देवीप्रसाद घिमिरेऔँलो
आज सबै नेता कार्यकर्ता देशको ढुकुटी औँलो बङ्ग्याएर नङ्ग्याईरहेका छन् विचरा नेपाल आमा निरिह छन् । लुटेराहरूको जमात देखेर त्रसित छन् एउटा पनि सन्तान खवरदारीको औंला उठाउन नसक्ने जन्मिएकोमा दुःखीत छन् ।

चेतनशील प्राणी मानिसलाई कर्मशिल बनाउदै सिप र सिर्जनाको शिखरमा पु¥याउने महत्वपूर्ण मानव अङ्गनै औंला हो । मानव जगतलाई यिनै परिश्रमी औंलाहरूले नौला नौला सिर्जनामा विभिन्न चुनौतीहरूको सामना गर्दै सार्थक जीवन जीउन सिकाइरहेका हुन्छन् । पक्रिनेदेखि पछार्नेसम्म हुत्याउने देखी फुत्काउनेसम्म लाछनेदेखि ताछनेसम्म चिमोट्नेदेखि निमोठ्ने सम्म सबै काममा सक्रिय औंला सधै भरि नौला नौला बस्तुहरू सुम्सुम्याउन पाए खुशी देखिन्छन् ।औंला शरीरको शोभा मात्र नभएर कर्म प्राप्तीको साधन पनि हो । औंला औंला छुनुमुनु गरि देशको साख उच्च राख्न सधै नौला नौला रहरहरूलाई सार्थक यथार्थ सम्म पु¥याउन सधै सर्जक लागि परेको हुन्छ । केटाकेटीहरूले दशै बोलाउँदा रमाईलो गर्ने देखि साईमुन्द्रोमा बाँधिएर सगै जिउने सँगै मर्ने बाचा बन्धन बाध्ने काम औंलाबाटै गरिन्छ ।
दसै आयो भन्छ कान्छी औँला खाउँला पिउँला भन्छ साहिली औँला काहाँ पाउँला भन्छ माझी औँला चोरी ल्याउँछु भन्छ चोरी औँला खवरदारी गर्छ बुढी औँला भन्दै नानीहरू नाचेको दृष्यमा नरमाउने को पो होला र ? हातमा र खुट्टामा भएका औँलाहरूले मानिसलाई अरु प्राणीहरू भन्दा फरक एवं सिर्जनशील बनाएको छ ।
कवि कलाकार लेखक साहित्यकार कृषक सुचीकार कुचिकार सबैको साधना सार्थक बनाउने महत्वपूर्ण अङ्ग हो औँला । हातका औंलो साथ नदिए पछि खुट्टाका औंलो लेखेर आफू भित्रको सिर्जना शक्तिलाई प्रस्तुत गर्ने झमक कुमारीको साधना आफैमा चुनौति पूर्ण छ । कवि कलाकार पत्रकार निवन्धकार सबैका औँलामा नौला सिर्जना भर्ने अद्भुत शक्ति रहेको पाईन्छ ।
इलमीको भागमा माछा मासु अल्छीका आँखामा सधै आँसु भन्ने उखान झै जसले परिश्रम पुर्वक औंला चलाउन सक्छ त्यसले आफ्नो भविश्य आफै बनाउन सक्छ ।
दाह्री काट्ने औंला सारी तान्ने औला औंठी साट्ने पनि औंला दुनियालाई चुड्की बजाएर ढाट्ने पनि औंला औंलामा औठी लगाएर नौला सपना देखाउदै दाम्पत्यको सुरुवात गर्ने देखि मृतात्मा तार्न र धार्मिक अनुष्ठामा कुस राख्ने समेत औंला नै हो । आशीर्वादको टीका लगाउने देखि चुड्की बजाएर भूत भगाउने सम्म काम औंलाबाटै गरिन्छ । बारी खन्ने देखि हिसावलाई बेहिसाप गर्दै निसाफ बङ्ग्याउने आटी अङ्गनै औंला हो ।
नालीमा ठस्स गन्हाउने फोहोर सोर्ने देखि थालीमा काँटा चम्माले देशै हसुर्ने समेत कार्य औंलाबाटै हुन्छ । फोहोर सफागर्ने देखि फोहोर तह लगाउने सम्म चुरोट च्यापेर क्यान्सर निम्त्याउने देखि खवरदारी र चेतनाको दियो वाल्ले सम्म कार्य गर्ने साधन औंला नै हो ।
शान देखाउने औंला मान देखाउने औंला सर्व साधरण सोझा जनता ढाँटेर मष्ति मार्ने औंला मुड्की बजार्ने औंला खाने कुरालाई समात्ने पनि औंला नखाने कुरा समात्ने पनि औंला सिगान पुच्ने देखि ढाडकन्याउने सम्म औंला नै हो । भाडा बनाउने देखि देश विगारेर वेहिसाफ जनताको पसिनामा मस्तिमार्ने नेता बनाउने पनि औंला हुन जसले औलो दिदा डुलुलो निल्ले उखान सार्थक पार्दै दुई बर्षको काम थाति राखेर बर्षौ पर सार्ने कु चेष्टा गरिरहेका छन् । औंला मानवजीवी सहचारी एवं समावेसी अङ्ग हो किनकी यसले गुदपाक पकाउने देखि गुदद्वार सफा गर्ने समेत काम आफै गर्छ ।
घिउ चोर्ने देखि घर फोर्ने सम्म निशाफ बङ्ग्याउने देखि कानून नङ्ग्याउने सम्म क्षमता भएको औंला हावी भएरनै अहिले निरीह जनता सडकमा उत्रिन नसकेको हो ।
विमान उडाउने देखि साईकल गुडाउनेसम्म कार्यमा व्यस्त औंला कसैले पायो भने तपाईको डुडुलोनै ननिलिदेला भन्न सकिन्न । सोझो औंलाले घिउ आउदैन रे, निमुखाले बाँच्न पाउदैन रे भन्दै वेहिसाव सँग निसाफ बिगार्ने प्रति समयमै सावधान रहनु पर्दछ । “औंला ठड्याएर खवरदार औंला बङ्ग्याएर भ्रष्ट्राचार” भन्ने उखान को वेवास्ता गर्दै आज सबै नेता कार्यकर्ता देशको ढुकुटी औंलो बङ्ग्याएर नङ्ग्याईरहेका छन् विचरा नेपाल आमा निरिह छन् । लुटेराहरूको जमात देखेर त्रसित छन् एउटा पनि सन्तान खवरदारीको औंला उठाउन नसक्ने जन्मिएकोमा दुःखीत छन् ।
अतः लेनदेन खरिद विक्री आदिमा ल्याप्चे लाउने देखि मानिसलाई ढुङ्गेयुगबाट बैज्ञानिक पुगसम्म पुर्याउनेसम्म मानव शरिरको महत्वपूर्ण अङ्ग औंला । पृथ्वीनारायण शाहको एकताको प्रतिक मात्र होईन, एकलब्यको गुरु भक्तिको निशाना समेत बनेको छ औंला । सुदर्शन चक्र धुमाएर अन्यायको अन्त्य गर्दै न्यायको विजारोपण गर्नेदेखि हिरोशिमा र नागाशाकी उजाड पार्न सकृय औंला सबै स्वार्थको विचारोपण गर्दै त्यसको जलमल गर्न देखा पर्ने औलासँग खवरदारी गर्दै अहिंसाको खवरदारीमा शान्तिको वकालत गर्न धर्तीमा स्वच्छ सफा पवित्र मानवताको विजारोपण गर्ने बुद्धका जस्ता शुद्ध औंलाको खाँचो धर्तीलाई पर्न थालेको छ ।
०००
जुरोपानी, झापा
फित्काैली डटकममा पहिलाे पटक कात्तिक २७, २०७० मा प्रविष्ट गरिएकाे थियाे ।
Subscribe
Login
0 Comments
Oldest






































