साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसन चौरासी

देशको दुर्दशा निम्त्याउनुमा नेताहरू दोषी होइनन् । दोषी झोलेहरू पनि होइनन् । खासमा दोषी तपाईँ, हामी नै हो । जसलाई हामीले आफ्नै हातले भोट (मत) दिएर/ जिताएर नेता बनायौँ । नेताहरूले झोले बनाए । अनि हामी झोलेका पनि झोले भयौँ ।

Nepal Telecom ad

ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’:

आजकाल प्रायः धेरै जनाको मुखबाट मिसन ८४ , मिसन ८४ भन्दै गरेको सुन्ने गरेको छु मैले । मिसन ८४ अर्थात् वि.सं. २०८४ आउन अझै धेरै नै दिन छ । हामीले ८४ को नाम लिए पनि नलिए पनि आउने बेलामा नआई छाड्दैन । जाने बेलामा समयको घडी, पला, नक्षत्रको जति नै पुच्छर समाए पनि नगई छाड्दैन ।

मानौं आज वर्षको अन्तिम महिना, अन्तिम गते, अन्तिम समय । रातको १२ बजेपछि सेकेन्ड, मिनेट र घन्टाको सुई जति रोकेर राखे पनि समयले नेटो नकाटी छाड्दैन । भगवान्‌लाई खुसी पार्न हजार नाम पाठ गरे पनि; नाम जपे पनि भोलिपल्ट १ गते र सङ्क्रान्ति नभई छाड्दैन । त्यसैले अहिल्यै र आजैदेखि मिसन ८४ भनेर घोके पनि; नघोके पनि आफ्नो गतिले फेरबदल गर्ला ? चमत्कारै होला ? भन्ने कुरामा म त्यति विश्वस्त छैन ।

कतिपटक मैले यो गोजेङ्ग्रो पद छाडेर हरिलठ्ठक बन्न सकूँ / बनूँ प्रभु ! भनेर पुकारा गरें । तर मेरो मनमा विराजमान प्रभुले कहिल्यै छट्कारा दिलाउनु भएन, उही गोजेङ्ग्रोको गोजेङ्ग्रै । नागरिकता प्रमाणपत्रमा लेखिएको नामजस्तै । त्यसो भएर मैले मिसन ८४ भन्ने नामको रटान गर्न उहिल्यै छाडिसकें । अबको ८४ मा हुने परिवर्तन नै के हो र ? उदाहरणको लागि नेपाली युवाहरु विदेशिने / पलायन हुने क्रम रोकिन्छ कि भनेर कल्पना गर्नु भनेको मुरली मकै हाँडीमा भुट्दै गर्दा बाहिर नउछिट्टिएस् है भनेर बल्दै गरेको आगोसँग प्रार्थना गर्नु जस्तै हो । दिनमा ३–३ हजार विदेसिदा भिजिट भिसाको पैसामा दलाली गर्ने नेताहरू बाहेक अरू को नै खुशी होलान् र ?

आश्रित जनशक्ति यद्वा वृद्ध बुबाआमा, दिदीदाजुभाइहरूको चिच्याहट र पीडामा रमाउन पल्केकाहरूलाई मिसन ८४ आओस् कि जाओस् के मतलब ? बन्द बक्समा शिलबन्दी भएर आएका नेपाली युवाको लाशहरू उनका आफन्त, प्रियजन र झोलेहरूको भइदिन्थ्यो भने कुरा बेग्लै हुन्थ्यो । हुन त म कुनै पनि झोलेको मामा, भान्जा, ज्वाइँ, चेला, ससुरा आदि कुनै पनि किसिमको नातामा म पर्दिन, तर पनि किन किन ? कसैले कसैलाई पनि झोले भनिदिइएको मलाई पटक्कै मन पर्दैन । झोलेको नाम किन काढ्नु पर्‍यो ? झोलेको बदनाम किन गर्नुपर्‍यो ? झोलेले तपाईँहरूको के बिगार गरिदिएका छन् र ? कहिँ कतै भाषण सुन्न जाऊँ भनेछन् भने गइदिए भयो । र्‍यालीमा भाग लिन जाऊँ भनेछन् भने गइदिए भयो । पैसा ऋण मागेछन् भने छैन भनिदिए भयो । फ्रिमा जान पाए, खान पाए गइदिए भयो, हसुरे भयो ।

बसमा चढ्ने गोडा छँदैछन् होला, ताली बजाउने, थपडी मार्ने कम्तिमा एउटा हात त छँदैछ होला । हात र गोडाको मिलाएर तालि लगाइदिए भयो । नेताहरूको उत्ताउलो र उत्तेजनात्मक भाषण, उखान टुक्का, भजन सुनेर हाँस्न मन लागे हाँसिदिए भयो । रुन मन लागे एकातिर फर्केर रोइदिए भयो । आँखाभित्रबाट आउने पानीलाई कसैले छेक्न सक्दैन । तुरुक्क आँसु चुहाइदिए भयो । मिसन ८४, वि.सं. २०८४ भन्दा यता हामीलाई भोट हाल्ने अवसर पक्कै दिने छैनन् । गठबन्धन यस्तो शक्ति हो, जसले/जोकोहीले सजिलै तोड्ने, भत्काउने हिम्मत गर्न सक्ने छैनन् । यहाँ रातारात (एकैरात) जे पनि परिवर्तन हुन सक्छ । कान थापेर सुनेर बसिदिए भयो । अनि केको झोले ! झोले !! भनेर किन नाम काढिरहनु पर्‍यो ? अब आउने चुनाव भनेकै/सबैले अनुमान गरेकै र हुने भनेकै ८४ मै हो । हाम्रो पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्छ है भन्लान् ? ‘हुन्छ’ भनिदिए भयो । चुनावको अघिल्लो दिन भोज भतेर गर्लान् ? दुई हातले समाएर स्वाम्म खाइदिए भयो । धोती, टोपी, कुर्ता, साडी, पेटीकोट, ब्लाउजहरू बाँड्लान् हात थापिदिए भयो । कति सजिलो उपाय छ;, यति हुँदाहुँदै पनि झोले–झोले भनेर फलाकिरहँदा कम्ता मन दुख्दैन मेरो ।

जसले जे देखेको छ, जे पाएको छ, जे भोगेको छ त्यही उसले गर्ने हो । भूमिका निभाउने हो । नेताको गुण गाउनु, नेताको अघिपछि हिड्नु, नेताले बोलेको कुरालाई बढाईचढाई गरी उचाल्नु, नेताको मुखबाट झुक्किएर विपरीत कुरा भनेका भए पनि यो यसो भनेको हो । विपक्षीहरूले कुरा बङ्ग्याएका हुन् । नेताको लोकप्रियता देखेर ईर्ष्याले जलेका हुन् भनेर समर्थन गरिदिनु/भनिदिनु झोलेहरूको परम कर्तव्य नै हो । नभएको कुरा भएको भन्ने, भएको कुरालाई होइन भन्ने, नगरेको कुरालाई गरेको भन्ने झोलेहरूको कर्तव्यभित्र पर्ने कुरा होइन र ? नेताहरूकै कारण झोलेहरू पालिएका छन् । रोजिरोटी चलेको छ । फूर्ति बढेको छ । मानसम्मान, इज्जत चढेको छ । के कसैले पनि यस्तो सफलतालाई कपाल खौरेर मुडुलो भएजस्तै सर्लक्क मुडोलो बन्न सक्छ र ? अहँ सक्दैन/ हुँदैन । त्यसैले कसैले कसैलाई पनि झोले नभनिदिनुहोस् भन्ने मेरो कर जोरी बिन्ती छ ।

देशको दुर्दशा निम्त्याउनुमा नेताहरू दोषी होइनन् । दोषी झोलेहरू पनि होइनन् । खासमा दोषी तपाईँ, हामी नै हो । जसलाई हामीले आफ्नै हातले भोट (मत) दिएर/ जिताएर नेता बनायौँ । नेताहरूले झोले बनाए । अनि हामी झोलेका पनि झोले भयौँ । ती झोले भनाइएकाहरूले हाम्रो हात समाएर भोट हालिदिएका पक्कै होइनन् । चुनावको दिन हामी सबैलाई आफ्नो गाडीमा बसाएर मतदान केन्द्रभित्र गाडी छिराएर एकैचोटी सबैलाई आफ्नो पार्टीको चुनाव चिन्हमा छाप हानिदिएका पनि होइनन् । अनि केको झोलेलाई दोष ? वास्तवमा दोषी त हामी नै हौँ । गल्ती हामीले गर्ने ! दोष झोलेहरूलाई लगाउने ? । अनि आफ्नो पुर्पुरो नसमाएर खोइ खोइ ले त ! भन्दै अर्कोको पुर्पुरो समाउन पुग्यौँ भने दोष कसको होला ? आफ्नो मूल्याङ्कन आफैले गरौँ । अर्काको मूल्याङ्कन गर्नु हाम्रो सरोकारको विषय होइन ।

बुद्धि र चेतना भया । हरेक घरघरका मानिसहरू सचेत हुने हो भने, हरेक युवा इमानदार हुने हो भने, आफ्ना बाबुआमा, दाजुभाउजुहरूलाई सही कुराको जानकारी दिने हो भने परिवर्तन धेरै टाढा छैन र हामीले चाहेको समाज, हामीले चाहेको राष्ट्रको उन्नति, भविष्यका सन्नततिहरूको सुनौलो भविष्यको परिकल्पना र नेपाल आमाको सपना अवश्य पनि पूरा हुनेछ । इत्यलम् ।

०००
कावासोती– १६, तीनघरेचोक
डन्डा, नवलपुर, नवलपरासी
९८४१९२८४१९, ९८१२९०२१०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अल्लरेको बाबु झल्लरे

अल्लरेको बाबु झल्लरे

ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x