ईश्वर पाेखरेलजीमखाना खोल्ने ताकमा
उस्तै परे नेपालीले भात–रोटी खान छाड्ला; घुस छाड्दैन । यही विश्लेषणको आधारभूमिमा उभिएर भन्नुहोस्—जीमखानालाई नेपालको एक आवश्यक र फस्टाउदो ब्यबसायको रूपमा स्वीकार गर्ने ब्यङ्गकारको यो ठहर, के गलत छ ?

ईश्वर पोखरेल :
अख्तियार दुरूपयोग अनुसन्धान आयोग र काठमाण्डौका जीमखानाहरूका बीचमा कस्तो अन्तरसम्बन्ध रहेको छ ? यो खोजिनु पर्ने विषय भएको छ । मान्छेहरू भन्छन्— यीमध्ये पहिलोमा किञ्चित् सक्रियता देखापर्नु के छ; दोस्रोमा मानिसहरूको भीड लाग्ने गर्दछ ।’ ब्याबसायिक विचलनको चर्को चपेटामा पर्दै आएको यो ब्यङ्गकार अब चाडै एउटा जीमखाना खोल्ने तरखरमा छ; त्यसका लागि नारा पनि करिब करिब तय भईसक्यो— ‘स्लीम’ हुने कि चिलिम ?
अचेल रेडियोमा बज्ने भष्टाचार बिरोधी एउटा विज्ञापन सके तपाईले सुन्नु भएको छ—‘ …भष्टाचारले पोल्छ ।’ मैले आफ्नो जीमखानाको लागि नारा तय गर्ने सबालमा यो विज्ञापनबाट गतिलो सहयोग प्राप्त गरेको कुरा स्वीकार गर्न म आनाकानी गर्दिनँ ।
कुनै दिन कंकड तान्नु भएको छ भने तपाई चिलिमसंग भलिभाँती परिचित हुनुहुन्छ । नभए कुमालेको भाँडा उद्योगका सामू केही समय उभिएर हेर्नुहोस् : चिलिमलाई छाडेर बाँकी सबैको गर्भाधान प्रेमी र प्रेमिकाका बीचको मधुरतम् प्रेमालापका क्रममा हुन्छ; तर तपाईको प्रिय चिलिमको गर्भाधान चाहिँ प्रेमालापमा होइन; लात्ती, मुड्की र घुस्साबाट हुन्छ ।
चिलिमको दूर्दशा यत्तिमै समाप्त होला भन्ने सोच्दै हुनुहुन्छ भने त्यो गलत हो । यसका लागि दूर्दशाको अर्को चरण यसको भ्रुणाबस्था हो ।
लात्ती, मुड्की र घुस्साप्रहारपछि चिलिमको भ्रुण कुमालेको चक्रमाथि हुर्किन्छ । कुमालेको चक्रको सम्बन्धमा तपाई जानकार नै हुनुहुन्छ : आफ्नो चक्रमाथि राखेर कुमालेले कलिलो चिलिमलाई यसरी घुमाउँछ; लाग्छ, ऊ चिलिम होइन, नेपालका अड्डाखानाहरूमा मुद्दाको नाममा अनेक फन्का घुमेर पनि आक्रोशित नहुने ‘समझदार’ नेपालीको निर्माण गर्दैछ ।
म त भन्छु— सबुद प्रमाण बुझ्नु पर्ने स्थिति पनि नरहेको र कसैको हकदैयामा असर पार्ने अबस्थामा पनि नरहेको चिलिमलाईसमेत यति विध्न घुमाउन कुशल कुमालेलाई आदरपूर्वक बोलाएर नेपालका अड्डाहरूमध्ये कुनै पनि कार्यालयमा खरिदारदेखि उपसचिबसम्मको कुनै पनि पदमा सोझै नियुक्ति दिए हुन्छ ।
चिलिमको यसपछिको कष्टकर अबस्था हो— गर्भाबस्था । अरुको गर्भावस्था कस्तो हुन्छ ? थाहा छैन । गर्भबाट बाहिर आउनुपर्दा दुःखमनाउ गरेर मानव–शिशु रोएको आधारमा अनुमान गर्न सकिन्छ : त्यो प्रेमपूर्ण हुन्छ । चिलिमको गर्भाबस्था चाहिँ चिम्नी–भट्ठाभित्र बित्ने गर्दछ । चिम्नी–भट्ठाभित्रको पीरो धुँवा, कठोर घोचपेच र प्रचण्ड ताप सहेर चिलिमलाई के खान जन्मिनु परेको हो ! मैले बुझेको छैन ।
चिलिमको दूर्दशा यही समाप्त भए पनि राम्रै हुन्थ्यो; तर चिलिम एउटा यस्तो अभागीको नाम हो— जसले जीवनभर पटक पटक पोलिइरहनु पर्दछ । चिलिमको यो दुःखपूर्ण जीवन–कथा सुनाएपछि म तपाईको निर्णय सुन्न ब्यग्र छु : भन्नुहोस्— तपाई ‘स्लीम’ हुने कि चिलिम ?
खाद्यान्नका रूपमा नेपालमा खेती हँुदै आएका धान, मकै, गहुँ, कोदो, फापर आदिमध्ये प्रथम दर्जाको खाद्यान्न कुन हो ? बिज्ञहरू अब यसको अनुसन्धानमा लागून्; तर नेपालको बिशिष्ट दर्जाको खाद्य हो— घुस । घुसमा अन्तरनिहित पोषकतत्वलाई ख्याल गरेर नै सके बिद्धानहरूले घुस शब्दसंग ‘लिनु/दिनु’भन्दा ‘खानु/खुवाउनु’ शब्दको प्रयोगलाई उचित ठानेका होलान् ।
घुस पोसिलो हुन्छ; त्यसैले अचेल पारिवारिक स्वास्थ्यका लागि भात, रोटी, दाल, तरकारी आदिमा मात्र भर पर्ने राष्ट्रसेबकहरूको संख्या नेपालमा घटेको हुनु पर्छ । भात, रोटी, दाल, तरकारी मात्रै खाएर यो मौसममा पनि बाँच्ने दुस्साहसमा कुनै राष्ट्रसेबक संलग्न छ भने र पण्डितजीहरूले दाबा गरे जस्तै ‘दैवी’ नामको कुनै शक्ति साँच्चै अस्थित्वमा छ भने उसले आफ्नो बलबुताले भ्याएसम्म त्यो त्यसको प्राणको रक्षा गरोस् ।
नेपाली समाजमा घुस पोसिलो मात्र होइन; स्वादिलो पनि मानिन्छ । नेपालका अड्डाखानाहरूमा कुनै कर्मचारीलाई कतै सरुवा गर्नुहोस् र त्यस ठाउँमा प्राप्त हुने दाल, भात, तरकारी, फलफूल, मिठाई आदिको स्वादको धुवाँदार प्रशंसा गर्नुहोस्; तपाईको प्रशंसाले तपाईको कर्मचारीको कानमा बतास लाग्दैन : तपाईले महिनावारी बुझाउने र तपाईको कर्मचारीले सरुवा थमाउन हारगुहार गर्ने स्थान संयोगबस् एउटै हो भने, सरुवापत्र थमाएको भोलिपल्ट केहीछिन पर्खी बसे हुन्छ; ऊसंग तपाईको अर्को भेटघाट अब त्यहीं हुन्छ ।
तर सरुवा गरिएको अमुक ठाउँमा दाल, भात, तरकारी त त्यस्तै हो; घुसचाहिँ भने जत्ति खान पाइन्छ भन्ने कुरा त्यो कर्मचारीको कानमा समेत पर्ने गरी हल्का प्रचार गर्नुहोस; तपाई अब आफ्नो कर्मचारीमा आज्ञाकारिताको अनुपम उदाहरण देख्न सक्नु हुनेछ ।
घुसले नेपाली समाजमा प्राप्त गरेको लोकप्रियताको यो कीर्तिमानबाट यहाँका होटलहरूको ‘मिनु’ प्रभावित नहुनु आश्चर्यको विषय हो । नेपालमा पर्यटन उद्योगको सम्भाव्यतालाई राम्रोसंग पहिचान गर्नका लागि यहाँका भन्सार, कर, मालपोत, भूमिसुधार, अन्तशुल्क, यातायात ब्यवस्था विभाग आदिलाई परीक्षणकै रूपमा भए पनि होटल/रेस्टुरेन्टसंग कुनै न कुनै किसिमले लिङ्क गर्नु आवश्यक देखिएको छ । नेपालका यी सरकारी कार्यालयहरू र यहाँका होटलहरूको बीचमा पाइने समानता अब स्पष्ट छ— यी दुबैमा खान पाइन्छ । यीमध्ये दोस्रोका परिकारहरूको वस्तुगत रूपमा पारख हुन अझै बाँकी छ; सम्पत्ति जाँचबुझ आयोगको प्रतिवेदनले देखाउँछ— पहिलो चाहिँ आफ्नो गुणस्तरमा खरो प्रमाणित भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस बीचमा जो जो माथि आखा लगाएको छ; ती ‘खाने’ र जीमखाना नजाने मानिसहरू हुन् ।
ब्यङ्गकारको निष्कर्ष छ— उस्तै परे नेपालीले भात–रोटी खान छाड्ला; घुस छाड्दैन । यही विश्लेषणको आधारभूमिमा उभिएर भन्नुहोस्—जीमखानालाई नेपालको एक आवश्यक र फस्टाउदो व्यवसायको रूपमा स्वीकार गर्ने व्यङ्ग्यकारको यो ठहर, के गलत छ ?
‘स्लीम’ र चिलिमका बीचको अन्तरसम्बन्ध नकेलाईकन यो लेख पूर्ण हुँदैन । अनिकाल, अभाब र अव्यवस्थाका बीच जन्मिने, हुर्किने र ‘चिलिम हुने’ सबै नेपालीलाई थाहा छ— यी दुईका बीचमा अति नजिकको सम्बन्ध रहेको छ : ‘स्लीम’बाट फुत्रुक ओर्लिनु के छ; ‘चिलिम’ होइन्छ । थाहा पाइराख्नु उचित हुन्छ : ‘स्लीम’ र ‘चिलिम’को बीचको आवागमन काठमाण्डौको ट्राफिक ब्यबस्था जस्तै हो : जान मिल्छ; फर्किन मिल्दैन । अतः ‘स्लीम’ हुन चाहनेले ‘स्लीम’ र ‘चिलिम’का बीचको साँध–सीमाना ख्याल राख्नु चाहिँ आबश्यक हुन्छ ।
०००
‘युवामञ्च’ २०६३ भदौ अङ्कबाट
Subscribe
Login
0 Comments
Oldest









































