ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’अल्लरेको बाबु झल्लरे
के तपाईंहरू पनि दर्जनिया बनेर छोरा छोरीलाई मर्यादा सिकाउनु र ज्ञानगुन र शिक्षाको अभावमा उच्छृखल उन्मत्त गराएर अल्लारेको बाबु झल्लरे नाम कमाउने हैन त नि ? उमेर छँदै सोच्नुहोला है ।

ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’ :
मेरो बुबाले भन्ने गर्नु हुन्थ्यो : जुवा तास खेलेर हारेको, पिङ खेलेर लोटेको, झगडा गरेर बङ्गारा फुकालेको, अपच हुनेगरी खाना खाएर अस्पताल धाएको, मादक पदार्थ सेवन गरेर बाटा गल्ली र नालामा लम्पसारिएको, ‘धेरै सन्तान ईश्वरको वरदान’ भन्दै धेरै सन्तान जन्माउनु उचित शिक्षा दीक्षा साथ पालन पोषणको वास्ता नगरेर केवल पुल्पुल्याएर उन्मत्त उच्छुङ्खलपूर्वक हुर्क्यायाएका हुर्किएको सन्तानहरूका अपहेलनमा परेर दुःख पाएका रोएकाहरूलाई कुनै दयामायाको आवश्यकता परिरहँदैन, र उनीहरूप्रति टिठाएर कठैबरा ! भनिदिने हो भने त्यसले उनीहरूलाई झन् त्यस्तै दुष्कर्म गर्न प्रेरित गरिरहन्छ। आफूले गरेको खराब कर्मले एकपटक पश्चात्ताप मानिसकेका व्यक्तिहरूले त फेरि त्यस्तो आफू अपमानित हुनुपर्ने कार्यहरू नै गर्दैन । तर मान्छेहरूले यस्ता कुरामा त्यति विचार नपुऱ्याउँदा वा जीवनभर जानाजान पछुताउमा पर्नु पर्ने काम गरिरहेका हुन्छन् ।
उदाहरणको लागि विजया दशमी जस्ता ठूला चाडहरूमा आफूभन्दा ठूला मान्यजनहरूले आशिर्वाद दिदा भलै सन्तानले डाँडाकाँडा ढाकन नभने तापनि सन्तान भनेका ईश्वरका वरदान हुन् भनेर सृष्टि गर्दै जाने हो भने सन्तानले डाँडाकाँढा त ढाक्दै जाने नै भयो, समस्यै समस्याले आफ्नै टाउकाका रौंहरू पनि नढाकिएलान् भनेर कल्पना गर्न सकिदैन तर पनि समस्या र दुःखमा पनि सुखमा सुख प्राप्त गर्न सक्नु बुद्धिमानी हो । किनभने गुलाफको फूललाई पनि के थाहा थियो र काँढकाँढाको बीचमा फुलेको फूललाई सबैले मन पराइदिनुका साथै प्रेमी प्रेमिकाको प्यारो वस्तु बन्ने पाउँदछु भनेर ।
हाम्रो गाउँको छेवैमा तिवारी थरका एक जना मानिस थिए। छोरै छोराको आशमा ११ जना छोरीहरू जन्मिदै गए । १२ औं सन्तानको पल्टमा उनले बडो झिल्के छोरा पाए । त्यो कस्तो झिल्के थियो भने एउटा आँखा त साविककै अनुसार थियो भने अर्को एक आँखाचाहि सानो मात्र नभई परेलीले आधा आँखा छोपिएको थियो। जिउडाल र शरीरको शक्ति पनि नराम्रो भन्न मिल्दैन थियो किनभने १०-१२ वर्षसम्मको उमेरहुँदा पनि लौरोको सहारा प्राप्त गरिरहन पर्ने उसको मौलिक अधिकारको कुरा थियो । मानिसहरू सबैले त्यस्तो केटाको बाउलाई “दर्जनिया तिवारी” को ठूलो उपाधि दिलाई। सकेका थिए । धनको अहंकार त थियो नै, एघार ओटी छोरी पछि जन्मेको छोरो अधिकतम मत्त गराएर ‘दूध चुस्नु भात उकेल्नु’ भने झैँ गरेर पालेका थिए ।
जब छोरो वयस्क अर्थात् विवाह गर्ने समय भयो धनको प्रभावले आँखा पनि बराबरी जस्ता मान्न थालेछन् र आशापति गोतामेले छोरी दिने मन गरे ‘बसिबसी त अरू सबैले खान्छन्, मेरी छोरीलाई सुतिसुती खान पुग्ने धन छ तिवारीजीको भनेर अप्सरा छोरीलाई पनि अनेकौं प्रलोभन देखाई मञ्जुर गराई विवाह गरिदिए।
छोरो त उच्छृङ्खल उन्मत्त अशिक्षित अविवेकी अल्लारे थियो नै, तेसैमाथि बुहारी पनि बल्दो आगोमा घिउ थपेझैँ भएर दुवैजना मिली बूढाबूढीलाई अपहेलन गर्न लागे । धनी भएर पनि गाउँ घर छरछिमेकीलाई पैसाको अथवा कुनै विषयको काम चलाउन्नथे तिवारीले, तेसैको बदला छोरा बुहारीलाई चुक्ली लगाई दिएर हेला गर्नमा टेवा दिन्थे ।
बुढाबुढीलाई अवहेलन गर्न हुँदैन सक्दो सेवा गर्नु पर्छ भनेर सम्झाई दिने मानिस कोही पनि भएनन् । ‘दुःख पाइस् मड्गले आफ्नै ढङ्गले’ भनेझैँ बढाबढी रोइरोई समय व्यतित गरे अनि त-
मान् माथि अझ भुक्तमान् मिली गयो खुशी भयाछन् हरि ।
भनेझैँ दर्जनियाँ तिवारी अल्लरेको बाबु झल्लरे भनेर उपहास गरिन थाले । आफ्नी त्यस्ती बठ्ठा श्रीमतीका अतिरिक्त अल्लरेले वेश्याको सङ्ग्रह गयो, विहान बेलुकाको खानामा र बिहान दिउसोको नास्तामा समेत मासु अन्डा नभै नहुने हुँदै गयो साथै रक्सीमा पनि व्यस्त भयो। यति मात्र हैनकि जुआ (-तास) खेल्न पेशा जस्तै ठान्यो र जग्गा जमीन सम्पत्ति सकिदै गयो। अलिअलि भएको सुनचाँदी धन गुटुमुट्याएर वेश्या भागि । खाने विषय केही नभएकोले अप्सरा पनि आफ्नो माइत गइन् । अनि त्यो अल्लरे कैले भोकै कैले अरूका घरघर खाने बेलामा ढुकुवा भएर माग्दै खाँदै हिँड्दै गरेर महान् कष्टले दिन व्यतित गरेर रह्यो ।
के तपाईंहरू पनि दर्जनिया बनेर छोरा छोरीलाई मर्यादा सिकाउनु र ज्ञानगुन र शिक्षाको अभावमा उच्छृखल उन्मत्त गराएर अल्लारेको बाबु झल्लरे नाम कमाउने हैन त नि ? उमेर छँदै सोच्नुहोला है ।
०००
‘कलियुग’ (२०६२)
Subscribe
Login
0 Comments
Oldest







































