साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुदल पार्टी

आउनुहोस्, बहुदल पार्टीमा एकताबद्ध बनौँ र दुई करोड सदस्य पुर्यएर सीधै प्रधानमन्त्रीमा दाबी गरौँ । कसले देशको अरबौँ बजेट ध्वस्त गरेर चुनाव गरिराख्ने झन्झट गरोस् । बहुत हुलदङ्गा र लफडा गर्न सके प्रधानमन्त्री बन्न पाइने कुरामा त ढुक्क हुनुहोस् न ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

बहुको अर्थ हो धेरै । दलको अर्थ नै पार्टी हो भन्ने लाग्छ यो लम्फुदासलाई । दल नेपाली, पार्टी अङ्ग्रेजी ! भाषिक अन्तर मात्र त होला । फेरि दल नै आइसकेपछि पार्टी किन जोड्नु ? अनौठो पनि लाग्ला । कतै भरखरै खुलेको झन्डै आठ दसवटा दलहरू गाँसिएको पार्टीमाथि व्यङ्ग्य कस्न थाल्यो कि भन्ने तर्क पनि गर्न सक्नुहुन्छ । हुन पनि हो आठ दसवटा दल जोडेर बनेको पार्टीलाई बहुदल पार्टी नभनेर किन अर्कै नाम राखेछन् कुन्नि नेताहरूले । यो चाहिँ खोपडीलाई खोस्रँदा पनि खोतल्न नसकेको कुरो हो । नेपाललाई स्वर्गै बनाउँछौँ भनेर पाका पाका अनुभवी नेताहरू मिलेर गठन गरिएको पार्टीलाई नै व्यङ्ग्य हान्न थाल्ने हो भने यो लम्फुदासको के हविगत होला । किन त्यसो गर्थेँ र ! पटक्कै होइन । बरु एक करोड सदस्य पुर्याउने घोषणा गरेका छन् , कतै सदस्यता पाइयो भने मन्त्री पो पड्काउन पाइन्छ कि ! त्यसैले त्यो पार्टीलाई छुँदै छुन्न । आइनोकाइनो नै गर्दिन ।

चुनाव पनि नजिक नजिक आउँदै छ लुखुर लुखुर । भरविश्वास भने पटक्कै छैन, कतै दुर्घटनामा परेर खुट्टा भाँचिने हो र हिँड्नै नसक्ने हुने हो ! अथवा टाउकाको खोपडी नै उछिटिएर सिल्टिमुर खाने हो । त्यसैले नजिक नआउँदै कक्रक्क परेर रोकिन पनि बेर छैन । खै शान्ति सुरक्षा नभै आउन दिँदैनौँ भन्नेहरू पनि छन् एका थरी । शुशिला मात्र भएर कहाँ हुन्छ? शान्ति पनि चाहिन्छ, सुरक्षा पनि चाहिन्छ । होइन गाँठे यो त सत्य कुरा नै हो नि । यस्तो कुरामा पनि विश्वास नगर्नु त भएन बा !

शान्ति, सुरक्षा र सुशिला मिले भने चुनाव जाबो चुड्कीको भरमा भैहाल्छ । त्यसैले एउटा पार्टी दर्ता गराउँ भन्ने सोचमा छु क्या म पनि ! परार सालको चुनावमा भरखरै खुलेको स्वतन्त्र पार्टीले ह्वात्तै चुनाव जितेको कहाँ बिर्सेको छु र? सबै स्वतन्त्रहरूलाई बटुलेर पार्टी बनाए जस्तै मैले पनि बहुदलीय व्यवस्थामा व्यवस्थाअनुकुलको पार्टी बनाउन नपाउने कुरै भएन । त्यसैले बहुदल पार्टी नामाकरण गरेर लागेको हुँ अभियानमा ।

पुराना त पुरानै भैहाले । तिनले केही लछारेनन् भन्ने कुराअझसम्म देख्नुभएको छैन भने मैन बत्ती बालेर हेर्नुहोस् । अब दस वर्षमा नेपाललाई सिङ्गापूर बनाइदिन्छौँ भनेर फेरि कसले पत्याउँछ ? बरु एक वर्षमै चकनाचुर बनाउँछौँ भन्ने हिम्मत गर्ने हो भने भोट पाइने कुरामा दुइमत छैन । त्यसैले हालै दर्ता भएका नयाँ पार्टीहरू जस्तै मेरो पार्टी पनि दर्ता गर्दै छु । विधान बनाउने काम सदस्यहरूको भेलाले गरिहाल्छ । बरु सदस्यता कस्तालाई दिने भन्ने चाहिँ पहिले नै टुङ्ग्याउनुपर्छ । पार्टीको विस्तृत नाम बुझेपछि उता हैन यता होलान् जस्तो लाग्छ एक करोड सदस्य त वामदेव बा ! के कुरा गर्नुहुन्छ तपाईँले !!

हुन त मार्क्स, लेनिन, माओ जस्ता दिग्गज व्यक्तिको नामका पार्टी नभएका होइनन् । अहिले त कुलमान पार्टी, बालेन पार्टी, साङपाङ पार्टी, रवि पार्टी, घनश्याम पार्टी, जनार्दन पार्टी जस्ता थुप्रै पार्टी खुलेको समाचारले हर्षित बनाएको छ । हाम्रै देशभित्रका व्यक्तिहरूको नामका पार्टी झन् बलिया होलान् नि विदेशी नामका भन्दा ! कि कसो ?

मलाई भने व्यक्तिको नामको पार्टी खोल्ने रहर मरिसक्यो । अलिक पुरातनपन्थी छु क्या म ।त्यसैले एमाले, नेका, राप्रपा, लोसपा जस्तै नामधारी पार्टी खोल्न चाहेको हुँ । नाम पनि खत्रै जुराएको छु क्या मैले ।

ए, खुट्टा नखोच्याइकन आउँदै गरेको चुनावमा भोट हाल्न औताइरहेका जनता जनार्दनहरू ! आउनुहोस् मेरो बहुदल पार्टीको सदस्य बन्नुहोस् । मेरो पार्टीको पुरा नाम थाहा पाउनुभयो भने सबै पार्टीबाट यता हाम फालेर आउनुहुने छ । ‘बहुदल’ अर्थात् बहुत हुलदङ्गा लफडा पार्टी हो क्या यसको पूरा नाम । त्यसैले यता आउनुभयो भने चुनावै नलडीकन जित्न सक्नुहुने छ । किनभने यस पार्टीमा हुलदङ्गा र लफडा गर्नेले मात्र सदस्यता पाउँछ । आतङ्क सिर्जना गर्ने, बुथ क्याप्चर गर्ने बानी परेकाहरूलाई सीधै केन्द्रीय सदस्यमा मनोनित गरिनेछ । लौ बहुदल पार्टीलाई विजयी बनाउनुभयो भने अहिलेकै संविधानअनुसार पनि तपाईँलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्न कुनै माइकालालले रोक्ने छैन ।

आउनुहोस्, बहुदल पार्टीमा एकताबद्ध बनौँ र दुई करोड सदस्य पुर्यएर सीधै प्रधानमन्त्रीमा दाबी गरौँ । कसले देशको अरबौँ बजेट ध्वस्त गरेर चुनाव गरिराख्ने झन्झट गरोस् । बहुत हुलदङ्गा र लफडा गर्न सके प्रधानमन्त्री बन्न पाइने कुरामा त ढुक्क हुनुहोस् न ।
जय बहुदलीय व्यवस्था, जय बहुदल पार्टी !!

०००
गुल्मी
लुरुलुरु आउँदै गरेको चुनाव आइपुग्नुभन्दा एक सय आठ दिनअगाडि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
राजधानी गनायाे

राजधानी गनायाे

काशीनाथ मिश्रित
झ्याप्प झ्याप्प

झ्याप्प झ्याप्प

काशीनाथ मिश्रित
रोबोर्ट कवि

रोबोर्ट कवि

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x