शेषराज भट्टराईकुचो लगाऊ कुचो
याे देशमा पाेहाेर भन्दा यसपालि फाेहाेर गर्ने धेरै छन् । काेही माेहाेरका लागि फाेहाेर गर्छन् । काेही ओहोरदोहोरका लागि फाेहाेर गर्छन् । काेही भुँडी फुटाउन फाेहाेर गर्छन् त काेही भुडी जुटाउन फाेहाेर गर्छन् ।

शेषराज भट्टराई :
सफाचट पार्न कुचो लगाउनुपर्छ । दातमा र बुटमा ब्रुस लगाउनुपर्छ। शरीर, कपालमा चाहिँ साबुन वा सेम्पु र पानीको मदतले सफाचट पार्न सकिन्छ । जतासुकै कुचो लगाउन जानियाे भने फाेहाेर दुर्गन्धबाट बच्न सकिन्छ । राेग ब्याधीले छुन सक्दैन । किरा, लामखुट्टे, मच्छड, झिँगा फटयांग्राकाे भय हुँदैन त्यसैले फुर्सद मिल्नासाथ हातमा झाडु कुचो लिएर कुनाकाप्चा बढारी हाल्नुपर्छ।
हामी नेपालीहरु बढार्नमा अल्छी छाैँ । बढार्नमा अति नै अल्छी चाहिँ ती जगल्टे जाेगीहरु पर्छन् । तिनको खप्पर र नाकमुख पुरै जगल्टा झ्याउले भरिएको हुन्छ अनि अझै नपुगेर खरानी पनि धस्छन् । यिनले आफ्नो सक्कल बढार्न पनि अक्कल खर्च गर्दैनन् ।
हामी अति अल्छी नबनाैँ । जाँगरकासाथ कुचो लिएर बढारकुँढार गराैँ । नेपालमा गणतन्त्रले छपक्कै ढाकेपछि फाेहाेर दुर्गन्धकाे विगविगीले निसासिएका छन् जनता । यस देशमा नागरिक भन्दा शासकहरु गतिछाडा फाेहाेरी छन् । यिनले काही कतै पनि सफा गर्दैनन् । जहाँ यिनीहरू बस्छन् त्यही फाेहाेरले नाकमुख नै थुन्नुपर्छ । सिंहदरबार हदैसम्म दूषित छ । यहाँ बिराजमान नेताहरु बिहान घरबाट सफा भएर गए पनि त्यहाँबाट फिर्ता हुँदा छेउमा बस्नै नसकिने गरि गनाएका हुन्छन् । त्यो गन्ध उनकी श्रीमती, झाेले धुपाैरे र चम्चेलाई मात्रै मनपर्छ । त्यही दुर्गन्धकाे रागले उसको जगर देउते बाेकाकाे जस्तो फुलिरहेकाे हुन्छ ।
डुङ्डुङ्ती गनाएकाे ऊ आफैले पत्तो पाउँदैन । यस्ता फाेहाेरीले बाेकाकाे जस्तो पाल्सीभाषा प्रयोग गरेर आम नागरिकलाई छलिरहेकाे हुन्छ । जनतालाई फाेहाेरमै राखेको हुन्छ अनि अति भएपछि आन्दोलन गर्छन् सफा गर भनेर तर पनि मान्दैनन् हाै ती अटेरा अटेरी फाेहाेरी नेताले । त्यसैले हामीले अल्छी नमानी हातमा कुचो लिएर कुनाकाप्चा जता पनि सफा गरिरहनु पर्छ। हाम्रो कामै सफा गर्ने नामै सफा गर्ने । छाेराे पनि सफा गर्ने बाबु पनि सफा गर्ने नाति पनि सफा गर्ने । सफा नगर्नेहरुकाे सातपुस्ता सातैजुनी फाेहाेर हुन्छ ।
नेपालमा अहिले भर्खरै अतिनै फाेहाेर गृहमन्त्री फेला परे । तिनी त हेर्दा साेझा उपनाम पनि राइटर राखेका तर काम चाहिँ मानव तस्करी गरेर दैनिक पचासाेटा लाख मात्रै बटुल्दा रहेछन् । यस हिसाबले त उनी एशियाकै दरिद्र रहेछन् । तर उनको दलले उनलाई भयंकर सफा छ भनेर घाेषणै गरे । अनि ऊ आफैंले आफैंलाई भन्यो सानो प्रमाण कतै पनि लिग भएको छैन । प्रमाण लुकाउन म माहिर छु । कतै फेला पारे राजनीति नै नगर्ने अरे । अनि चतुरे त जेल जान्छु भन्दै भन्दैन । आफ्नो दलकाे नेता रेस्लर, मुक्केबाज, बक्सर जस्तो ठूलो नेता छ भने जेल जानै पर्दैन । यसभन्दा अगाडि भुटानी शरणार्थी शिविर गएर ठूला नेताकी धर्मपत्नीले बेस्सरी फाेहाेर गरिछन् मानव तस्करी गरेर । अनि तिनै ठूला नेताले फाेहाेर रहित भनेर प्रमाणित गरिदिएपछि उनले जेलकाे हावा खानै परेन बरु बल्लबल्ल किनेको काठको घरमा मजाले बसेर तावामा पकाएको तातोतातो राेटी खादै अन्तर्राष्ट्रिय तर मारिरहेकी छन् ।
याे देशमा पाेहाेर भन्दा यसपालि फाेहाेर गर्ने धेरै छन् । काेही माेहाेरका लागि फाेहाेर गर्छन् । काेही ओहोरदोहोरका लागि फाेहाेर गर्छन् । काेही भुँडी फुटाउन फाेहाेर गर्छन् त काेही भुँडी जुटाउन फाेहाेर गर्छन् । काेही विलासिताका लागि फाेहाेर गर्छन् त काेही आवश्यकताका लागि । तर जुन जे जस्तोसुकै उधेश्यले फाेहाेर गरे पनि त्यसलाई सज्जन जनले सफा गर्नै पर्छ । हामीले झ्याउ झिजाे नमानी गाउँ गाउँ सफा गराैँ ।
हातमा झाडु कुचो लिएर वडा नगर शहर बजार उस्तै परे नेताको घर आँगन, करेसाबारी, वारीपारी, दारी, सारी सारा सफा गराैँ । नैतिकवान सज्जन, र सहि मानव हुनुको अलग आनन्द नै सफाईमा हुन्छ । त्यसैले झाडु, कुचो, खरेटाे, पुछा, टालाे, सिरानेमै राखेर सुताैँ र बिहान भालेकाे डाकबाटै काका, डाका, डाक्टर, ड्राइभर डिउटीमा निदाउने जाग्ने अन्यत्र लाग्ने भाग्ने सबैलाई तनमनकासाथ सफा गराैँ र आफू पनि नुहाएर सफा बसाैँ तर चिल्लो कहिल्यै नधसाैँ किनकि चिल्लोमा फाेहाेर टाँसिन्छ ।
०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































