अमर अधिकारीजा गिर ! झोला भिर !! खा बासी खिर !!!
निजी सचिव र स्वकीय सचिवले सचिव र सहसचिवको टेबुलमा रहेका फाइलहरु बोकेर आफ्नो कार्यकक्षमा ल्याउने र ढोका बन्द गरेर भित्रबाट चुकुल लगाएर के के गर्थे के के ?

अमर अधिकारी :
२०४० देखि २०५६ सालसम्म संस्थान सेवा गरियो, मनभरि दुःख भरियो। चम्चाले जिएमलाई कुरा लगाएर मलाई अप्ठेरो ठाममा सरुवा गर्नखोजे, मलाई पन्छाएर गोजी भर्नखोजे। तर सकेनन्, म पनि कहाँ कम थिएँ र ? ती जिएम जसको घरमा गैरहन्थे, ती घरवाला मेरा नातेदार थिए। जिएम परे जिल्लाराम, चम्चा परे चिल्लाराम। मलाई डर डर थियो अप्ठेरो ठाममा सरुवा गरिएपछि मैले जागिरै छोड्नुपर्ने हो कि ? चम्चाको चुकुलीले सरुवा गरेन, मलाई अप्ठेरो परेन । गाउँमा कसैकसैले मलाई “फलानोले निकै पैसा कमाको छ रे ! मोजमस्ती गरेको छ रे !!” पनि भनियो। तर “खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ” भने झैँ म पनि पिल्सिदै दुःख पाउँदै आएको जागिरे मान्छे थिएँ। गाउँमा रहेका घरपरिवारका सदस्यहरुले मलाई “वास्ता नगरेको” आरोप समेत लगाए।
म यहाँ तलबले नपुगेपछि कहिले ट्यूसन पढाउनथालेँ त कहिले पेन्टर बन्नखोजेँ पार्टटाइमको रुपमा। काठमाडौँको महङ्गी यस्तो थियो कि कर्मचारी यहाँ नबसेर घरपायक सरुवा गराइहाल्थे। २०५६ सालमा लोकसेवा परीक्षा पास गरेपछि र बालुवाटारतिर बास गरेपछि मलाई ठूलो आपत आइलाग्यो। संस्थान सेवामा खरिदार हुँदा ४२ सय खाइपाइ आएको थिएँ भने निजामतितर्फको एक श्रेणी माथि अर्थात् सुब्बा सरहको जागिर पाएपछि २७ सय खानुपरेको थियो। आम्दानीमा भारी गिरावट भएर बज्रपात आयो अनि बल्ल यो लेखकले चाल पायो। निजामती जागिर कस्तो हुन्छ भनेर।
२०५६ मा लोकसेवा आयोगको परीक्षा दिएँ, ३५ वर्षको उमेरमा भाग्यवस पास भएँ फयल भएको भए गाउँमा बाख्रा चराएर बस्नुपर्थ्यो। यता नेताहरुले पालैपालो म कार्यरत संस्थानको रगत चुस्ने, मासु लुछ्ने, हड्डी दार्ने सखाप पार्ने काम गर्नाले डुब्दैगयो र धरासायी हुँदैगयो। लोकसेवा पास गरेर पहिलो नियुक्ति लिएर गएँ रसुवाको धुन्चेमा रहेको सिंचाई कार्यालयमा। कार्यालय प्रमुख थिए सायद नेपालकै ठूलो आकारका मान्छे। हेर्दा डर लाग्ने भीमकाय ज्यान भएका हाकिम थिए उनी। दुईमहिना नवित्दै सो कार्यालय नुवाकोट डिभिजनमा गाभियो, म हुत्तिँदै काठमाडौँ आएँ। उद्योग मन्त्रालयमा सरुवा भयो, राती नौबजेसम्म मन्त्रालयमा खटेर काम गरेँ। छट्टुहरु पुरस्कृतहरुको सूचीमा परे। म कर्तब्यनिष्ठ र इमानदार भएकै कारण पुरस्कृत हुन सकिनँ।
त्यस्तै विभागमा कार्यरत रहँदा सार्वजनिक विदाका दिनमा समेत डटेर सरकारी सेवा गरेँ, तर भ्रष्ट कर्मचारीहरु पुरस्कृत हुँदैगए। पुरस्कृत हुने सबै भ्रष्ट नहोलान्, इमानदार र खास मूल्याङ्कनमा परेका पनि हुनसक्छन्। अरुको आँखामा छारो हाल्नका लागि भए पनि एकदुईजना इमानदारलाई पुरस्कृत त गर्नुपर्यो। नत्र धेरैजसो चाकडीवाला र दहीचिउरे नै पुरस्कृत हुँदैआएका छन्। दुईवर्षअघि राष्ट्रपतिबाट सम्मानित र पुरस्कृत एकजना अधिकृत दुईलाख घुस खाँदाखाँदै रङ्गेहात पक्राउ परेका थिए। जो मसँग पनि राम्रै चिनजान छ उनीसँग।
२०७० सालमा मलाई मोतिपुर गाविस सचिव (अधिकृत) मा सरुवा गरियो। केहीमहिनामै सो गाविस वाणगंगा नगरपालिकामा गाभिएपछि म जिविस कपिलवस्तुमा फाजिलमा परेँ। पछि जिविस पनि जिससमा परिणत भयो। २०७५ सालमा मलाई आपिस नभा ठाममा हुत्याइयो- बाराको सिम्रौनगढमा। न्याय पाउन सामान्य प्रशासन मन्त्रालयमा एकवर्षसम्म धाएँ। साथीहरुले भने- “घुस खुवाउ न ! भनेकै ठाममा सरुवा हुन्छ।“ म किन पो घुस खुवाउँथेँ र ? म पनि निहुँ खोज्नेमा कम्तीको थिएँ र ? त्यसबखत म संस्थान बोर्डमा काजमा थिएँ। तर बोर्ड एकाएक खारेज भयो, मलाई अर्थ मन्त्रालयको जगेडामा राखियो। पुस्तकालयमा बसेर पुस्तकहरु र पत्रपत्रिकाहरु पढेर दिन बिताएँ। अरु सबै कर्मचारीले प्रोत्साहन भत्ता समेत गरी दोब्बर तलब बुझ्थे भने मैले चोखो तलब मात्र बुझ्थेँ।
पुस्तकालयमा एकजना ना.सु. स्तरकी कर्मचारीले भएभरको सुविधा पाएकी थिइन्। अधिकृतमा प्रतिस्पर्धा गर्ने क्रममा लोकसेवा परीक्षा तयारीमा थिइन्। उनी मन्त्रालयकै एकजना उपसचिवकी श्रीमती थिइन्। उनलाई लोकसेवा तयारीका लागि सबै सुविधा मन्त्रालयले नै दिएको थियो। घरी प्रिन्ट गर्ने, घरी फोटोकपी गर्ने त घरी सरकारी फोनको दुरुपयोग गरेर साथीहरुसँग गफिदै दिन बिताउँथिन्। उनलाई काम दिएर व्यस्त पार्नुभन्दा लोकसेवा पास गर्ने वातावरण बनाइएको थियो अर्थ मन्त्रालयमा। सरकारी तलब खान्थिन् तर व्यक्तिगत काम गर्थिन् एयरकण्डिसनवाला पुस्तकालयमा। पछि उनी पास भइन् वा भइनन् थाहा भएन। तर व्यक्तिगत कामका लागि सरकारले सुविधा दिएकै थियो। यस्ता काम त कति छन् कति नेपालमा । यो त एउटा उदाहरण मात्र हो।
मलाई भूमि व्यवस्थापन विभागले रोल्पा मालपोतको हाकिम बनाएर पठायो। मलाई मालपोत भनेपछि एलर्जी हुने अड्डा थियो। चोखो तलबमा रमाउने साधारण मान्छेलाई मालपोत मेरा लागि अनुकूल थिएन। कोटको भित्री गोजीबाट हजारका नोटका बिटा दिन खोजेनन् कि ? फोनबाट प्रलोभनका कुरा गरेर नहुने काम हुने गराउन खोजेनन् कि ? यस्तैयस्तै कुराले गर्दा मैले मालपोत हाकिमको कुर्सीलाई लात हानेर म फर्किएँ कमजोर निकाय भनेर चिनिने खेलकूद मन्त्रालयमा। “खेलकूद मन्त्रालयमा आनन्दले एकवर्ष बसेर रिटायर हुँला” भनेर सोँच्दै थिएँ। दुर्भाग्यबस मलाई फ्याट्ट मन्त्रीको सचिवालयमा खटाइयो, कार्यकर्ता आउजाउ भैरहने ठाउँ थियो त्यो। निजी सचिव र स्वकीय सचिवले सचिव र सहसचिवको टेबुलमा रहेका फाइलहरु बोकेर आफ्नो कार्यकक्षमा ल्याउने र ढोका बन्द गरेर भित्रबाट चुकुल लगाएर के के गर्थे के के ? यस्ता घिनलाग्दा गतिविधि देखेर मलाई दिक्क लाग्यो। स्वकीय सचिवले मेरो कुर्सी टेबुल पनि हडपे अर्थात् कब्जा गरे।
त्यसपछि मैले दुईमहिनाको विदा लिएर बसेँ र २०७९ असार २३ गतेदेखि अनिवार्य अवकास लिएँ। त्यसपछि स्वतन्त्र रुपमा साहित्यिक सिर्जना गर्नथालेँ। गीतहरु पनि कोरेँ, रेकर्डिङ पनि भयो। मेरा पुस्तकहरु पनि प्रकाशन भए। तमाम लेख-रचना गर्नथालेँ, मिडियाहरुमा पठाएँ, प्रकाशन हुँदै गए। राष्ट्रियस्तरमा सुधारका कामहरु पनि हुँदैआए। साहित्य-लेखनमा एकपछि अर्को कीर्तिमानहरु कायम गर्दै आउँदा भर्खरै मात्र मैंले ‘सुपर राइटर’ को उपाधि पनि पाएँ। सामाजिक अभियन्ताको समेत काम गर्ने लेखक-साहित्यकारलाई केही कमरेडले सुराकी पनि गरे र धम्की पनि दिए। अनि मैले ती कमरेडको नाममा एक खुला पत्र लेखेँ। तत्कालै प्रकाशन भएपछि उक्त लेख धेरैले फैलाइदिए र रुचाए पनि।
इमानदारहरुका लागि जागिर घाँडो सरह हो भने भ्रष्टहरुका लागि अचुक विषय हो। जागिर खाइरहेकाहरुलाई म त भन्छु- जा गिर ! झोला भिर !! खा बासी खिर !!!
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest










































