ईश्वर पाेखरेलफित्कौली सभा र माधव सरसंगको भेटघाट
फुइँ डाक्टर साँच्चै 'फुइँ डाक्टर' नै रहेछन्; काम जति 'एआई’लाई लगाएर 'एआई’ले टिपाई दिएका बुँदाहरू लिएर यसपटक पनि यिनले हामी सबैका सामु समालोचक भएको फुइँ लगाएर छाडे ।

ईश्वर पोखरेल :
माधव सर (प्रा.डा. माधवप्रसाद पोखरेल)लाई भेट्नु थियो । केही महिनाअघि सरले लेख्नु भएको थियो– ‘दुध पोखरेल र पानी पोखरेल दुबै पोखरेल आत्रेय गोत्री हुन् ।’
म यसमा स्पष्ट हुन चाहन्थें । अरु पनि केही खुद्रा जिज्ञासाहरू थिए ।
र, कुनै मौका मिलेको थिएन ।
फित्कौलीको सभामा माधव सरलाई देखें । यस सभामा ‘तपाई छुट्नु हुँदैन है’ भनेर फित्कौली मास्टर नरनाथ लुइटेलले मलाई पनि म्यासेजरमा उर्दी जारी गरेका थिए । र, यही सभामा बाइकलाई तोकिएको स्थानमा थान्को लगाएर फर्किदै गर्दा मैले माधव सर आउँदै गरेको देखेको थिए्ँ ।
यस सभामा माधव सरलाई प्रमुख अतिथी बनाइएको रहेछ ।
सभा सकिएपछि ‘फित्कौली खाजा’ उसिनेको फर्सी, पिँडालु, इस्कुस, सखरखण्ड र तरुल प्लेटमा राख्दै गर्दा माधव सरलाई नजिकै देखें । लाग्यो; अब भेट्न केही सहज भयो ।
सोधें– “सर, यो अनुहार सरको स्मृतिमा कतै छ ?”
२०५१ सालतिर कीर्तिपुरको सरको भाषा विज्ञानको कक्षामा समय मिलाएर यदाकदा म पुग्ने गर्दथें । साहित्यका विविध विधाको शिक्षणक्रममा प्राध्यापकहरू अत्यन्त कल्पनाशील हुन्थे । र, भाषा विज्ञानको कक्षा एउटा यस्तो कक्षा थियो; जहाँ छरितो किसिमले तथ्यहरूको प्राध्यापन हुन्थ्यो । ‘यस्तो पढाउनु पो पढाउनु’ जस्तो लाग्थ्यो; मन पथ्र्यो ।
मैले समाजशास्त्र पढें र मूल रूपमा म समाजशास्त्रको प्राध्यापकका रूपमा चिनिएँ । तर कलेजमा एक दिन यस्तो पनि आयो, क्याम्पस प्रशासनले भन्यो– “तपाईले स्नातक तहमा नेपालीको कक्षा लिई दिनै पर्छ । बरु भन्नोस्; कुन पेपर पढाउनु हुन्छ ?”
म कल्पना र भावनाको बेलगाम उडान होइन; समाजशास्त्रीय तथ्य र सामाजिक विज्ञानको अभ्यासमा लहसिएको समय थियो– त्यो । ती दिन म सामाजिक जीवनमा भावना र कल्पनाकोभन्दा तथ्यको औचित्य बढी देख्थें । मैले माधव सरको कक्षा सम्झिएँ र भनें– “म भाषाविज्ञान पढाउँछु ।”
संयोग कस्तो परेछ भने, मेरा सहकर्मीहरू मलाई जुन विषयको शिक्षण जिम्मा दिन चाहन्थे; मैले स्वेच्छाले त्यही विषय रोजेको थिएँ ।
मेरो प्रश्नमा माधव सरको भृकुटी खुम्चिए । भन्नु भो– “देखेको अनुहार हो । भन्नोस् त ?”
मेरो प्रश्नमा सन्निहित मुर्खतामाथि म मनमनै हाँसें ।
म २०८२ साल कार्तिक २९ गते माधव सरको सामुमा उभिएर उहाँलाई २०५१ सालमा (साक्षात्कारको ३१ वर्षपछि!) यदाकदा कक्षामा उपस्थित हुने विद्यार्थीको अनुहारका बारेमा सोध्दै छु । मैले सोध्नु पथ्र्यो होला– ‘यो अनुहारमा विद्यमान कुनै हिस्सीलाई उत्खनन गर्दै सर आजभन्दा ३०–३१ वर्ष पहिले आफ्नो कक्षामा यदाकदा देखिएको कुनै अनुहारसम्म पुग्न सक्नु हुन्छ ?’
एउटा पोखरेलले अर्को पोखरेललाई भेट्दा सामान्यतया जे कुरा हुन्छ; हाम्रा कुराकानी त्यतै एकोहोरिए ।
सरले माम्खाका आफ्ना केही परिचित पोखरेलको नाम लिएर हाम्रो खलक/परिवारका बारेमा सोध्नु भो । हाम्रा हजुरबा समग्र उमेरको लगभग ३० प्रतिशत र बा ९ प्रतिशत माम्खाको हुनुहुन्थ्यो; मेरो त जन्म र हुर्काई नै सिन्धुलीमा भयो । जसको आजसम्म पुख्र्यौली थलो माम्खा टेक्नेधरि जोग जुरेको छैन; उसलाई ती व्यक्तिको बारेमा के थाहा होस् ? मैले भनें– “म माम्खामूलको तीनपाटन, सिन्धुलीको पोखरेल हुँ । पोखरेल वंशावलीले भने हामीलाई वज्रमोहन र जगन्नाथ (सेतु पाध्या)को खलक र पनाति/खनातिका रूपमा चिनाउँदो रहेछ ।”
केही वर्षअघि बा, आमा र काकाबासंग जमुनोत्री, गंगोत्री, केदार र वद्रीनाथको मन्दिर जाने क्रममा हामीले हरिद्धारमा ब्यानरमा उम्मेदवारका रूपमा देखेका थियौं- डा. रमेशकुमार पोखरियालको नाम । (चुनाव चै जिते कि जितेनन्, कुन्नि! ) सरले भन्नु भयो– “ती पोखरियालहरू आत्रेय गोत्री पोखरेल नै हुन् । तिनीहरू ‘हाम्रा पुर्खा नेपालबाट आएका हुन्’ भन्दछन् ।”
उसिनेको इस्कुस कसरी खाने होला भन्ने कुनै सुझ अजमाउन नसकेर म अलमल्ल पर्दैगर्दाको अवस्थामा भेटिए– युगल बसेल । पत्रपत्रिका र पोर्टलमा नारीले सारी नलगाई दिएकाले यी चिन्ताग्रस्त मुद्रामा देखिन्थे; यहाँ भने कुशलमंगल नै देखिए । अर्घाखाँचीको सन्धिखर्कनेर घर भई हाल काठमाण्डौको सतुंगलमा बस्दै आएका अन्दाजी वर्ष ५७ का युगल बसेललाई पहिलो भेटमै मैले भनें– “प्रोफाइलमा बीस वर्षअघिको फोटो राखेर दुनियाँलाई ढाँट्दै हिड्न पाइन्छ ? मैले अहिले तपाईलाई नचिनेको भए यसको क्षतिपूर्ति कसबाट भर्ताल हुन्थ्यो, भन्नुस् त?”
यी ठहरिए नामी व्यङ्ग्यकार; मलाई उसै किन छाड्थे ? प्रोफाइल पिक्चरकै कुरा निकालेर यिनले मेरो पनि झाँको झारे ।
यस्ता कार्यक्रममा संखुवासभाका पदम दाहाललाई भेट्दा मलाई गलक्क पाकेको पिँडालु राम्रोसंग ताछेर मुखमा हाल्दाखेरिकै जत्तिक्कै खुशी लाग्छ । एक त दाहालजी मेरा पूर्व परिचित हुन् । दोस्रो, यी मेरो साथीका काका हुन्; यिनलाई भेट्दा म मेरा एकसमयका सहकर्मी साथी भूपमणि दाहालको हालखबर सोध्न पाउँछु ।
यसपटक भने यी आफै अल्मलिएको देखिए । भने– “एनजिओमा काम गर्छ । डुलिरहन्छ । काठमाण्डौमै छ; तर खोई कता छ ?”
रमेश शुभेक्ष्युले कता के उपद्रो गरेर हात मर्काएछन्; काम्रो बाँधेको हात लिएर कार्यक्रममा आएका थिए ।
फुइँ डाक्टर साँच्चै ‘फुइँ डाक्टर’ नै रहेछन्; काम जति ‘एआई’लाई लगाएर ‘एआई’ले टिपाई दिएका बुँदाहरू लिएर यसपटक पनि यिनले हामी सबैका सामु समालोचक भएको फुइँ लगाएर छाडे ।
नरनाथ लुइटेलको जुँगा ख्याल गर्नोस् र कोटको रंग, बुट्टा र सिलाइ सम्झिनोस्; यति भएपछि जति वर्षपछि जहाँ भेटे पनि तपाई यिनलाई चिन्नुहुन्छ ।
डिल्लीप्रसाद मुलतिहुन यसपटक पाँचसातजना साथी जम्मा पारेर ‘पत्रौलीको जात्रा’ लिएर आएछन् । भन्दै थिए– “बिहेमा पत्रे लगेको सम्झना छ ? यो खित्कौलीलाई हामीले ल्याएको पत्रे हो/पत्रौली हो । यो हामीले यहाँ जग्गेमा भएका सबैलाई बाँड्नलाई ल्याएको । हल्ला नगरी भलाद्मी भएर बस्नु भो भने तपाईहरू सबैले मुख मिठो पार्नुृहोला ।”
नाङ्लामा ल्याएका थिए । कसोकसो मसम्म पनि आइपुग्यो । हात लम्काएर थापें । हातमा राखी दिए– नभुटेको तीन गेडा मम्फली बदाम ।
धीरेन्द्र प्रेमर्षीले चट्याङ् मास्टरको कालजयी व्यङ्ग्य गजल गाएर सुनाए– “तपाईको यो हालत बनाउने यिनै हुन् …”
२०५२–५३ सालतिर म ‘हिमालय टाइम्स’मा नियमित व्यङ्ग्य लेख्थें । बालमुकुन्ददेव पाण्डे थिए– सम्पादक । लगभग ५०० शब्दको व्यङ्ग्य लेखको पारिश्रमिक दिन्थे रू ३५०/- तिनताका यदाकदा म ‘कान्तिपुर’ र अन्य पत्रिकामा पनि लेख्थें । तर ती सबैको भन्दा बढी पारिश्रमिक दर थियो– ‘हिमालय टाइम्स’को । ती दिन धीरेन्द्र प्रेमर्षि पनि त्यसैमा त्यही व्यङ्ग्य स्तम्भ लेख्थे । (३१ असोज २०८२ मा होटल मेरिअट नक्सालमा भएको ‘बाह्रखरी कथा प्रतियोगिता २०८२ को घोषणा समारोह’मा त्यतिबेला ‘हिमालय टाइम्स’को विचार पृष्ठका सम्पादक गोविन्द अधिकारी सम्झिदै थिए– “तपाई एक समय हिमालय टाइम्सका लागि लेख्नु हुन्थ्यो । मैले तपाईका धेरै लेखरचना पढेको छु ।”) अचेल प्रेमर्षि व्यङ्ग्य लेख्छन् कि लेख्दैनन् ? तर व्यङग्यका यी खाँटी पारखी हुन्; चट्याङ् मास्टरको यो गजल यिनै मुखाग्र सुनाई दिए । यिनको गायकी पनि तारिफ गर्न लायक हुन्छ ।
सुवोध गौतम जे. बी. टुहुरेको गलासहित उपस्थित थिए ।
यस कार्यक्रममा मेरा साथी रमेश ‘समर्थन’को मुक्तक संग्रह पनि लोकार्पण हुँदैछ भन्ने थाहा पाएपछि म दंग परें; साथीसंग पनि भेट हुने भयो भनेर । यिनको मुक्तक संग्रहको नाम रहेछ- ‘बदनाम आँचल’ । (यी ‘आँचल’का बारेमा बढी सोच्न लागेझै देखिएका छन् । यो यिनको के छाँट हो ? भाउजू कता हुनुहुन्छ ?)
बोर त त्यतिबेला भयो; जब यी मञ्चमा देखिएनन् । सोचें- ‘रुपन्देहीदेखि आउँछन् । मुग्लिन पर्तिरको भीर बडो चंचले छ; आउँदै होलान्; आउँछन् ।’ तर कार्यक्रम सकियो; यी आएनन् । यिनको किताव लोकार्पण भएर हाम्रो हातहातमा आयो । यी आउँदैआएनन् ।
माणिकरत्न शाक्यलाई धेरैले ‘नेपाली लेनिन’ भन्दा रहेछन् । यिनको उचाई, दारी र अनुहार हेर्दा यी साँच्चै ‘लेनिनकै भाइभतिजा’ लाग्दा रहेछन् । यी पुरस्कृत हुँदै थिए । मैले बधाई दिएकै थिएँ । फेरि भेट हुँदा यी पुरस्कृत भइसकेका थिए । मैले भनें- “रकम कुन गोजीमा राख्नु भा’ छ ? घर फर्किदा सुरक्षा सतर्कता अपनाउनु होला ।”
यी बैंकका पूर्व कर्मचारी । हाँस्दै भने- “रकम जतिसुकै हओस्; माणिकरत्न बोकेर हिँड्न डराउँदैन ।”
यस कार्यक्रममा बिर्सिनै नहुने एउटा कुरा छ । त्यो के भने अनिल पौडेलको उद्घोषण कला । यिनको व्यङ्ग्य पढ्न बाँकी छ । यिनको उद्घोषण कला भने देखियो, सुनियो । र, दङ्ग परियो ।
०००






































Reporting सटिक छ। धन्यवाद रिपोर्टरको भूमिकामा प्रस्तुत भएका व्यङ्गकारलाई
आज बल्ल समकालीन फोटो हाल्ने हिम्मत भएछ नश्वर शरीरधारी ईश्वरको