साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुतको भिनाजुलाई ईमेल

तिमीलाई मैले दुईपटक भेटेको न हो । एकपटक श्रम गर्ने कार्यालयमा र अर्कोकपटक आरामकासाथ आनन्दको स्वास फेर्ने आफ्नै निवासमा । तिमी जस्ता स्वाभिमानी, इमानी, नैतिकवान व्यक्तिलाई मलाई त हजार पटक भेटेको जस्तो लागेको छ ।

Nepal Telecom ad

ए भुतको भिनाजु,
अहिले तिमी कहाँ छौ ? जहाँ होस् ।
मन मित्रको नमन स्वीकार होस् ।

आज बिहान सखारैै तिम्रो साला भुतनाथसित मेरो भेट भएको थियो । मैले उसलाई तिम्रो भिनाजुको बारेमा मलाई बखान गर त भनेँ । उसले जवाफदियो- “हजार जिब्रा भएका महासागर संसारका शेषनागले हाम्रा भिनाजु बारेमा बखान गर्न सकेन भने म दुईजिब्रे सालोले के बखान गर्न सकँुला र मिष्टर ?

तिमी पनि कस्तो मान्छे ? अहिलेका मान्छेहरू बर्तमानमा बस्छन् । बर्तमानमा खान्छन् । बर्तमानमा हिँड्छन् । मौका खोज्छन् । स्वार्थ पूरा गर्छन् । बिगतलाई बिर्सन्छन् । तिमी कस्तो मान्छे ? भुतलाई मात्र सम्झने ? हाम्रो भिनाजुलाई किन सम्झनु पर्‍यो मिष्टर तिमीलाई ?

मैले उसलाई भनेँ- “यस्तो बकबास नगर भुतनाथ । मैले जे सोधेको छु त्यसमा तिमीले लुरुलुरु आऊ । खुरुक्कसँग लुरुक्क परेर मैले सोधेको कुराको जवाफ देऊ अर्थात प्रहरीले सोधेको प्रश्नको जवाफ दिएजसरी मैले सोधेको जवाफ देऊ । कुरा बुझेको हो भुतनाथ ?”
“ल भन तिम्रो सोधाई के हो ? मेरो बुझाई बुझ्न खोज्ने मिष्टर ?”
“तिम्रा भिनाजु, यो धरतिमा आएपछि कुन, कुन जुनीमा अवतरित भएका हुन भन त भुतनाथ ?”
“हाम्रा भिनाजुका अबतार गन्ने हो ? ल सुन ।”

ऊ गन्न थाल्यो-
१.जन्मस्थानका शिशु अवतार ।
२.बाल, युवा अवतार ।
३.तीनधारा पाकशाला अवतार ।
४.नेपाली भाषा प्रकाशन समिति अवतार ।
५.गोरखापत्र छापाखाना अतार ।
६.जुद्धोदय पब्लिक हाईस्कुल अवतार ।
७.कान्ति ईश्वरी राज्यलक्ष्मि हाईस्कुल अवतार ।
८.रात्रि पाठशाला हाईस्कुल नक्साल अवतार ।
९.जगदम्बा पे्रस अवतार ।
१०.मदन पुरस्कार गुठीमा ६ वर्ष स्वयमसेवक अवतार ।
११.स्थायी सेवक अवतार ।
१२. नेपाल टाईप फाउन्डिङ अवतार ।
१३.जगदम्बा गुठीमा सदस्य सचिव अवतार ।
१४.सेवा निवृत्त अवतार ।
१५ बासुदेब विद्यादेब लुइटेल गुठी स्थापना अवतार ।
१६.परलोक अवतार ।

“यी त भए जीबनभरका अवतारहरू । नामका अवतार त कति छन कति ? तिमीलाई नै थाहा होला । अब तिमी मलाई भिनाजुको बारेमा बढि बखान गर्न नलगाऊ । हाम्रा भिनाजुले त बाउँठे बाउँठे कुरा गरेर फेरि मलाई नै झपार्लान् नि । त्यसैले तिमी अहिले आफनो बाटो लागि हाल मिष्टर ।”
तिम्रो सालोले यति बखान गरेपछि मलाई लाग्यो अहिले पनि तिमी यतैउतै कतै जिउँदै छौ कि जस्तो पो लाग्यो ।

०००

कुरा धेरै पहिलेको हो । एकजना साथीले मलाई गोरखापत्रमा जाउँ भनेर लगे । म पनि उनको पछि लागेर गएँ । भैरव अर्याल त्यहाँ काम गर्नु हुने रहेछ । भेटघाट परिचय भयो । कति राम्रो सोच र व्यबहार । पहिलो पटक भेट भएर चिनजान भए पनि धेरै पहिलेदेखिको चिनजानको जस्तो लाग्यो । उहाँको माया प्रेम हामी बीचको बर्गीय प्रेम जस्तो लाग्यो । किनकि उहाँको ब्यबहार हार्दिकतापूर्ण बर्गीय पे्रमको व्यवहार थियो । दुखको कुरा एकदिन साँझ म रत्नपार्क बसस्टपनेर पुगेको बेलामा त्यहाँ उहाँसित भेट भयो । उहाँ घर जानको लागि बस कुरिरहनु भएको रहेछ । मलाई त्यतिबेलाको उहाँको निन्याउरो अनुहार अहिले पनि स्मरण हुन्छ । त्यसको भोलिपल्ट म चितवन पुगेर थाहा पाएँ, उहाँ यो संसारमा हुनुहुन्न भनेर । त्यो साँझ नै उहाँसित भेट भएको अन्तिम समय रहेछ ।

भैरब अर्यालसित भेटघाट परिचय पछि हामी केशवराज पिँडालीको कक्षमा गयौँ । मेरो साथीले उहाँसँग एउटा रचनाको लागि कुरा गर्नु भयो । उहाँले तुरुन्तै अहँ हुन्न हुन्न । म रचना दिन सक्दिन भनेर तर्किनु भयो । उहाँसँग हाम्रो पारा मिलेन । हामी नाजवाफ भयौँ । हामी कति आस्था,विश्वास र श्रद्धाकासाथ उहाँकहाँ गएका थियौँ । उहाँले हामीलाई बेवास्ता गरेर पठाउनुभयो । त्यहाँ उहाँ हाकिम हुनुहुन्थ्यो क्यारे । त्यसै भएर पनि हाम्रो बर्ग मिलेन जस्तो लाग्यो । हामी फक्र्यौं । तर केही दिन पछि उहाँले खै कुन पत्रिकाको सम्पादकलाई हो, लेख्नु भएको थियो- “सम्पादकजी तपाई पनि कस्तो ? लागेपछि भुत नै भुत लागेको जस्तै गरेर लाग्नु हुन्छ । मैले जस्तै कर गरे पनि लेख दिन्न भनेको थिएँ, तपाईंले मलाई लेखाई छाडनु भयो ।” उहाँको कुरा पढ्दा भुतको निकै शक्ति हुनेरहेछ, त्यसैले तिमीले पनि आफूले भुत नभए पनि भुतको भिनाजु भनेर आफूलाई चिनाएको होला भन्ने मलाई लागेको छ ।

हामी गोपको कोठाबाट निस्कँदा भैरब अर्यालको हार्दिक व्यवहार र पिँडालीको तिरस्कारको व्यवहार बेहोरेर फर्कियौँ ।

०००

मैले जीबनमा तिमीलाई जम्माजम्मी दुईपटक भेटेको छु । एकपटक काम (श्रम) गर्ने गुठीमा र अर्कोपटक आनन्दले आराम गर्ने ढुङ्गाअड्डा निबासमा ।

मेरो साथी र म तिमीलाई भेट्न मदन पुरस्कार गुठी पाटन गयौँ । तिमी आफ्नो कार्यकक्षमा हँसिलो अनुहारकासाथ बसिरहेका थियौ र हामीलाई देख्नासाथ हार्दिकता दर्साएर हामीलाई त्यहाँ बसाएका थियौ । म त्यो दिन सम्झन्छु । त्यो क्षण स्मरणीय छ । हामीले निकै हार्दिकताकासाथ कुरा गर्‍यौँ । कुरैकुरामा त्यहाँ जेलबाट भरखरै छुटेका नेता राधाकृष्ण मैनालीको प्रसङ्ग निस्क्यो । “कालो न कालो कस्तो डरलाग्दो डाँका जस्तो देखिने मान्छे ।” तिमीले आफ्नो मनको कुरा व्यक्त गर्दा हामीले रमाईलो मानेर मुस्कुराएका थियाँै ।

हामी त्यहाँ तिमीसित हार्दिकताकासाथ कुरा गरेर बसेको बेलामा एकजना हाकिम जस्तो जमिन्दार मालिक जस्तो मानिस आएर टाढाबाट खोई के के भन्दै थियो । तिमीले उसलाई बाबु भनेर आप्mनो कुरा भनेका थियौ । त्यहाँ तिमीप्रति उसले गरेको व्यवहार खै किन हो मलाई असजिलो लाग्यो । गोरखापत्रमा जस्तै त्यहाँ पनि बर्गीय भिन्नताले काम गरेको व्यवहार हामीले मन नपरि नपरि बेहोरियो ।

त्यहाँ त्यो हाकिम हो कि मालिक त्यहाँ नजिक आएको बेलामा तिमीले उसलाई हाम्रो बारेमा भनेपछि उसले हामीलाई उसको कक्षमा लग्यो । नेपाली साहित्यमा आफूले गरेको योगदानको बारेमा केही पुस्तक प्रमाणहरू देखायौँ । यस्तो लाग्थ्यो “तिमीहरू म कहाँ पो पहिले आउनु पथ्र्यो” भनेजस्तो उसको हाउभाउले देखाउने गर्दथ्यो ।

भैरब अर्याल र तिमीलाई भेटेर बेहोरेको अवस्थाको विश्लेषण गर्दा “हाम्रो समाज, परिवार र देशमा वर्गीयता हुन्छ, बर्गसङ्घर्ष हुन्छ” भन्ने कुराको एउटा दरो प्रमाण फेला पारेजस्तो पो लाग्यो मलाई ।

“अहिलेसम्म अस्तित्वमा रहेको समाजको इतिहास वर्गसङघर्षका इतिहास हो” भन्ने कुरा त्यस क्षणमा पनि प्रमाणित भएको जस्तो पो लाग्यो मलाई । वर्गीय समाजमा श्रमजीवीहरू कति मानसिक र शारीरिक रुपले दमित र शोषित रुपमा जिउनु पर्दोरहेछ भन्ने देखाउने गर्छ । सायद यहि दुख र पीडा बिर्सनको लागि नै तिमी र तिमी जस्ताले यो हास्यव्यङ्ग्यलाई अँगालेको हो कि जस्तो पो लाग्यो मलाई । कि कसो हो ?

जीवनभर तिमी विभिन्न अवतारमा बाँच्यौ । अहिले भुत भैसकेका छौ । तिमी यो लोकमा छँदा बेला बेलामा झकभकाउने गर्दथ्यौ । अहिले तिमी परलोकमा छौ र पनि बेलाबेला झकझकाउन छोडेका छैनौ । के ताल हो तिम्रो ? तिम्रो त्यहि झकझकाइले गर्दा मैले तिमीलाई यो इमेल गरेको हो । तिमीले ध्यान दिएर यो मेरा इमेल हेर्नेछौ भन्ने लागेको छ ।

जीवनभर विभिन्न अवतारमा अवतरित हुँदा तिमीले “साधा जीवन उच्च बिचार”को बाटोलाई समायौ । तिमीले जीवनभर त्यसलाई व्यवहारमा लागुगरेका थियौ । त्यो आदर्श अरुलाई पनि तिमीले सिकाएर गएका छौ । धन्य हौ । धन्य छौ तिमी ।

बाँचुन्जेल केही तामझाम गर्नु नपर्ने । त्यस्तो केही नचाहिने । बालकृष्ण समले आफ्नो इच्छा कवितामा समेत ब्रम्हनालको कुरा लेख्ने । तिमी निधन हँुदा भने ब्रम्हनालको कुरै छैन । पशुपति आर्यघाटमा जाने सेलाउने कुरै छैन । चुपचाप मर्ने । चुपचाप आफ्नो क्षेत्रभित्रको बल्खुखोलामा सेलाउन लगाउने । पशुपति आर्यघाट नरोजेर बल्खुखोला रोज्नुमा पनि बर्गसंघर्ष छनक छ भन्ने लाग्छ । तिम्रो त्यो महानता “साधा जीवन उच्चबिचार”को एउटा उदाहरण हो ।
परिवार, समाज, समुदाय र व्यापक रुपमा देशमा भएको वर्गसंघर्षले कोही सफल हुन्छन । कोही असफल हुन्छन् । कोही चुपचाप असह्य बेदना सहेर काम गर्छन् र सकारात्मक नतिजा प्राप्त गर्छन् । कोहीले गर्दैनन् । तर तिमी पहिलो दर्जामा पर्छौ । तिम्रो आवाजबिहिन आवाजको वर्गसंघर्ष त्यतिबेला उत्कर्षमा पुगेको प्रमाणित भयो जब तिमीले आफूलाई दबाएर काम गरेको स्थानको मदन पुरस्कार गुठीले प्रदान गर्ने गरेको पुरस्कारको रकम भन्दा बढि राखेर “बासुदेब विद्यादेव लुइटेल गुठी” स्थापना गर्‍यौ । जीवनभरको वर्गसंघर्षको विजयको उत्कर्षता हासिल गरेर देखायौ । त्यसबाट तिमीलाई के कस्तो आत्मसन्तुष्टि भयो होला भनेर सजिलै अनुमान गर्न सकिन्छ । त्यो तिम्रो सोच र व्यवहार अनुकूल छ । त्यो तिम्रो जीवनभरिको श्रमको, वर्गसंघर्षको विजयको उत्कर्ष हो भन्ने मलाई लागेको छ । तिमी त्यहाँ बसेर, मुसुमुसु हाँसेर यो मोरोले मेरो मनको कुरा कसरी थाहा पाएछ भनेर गम खाइरहेका होलाउ । फेरि मलाई त्यो वर्गसंघर्षकोे कुरासित जोडेर कता मलाई पनि राजनीतिमा फँसाउन खोजेको होला यो मोराले भनेका होलाउ तिमीले । प्रत्येक श्रमजिबी, मेहनतकस जनताले राजनीतिमा चासो राख्नु पर्छ, चेतनशील भएर, संगठित वर्गसंघर्षमा लाग्नु पर्छ र सामाजिक रुपान्तरण गर्नसकिन्छ भन्ने कुरा प्रमाणित भैसकेको छ । यो जीवनको शाश्वत सत्य हो । त्यसैले पीर नमान भूतको भिनाजु । यो वर्गसंघर्षको संसारमा तिमी मात्र एक्लो छैनौ । सम्पूणर् विश्वका श्रमजीवी जनताको मर्म र ब्यथा पनि त्यस्तै छ । ती सबै तिम्रा मित्रहरू हुन् । यसैले तिमी अमर छौ ।

तिमीलाई मैले दुईपटक भेटेको न हो । एकपटक श्रम गर्ने कार्यालयमा र अर्कोकपटक आरामकासाथ आनन्दको स्वास फेर्ने आफ्नै निवासमा । तिमी जस्ता स्वाभिमानी, इमानी, नैतिकवान व्यक्तिलाई मलाई त हजार पटक भेटेको जस्तो लागेको छ । तिमी भूतको भिनाजु भएर भूत भए पनि तिमीले थुप्रै उत्तराधिकारीहरू तयार पारेर गएका छौ । त्यो बाँचेकाहरूलाई ठूलो उपलब्धि हो । तिमी बर्तमानमा जो्डिएका छौ । तिमी भुत, बर्तमान र भविष्य सबै हौ । त्यसैले तिमी अमर छौ । बर्गबिहिन समाजको स्थापनाको लागि सधैँ हस्याङ्गफस्याङ्ग गर्नेहरू सबको जय होस् । तिमीलाई सम्झेर मलाई गोरखापत्रल दैनिक छाप्ने गरेको वाणि सम्झन मन लाग्यो-
“सर्बेभवन्तु सुखिन, सर्ब सन्तु निरामया ।
सर्बे भद्राणि पश्यन्तु मा कश्चिद दुखभाज्जन ।”

त्यस्तै अर्को स्मरणिय वाक्य पनि स्मरणीय छ-
“बहुजन हिताय ।
बहुजन सुखाय ।
भवतु जयमङ्गलम ।
भवदिय बर्तमानम
मित्रप्रसाद ढुङ्गेलम ।

०००
कुलेश्वर, काठमाडौं
२०७९।५।३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x