साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपरान्त ठुलो मान्ठ नबन्नू !

अरु थोक जे जे ठटाएर, खटाएर गराए पनि मान्ठ हुन दिनु हुँदैन। मान्ठ भन्दा माथिको दर्जा के हो त्यसमा बिराजमान गराएर सम्मान गर्नु पर्दछ। अब उपरान्त ढोग दिनेलाई ठुऽऽलो मान्ठ नबन्नु भनेर आशीर्वाद दिनु पर्छ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

हुर्किदै बढदै अलि जान्ने भएर तन्नरी हुनु भन्दा अघिदेखि नै ढोगदिन सिकियो क्यार ! ढोग दिन सिकेको तन्नेरी भएर पनपरीतिर मन नजाFदै हो भन्ने लाग्छ। ढोग दिन पनि साइत जुर्नु पर्यो। दशैंमा टिका लगाउँदा, मामा घर जाँदा वा बाहरु हटारु भएर नुन बोक्न जाँदा र आउँदा ढोग दिन अवसर जुर्यो । ढोग दिने अवसरमा पनि विभेद त कायमै थियो बालाई बढी र आमालाई कम। आमासँग छुट्टिनै नपरेपछि छिनछिनमा आमाको पच्छर भोकको नाममा, अल्छ्याईँको नाममा, काम टार्ने बहानामा, बिठ्याइँको चाहनामा, निमोठ्न पाएपछि ढोगको आवृत्ति कम हुने नै भयो। तथ्याङ्क शास्त्रीय भाषामा बाको भन्दा आमालाई ढोग दिने इन्टरबल पिरियड बढी, प्रिक्वन्सि कम । ढोगको अवसर जुर्दा भने ठुलो मान्ठ बन्नु भन्ने आशीर्वाद पाइयो। कति ठुलो ? कहाँ सम्मको ठुलो ? के केमा ठुलो ? यी यावत प्रश्न भने उब्जेनन्। मात्र ठुलोले स्थायी आसन ग्रहण गरेर बसिरह्यो दिमागको मुज्यालो (भित्री कोठा) मा। छोडेन। पछाइरह्यो।

आजकाल मान्ठलाई मानिस भन्नु परेको छ। वास्तवमा यो मानिस चाहिँ ओरिजिनल्ली आउँदैन ममा। पहिले मान्ठ मस्तिष्कको स्नायु प्रणालीमा आविर्भाव हुन्छ र जिब्रोबाट फुत्किँदा अनुवाद भएर मात्र मानिस हुन्छ। मानिसको सँगतले ठुऽऽऽलो ठाउँको बहावमा बग्न अनि मानिसको भेलसँगै खेल्न अनिवार्य भएकोले अरु जस्तो हुनलाई मस्तिष्कले अनुवाद गरेर समाजिकीकरणमा योगदानमात्र गरेको हो मानिस भन्न। मातृ जिब्रो त मान्ठ नै हो। वास्तवमा तोते बोली फुट्नु देखि कर्ममा जुट्नु सम्म मान्ठ नै बोलेकोले भित्रबाट मान्ठ उब्जिन्छ र फुत्कने बेला मस्तिष्कको अनुवाद यन्त्रले मानिस बनाइ दिएर प्रतिष्ठामा आउन सक्ने आँचबाट जोगाइ दिन्छ। सामाजिक सञ्जालका प्रबुद्ध अधिपतिहरुबाट पाखे र राउतेको बिल्ला भिरिनको भोगाइबाट पनि जोगाइ दिन्छ। धन्य छ अनुवाद यन्त्रलाई। जे होस् मान्ठ भनेको मानिस नै हो। अहिले लोप हुने अवस्था भएकोले जोगाउन कागतमा मसिको चोबले तोप चढाउनु परेको हो। मान्ठको व्याख्या गर्नु परेन माने बताएर शब्द कोशमा एक शब्द बढाएर चढाए पुग्ने।

बन्नु भनेको माने बुझाएर पुग्दैन। यसमा त शास्त्रार्थ लगाउनु पर्छ। कार्य सिद्ध हुनु, कुनै विषय वा वस्तु निर्मित हुन; तयार हुन रचिनु, धन कमाएर स्थिति सुध्रनु, पद, मर्यादा, अधिकार, स्थिति आदिमा उँभो लाग्नु; सप्रनु, उन्नति हुनु । पुरानो वस्तुको नविकरण हुनु, मर्मत हुनु, जिर्णोद्धार हुनु। बढी योग्य वा गम्भीर भाव देखाउनु; बुज्रुक्याइँ देखाउनु। बन्नुका यी अर्थ मेरा ब्रह्मले हलो जोतेर उमारेको होइनन्। सिधै प्रज्ञा नेपाली बृहत शब्दकोशबाट चिट चोरेर सारेको हो जस्ताको तस्तै बिना भय नलुकाइकन खुल्लमखुला। चोरेकोलाई कोरेको भनेर फुइँ लगाउन मिलेन। ढाँट्या कुरो काटे मिल्दैन। चोरेर कोर्दा कोर्दै बुझियो यो बन्नु भनेको त पृथ्वीमा भए जति सबै प्राप्त गर्नु रहेछ र पो मान्यजनले आशीर्वाद दिएका रहेछन्। बन्नुको कुरै नबुझी ठुलोको कुरा बुझेर अल्को (अग्लो) हुनु मात्र बुझेको यो मथिङ्गलले जब बन्नुको अर्थ शब्दकोशबाट चोर्यो अनि पो कुवाको भागुत्तो महासागरमा बाउत हाने (पौडी खेले) जस्तो भयो। अधिकारी देखि पदाधिकारी सम्म, सुध्रिनुदेखि उत्रिनुसम्म, मर्मतदेखि घर्मतसम्म, अल्किनुदेखि पल्किनुसम्म, जीर्णदेखि जिर्णोद्धारसम्म, अयोग्यदेखि सुयोग्यसम्म, उँधोदेखि उँभोसम्म, उन्नतिदेखि समुन्नतिसम्म, सबै बन्नुको कमाल रहेछ। पुरानो वस्तुको जिर्णोद्धारको समेत उठान र बैठान बन्नुसँग सम्बन्धित रहेछ। कुरो बुझ्दा दिमागको नवीकरण र जिर्णोद्धार पनि यो बन्नुले कसरी नगर्ला र ? बन्नु मै तोकेर दिएपछि घोकेर मान्नु बन्नुको कर्तव्य ठहरियो।

युगको परिवर्तन सँगै आशीर्वादमा परिवर्तन गर्नु उचित देखियो। माथिबाट तल आर्लिएर घोर्लिनु भन्दा माथि नै नजानु जाती। कोदो खाएकालाई भातको साथले मात लागेर फेरि कोदोको लात पेटमा पर्दा हुने के हो हनुमानको पुच्छरको राँकोले लङ्काको सवारको अनुमान लगाउन सक्छ। उचोलाई निचको बोलीले वाण गोली हान्नु भन्दा उचो नभएर निचमै त्राणित हुनु बेस। उन्नतिको शिरानबाट अवनतिको क्रिभासमा गिरान भएर बास गराउनु भएन।धनिले हनि खाएर मनिको मालिक भएकोलाई निर्धनतिर धकेल्नु पाप मात्र होइन महापाप हो। बरु जाप गर्नु तल खस्ने पाप नगर्नु भन्ने सल्लाह दिन सक्छन् यी पतिहरुले।

नपात्याए बिनोद चौधरी र एलन मस्कलाई सोध्नु होस्। यी दुई जनालाई सोधे आफ्नो र बिरानो दुवैलाई जानेको र मानेको अर्थ लाग्छ र अपमान हुँदैन। घरको र परको प्रतिनिधित्व पनि हुने- समावेशी। यति भए अरु धनि मानिसहरु पनि चित्त बुझाउलान्। मनिले हम्काउदा र हनि कप्काउदा पनि राजनीतिक ओहदाको सितनले दिने परमानन्द, शीतलता र स्वाद जस्तो हुँदैन भन्ने पनि यी दुवैलाई मात्र थाहा छ।

धामको भ्रमणमा घाममा रमाउदा रमाउदै परमधाम हुनु। सुरक्षा कवचको घेरबन्दीमा थुनुवा अनुभवले केही पनि नबुनेर दिन कटाउनु। सशक्त ज्यानलाई चार बर्खे उपल्लो पति प्राप्तिको रसास्वादनले बाँकी जीवन आकाँक्षा विहीन भएर सुकाउनु। दरबारजस्तो घरबारका चार कुना भित्र लुकाउनु र बस्नु तर तल नखस्नु। तल खस्न पर्ने कुरा जानीबुझी अहिले नै माथि नउक्लने नीतिमा टेकेर थितिमा बानी बसाल्नु भन्ने कुराको साजिस गरेर आशीर्वादको श्रावण पार्नु जाती हुन्छ।

कार्य सिद्धि, सिद्धि प्राप्त गर्नु कत्रो गतिलो काम। कामको उपल्लो दर्जा वा पदलाई असिद्धितिर हुत्याएर कसरी मर्नु। सिद्धिपछि सोझै स्वर्गको भर्याङ् प्राप्त गर्न कुजिएर मर्नु तर तल नझर्नु। उँभो उक्लने ठाउँ भए चढ्नु फेरि नफर्कने गरी एकोहोरो। दोहोरो हिँडाइमा पर्दै नपर्नु बरु अघि बढ्दै नबढ्नु। निर्माण गर्नु, सुधार्नु, सुध्रिनु त हुँदै भएन। रच्नु, तयार गर्नु, जिर्णोद्धार गर्नुको कुरा पनि मिलेन। भताभुङ्ग लथालिङ्ग जीर्ण अवस्थामा खरानीको सिरानी बनाएर बिग्रिएको दिवारभित्र पऽऽरपर नदेख्न गरी आँखालाई पर्खालको घेरा, शरीरलाई सिस्नोको घार हात्तीबारको बार लगाएर वन्दी बनाएर बाँच्नु। ठट्टा गरेर सट्टा मार्फत शत्ता पुनःप्राप्तिका लागि उधो ओर्लिनु सुहाउदैन।सिधासिधी कुरा उँभो लाग्ने कल्पना नै गर्नु हुँदैन। फेदमै बस्नु जाती। फेदमा बस्ने कोही झरेको छ तल ? तल नझर्ने उपाय भने कै माथि नउक्लनु हो।

पति भनेको मालिक। लखपति लाखको मालिक। अर्ब पति अर्बको मालिक। खर्ब पति खर्वको मालिक। त्यसैले पतिको सामिप्यता नहुने गरी हजारमा काम तुर्क्याउनु राम्रो। हजारमा पतिको सामिप्यता नहुने भएकोले हजार बोकेर बजार पस्दा इज्जतमा धब्बा लाग्दैन। पति बोकेका अर्ब खर्बले बजार दौडाहा चलायो भने सवारीको व्यवस्था गर्नुपर्छ। सवारी नहुनलाई चुनाव आउनु पर्छ। चुनावमा सवारीको लगाम तबेलामा राखेर आफ्नै दुई खुट्टे प्राणको भारमा जनताको मार थेग्न जाग्नु पर्छ। ब्युझिनु पर्छ किनकी आवधिक नियमले पाँच महिने हरामले पाँचवर्ष आराम मिल्छ। त्यसपछि पनि एम पि पनि ठिक छ। पि एम पनि ठिक छ। माननीय र सम्माननीय पनि ठिक छ तर त्यसका पछाडि पुच्छर पति र अगाडि महामहिम झुण्ड्याउनु हुँदैन। महामहिम र पति नझुण्डिएका सबैको उँभो लाग्ने बाटो छ। यी पदीय मार्गमा ढलान छैन। महामहिम र पति झुण्ड्याए खति हुन्छ। खतिबाट बच्न मति सुधारेर पति हुनुहुँदैन।

पति भएपछि शौचदेखि शौख सम्मको यात्रामा बिर्को लाग्छ।अमेरिकाको भए पो साधारण मानिस पस्ने शौचालयमा पस्न मिल्थ्यो। यता मिल्दैन। निजत्वको स्वामित्व यथावत राख्न ओवामाले जस्तो हाप पैण्ट लगाएर छोरी र श्रीमतीसँग पारिवारिक घुमाइ कहाँ पाइन्छ र ? हाम्रामा। बेलायत हो र ? सौनकले काम गरेर रौनक ल्याए जस्तो।काम नगरी माम खानका लागि हामीले परमसेनाधिपति बनाएको हो नि ! फेरि काम गरी खान्छु। सार्वजनिक शौचालयमा जान्छु भन्न मिल्छ ? मानिस हिँड्ने बाटो हिँड्छु भन्न पाइन्छ ? मान्छे भन्दा माथिको बनाएको हो हामीले। मानिस भन्दा माथि पठाउने हाम्रो नियत, खनाउने खेत भनेर चेत फर्काउन मिलेन। चेतलाई धुस्सुको बुजो लगाएर बाहिर आउन नमिल्ने गरी थन्क्याउनु पर्छ र हुस्सु बनाउनु पर्छ। पतिको पगरी गुथिसकेपछि थुतेर मानिसले गर्ने काम गर्न मिलेन।

मानिसले जस्तो खान, मानिसले जस्तो लाउन, केही पनि पाइएन। पथ्यापथ्यको ख्याल गरेर शरीरका सबै अंगहरुले बार्न सक्नु पर्यो।
एकान्त बासमा हटयोग अनुसार षट्चक्रको अभ्यास गर्ने। प्रमुख पदबाट उत्सर्जित भएपछि विसर्जित नहुन शरीरका नौवटा प्वालले उत्पादन गर्ने प्राकृतिक बाटो पनि छेकेर बस्ने वातावरण मिलाउने। उत्तर्जन गर्नै नपाउने। व्युत्पन्न बन्ने चेष्टा नगर्ने अव्युत्पन्न बन्ने। शरीरले मागेअसार हिँडडुल, तरकफरक, दायाँबायाँ गर्दा वा सर्दा पदीय दायित्वले खायित्व बोधगरी मर्यादा पालन गर्ने। चिलाउने, कन्याउने र हलचल गर्ने अवस्थाबाट बन्चित हुन विश्वामित्र र वशिष्ठको जस्तो प्रतिसोधपूर्ण र प्रतिष्पर्धात्मक होइन अन्तिम समाधिका लागि हिउँ पग्लिएर निख्रिएका हिमाल साक्षी राखेर कठोर साधना गर्ने।

राष्ट्रका पछि पति लागेर राष्ट्रपति बनेमा हृदयकाद्वारहरुमा अंकुश लगाएर चाल बिस्तारै बढाउनु पर्छ।अलि बढी मुटु हल्लिन दिनु हुँदैन।गाई, गोठ, भकारो र भकारी त्यही चार दिवारभित्र राखेर राष्ट्रिय अभिभावकको संवैधानिक दाम्लोको साध्यले कसरे बस्न बाध्य पार्नु पर्छ। पूजनी, पूज्य भनेर पूजा गर्नु पर्छ काममा झर्न दिनु हुँदैन। निजत्व हरण गरेर चरण नहल्लिने बनाइ दिनु पर्छ। काममा, खटनपटनमा प्रतिबन्ध लगाइ प्रजेताको सेवामा हाजिर हुनुपर्छ। सुइ लाउन जान्नेका सुइमा खिया लगाउन अनि फुइँ लाउन जान्नेका मुखमा मियाँ राखेर कँडेली लगाए पनि हुन्छ वा म्वालो लगाए पनि हुन्छ। जानेको कामको दाहासंस्कार गरेर समाज सेवामा टेवा पुग्ने कुनै पनि मानवीय काममा पाइला सार्न खोजे नियन्त्र गर्नुपर्छ पि एम भन्दा तऽऽलका जि एमले।अरु थोक जे जे ठटाएर, खटाएर गराए पनि मान्ठ हुन दिनु हुँदैन। मान्ठ भन्दा माथिको दर्जा के हो त्यसमा बिराजमान गराएर सम्मान गर्नु पर्दछ। अब उपरान्त ढोग दिनेलाई ठुऽऽलो मान्ठ नबन्नु भनेर आशीर्वाद दिनु पर्छ।

०००
कैलाली, हाल: थानकाेट, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
घुसले खायो

घुसले खायो

शिवप्रसाद जैशी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x