शेषराज भट्टराईफटाहा श्रीमान
अब हजुरहरुले कपट नगरी भनिदिनु पर्याे कि फटाहा श्रीमानको उपाधि अदालती श्रीमानलाई दिन मिल्छकि मिल्दैन ? मिल्छ भने मानमर्दनमा चाेट खाेट नपर्ने गरि ठूलो छाति बनाउदै कञ्जुस नगरी दिनुपर्छ है ।

शेषराज भट्टराई :
जिन्दगीमा बल्लतल्ल एउटा उपाधि आर्जन गर्न सफल भइयो । त्यो उपाधि मलाई रुचेकाे छैन तर आफ्नै कारणले गर्दा आइलाग्याे । उपाधि नै नहुनुभन्दा हुनुपर्छ भन्ने लागेर स्विकारे फटाहा श्रीमान ।
कसैका थाङ्ने उपाधि हुन्छन् त कसैका माग्ने । कसैको जाेगी उपाधि हुन्छ त कसैको भाेगी । सँधै बिरामी भैराख्नेकाे पनि राेगी उपाधि हुन्छ । नक्कली आचरण ब्यवहार गर्ने ढाेंगी उपाधिले विभूषित हुन्छन् । त्यस्तै मैले बिगार, उपद्राे र नचाहिदो काम गरेको हुनाले अहिले मेरो आचरण सुहाउँदो उपाधि नै फटाहा श्रीमान भएको छ । मेरी अर्धाङ्गिनीले कतै कुनै सभा समारोहमा मेरो परिचय टक्र्याउनु पर्याे भने चाेर ओैंलाे तेसार्दै भन्छिन् मेरो फटाहा श्रीमान । चानचुने फट्याईंले उपाधि पड्काउन जस्ले पायाे त्यसले कहाँ सकिन्छ र ? मेरो फट्याईंकाे फेहरिस्त लामै छ ।
प्रथम फट्याइँ हाे घरजमभन्दा पहिला नै लभ चक्करबाट वंशिभूत पार्दै माइती मावलीकाे दुबै आँखा छलेर उछिट्याउनु ।
दाेस्राे फट्याइँ चाहिँ भैराखेकाे माैजुदा तन्दुरुस्त सक्कललाई ध्वस्त पारेर भद्दा र अछन्द्याइलाे पारिदिनु ।
तेस्रो फट्याइँ वंश धान्ने बाहनामा एउटा मात्रै, दुइटा मात्रै, तीनवटा मात्रै भनिभनि चारवटाकाे व्ययभार बाेकाउनु।
चाैथाे फट्याइँ कतै प्वाल नपरेको नाक कानलाई प्वाल पारेर घाँटी, हात, खुट्टा र हात खुट्टाका ओैंलाहरु, साथै छड्के तिलहरी, माइती र कान्छी तिलहरी अनि सिउदाे, कपालमा समेत बहुमुल्य आभूषण पहिराईदिने बाहनामा राताेदिन सुनचाँदीकाे चाैकिदार बनाउनु ।
पाचौं फट्याइँ धरामा अवतरण भएका सारा सन्तानलाई हाकाहाकी मेरा सन्तान भन्नु ।
छैठौं फट्याइँ भाेजभतेरमा जादा डँडाल्नु वक्षस्थल देखाउन बाध्य पार्नु।
साताैं फट्याईमा क्रिम लिपस्टिक, पाउडर, नङ्पालिसले दराज भरिदिनु ।
आठौं फट्याईमा गाला नपड्काई मेथी, जिरा, प्याज पड्काएर भाेजनालयमा भए जति पकवानले भरेर ज्युनारानहाेस् भनेर विस्तरामा नै व्यवस्था गर्नु ।
नवाैँ फट्याईमा दराजकाे चाबी दिएर हर्दम पैसाको गाेठालाे लगाउनु।
दशाैं फट्याईमा आफूखुसी कहिल्यै लुगा धुन नदिनु ।
एघारौं फट्याईमा कारमा राखेर खकार पनि भित्रै डस्बिनमा थुक्न लगाउनु ।
बाह्रौं फट्याईमा हरेक दुखकष्टकाे अनुभव नदिएको हुनाले नै मैले फटाहा श्रीमानकाे उपाधि पाएकाे हुँ ।
तर अदालतका श्रीमान भनाउदाले त चाैबिसजनालाई जिउँदै इँटाभट्टामा जलाउने पापीलाई पनि जाउ घरमै बसेर खाउ भन्दै जेलबाट छाेड्दा रहेछन् । यसभन्दा अगाडि पनि श्रीमती मार्ने हत्यारालाई सजाय चर्काे परेको भन्दै अदालती श्रीमानले छाेडेका थिए ।
अब हजुरहरुले कपट नगरी भनिदिनु पर्याे कि फटाहा श्रीमानको उपाधि अदालती श्रीमानलाई दिन मिल्छकि मिल्दैन ? मिल्छ भने मानमर्दनमा चाेट खाेट नपर्ने गरि ठूलो छाति बनाउदै कञ्जुस नगरी दिनुपर्छ है ।
०००
फूलबारी- ११, पाेखरा कास्की ।
फाेन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































