डिल्लीप्रसाद मूलतिहुनधरोधर्म गर्छु (४३)
बार्दलीमा अरू धेरै म जस्ता काग डाक्छु म सबैका सामुमा सोही फोहरी चीज चाख्छु म । अरू कागहरू भन्दा म बाठो काग ठान्दछु त्यसैले काग भेलामा चतुर्याइँ गर्न जान्दछु ।

डिल्लीप्रसाद मूलतिहुन :
सत्तावाला गरौ बार्ता भन्ला भो किन गर्छु म
आँखाछन् धनमा मेरा त्यो पाए वर सर्छु म ।५५६
हो आन्दोलनको मज्जा लिन्छु मैले यसैगरी
सोझासिधाहरू भुल्ने धन्दा गर्छु सधैँभरी ।५५७
हारको बदला लिन्छु तिमीलाई हराउँछु
म जस्तै हरुवा पर्ख तिमीलाई गराउँछु ।५५८
राष्ट्रको धनमा आगो झोसेर ध्वस्त गर्छु म
छ आन्दोलननै प्यारो पछाडि किन सर्छु म ।५५९
उम्लिंदै पोखिदै गर्छु अरू गर्न म जान्दिन
म मात्रै गतिलो ठान्छु अरू मानिस ठान्दिन ।५६०
लाभ हुने मिले ठाउँ टासिन्छु छुट्न जान्दिन
हानी हुने भए काम सुतेर उठ्न जान्दिन ।५६१
स्वादिलो गन्ध आएमा पहरोनै फुटाउँछु
छक्क पर्छन् सबै मान्छे स्वादे जिब्रो नचाउँछु ।५६२
धुरी चढेर काँकाँकाँ काग जस्तै कराउँछु
मौका पाएँ भनेदेखी नाकमा ठुङ्न आउँछु ।५६३
भेटे आँगनका चल्ला टप्प टिप्छु उडाउँछु
न्यायको खोजमा लागे माउसम्म चुडाउँछु ।५६४
छ मेरो रूपनै कालो उज्यालो धमिल्याउँछु
सबैका घरमा डुल्दै आफ्नै नाम पढाउँछु ।५६५
आला घाउ कतै देखेँ भने ठुङ्न रुचाउँछु
मलाई यमको दूत भन्छन् आफै चिनाउँछु ।५६६
अर्काका गुँडका बच्चा ट्प्प टिप्छु चपाउँछु
कसैले नभने हुन्छ त्यो बेलामा धपाउँछु ।५६७
जहाँ फोहोरको थुप्रो त्यहीँ नाच्न रुचाउँछु
सडेको वस्तु बोकेर बार्दलीमा पुर्याउँछु ।५६८
बार्दलीमा अरू धेरै म जस्ता काग डाक्छु म
सबैका सामुमा सोही फोहरी चीज चाख्छु म ।५६९
अरू कागहरू भन्दा म बाठो काग ठान्दछु
त्यसैले काग भेलामा चतुर्याइँ गर्न जान्दछु ।५७०
क्रमशः
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































