साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसन चौरासी

देशको दुर्दशा निम्त्याउनुमा नेताहरू दोषी होइनन् । दोषी झोलेहरू पनि होइनन् । खासमा दोषी तपाईँ, हामी नै हो । जसलाई हामीले आफ्नै हातले भोट (मत) दिएर/ जिताएर नेता बनायौँ । नेताहरूले झोले बनाए । अनि हामी झोलेका पनि झोले भयौँ ।

Nepal Telecom ad

ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’:

आजकाल प्रायः धेरै जनाको मुखबाट मिसन ८४ , मिसन ८४ भन्दै गरेको सुन्ने गरेको छु मैले । मिसन ८४ अर्थात् वि.सं. २०८४ आउन अझै धेरै नै दिन छ । हामीले ८४ को नाम लिए पनि नलिए पनि आउने बेलामा नआई छाड्दैन । जाने बेलामा समयको घडी, पला, नक्षत्रको जति नै पुच्छर समाए पनि नगई छाड्दैन ।

मानौं आज वर्षको अन्तिम महिना, अन्तिम गते, अन्तिम समय । रातको १२ बजेपछि सेकेन्ड, मिनेट र घन्टाको सुई जति रोकेर राखे पनि समयले नेटो नकाटी छाड्दैन । भगवान्‌लाई खुसी पार्न हजार नाम पाठ गरे पनि; नाम जपे पनि भोलिपल्ट १ गते र सङ्क्रान्ति नभई छाड्दैन । त्यसैले अहिल्यै र आजैदेखि मिसन ८४ भनेर घोके पनि; नघोके पनि आफ्नो गतिले फेरबदल गर्ला ? चमत्कारै होला ? भन्ने कुरामा म त्यति विश्वस्त छैन ।

कतिपटक मैले यो गोजेङ्ग्रो पद छाडेर हरिलठ्ठक बन्न सकूँ / बनूँ प्रभु ! भनेर पुकारा गरें । तर मेरो मनमा विराजमान प्रभुले कहिल्यै छट्कारा दिलाउनु भएन, उही गोजेङ्ग्रोको गोजेङ्ग्रै । नागरिकता प्रमाणपत्रमा लेखिएको नामजस्तै । त्यसो भएर मैले मिसन ८४ भन्ने नामको रटान गर्न उहिल्यै छाडिसकें । अबको ८४ मा हुने परिवर्तन नै के हो र ? उदाहरणको लागि नेपाली युवाहरु विदेशिने / पलायन हुने क्रम रोकिन्छ कि भनेर कल्पना गर्नु भनेको मुरली मकै हाँडीमा भुट्दै गर्दा बाहिर नउछिट्टिएस् है भनेर बल्दै गरेको आगोसँग प्रार्थना गर्नु जस्तै हो । दिनमा ३–३ हजार विदेसिदा भिजिट भिसाको पैसामा दलाली गर्ने नेताहरू बाहेक अरू को नै खुशी होलान् र ?

आश्रित जनशक्ति यद्वा वृद्ध बुबाआमा, दिदीदाजुभाइहरूको चिच्याहट र पीडामा रमाउन पल्केकाहरूलाई मिसन ८४ आओस् कि जाओस् के मतलब ? बन्द बक्समा शिलबन्दी भएर आएका नेपाली युवाको लाशहरू उनका आफन्त, प्रियजन र झोलेहरूको भइदिन्थ्यो भने कुरा बेग्लै हुन्थ्यो । हुन त म कुनै पनि झोलेको मामा, भान्जा, ज्वाइँ, चेला, ससुरा आदि कुनै पनि किसिमको नातामा म पर्दिन, तर पनि किन किन ? कसैले कसैलाई पनि झोले भनिदिइएको मलाई पटक्कै मन पर्दैन । झोलेको नाम किन काढ्नु पर्‍यो ? झोलेको बदनाम किन गर्नुपर्‍यो ? झोलेले तपाईँहरूको के बिगार गरिदिएका छन् र ? कहिँ कतै भाषण सुन्न जाऊँ भनेछन् भने गइदिए भयो । र्‍यालीमा भाग लिन जाऊँ भनेछन् भने गइदिए भयो । पैसा ऋण मागेछन् भने छैन भनिदिए भयो । फ्रिमा जान पाए, खान पाए गइदिए भयो, हसुरे भयो ।

बसमा चढ्ने गोडा छँदैछन् होला, ताली बजाउने, थपडी मार्ने कम्तिमा एउटा हात त छँदैछ होला । हात र गोडाको मिलाएर तालि लगाइदिए भयो । नेताहरूको उत्ताउलो र उत्तेजनात्मक भाषण, उखान टुक्का, भजन सुनेर हाँस्न मन लागे हाँसिदिए भयो । रुन मन लागे एकातिर फर्केर रोइदिए भयो । आँखाभित्रबाट आउने पानीलाई कसैले छेक्न सक्दैन । तुरुक्क आँसु चुहाइदिए भयो । मिसन ८४, वि.सं. २०८४ भन्दा यता हामीलाई भोट हाल्ने अवसर पक्कै दिने छैनन् । गठबन्धन यस्तो शक्ति हो, जसले/जोकोहीले सजिलै तोड्ने, भत्काउने हिम्मत गर्न सक्ने छैनन् । यहाँ रातारात (एकैरात) जे पनि परिवर्तन हुन सक्छ । कान थापेर सुनेर बसिदिए भयो । अनि केको झोले ! झोले !! भनेर किन नाम काढिरहनु पर्‍यो ? अब आउने चुनाव भनेकै/सबैले अनुमान गरेकै र हुने भनेकै ८४ मै हो । हाम्रो पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्छ है भन्लान् ? ‘हुन्छ’ भनिदिए भयो । चुनावको अघिल्लो दिन भोज भतेर गर्लान् ? दुई हातले समाएर स्वाम्म खाइदिए भयो । धोती, टोपी, कुर्ता, साडी, पेटीकोट, ब्लाउजहरू बाँड्लान् हात थापिदिए भयो । कति सजिलो उपाय छ;, यति हुँदाहुँदै पनि झोले–झोले भनेर फलाकिरहँदा कम्ता मन दुख्दैन मेरो ।

जसले जे देखेको छ, जे पाएको छ, जे भोगेको छ त्यही उसले गर्ने हो । भूमिका निभाउने हो । नेताको गुण गाउनु, नेताको अघिपछि हिड्नु, नेताले बोलेको कुरालाई बढाईचढाई गरी उचाल्नु, नेताको मुखबाट झुक्किएर विपरीत कुरा भनेका भए पनि यो यसो भनेको हो । विपक्षीहरूले कुरा बङ्ग्याएका हुन् । नेताको लोकप्रियता देखेर ईर्ष्याले जलेका हुन् भनेर समर्थन गरिदिनु/भनिदिनु झोलेहरूको परम कर्तव्य नै हो । नभएको कुरा भएको भन्ने, भएको कुरालाई होइन भन्ने, नगरेको कुरालाई गरेको भन्ने झोलेहरूको कर्तव्यभित्र पर्ने कुरा होइन र ? नेताहरूकै कारण झोलेहरू पालिएका छन् । रोजिरोटी चलेको छ । फूर्ति बढेको छ । मानसम्मान, इज्जत चढेको छ । के कसैले पनि यस्तो सफलतालाई कपाल खौरेर मुडुलो भएजस्तै सर्लक्क मुडोलो बन्न सक्छ र ? अहँ सक्दैन/ हुँदैन । त्यसैले कसैले कसैलाई पनि झोले नभनिदिनुहोस् भन्ने मेरो कर जोरी बिन्ती छ ।

देशको दुर्दशा निम्त्याउनुमा नेताहरू दोषी होइनन् । दोषी झोलेहरू पनि होइनन् । खासमा दोषी तपाईँ, हामी नै हो । जसलाई हामीले आफ्नै हातले भोट (मत) दिएर/ जिताएर नेता बनायौँ । नेताहरूले झोले बनाए । अनि हामी झोलेका पनि झोले भयौँ । ती झोले भनाइएकाहरूले हाम्रो हात समाएर भोट हालिदिएका पक्कै होइनन् । चुनावको दिन हामी सबैलाई आफ्नो गाडीमा बसाएर मतदान केन्द्रभित्र गाडी छिराएर एकैचोटी सबैलाई आफ्नो पार्टीको चुनाव चिन्हमा छाप हानिदिएका पनि होइनन् । अनि केको झोलेलाई दोष ? वास्तवमा दोषी त हामी नै हौँ । गल्ती हामीले गर्ने ! दोष झोलेहरूलाई लगाउने ? । अनि आफ्नो पुर्पुरो नसमाएर खोइ खोइ ले त ! भन्दै अर्कोको पुर्पुरो समाउन पुग्यौँ भने दोष कसको होला ? आफ्नो मूल्याङ्कन आफैले गरौँ । अर्काको मूल्याङ्कन गर्नु हाम्रो सरोकारको विषय होइन ।

बुद्धि र चेतना भया । हरेक घरघरका मानिसहरू सचेत हुने हो भने, हरेक युवा इमानदार हुने हो भने, आफ्ना बाबुआमा, दाजुभाउजुहरूलाई सही कुराको जानकारी दिने हो भने परिवर्तन धेरै टाढा छैन र हामीले चाहेको समाज, हामीले चाहेको राष्ट्रको उन्नति, भविष्यका सन्नततिहरूको सुनौलो भविष्यको परिकल्पना र नेपाल आमाको सपना अवश्य पनि पूरा हुनेछ । इत्यलम् ।

०००
कावासोती– १६, तीनघरेचोक
डन्डा, नवलपुर, नवलपरासी
९८४१९२८४१९, ९८१२९०२१०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अल्लरेको बाबु झल्लरे

अल्लरेको बाबु झल्लरे

ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x