
नाकार्षण
नाक फुलाउन र खुम्च्याउन इतिहासमा अनेक युद्ध भएका छन् । ती युद्धहरूलाई म नाकयुद्ध भन्दछु । नाकका खातिर भएका युद्ध नाकयुद्ध हुन् । ती युद्धहरुलाई समेटेर नाकपुराण लेख्ने प्रेरणा जागेको छ ।

सञ्जय साह मित्र :
विज्ञानको परिभाषा अरुभन्दा बेग्लै हुन्छ । कुनै पनि ज्ञान नहुनेको लागि विज्ञान हुन्छ किनभने बिना ज्ञान नै विज्ञान हो । यो कुनै अनुमान होइन ।
गुरुले आकर्षण गर्ने शक्तिलाई गुरुत्वाकर्षण भनिन्छ कि गुरुलाई आकर्षण गर्ने शक्तिलाई गुरुत्वाकर्षण भनिन्छ भन्ने विषयमा व्यापक वादविवाद रहेको छ । यसमा विवाद कुन कुरामा रहेको छ भने गुरुले आकर्षण गर्ने कसलाई वा गुरुलाई कसले आकर्षण गर्ने ? यो चाहिँ यसैमा स्पष्ट हुनुपर्ने हो । यो परिभाषा नै अमूर्त हुन गयो रे । यस परिभाषाका आविस्कारकर्ताहरूको भनाइ के रहेको छ भने गुरुले गरे पनि वा गुरुलाई गरे पनि कुरोको चुरोमा खास फरक छैन । विमतिकर्ताहरूको तर्क छ कि गुरु भनेका को ? यो अमूर्त भयो । कम्तीमा कैफियतमा यसलाई खुलाउनु पर्ने हो ।
समाजमा गुरुले पनि आकर्षण गर्दछन् र गुरुलाई पनि आकर्षण गर्दछ । गुरु पनि अनेक भेराइटीको हुने भएकाले यसले सबैलाई समेटेको छ । यो स्पष्ट छ । यस परिभाषालाई विरोध गर्नेहरूले गुरुको विपरीतार्थक वा अर्को पक्षलाई पनि समेट्नु पर्ने मनसाय राखेका छन् ।
गुरुत्वाकर्षणजस्तो धेरै विवादको विषय नाकार्षण होइन । यो विज्ञानको अनुसन्धानबाट देखिएको सत्य हो कि एक नाकले अर्को नाकलाई आकर्षण गर्दछ । हो, नाकमा पनि आकर्षण क्षमता हुन्छ । नाकमा हुने क्षमता आकर्षण हो । हो, नाममा पनि आकर्षण क्षमता हुन्छ । नाममा हुने आकर्षण क्षमतालाई नामाकर्षण भनिन्छ । साँच्चै तपाईँलाई कुनै नामले आकर्षण गरेको छ ? यसै प्रश्नलाई एक दिन सामाजिक सञ्जालमा राखेर सर्भे गरेको थिएँ । उत्तर गज्जबको आयो ।
जोगीले लेखे – राम । जोगिनीले लेखिन् – श्याम । फलप्रेमीले लेख्यो – आँप । यसै गरी डाक्टरले रोगी, प्रेमिकाले प्रेमी, प्रेमीले प्रेमिका, अधबैंसेले छिमेकिनी, एक साथीले पूर्व प्रेमिकाको नाम लेख्यो । साथीको सौभाग्य मान्नु पर्दछ कि त्यो नामले बबाल भयो । बबाल कसरी भयो भने उसले जुुन नाम लेखेको थियो त्यही नामका दर्जनौँले तथानाम गाली लेखे । धन्न एक जनाले प्रतिक्रिया जनाएनन्, हैनभने त उसले त दिउँसै तारा देखाउँथ्यो साथीलाई ।
नामाकर्षणलाई पनि एउटा रोग मानिएको छ । यसैले गर्दा कतिले आफ्नो असली नामलाई नक्कली बनाउँछन्, नक्कली नाम चलाउन खोज्छन् । कतिपयले एकभन्दा अनेक नाम खोज्दछन्, धेरैलाई मन पर्ने नाम रोज्दछन् । देख्नु हुन्न ? तपाईँले चिनेकै मानिसको फेसबुकको नाम अर्कै, सर्टिफिकेटको नाम अर्कै, गाउँमा बोलाउने नाम अर्कै । अझ तपाईँ आफैलाई विचार गर्नोस् न । सानोमा बुबा र आमाले के के नामले बोलाउनु हुन्थ्यो ?
कहिलेकाहीँ नामाकर्षण र नाकार्षणमा मान्छे झुक्किन्छन् । नामाकर्षण रोग लागेकोले नाकार्षण रोगको औषधि खाने र नाकार्षण रोग लागेकोले नामाकर्षण रोगको औषधि खाने गर्नाले औषधि कम्पनीलाई फाइदा भएको छ तर डाक्टरहरु भने हैरान भएका छन् । कहिलेकाहीँ नाकार्षण रोगको वरिष्ठ डाक्टर हुँ कि नामाकर्षण रोगको विशिष्ट चिकित्सक हुँ भन्ने भ्रममा पर्दछन् । नाकार्षणको औषधि नामाकर्षण रोगीलाई र नामाकर्षण रोगको औषधि नाकार्षण रोगीलाई दिएर हैरान । उसै पनि त टाउको दुख्दा घुँडाको अपरेसन गरेको सुनिएकै हो, एउटा खुट्टा फ्याक्चर हुँदा अर्को खुट्टामा प्लास्टर गरेर नाम कमाएकै हो ।
जहाँ आकर्षण हुन्छ, त्यहाँ विकर्षण पनि हुन्छ । चुम्बकको समान ध्रुवमा विकर्षण र विपरीत ध्रुवमा आकर्षण हुन्छ । नाकार्षणमा पनि यो लागू हुन्छ । नाकार्षण रोगमा पनि समावेशी सिद्धान्त लागू भएको छ । कुनै देवालयमा जाँदा याद गर्नुहोला, दुई लाइनमा बसेका मानिसमध्ये कताको नाक कतातिर बढी फर्केको हुन्छ । तपाईँ आफ्नै नाकको विचार गर्दा पनि हुन्छ । तपाईँले थाहै नपाई तपाईँको नाक कतातिर आकर्षित हुन्छ ? देउताको भन्दा बढी ध्यान त्यहीँ नाकतिर जान्छ । आँखा चिम्लनुस्, त्यहीँ नाक अगाडि उभिन्छ ।
वास्तवमा रोग कसैलाई पूर्वजानकारी दिएर आउँदैन । नाकार्षण रोगले पनि तपाईँलाई कतिसम्म र कसरी गाँजेको छ भन्ने कुरो तपाईँले यसको हेक्का राख्न थालेपछि मात्र थाहा हुन्छ । कतै तपाईँको नाक छाडा भइसकेको त छैन ? तपाईँको नियन्त्रण बाहिर गइसकेको त छैन ? विचार गर्ने विषय हो । आफ्नो नाकलाई नियन्त्रणमै राखेर अरुको नाक कतातिर आकर्षण भइरहेको छ भन्ने कुरोको विचार गर्नुहोला ।
चुच्चे, बुच्चे, थेप्चे जे भए पनि नाकको धाक नै आकर्षणमा हुन्छ । कहिलेकाहीँ आफ्नो नाकलाई अरुको नाकले आकर्षण गरिरहेको हुन्छ । आफ्नो नाकलाई अरुको नाकले तानेको होओस् वा अरुको नाकलाई आफ्नो नाकले तानेको होओस्, एकअर्कातिर तानिनु चाहिँ नाकार्षण हो ।
रोग कहिल्यै एक्लै आउँदैन । तब नाकार्षण रोग पल्किन्छ तब आँखार्षण हुन्छ । नाकार्षण रोगको विस्तारित रूप आँखार्षण हो । बिना नाकार्षण आँखाकर्षण हुन सक्दैन । बिना दूधको बरु आइसक्रिम होला, बिना पानी बरु माछाले पोखरीमा पौडी खेल्ला तर नाकार्षण बिना आँखार्षण हुन सक्दैन । जसरी नाकहरू आकर्षित हुन्छन्, त्यसरी जब आँखाहरू आकर्षित हुन थाल्छन् तब लहरो तान्दा पहरो तानिएझैँ के के तानिँदै अर्थात् आकर्षित हुँदै जान्छ भन्ने कुराको ठेगान हुँदैन । रोग बल्झिँदै जाँदा कुन कुन रोग देखापर्छ र त्यसले के के परिणाम ल्याउँछ भन्ने कुरालाई अहिलेसम्म कसैले मापन गर्न सकेको देखिएको छैन ।
नाकार्षण रोगै भए पनि यो हरेक अवस्थामा घाटादायक होइन, कतिपयलाई यस रोगले फापेको पनि छ । कतिलाई ससुरालीमा अपुताली परेर तालुमा आलु फलेको छ । सालीलाई घरबाली बनाएको, पराईलाई घरमा नै हालीमुहाली बनाएको पनि नाकार्षणले नै हो । यसले कतिपय फकिरलाई वीर बनाई शिर उँचो बनाएको छ ।
कसैको नाकमा अत्यधिक नाकार्षण हुन्छ भने धेरै खतरनाक हुन्छ । अतिले खति पुर्याउँछ भनेझैँ नाकार्षणको पीरले भीरमा शिर ठोकाएको पनि छ ।
नाकार्षणको मलिलो माटो भनेको कलिलो उमेर हो । कुखुरा वा घोडा कट कपाल पाल्ने र नक्कली बढी बन्न मन लाग्ने उमेरमा नाकार्षणदेखि आँखार्षण हुँदै भागार्षण, पोइलार्षणसम्म हुन्छ । हो, मलिलो उमेरमा नाकार्षण हुन्छ अनि आँखाकर्षण हुन्छ । त्यसपछि ओठले फिस्स मुस्कान छोड्यो कि ब्रेक फेल हुने डर हुन्छ । एकाधचोटि मुस्कानाकर्षण भएपछि ओरालो लागेको मृगमा डिस ब्रेक पनि लाग्दैन भनेझैँ दिनमा कैयौँपटक नाकले नाकलाई आँखाले आँखालाई मुस्कानले मुस्कानलाई नदेखेसम्म कुनै चोकमा भोक लाग्दैन । उसको परको घर पनि वर लाग्छ र वरको आफ्नो घर पनि पर लाग्न थाल्छ ।
जब नाकर्षणको यस तहमा मलिलो उमेरमा कोही पुग्दछ, त्यसलाई हाँकर्षण भन्न सकिन्छ । जुन जुन नाक एकापसमा तानिएका हुन्छन्, ती ती नाकहरुले एकअर्काको गुहुँमा पनि सुगन्ध सुँघ्न थाल्दछन् । नाक कुहिनुभन्दा चुहिनु उत्तम भन्ने उखान यसै अर्थमा लागेको होला । नाक चुहिनु भनेको नाकको छानोमा पानी नअडिनु हो तर नाक कुहिनु भनेको गन्ध नै थाहा नपाउनु हो । गुहुँको गन्ध पनि थाहा नपाउने नाकभन्दा कुकुरको नाक उत्तम हुन्छ किनभने कुकुरमा सुँघ्ने क्षमता हुन्छ । अपराधी र भलादमी छुट्याउने कुकुरको नाकलाई सलाम छ ।
नाकमा हुने रोग अर्थात आकर्षण क्षमताको आधारमा एक आप्रवासी नाक वैज्ञानिकले नाकको प्रकारबारे लेख प्रकाशित गरेका छन् । पहिले मान्छेको नाक पनि हात्तीको जस्तै थियो रे । आफ्नो घरमा सुतेको समयमै झ्यालबाट छिमेकीको घरमा पसेर दुई नाकको मिलन हुन पाउँथ्यो रे । यसरी गर्नेहरुमा विस्तारै लघुताभाष हुँदै आयो र नाक नै खुम्चिँदै अहिलेको स्वरुपमा आइपुगेको हो रे । यस कुरामा मलाई रत्तिभर पनि विश्वास छैन । बरु नाक राख्न अनेक युद्ध भएका छन् । मेरो नाक ठूलो कि मेरो नाक ठूलो भनेर ।
केही राम्रो काम गर्यो कि नाक फुलायो । कसैले प्रशंसा गर्यो कि नाक फुलायो । कसैले आलोचना गर्यो कि नाक खुम्चियो । यही नाक फुलाउन र खुम्च्याउन इतिहासमा अनेक युद्ध भएका छन् । ती युद्धहरूलाई म नाकयुद्ध भन्दछु । नाकका खातिर भएका युद्ध नाकयुद्ध हुन् । ती युद्धहरुलाई समेटेर नाकपुराण लेख्ने प्रेरणा जागेको छ । अब केही दिनमा नाकपुराण लेखेको घोषणा गर्दछु । प्रतीक्षा गर्नुहोला ।
तर विचार गर्नुहोस् है – कतै तपाईँको नाक कतै लहसिएको त होइन ?
०००
राैतहट
Subscribe
Login
0 Comments
Oldest