँ। बचाउने छौँ। जोगाउने छौँ। एक अर्कालाई साथ र सहयोग गर्ने छौँ।

गठबन्धन भत्किएर पिरती मायाजाल अर्कैतिर लाग्नलाग्दा भने लाजका भाँडाहरू प्रदर्शनीमा मात्र सजिसजाउ गर्ने छैनौ बरु थप बढाइचढाइ गरी लिलाम बढाबढमा राख्नेछौँ। यो छुट हामीलाई प्राप्त हुनेछ। गठबन्धनको चाँजोपाँजो अर्कोतिर मिल्न सक्छ भन्ने कुरा हाम्रो मन मस्तिष्कले स्वीकार्ने छैन। किनभने हामी स्थायी रुपले नयाँ गठबन्धनको अकाल्पनिक विमानमा सवार भएको सम्झने छौँ ।

हामी पक्ष वा विपक्ष जहाँ भए पनि एउटा कुरामा हाम्रो समान धारणा हुनेछ। समानुपातिक हिस्सेदार हुने छौँ त्यो भनेको नियुक्ति, सरुवा र बढुवामा हो। नियुक्ति, सरुवा बढुवामा हामी प्रतिपक्षमा भए पनि एक अर्कालाई सम्झनेछौँ। वैधानिक निकाय, विश्वविद्यालयहरू र राज्यकोषद्वारा सञ्चालित कुनै पनि स्थानमा हामी सहअस्तित्वकासाथ आफ्नो अनुपातिक हिस्साका हिस्सेदार हुने कुराको सुनिश्चित गर्दछौँ । मिलिजुली राज गर्ने अवस्थामा यो अवसर हामी सबैलाई प्राप्त हुनेछ । गठबन्धन बाहिर विरोध गर्न भने छुट हुनेछ।

गठबन्धनमा नहुँदा हामीबाट भएका आलोचना, गालीगलोज, तितापिरी, मारपिटी जेजस्ता घटना वा परिघटना भए पनि गठबन्धनको सुर्को लगाउने बित्तिकै हाम्रो भित्री आत्मा सेलाउन गै अगठबन्धनकालको तातो आत्मा शान्तिमा परिणत गर्न सजिलै सफल हुने कुराको ग्यारेन्टी गर्दछौँ । फाटेको च्यातिएको मनलाई भोटे कम्बल सिलाउने सुइरोले सिलाई अघि बढ्ने छौँ। ठुलै भ्वाङ परेमा घरको छानो छाउँदा प्रयोग गरिने डोरी तलमाथि गर्दा प्रयोग गरिने बासको ताकु प्रयोग गरी डोरी कस्ने छौँ।

आयोजना वा परियोजना जे भएपनि हामीले गरेको जुनसुकै गठबन्धन भए पनि त्यसको ठेकेदार, दाता, निर्माणकर्ता र परियोजना प्रस्ताव पेश एउटै मानिसबाट हुनेछ। त्यो मानिस वा कम्पनी हामी सबैको बराबर हकभोग भित्र पर्ने कुराको सुनिश्चित गर्न तयार हुनेछौँ । उसको साथ र सहयोग सधैँ सबैलाई हुने कुरामा उसलाई सहमत गराउने छौँ ।
गठबन्धनिक सत्तामा हुँदा प्यारो लाग्ने छिमेकी गठबन्धन भत्किएर नयाँ बन्दासाथ त्यसले नै गठबन्धन भत्कायो भन्नमा पछि पर्नेछैनौँ । सभासम्मेलन, गोष्ठी, बैठक, आन्तरिक र वाह्य छलफल, खुला र बन्दसत्र सबैमा खुलस्त ढङ्गले नामै काढेर सत्तोसराप गर्ने छौँ। यो कार्यमा गठबन्धनमा सहभागी मध्येका वामपन्थी नामधारीहरुलाई बढी छुट हुनेछ।

स्वतन्त्र विजेता, सानातिना भुरेटाकुरे, पार्टीधिपतिसँग नजिकको सम्बन्ध विस्तार गर्नेछौँ । तिनीहरूलाई आफ्नो पक्षमा तान्न कुनै कसर बाँकी राख्ने छैनौँ । आफ्नो समूहमा सतिसाल झैँ उभिने, उभिन खोज्नेहरूका गल्ति, कमजोरी, बिठ्याइँ, फट्याइँ सबै आममाफी दिनसक्ने ल्याकत हामी सबै राख्नेछौँ। आफ्नो पक्षमा नउभिएको अवस्थामा उनीहरूका सानामसिना कमजोरीहरूलाई विशाल बनाइ उछितो काड्न सामर्थ्य राख्नेछौँ । परिस्थितिजन्य वातावरणको परिधिभित्र रहेर राज्यबाट न्यायिक इन्साफका लागि पनि उचित कदम चाल्न वाञ्छनीय ठान्नेछौँ। केही सीप नलागे अध्यादेश मार्फत तिनीहरूका टुक्राटुक्रा पारेर आधाआधी यताउति गरेर सामसुम चुपचाप बस्ने वातावरण सृजना गर्न पछि पर्ने छैनौँ ।

गाउँ र जिल्लास्तरमा मिलेर बसेका दाजुभाइहरूलाई झगडालु राजनीतिक ओखतीले लट्ठ बनाइ, आआफ्नो पार्टीप्रति वफादार रही एक अर्कालाई आक्रमण गर्न पछि नपर्ने गरी पेशागत प्रशिक्षण मार्फत दीक्षित गर्नेछौँ । गराउने छौँ। त्यति नै बेला हामी उपल्लाधिपतिहरुले कुनै योग्य, काबिलियत, काम लाग्ने, गर्जो टार्न सक्ने गतिलो व्यापार व्यवसाय फलिफाप भएको व्यापारिक साधुसँग बसेर रात्रिकालीन भोजमा रमाउने छौँ ।

आफू सहितको गठबन्धनको गठजोड मिल्दा आफ्नो शक्ति, चातुर्यता र राजनीतिक कुटनीतिज्ञताले भएको भनेर सफलताको जस आफैमा निहित राख्नेछौँ। जनताको सदीक्षा प्राप्त भएको कुरालाई जनस्तरमा पुर्याउँने छौँ । यसको मानसम्मानमा कहीँ कतै कन्जुस्याईँ गर्ने छैनौँ ।

आफ्नो गठबन्धन भत्किएर बाहिरिने बित्तिकै उत्तर, दक्षिण र समुद्रपार सबैतिरको गठजोडयुक्त शक्तिले पछार्यो त भन्न पछि पर्ने छैनौँ। अमुक शक्तिले आफूलाई नचाहेको, आफू सच्चा राष्ट्रभप्रेमी भएको उसलाई मन नपरेको, उसका शर्तहरू राष्ट्रिय हितका लागि आफूले नमानेकोले मेरो सत्ता बहिर्गमन हुनु परेको भनेर वरपर तलमाथि आफ्नो भूगोलले समेटेसम्म भटटटऽऽऽऽ भट्ट्याउने छौँ। स्वदेशी र विदेशी दुवैथरीका सञ्चारकर्मी र सञ्चार माध्यबाट आफ्नो बहिर्गमन र नवगठबन्धनको बिजारोपणको वास्तविक धारणा सुसूचित गर्न पछि पर्ने छैनौँ ।

रोहबर
१. विलियम जेम्स लाउडा २. महाकालीप्रसाद दक्षिणायण ३. विआरआइ झि वाङ् ४. एमसिसी एस आर ब्लिथ ५. एनसेल अहेमद मोहमद ६. अनमिन जे आर क्याण्टोन्मेण्टनाचार्य ७. सन्त ऋषि शरणाचार्य ८. बुद्धभक्त चियाशास्त्री ९. महर्षि बाह्रमास चौबिसक्यारटाचार्य १० टिकापुर कुमार बालुवाटारे ११. सहकारी प्रसाद वित्तशास्त्री

इतिमिति ……. शुभम् ।

०००
कैलाली, हाल- थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x