शिवप्रसाद जैशीनेता चाहियो
आफ्नो क्षेत्रभित्रका सबै जनमनहरू लाई खुसी पार्न सक्ने अगणितय गुणव्यत्ता मानिसको खोजी कार्यका लागि पार्वतीले शिव पति पाउन गरेको तपस्या. बिश्वामित्रले वशिष्ठलाई जित्न गरेको तपस्या जस्तै तपस्या गरौँ।

शिवप्रसाद जैशी :
नेता अर्थात समाजको अगुवा। गाउँ, समाज र देशको भाग्य विधाता। जनताले चुनेर नेतृत्वमा पठाएको व्यक्ति अर्थात जनप्रतिनिधि। समान्य मानिस भन्दा उँचो स्थानमा पदासिन मानिस। माननीय साँसद। मान्नु पर्ने मानिस। कस्तो हुनु पर्छ भन्ने कुरा आउँदा बत्तीस लक्षणयुक्त मानिस भन्न सकिएला। समान्य भाषामा असल मानिस। कस्तोलाई असल भन्ने कुरा तर्फ विचार गर्दा हाम्रो वर्तमान समाजले खोजेको नेताका बारेमा उधिन्ने धृष्टता मात्र गर्न खोजेको हो। यताउति अन्यथा भएमा कसैलाई चोट परेमा माफ पाउँ।
समान्य मानिसको रुपमा जन्मेको व्यक्तिले हाम्रो वर्तमान चाहनाहरू पुरा गर्न कदापि नसक्ने देखिएकोले कम्प्युटरमा दश औँला खेलाउन वाध्य भएको कुरा सादर निवेदन छ। जनप्रतिनिधिको रुपमा जनभावना अनुसार काम गर्नु नेताको पहिलो कर्तव्य हो। यसमा कसको पो असहमति रहला र ! कानून निर्माण गर्ने कार्य उसको पहिलो भूमिका भएकोले नै उसलाई विधायक भनिएको हुनु पर्छ। विधि निर्माण गर्न पठाएको मानिसलाई कति थोकको भार थोपर्न चाहन्छौँ हामीहरू जस्ताको तस्तै। कसैको जीवनसँग मेल खाई ठ्याक्क मिल्न गएमा संयोगमात्र हुने छ। नेता जन्मदेखि मृत्यु संस्कारसम्म पनि जानै पर्ने सार्वजनिक माग बनेको छ। नगएमा नेता महत्वाकाङ्क्षी भएको, चुनाव जित्नु भन्दा पहिलेको भन्दा परिवर्तन भएको र बेमतलब गरेको वात लगाउनमा हामी माहिर नै छौँ।
न्वारन. अन्न प्राशन, जन्मदिन, व्रतबन्ध, विवाह, वैवाहिक वर्षगाँठ, पूजापाठ, मानिसको देहान्त हुँदा मलामी जानै पर्ने नेता चाहिएको छ हामीलाई। जतिबेला जहाँ खोज्यो त्यहाँ भेटिनु पर्छ नेता। जतिखेर बोल्यो त्यतिखेर सुन्ने मानिस चाहियो नेता। फोनको घण्टी बज्ने बित्तिकै उठाउने नेता चाहियो हामीलाई। यसो गरेन भने हाम्रो हृदयमा ठुलो चोट पर्छ। हुनिको हुन्छ र यो हृदयको अन्तरकुन्तरमा नबोल्ने नेतासँग ? कन्सिरी तात्छ। रिसले आगो बल्छ। भेट्यो भने जान्याछु जस्तो हुन्छ हाम्रा मनमा। रिसको राँको बल्छ यो मनमा। दाह्रा किट्न मन लाग्छ। गालमाईकी एकै पटक भट्याउँछौ जो भेट्टायो उसैका अगाडि। खोल्छौ पोल भए नभएका वात लगाएर। ओकल्छौ चाहिए भन्दा बढी रुद्रघण्टीलाई अनियन्त्रित बनाएर।बाँड्छौँ असभ्यताका पोका साथीसँगीका अगाडि। आजकाल सजिलो छ ओकल्न फेसबुक इन्साग्राम युट्युब अरु भएजति समाजिक सञ्जालका माध्यमबाट। त्यसैले हामीलाई हामीले भनेजस्तो ठ्याक्कै मिल्ने नेता चाहियो।
विकास निर्माण, पुलपुलेसा, धारा, पानी पँधेरा, चौतारा, चौर, खेलमैदान, ढल निकास सबैथोक बिना झन्झट बनाइदिने सर्वशुलभ सर्बगुण सम्पन्न नेता चाहिएकै हो। नुनदेखि सुन सम्मको जोहो गरी दिने नेता चाहियो। यस्तो व्यवस्था गर्न नसक्ने नेताको समाजिक सन्जालको भाँटोले डडाल्नु भाँच्न तयार छौँ। घण्टी जाने बित्तिकै फोन नउठाउने, परेको बेला काम नलाग्ने, आफूले गरेका गल्ति कमजोरीहरू ढाकछोप नगरी दिने, दण्ड सजायबाट नजोगाउने, हाम्रा बिठ्याइँ फटाइँ लुकाउन मद्दत नगर्ने, जागिर नदिलाउने, विदेश नपठाउने मानिस नेता चाहिँदैन। मानिदैन।
काठमाडौं आएको बेला रेखदेख नगर्ने, आउनेजाने भाडाको बन्दो बस्त नगर्ने, औषधि उपचार खर्च नगर्ने, काठमाडौं बस्दाको खानपान झरपर व्यवस्था नगर्ने नेताको केकाम ? अहँ यो हुन सक्दैन। भोट दिएपछि हाम्रा पनि त चाहना हुन्छन् नि। हामीले ठुलै काम गर्देउ भनेको हो र जाबो आउने जाने भाडा, ओखतीमूलो, खानाबास व्यवस्था जस्तो सानो कुरा पनि नगर्न सक्ने नेताको के काम। काम छैन। हामीले दिएको भोटले जित्ने अनि सहयोग नगर्ने मिल्छ त्यस्तो गर्न ? मिल्दैन। त्यस्तो नेता हामीलाई चाहिँदैन। हामीलाई भने बमोजिम उलब्ध हुने नेता चाहियो।
बत्तीस लक्षणले पुग्दैन। एकैदिन तेत्तिस थरी कार्यक्रम एकै पटक पर्दा पनि पुग्न सक्ने नेता चाहियो। हामीले त्यस्तो नेता पाउनु पर्छ। हामीले त्यस्तो नेता जन्माउन नसक्दा हामीले दुःख पायौँ। सास्ति भयो। पानी नपर्दा पानी पार्न सक्ने, हामीललाई अल्छि लागेर खेतबारी बाँझा राखेका कारणले भोकमरी हुँदा अनाज उपलब्ध गराउन सक्ने मानिस नेता हुनु पर्छ। नेता भनेको रातअधरात जतिबेला चाहियो त्यति बेला उपलब्ध हुने हुनु पर्छ। नेताको निजी जीवन हुन्छ होला कि नहोला। उनका आमाबा, श्रीमान्-श्रीमती छोरा-छोरी हुन्छन् कि हुँदैनन्। उनका इष्टमित्र नातागोता हुन्छन् कि हुँदैनन्। उनीहरूले समयमा खाना खानु पर्छ कि पर्दैन। उनलाई दिएको वास्तविक जिम्माको काम गर्न पाएका छन् कि छैनन् भन्ने कुराको हामीलाई मतलब भएन। हामीलाई हामीले भनेको हुनु पर्छ। नेताले गर्नु पर्छ।उनका भए हुन्छन्।
औतारी नेता खौजौ। हिमालय पर्वतको हिमवत खण्डमा गएर तपस्या गरौँ। भोट बहिस्कार गरौँ। चुनाव सुनावमा भाग नलिउँ। कठौर तपस्या, ध्यान, यज्ञ, हवन, भजनकृतन गरौँ। हिमालय पर्वततिरको कठौर तपस्या र ज्ञानका तपले एकैदिनको एकै पटक विभिन्न अवतारमा प्रकट भएर विवाह, व्रतबन्ध, नाचगान, गानाबजाना सडकदेखि सदनसम्म, उद्घाटन, शिलान्याश, सभा-सम्मेलन, भेटघाट र नेता कर्म समेत गर्न सक्ने नेता प्राप्त गर्न।
चाहिएजति ठाउँमा, चाहिएजति काममा, एकै पटक प्रकट हुने। भोजन अन्नअन्नादि आवश्यक नभएको। निद्रा आवश्यक नभएको। लत्ता कपडा फ्याट्ट आफै शरीरमा पहिरिन पुग्ने। चाहिएको बेला औखतिमूलो फ्याट्ट उपलब्ध गराउन सक्ने। एक रुपले घर व्यवहार धान्ने। अर्को रुपले बिधायकी काम सम्हाल्ने। अरु बुहुरुपहरू आवश्यकता अनुसार बन्ने र तुरुन्त प्रकट भै तत्काल समाधान गर्न सक्ने मानिस नेता पाउँ।
आफ्नो क्षेत्रभित्रका सबै जनमनहरू लाई खुसी पार्न सक्ने अगणितय गुणव्यत्ता मानिसको खोजी कार्यका लागि पार्वतीले शिव पति पाउन गरेको तपस्या. बिश्वामित्रले वशिष्ठलाई जित्न गरेको तपस्या जस्तै तपस्या गरौँ। राजा सतव्रतले जिउदै स्वर्ग जान पाउँ भनि गरेको प्रतिज्ञा सम्झिउँ। आउनुहोस् हामीलाई चाहिए जस्तै औतारी नेता खौजौँ। चुनौँ । छानौँ। उपल्लो दर्जामा पठाउँ। काममा निरन्तर खटाउँ मानौ उसको शरीर सुकेको काठ हो उसमा पानी छैन। ऊ निर्जीव हो उसलाई खाना अन्नपानी केही चाहिँदैन। यसमा उसको बानी छैन। उसको शरीर फलाम हो दुख्दैन। उसको चित्त आरन हो पोल्दैन। मुटु हुन्न। हृदय गल्दैन। आलोचना सहन खप्पिस छ। गाली सन्दासुन्दा उसले गालीलाई माया गरेका शब्दहरू को माला सम्झिन्छ। आदत परिसक्यो।
ऊ कामको संसार हो।काम गर्दा सुनको हार हो काम गर्न नसक्दा पृथ्वीको भार हो। त्यो भारको के काम। भारलाई अर्को पटक हराउँ।आउनुहोस नेता खोजौ भार थेग्ने। हाम्रो रोटी सेक्ने। गाई भैसी व्याउने बनाउन बहर र राँगो खोजिदिने। बाख्राका लागि असल नश्ल भएको बोका खोजिदिने। बिउ पानी मल खाद सहज उपलब्ध गराउने। हाम्रा दुःख कष्ट सबै पन्छाउने। हाम्रो अल्छिपनको सहारा। हामी जनजनको आहारा। नहोस भातमारा।
खेतको कुलो पानीको मुलो सबै बनाउन खप्पिस। घरको धारा भान्छाको आहारा। शौचालयको सरजाम सबै गरेर मात्र पुग्दैन हामी विनाकाम बसेर बात मार्ने आदत भएका मानिसको अल्छि मेटाउन हामीलाई चिया खुवाएर मस्तसँग हामीसँग समयको प्रवाह नगरी गफिदिने असल मानिस नेता चाहियो।हामीलाई चबाउन मन नलागेका बेला उसले चवाइ दिएर हाम्रो पेट भरिने व्यवस्था उसले गर्न सक्यो भने हामी उसलाई हजार किलोको माला गाउन तयार छौँ। अथवा चवाउने मेशिन अविस्कार गरेर हामीलाई प्रदान गरोस्। जिन्दावाद भन्दै जयजयकार गर्न राजी छौँ। उसको जयजयकारका लागि हामीलाई कामै नगरी गास, बास, कपास, सहबास र मनोरन्जनको व्यवस्था उसले गरिदिने हो भने त्यो भन्दा ठुलो हाम्रो कुनै चाहना छैन। माग छैन।
यी उल्लिखित आधारभूत आवश्यकता पुरा गरिदिएर हेरोस् हाम्रो नेताले त्यसपछि मात्र थाहा हुन्छ हामीलाई थप माग सृजना हुने नहुने कुरा।जेहोस् तथास्तु भनेका आधारमा सबै थोक पुर्याउछन् सक्ने त्रिकालदर्शी मानिस हामीलाई चाहियो नेता बनाउन।
०००
कैलाली, हाल- थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































