साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिङटा र उत्सुकता

रोचक घिमिरेको बाँकी रोचक कुरा अझ पढ्न र सुन्न बाँकि नै छ । खास गरेर भैरव अर्याल, बलराम परिश्रमी, बासुदेव लुइँटेल लगायत धेरैका रोचक कुराहरु । त्यसैले म अहिले जुँगे काजीको फित्कौलीकाे खित्लाकाैलीका अरू अरू श्रृङ्खलालाई पर्खिरहेको छु ।

Nepal Telecom ad

राम विनय :

१) कुरा थाल्दाको कुरा
“त्यतिका दिनदेखि म भनिरहेको छु, बोलिरहेको छु, केही तातोछारो लाग्ने होइन । मैले यत्रो भयानक भयानक कामहरु, कार्यक्रमहरु गरेर, रकम कलम जुटाएर फित्कौलीकाे कोष खडा गरेर कस्तो धुमधडकाको काम गरेर कस्तो कस्तो तहल्का मच्चाई रहेको छु । यो मानिसले कम्तिमा पनि यसो कर्के नजरले भए पनि हेरे पनि हुने, विषयबस्तुलाई फेसबुकमा शेयर गरे पनि हुने । केही पनि वास्ताबास्ता छैन, के भएको हो यो मान्छे ? ल अब अरु कामकुरो जतासुकै होस्, जतासुकै जावस् । अहिले यसपालि रोचक घिमिरेको भैरव अर्याल बारेको रोचक सँस्मरणको पहिलो श्रृङ्खलाको सम्पर्क सूत्र पठाएको छु । मनलागे खुसुक्क सुन, हेर। मन नलाए नहेर । लु जा मेरो भनाइ यति हो ।”
याे थियाे जुँगे काजीको जोडदार लटरपटरको फरासिलो लामो भाषण । मन लागेसि, नलागे पनि पढ्न र सुन्नै पर्ने भाषण ।

२) रोचकको शोचक कुरा
जुँगे काजीले पठाएकोे भैरव अर्यालको बारेको सम्पर्क भिटियाे लिङ्क खोलेर हेरेँ । रोचक घिमिरेका रोचक कुरा सुन्न कम्मर कसेर बसेँ । पुराका पुरा कुरा सुनेँ । उस्लाई निकै शोचक र रोचक लाग्यो— रोचकको सँस्मरणका कुराहरु । प्रकाशमा नआएका कतिपय महत्वपूर्ण कुराहरु सुन्न पाएर त्यस्को मन खुसीले गदगद भयो । भैरव अर्याल, बासुदेव लुइँटेल, बलराम श्रमजीवी जस्ता मेहनतकश श्रष्टाहरु थैलीशाहीहरुले चलाएको समाजमा कसरी संघर्ष गरेर लेखक भएर जीवन बाँचेका रहेछन् भनेर राम्रो जानकारी दिन्छ— त्यो श्रृङ्खलाले ।
(भुतको भिनाजु) बासुदेव लुइँटेललाई मनले खाएका साहित्यकारहरु भेट्न जाँदा उस्ले उस्को हाकिमको गुनासो पोखेछ— “साहित्यकारहरु आएर तिमीलाई मात्र भेट्छन् । मलाई भेट्नआउन्नन ।” त्यसैले बासुदेव लुइँटेलले आफ्नो हाकिमकहाँ रोचक र भैरबलाई भेट्न पठाएछन् । उनीहरू गएर हाकिमको अगाडि बसेछन् । एकछिन पछि हाकिमको मानिसले हाकिमलाई जुस ल्याएर दिएछ ।त्यो हाकिमले “ए अर्को दुईवटा जुस पनि ल्याउ” भनेन छन् । उनी एक्लै उनीहरुको अगाडि जुस पिएछन् र उनीहरु केही पनि नबोली फर्केर बासुदेवकाहाँ गएछन् । त्यसपछि बासुदेवले उनीहरुलाई मजाले खाजा खुवाएर पठाएछन् । उस्लाई भेटन गएकाहरुलाई त्यो सामन्तले अपमान गरेछ । त्यो सुनेर खुसी भएर मैले जुँगे काजीलाई फोन गरेर धन्यवाद दिएँ ।
धन्यवाद पाएर काजीले आफ्नो जुँगा मजाले मुसारे ।

३) हल्लिनु र जिल्लिनु
बिहान उठेर नियमित काममा व्यस्त भैरहेको बेलामा मेरो मोबाइलमा घण्टी बजेको बजै गर्नलाग्यो । एकछिनमा रिङटा लाग्यो, घर हल्लियो ।भुईंचालो आएको रहेछ । त्यो मानिसले हिजो राति भोजमा बसेको बेलामा पनि फोन गरेको रहेछ ।

फोन गर्ने महाशयलाई मैले भनेँ— “ए महाशय, अहिले भुईंचालो आएको छ। सबै मानिसहरु घरबाट बाहिर दगुरिरहेका छन् । किन फोन गरेको ? म जिल्ल परेको छु । पछि कुरा गरौला ।” फोन गर्ने अटेरी महाशयले थपेछ— “ए त्यो भुकम्पको खबर त रेडियो, टिभीले पछि भनि हाल्छ नि । त्यस्ले हल्लाउने मात्र हो क्या, केही हुन्न । मेरोकुरा सुन न भन्या ।”

मैले फेरि भनेँ — “हत्तेरी महाशय, सबै घरबाट बाहिर भागिरहेका छन्। डराएर काँपिरहेका छन् । भागाभाग गरिरहेका छन् । कस्तो कुरा नबुझेको भन्या ?” उसले मेरो कुराको टेरपुच्छरै नै लगाएन ।

बिहान पाईखानामा बस्दा बेस्सरी रिङटा लागेको र घरहरु हल्लिरहेको थियो । एकछिनमा त्यो महाशयले ज्यान गए पनि फोन छोडेन ।त्यतिबेला मैले सम्झेँ — पञ्चायतकालको एउटा फिल्ममा एउटा हाकिम सिडियोले उस्को कारिन्दालाई निर्देशन दिएर भन्दै थियो — “यो अराष्ट्रिय तत्वलाई पकडेर ल्याउने, कोठामा राख्ने र पहिले बेस्सरी कोर्रा लगाउने त्यसपछि कुरा गर्ने । बुझिस् ? मेरो कुरा सुन, “पहिले कोर्रा, पछि कुरा ?”  मलाई आज त्यो फोन गर्ने महाशय पनि त्यस्तै पञ्चायती सिडियो रूपी हाकिम जस्तो लाग्यो ।

४) मरेका छौ कि बाँचेका छौ ?
उस्ले भन्न थाल्याे—  “हेर पासा, अब हामीहरु बुढा, रोगी हुन थालियो । कुन बेला के हुन्छ केही भन्न सकिन्न । मैले चिनेका फलाना फलानाहरु त गैसकेछन् त । मैले तिमीलाइ पनि, तिमी त मरि पो सक्यो कि भनेर पत्ता लगाउन अथवा अहिलेसम्म तिमी बाँचेका छौ कि छैन भनेर चेक गर्न पो फोन गरेका हो पासा ।  अहिलेसम्म तिमी बाँचेका रहेछौ । मरेका रहेनछौ है पासा ? खुसी लाग्यो हौ मलाई। कतिजना त गैसकेछन् । मैले तिनीहरुको नाम टेलिफोन डाइरेक्टरीबाट हटाउने गरेको छु । तिम्रो नामसँग नाम मिल्ने मानिस पनि गैसकेछ नि, थाहा छ कि छैन ?”

उस्ले त्यसो भनिरहँदा त्यो नाम गरेको मानिस पनि तत्कालिन मन्त्रिपरिषदमा संस्कृति मन्त्री थियो । त्यसबेला संस्कृति मन्त्रालयबाट राष्ट्रिय तथा क्षेत्रिय पुरस्कार प्रदान गर्ने कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा आयोजना गरिएको थियो । पुरस्कार प्रदान गर्ने बेलामा तत्कालिन नेपाल सरकारका मन्त्रिपरिषदका अध्यक्ष र संस्कृति मन्त्रीको उपस्थितिमा कार्यक्रमका उदघोषकले मेरो नाम उदघोषण गरे । म पुरस्कार लिन अगाडि बढेँ । मलाई पुरस्कार दिनेबेलामा प्रधानमन्त्रीले संस्कृति मन्त्रीको अनुहार हेरे र मेरो अनुहार हेरेर  मुस्कुराए । त्यो चालढाल र हेराईले भने जस्तो लागेको थियो— “ए संस्कृति मन्त्री,आफ्नै नामसित नाम मिल्ने मानिसलाई कसरी पुरस्कार दिएको हो ?” बिचराहरुलाई त्यो के थाहा ? छनौट समितिले सिफारिस गरेकालाई नै निर्णय गरेको होला । त्यो क्षण मलाई अहिले पनि सम्झना छ ।

त्यो नाम मिल्ने बिचरालाई कताकता रेडियोले भनेजस्तो लाग्छ — “उस्लाई अख्त्यिारको तीर (बाण) लागेको छ भनेर समाचार प्रसारण भएको थियो ।सायद त्यसैको तीरको पीरले घोचिएर सिलटिम्मुर खाकोहोला कि त्यो नाम मिल्ने मानिस ?”

पहिला पहिला कोर्रा हान्ने र पछि कुरा गर्नेवालाले फेरि आफ्नो भाषण छाँट्न लाग्यो — “हेर्नोस् पासा, बिहान बेस्सरी खाउ, दिउसो अलि अलि खाउ । घाम अस्ताएपछि खाना खाँदै नखाउ।”

उस्को भाषण सक्दा नसक्दै भुइँचालो पनि शान्त भैसकेको थियो । उस्ले जे भने पनि जे गरे पनि साथीहरु बेला मौकामा जान छाडेका छैनन् । वास्तवमा सबै मानिसहरु आफनो अन्तिम गन्तव्य मृत्युको लाईनमा छन् । एकपटक चितवन जिल्लाका जनपक्षीय उमेदवार भएर राष्ट्रिय पञ्चायतका सदस्य भएका जागृतप्रसाद भेटवालले भनेका थिए — “यो हलमा हामी जे जति छौँ नि पछि हामी कोही पनि हुने छैनौँ । सबै नयाँ मानिसहरुले फेरि यो हल भरिनेछ । त्यसैले हामी आखिर आफ्नो गन्तव्यमा जानुनै छ । बाँचुन्लेल हाँसि खुसी जीवन जिउनुछ ।”

रोचक घिमिरेको बाँकी रोचक कुरा अझ पढ्न र सुन्न बाँकि नै छ । खास गरेर भैरव अर्याल, बलराम परिश्रमी, बासुदेव लुइँटेल लगायत धेरैका रोचक कुराहरु । त्यसैले म अहिले जुँगे काजीको फित्कौलीकाे खित्लाकाैलीका अरू अरू श्रृङ्खलालाई पर्खिरहेको छु ।

०००
२०८१ पौष २५

कुलेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x