शेषराज भट्टराईमेरो पुजनीय सरकार
सुरक्षा संयन्त्रले आफ्नो कुरा काटेको चाल पाइहालेछ । अनि त ठूलै मान्छेलाई जस्तो साडी पनि लगाउन नदिइ गाडीमा चडाएर मामाघर लगेर महाअभियाेगकाे तानाबाना बुनेर थुनेर हर्कबढाई गरेछन् ।

शेषराज भट्टराई
सरकार भनेको देशको उच्च निकाय त्यसैले याे भिमकाय हुन्छ । मलाई थाहा छ सरकारसँग सबै डराउनु पर्छ । सबै नडराए पनि म चाहिँ सरकार भनेपछि बेस्सरी डराउछु । किनकि यसको हातमा साम, दाम, दण्डभेद सबै रहेको हुन्छ । अवस्था र माैका हेरेर यी सबै अस्त्रकाे प्रक्षेपण गरिन्छ । पहिला जुँगा नआउँदा पनि बाबू आमासँग डरले लुगलुग काम्थें । बाबू आमाको शेषपछि श्रीमतीसँग थरथरी काम्छु । श्रीमती नभए छाेराछाेरीसँग डरले पानी पानी हुन्छु । डरैडरले छियाछिया छु र त बरु तिउन तरकारी काट्छु, झुसे दारी काट्छु नङ काट्छु तर सरकारकाे कुरा कतै पनि काट्दिन ।
मलाई पनि भन्न आउँथ्याे हाेला नि परराष्ट्रमन्त्रीले नक्कली भुटानी शरणार्थी काण्ड मच्चाएको, अनि लेखकले भिजिट भिसाकाे बाहनामा युवालाई बेचविखन गरेको, चिया बगान, ललिता निवास, भ्यु टावर, वाइडबडी न्याराेबडी के के हाे केके थाेत्राे घरमा मुसाले रजाइँ गरेको कुरा मलाई पनि थाहा थियाे हाेला नि । तर पनि सरकार जाेसुकैकाे हाेस् मलाई निकाे लाग्छ । सरकार बिनाकाे देश कल्पना गर्न पनि सकिँदैन । किनकि काेभिड नाइन्टिनका बेलामा मान्छे मर्न तम्तयार हुँदा सित्तैमा तीन पटक खाेप लगाइदियाे । दादुराकाे सुइ पनि सरकारले गर्दा नै लगाउन पाइयाे । कुनै समय हात्तीपाइलेकाे ट्याबलेटले पेट पनि भरिदियाे । कहिलेकाहीँ गाउँघरतिर रासनपानी सिदाेपिठाे दलहन तेलहन पनि वितरण गरेको देखेको छु ।
भुकम्पले घर हल्लाउन पाएकाे छैन खुराक पाल र थाल लिएर दलानमै पुग्छ सरकार । मैले खान पाउदिन त्यो अलग कुरा तर जतिले खान पाएका छन् त्यो छैठीका दिनमा लेखेर आएको हुनुपर्छ । जसलेतसले खान कहाँ पाउछ । खानलाई पुर्पुराे दराे हुनुपर्छ । सरकारकाे काम खान दिने मात्रै हाेइन । आम नागरिकको सुरक्षा गर्ने काम पनि सरकारकै भन्नेथाहा पाएर भएको एकथान भाेटेकुकुर पनि राम्रो दाम पाएर बेचिदिए । त्यो दामले ठूलो काम गर्याे। मलाई एउटा पाल्पाली ढाकाकाे शिरपाेष र श्रीमतीलाई १२ हाते हेटौंडे हरियो खद्दरकाे पटुका किनिदिए । यी जिनिस किन्दा एउटा भाउ सुनायाे र जाेड्दा भ्याट भनेर अलिक धेरै पैसा लियो । नभएको पैसामा झन भ्याट भनेर मरेमाथि कात्रो थाेपर्याे । मन अमिलो पार्दै घर फर्कियाैं र त्यो दिन अचारमा अमिलो हाल्नै परेन । भ्याटकाे रन्काेले हाम्रो अनुहार सिंगासिंगै निबुवा चपाएजस्तो भयो । तैपनि सरकारकाे मायामा एकरत्ति पनि गिरावट आएन बरु फैलावट भयो ।
मान्छेले सिजनेवल इन्टरटेनमेन्ट गर्न रुचाउछ त्यसैले हाेला बिचरा सरकारले हजार हण्डर खाएर भएपनि नेटमा भेट हुने चाँजाेपाँजाे मिलाइ दिएको छ। तर कतिपय राँडाराँडीले इन्टरनेटकाे दुरुपयोग गरेर सरकारकाे उछिताे काढेका छन् । भन्नू नभन्नु गर्नु नगर्नु बाेल्नु नबाेल्नु बाफ रे ! कति हाे कति बिठ्याईं र बिगार गरेका छन् प्रजातन्त्रको नाममा । के प्रजातन्त्रमा खुवाइ, लगाई, बाेलीकाे ठेगान हुँदैन ? प्रजातन्त्र बेथितिकाे प्रर्यायबाची हाे ?
मेरा बाबू आमा छाडा भएको भएदेखि म पनि छाडा नै हुने थिए। समाज छरछिमेक बदमाश छ भने त्यसको असर अरुलाई पनि पर्छ र त्यसको अनुशरण देख्ने सुन्नेले पनि गर्छ । त्यसैको सिकाे गरेर बिचरा प्यारी मेरी धर्मपत्नीले पनि सरकारका अध्यक्ष, सुरक्षाकर्मीकाे नाइकेकाे नाकै भाँच्ने गरेर भात त खाइस् खाइस् भ्याट पनि खाइस् भन्दै तथानाम अमिलो ओकलिछिन् । नेपाल सरकारकाे सुरक्षा संयन्त्रले आफ्नो कुरा काटेको चाल पाइहालेछ । अनि त ठूलै मान्छेलाई जस्तो साडी पनि लगाउन नदिइ गाडीमा चडाएर मामाघर लगेर महाअभियाेगकाे तानाबाना बुनेर थुनेर हर्कबढाई गरेछन् । आफ्नो देशको नागरिकले आफैले खनखनी पैसा तिरेर लिएको नेटकाे सदुपयोग गर्दा त नछाेड्ने सरकारले कीर्तिपुरकाे डाँडामा इन्टरनेट छ्यालब्याल पारेर महिनाकाे चारलाख कमाउने बनाउने भन्ने हावादारी गफ जनताले पत्याइदिनु पर्ने ? नेता फटाहा भएपछि जनता स्वतह फटाहा बदमास धुर्त स्फुर्त रुपमा हुन्छन् । त्यसैले त भनेका हाेलान् आफूगुनकाे च्यापु ।
अत मेरो दिलकाे धड्कन प्याराे थाराे सरकारले कतिपय ब्याउँठिएका बटारिएका नागवेली जनतालाई डण्डा चखाएर हाेइन अण्डा चखाएर आफ्नो वसमा पार्नु । बेरोजगारी कर्महारा शर्महारा छन् भने पनि तिनलाई तुरुन्तै लागू हुने गरेर राेजगारी दिँदै मन जितेर बिदा गर तर डण्डा लगाउने थुनेर बफ्याउने काम आजैबाट बन्द गर । किनकि विद्रोह अभावबाट सिर्जना हुन्छ त्यसैले सरकार बरु आफू भाेकै बस वेतन बाहेक केही पनि नखाउ तर जनतालाई अभावकाे महसुस हुन नदेउ । मेरो पुजनीय सरकार तन्नेरी लाठे गणतन्त्रमा सँधै किन लठेब्राे सठ ? बट अब तिमी आफैं कुदनीय र बुजनीय बन ।
०००
फूलबारी ११ पाेखरा कास्की ।
फुन:- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































