काशीनाथ मिश्रितसातौँ सन्तानको पत्र प्रधानमन्त्रीलाई
तपाईँको सरकारी ढुकुटी विप्रेषणको प्रेसरले थाम्नै नसक्ने गरी भराइदिनेछन् । देश समृद्धिको शिखर चढ्न बेरै लाग्ने छैन । म पनि छिटै जन्मन पाएँ भने सुखी नेपाली समृद्ध नेपाल कसो नदेखुला र ।

काशीनाथ मिश्रित :
सम्माननीय प्रधानमन्त्रीज्यू !
जन्मन बाँकी रहेको सातौँ सन्तानको तर्फबाट हार्दिक अभिवादन !!
मलाई यहाँ अज्ञात स्थलमा हाइसन्चो छ, आशा छ तपाईँलाई पनि त्यस आराम कुर्सीमा आरामै होला । जन्मै नभएकालाई कुनै रोगब्याधी लाग्ने कुरो भएन क्यारे । बिभिन्न खाले नसरुवा, सरुवा तथा डरछेरुवा रोग लाग्ने त जन्मेपछि पो हो ।
तपाईँको कार्यकालमा पनि मैले जन्मन पाउने भइन भन्ने कुराले मेरो साह्रै चित्त दुखेको छ । कति कन्जुस हुनुहुँदोरहेछ । जम्मा तेस्रो सन्तानलाई मात्र जन्मने अधिकार दिँदै हुनुहुन्छ । हामी जस्ता चौथो, पाँचौँ, छैठौँ तथा सातौँ सन्तानहरू कहिले जन्मने हो ? के हाम्रो जन्मने अधिकार छैन ? तैपनि तेस्रोसम्म जन्माउन पाउने कुराले केही आशावादी भने छु । कतै झुक्किएर हाम्रा हुन बाँकी रहेका आमाबाबुले ती सन्तानहरू पनि जन्माइहाल्छन् कि भनेर ।
समयमै तपाईँको घोषणा नभएकाले म अझ यस धर्तीमा जन्मन पाएको छैन । आशा छ, अब जन्मन पाउँछु कि ! तर विश्वास भने छैन । घोषणाबमोजिमका सबै काम भएका छैनन् । कतै यो पनि घोषणामै सीमित हुने हो कि भन्ने डर पनि उत्तिकै छ । म जस्ता करोडौँ जन्मन बाँकी रहेका सन्तानहरू छौँ । अझसम्म गर्भमा पुग्न सकेका छैनौँ । यहाँको चाहनाबमोजिम छिटोभन्दा छिटो हामीलाई पनि जन्म लिने सुवर्ण अवसर मिलोस् भन्न चाहन्छु ।
तर प्रधानमन्त्रीज्यू ! सङ्ख्या तोकेर तेस्रो सन्तान मात्र किन भन्नुहुन्छ ? सके जति जन्माउन पाउने अधिकार दिनुहोस् न तपाईँका जनतालाई । यसो गर्ने हो भने तपाईँकै भोट बढ्ने हो क्यारे ! घाटा लाग्दैन होला । तेस्रो सन्तानसम्मको कुराले त म अझ जन्मनै नपाउने भएँ । मलाई पनि तपाईँ जस्तै यस धर्तीमा जन्मने रहर लागेको छ । यसरी अज्ञात स्थलमा छट्पटिएर बस्न कहाँ मन छ र ? मेरो कुरा त राम्ररी बुझ्नुभयो नि ?
तपाईँका भूतपूर्वहरूले गर्दा हाम्रो जन्म हुन सकेन । शिक्षादीक्षा दिन, पालनपोषण गर्न र रोजगार प्रदान गर्न सकस हुने डरले भूतपूर्व तपाईँहरूले दुई मात्र सन्तान ईश्वरका वरदान भन्ने नारालाई अघि सार्नुभयो । अनावश्यक रूपमा जनसङ्ख्या शिक्षा लाद्नुभयो । नानाभाँतीका परिवार नियोजनका साधनको उद्योगधन्दा चलाउनुभयो । गर्भपतनलाई वैधता दिनुभयो । भ्रुणहत्यालाई ठुलो धर्म सम्झनुभयो । फलस्वरूप हाम्रा हुन नसकेका आमाबाबुले हाम्रो जन्म दिन चाहेनन् । मरेपछि नरक परेका तपाईँका पितृ पितामहहरूभन्दा हामी जन्मनै नपाएका सन्तान दरसन्तानहरू यो अज्ञात अन्तरिक्षमा कति छटपटिएका छौँ भन्ने कुरा तपाईँलाई कसरी बताउँ ?
मरेर नरक गएका मान्छेहरूले कति दुःख पाउँछन् भनेर व्याख्या चर्चा गर्न सक्ने व्यास बाजेले गरुड पुराण जस्तै अर्को जन्मपूर्वको पुराण रच्न बिर्सेछन् । अब तपाईँकै कार्यकालमा उन्नाइसौँ ‘अजन्म’ पुराण रचना गर्न लगाउनुहोस् । त्यस पुराणमा नजन्मेका प्राणिहरूले यस धर्तीमा जन्मनका लागि कति लालायित हुन्छन् भन्ने कुराको बेलिविस्तार लगाइयोस् । जन्मेर पापधर्मको भागी भई मरेपछि नरकमा छट्पटिनुभन्दा नजन्मिँदै अज्ञात अन्तरिक्षमा विलुप्त हुनुको पीडा-व्यथा लाखौँ गुना हुन्छ भन्ने चर्चा गरियोस् । यो मेरो मात्र हैन नजन्मेका कैयौँ सन्तान दरसन्तानहरूको आग्रह हो ।
तहाँ नेपालमा संविधान संशोधनको हल्ला चलेको यहाँ अन्तरिक्षमा मैले पनि सुनेको थिएँ । खै त्यो प्रक्रिया के हुँदैछ भन्ने जानकारी पाइएको छैन । पर्खौँ तपाईँको बलियो सरकारले पक्कै गर्ला । त्यो संविधान संशोधन गर्ने नै हुनुभएछ भने मेरो यो सुझावलाई पनि मनन गर्नुहोला । मैले एउटा मात्र संशोधन प्रस्ताव राख्न खोजेको छु । एउटा मौलिक हक थप गर्ने प्रस्ताव हो त्यो । अब एकतीसवटा मौलिक हकले मात्र पुग्दैन । बत्तीस लक्षणले युक्त नारी सुन्दर भएझैँ बत्तीसवटा मौलिक हक भएको संविधान कति सुन्दर बन्ला कल्पना गर्नुहोस् त ! उक्त संशोधनमा राख्नुपर्ने मौलिक हक हो – ‘बच्चा पाउने स्वतन्त्रताको हक’ । अहिले जस्तो दुई मात्र सन्तान जन्माउनुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरियोस् । म आफूलाई हेरेर सातौँ सन्तानको लागि मात्र कुरा गर्दिन । अरुअरुलाई पनि जन्मने अधिकारबाट बन्चित गर्नु हुँदैन ।
त्यसैले बाबुआमाको इच्छाअनुसार सन्तान जन्माउन पाउने संवैधानिक हकको व्यवस्था गरिनुपर्छ । संशोधन प्रस्ताव राख्ने तँ को होस् ? सांसद होइनस्, न त मन्त्री नै होस्, तेरो अधिकार छैन भन्नुहोला । तपाईँले यस्तो ठाडो आदेश पनि गर्ने सम्भावना देख्छु । तपाईँलाई के थाहा ? म नजन्मेका सांसदहरूको प्रतिनिधि हुँ क्या । जन्मन पाएँ भने म सांसद मात्र हैन प्रधानमन्त्री नै बन्न पो सक्छु कि ! अहिले पो जन्मेको छैन र । कम से कम जन्मन त दिनुहोस् ।
पुराना परम्पराहरूलाई रूढीवादी भनेर स्वाठ्ठै मिल्काउन लगाउनुभयो । सबै परम्पराहरू रूढीवादी नै कहाँ हुन्छन् र ? दशैँमा टीका लगाइदिँदा दिने आशीष हुन्थ्यो –‘ सन्तानले डाँडाकाँढा ढाकून् ।‘ खै यो संस्कृतिको जगेर्ना गरेको? खुब आधुनिक र प्रगतिशील छु भन्ठान्नुहुन्छ आफूलाई । आखिर दुई मात्र सन्तानले पुग्दोरहेछ त ? अहिले आएर तेस्रो सन्तान जन्माउनेलाई पुरस्कार दिने घोषणा गर्नु त पर्दैनथ्यो बेलैमा बुद्धि पुगेको भए । पहिले अरुलाई च्वास्स घोच्ने गरी बोल्नुहुन्छ, पछि त्यही आफ्नै बोली पिँडालु बनेर कोक्याउन थाल्छ । कृपया सोचेर बोलिदिनुभयो भने सबैको लोकप्रिय बन्नुहुन्थ्यो ।
होइन, मैले नबुझेको एउटा कुरो छ क्या प्रधानमन्त्रीज्यू ! धेरै सन्तान जन्मेर देशलाई के नोक्सान पर्थ्यो र ? आखिर अहिले सबै विदेशै जान खोज्दारहेछन् । सबैलाई देशभित्रै खाँद्नुपर्ने बाध्यता त हुँदोरहेनछ । आफ्नै देशमा बस्नुपर्ने बाध्यता नभएपछि जति सन्तान जन्माए पनि जन्माउन दिनुपर्छ जनतालाई । विश्वको सबभन्दा बढी जनसङ्ख्या भएको देश भनेर एक पटक नेपालको नाम आएको हेर्ने रहर लाग्या छ के म जन्मेपछि । त्यसैले संविधान संशोधनको प्रस्ताव ल्याएको हुँ । मनन गर्नुहोला । यी हाम्रा उत्तरी र दक्षिणी छिमेकी राष्ट्रहरूलाई मात्र किन धेरै जनसङ्ख्या हुने देश भनेर चिनिन दिने ? सगरमाथाको देश हाम्रो भएपछि जनसङ्ख्या धेरै भएको देश पनि हाम्रै नेपाल बनाउन लागौँ न । ती देशहरूको पो क्षेत्रफल पनि ठुलो भएकाले आफ्नै देशमा जनताहरू अटाएका छन् । हाम्रो देशको क्षेत्रफल सानो भए पनि केही फरक पर्नेवाला छैन । आखिर आवासीय भए पनि गैरआवासीय भए पनि सबै नेपाली नै हुन् क्यारे । नेपालमा जन्मेपछि नेपाली नभएर अरु हुने कुरै भएन । हामी नेपालीहरूले नै विश्व ढाक्नुपर्छ भन्ने चेतना पनि आओस् अब ।अहिलेसम्म त थोरै मात्र विदेशिएका न हुन् । भविष्यमा विश्वका प्रत्येक देशमा नेपालीहरूकै जनसङ्ख्या अधिकतम बनाएर यो पृथ्वीकै नाम नेपाल राख्ने विचार छ मेरो । तर जन्मन चाहिँ पाउनुपर्यो ।
सम्माननीय प्रधानमन्त्रीज्यू ! मेरा धेरैजसो सम्भावित बाआमाहरू विदेशतिर लागिसके । देशभित्रै बसेका हुन नसकेका आमाहरू साठी वर्ष नाघिसके । अब मलाई चाहेर पनि आमाले जन्माउन सक्नेवाला छैनन् । यसर्थ पैँसठ्ठी नाघेका बाहरूले बीस वर्षे युवती आमालाई विवाह गर्न पाउने व्यवस्था पनि गर्नुहोस् । आवश्यक पर्छ भने यसको पनि कानुनी प्रबन्ध गर्न ढिला नगर्नुहोस् । पहिले पहिले त दुई तीनवटी श्रीमती पनि बिहे गर्न पाइन्थ्यो । त्यो परम्परा तोडिएकाले जन्मदर घटेको हो भन्ने तपाईँलाई कसले बुझाइदिने ? यसो भयो भने तेस्रो मात्र हैन म जस्ता जन्मन बाँकी रहेका सातौँ सन्तान पनि सजिलै जन्मनेछौँ । संविधान संशोधनमा विचार पुर्या्उनुपर्ने यो एउटा महत्त्वपूर्ण पक्ष हो । अन्य अन्य बाधक तत्वहरू छन् भने अध्यादेश ल्याएरै भए पनि तुरुन्त हटाउनुहोस् ।
प्रसिद्ध वैज्ञानिक चाल्स डार्बिनको भनाइ सम्झाउन चाहन्छु यहाँलाई । उनले ’हरेक प्राणीले बाँच्नका लागि सङ्घर्ष गर्नुपर्छ ।‘ भनेका थिए । जन्मेपछि सङ्घर्ष गर्नु नपर्ने तोरीको बोट त छैन भने मान्छे हुने कुरै भएन । डार्बिनका अनुसार कसैले बाधा नगर्ने हो भने एउटा सर्स्युँका दानाले दस वर्षमा विश्व ढाक्न सक्छ, बुझ्नु भो ? अन्य जनावरहरूले परिवार नियोजन गरेका छैनन् र पनि त चलेकै छ । हामीले मात्र जन्मनुबाट बन्चित हुनुपर्ने ! यस्तो घोर अन्यायमा किन परिरहने हँ ? तसर्थ ढुक्कले जन्मन दिनुहोस् । जन्मेपछि स्याहारसुसार पाउने नपाउने, दुध चुस्न पाउने नपाउने, पौष्टिक आहार पाउने नपाउने, उचित शिक्षा पाउने नपाउने, रोजगारी पाउने नपाउने त्यसको जिम्मेवार हामी आफै हुन्छौँ । सक्ने बाँच्छ, नसक्ने मर्छ । सरकारले जनतालाई केही गरिदिनु पर्दैन क्या । त्यसको जिम्मेवारी म आफैले लिउँला, सरकारलाई दोष नदिउँला, हुँदैन र ? मात्र जन्मन चाहन्छु म । नजन्मिदै त केही पनि गर्न सकिँदैन ।
गर्भमा रहेको शिक्षा ऐनमा जनसङ्ख्या शिक्षा हटाउने प्रस्ताव ल्याउनुहोस् । अहिले पनि जनसङ्ख्या घटाउने उद्देश्यले स्थापना गरिएको जनसङ्ख्या मन्त्रालय छ । उक्त मन्त्रालय तुरुन्त खारेज गर्नुहोस् । सम्पूर्ण ढाल उद्योगहरूमाथि प्रतिबन्ध लगाउनुहोस् । महिलाहरूले खाने चक्की, प्रयोग गर्ने चक्की, सङ्गिनी सुइ जस्ता अस्थायी साधनहरूको उत्पादनमा रोक लगाउनुहोस् । देशका कुनाकुनासम्म स्थापना गरिएका परिवार नियोजन गर्ने कार्यालयहरू बन्द गराउनुहोस् । ल्याप्रोस्कोपी र भ्यासेक्टोमी गर्न सिकाइएका प्राविधिकहरूलाई कृषि उत्पादन बढाउने विषय विशेषज्ञ बनाउन लैजानुहोस् । धेरै जनताले धेरै जना जन्माएर जहान बढाए भने जापान, जर्मन, जोर्डन, अजरबैजान, अर्जेन्टिना, इजरायल, जिबुटी, ब्राजिल, नाइजेरिया, जर्जिया, जाम्बिया, जमैका जहाँ गएर भए पनि तपाईँको सरकारी ढुकुटी विप्रेषणको प्रेसरले थाम्नै नसक्ने गरी भराइदिनेछन् । देश समृद्धिको शिखर चढ्न बेरै लाग्ने छैन । म पनि छिटै जन्मन पाएँ भने सुखी नेपाली समृद्ध नेपाल कसो नदेखुला र ।
भन्नुपर्ने कुरा त धेरै थिए । पत्र लामै हुन्छ कि भनेर अरु कुरा चाहिँ जन्मेपछि नै गरुँला भन्ने विचार गरेँ । लामै भए पनि झर्को नमानी पढ्नुहोला । आफूलाई पढ्न अल्छी लाग्यो भने पिएलाई पढ्न लगाएर सुने पनि हुन्छ । पत्रमा लेखिएका कुराले कतै मानहानी गरेको ठान्नुभयो भने अदालतमा उजुर गरे पनि केही छैन । पहिलो कुरा त मैले मानहानी हुने गरी यो पत्र लेखेको छैन भन्नेमा ढुक्क छु । दोस्रो कुरा मरिसकेका मान्छेलाई मुद्दा चलाउन नमिले जस्तै म जन्मदै नजन्मेकालाई पनि मुद्दा लगाउन मिल्ने कानुन छैन भन्नेमा विश्वस्त छु । कार्बाहीमा परिएला भन्ने डर रतिभर छैन । लौ त अहिलेलाई यत्तिमै कलम बन्द गर्छु ।
उही तपाईँको-
नाम : जन्मन नपाएको बेनामी
ठेगाना : अन्तरिक्षको अज्ञात स्थल
मिति : मदन भण्डारी मरेको बत्तिस वर्ष चौसठ्ठी दिनपछि ।
०००
गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































