साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्याप्प झ्याप्प

हेर बिजुली मैयाँ ! मैले भनेको मान्छ्यौ भने अहिले जस्तै सधै झुक्याएर जाने गर्नु है तिमीले । सधै हुनेखानेलाई मात्र मख्ख नपार क्या, गरीब दुखीको पीर मर्का पनि बुझ्ने गर । तिम्रो यस किसिमको चर्तिकलाले देश अझै फुर्तिलो बन्छ बुझ्यौ ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

झमक्क साँझ पर्यो ? कि झनक्क रिस उठिहाल्यो । झोक चल्छ भन्या साँझ त पर्नै नहुने ! घाम अस्तायो कि बत्ती निभिहाल्यो झ्याप्प । त्यसो त दिउसैमा पनि बिजुली मैयाँले मेघ गर्जँदाझैँ आँखा झिम्क्याउन थालिसकेकी छन् । आजकल किन यतिसारो लजाएकी हुन् कुन्नि ! एकैछिन पनि टिकेर बस्न सक्दिनन् । कम से कम बाहुन बाजेले साँझको आरती गर्दासम्म त कतै नजानु नि । लुसुक्क हिँडिहाल्छिन् । कुन चाहिँ अल्लारे ठिटाले लभ पारेछ र यिनलाई । मैले त केही मेसोभाँती पाउन सकेको छैन ।

घिसिङ बाजेसित घनिष्ठ लभ थियो क्यारे । उनलाई घोक्रेठ्याक लगाएर घचेटेपछि घुँक्कघुँक्क गरेर रुँदै घोरिएको पनि देखेका थिए दुनियाँका आँखाले । घोसे मुन्टो लगाएको घोप्टे सरकारको घोषणाले गर्दा तिघ्रामा घिउ घसेर घुम्ने कुर्सीमा बस्नेहरूको मात्र घ्याम्पो भरिने भो, घर न घाटका घनटाउकेहरूको त घैँटामा घाम लाग्ने भएन । जतिसुकै घनले घन्टी ठोके पनि घुस्न जान्ने घुसघुसेहरू मात्र घँसिने हुन्, बिचरा बाह्र बजेको घाममा घुँडा धसेर हड्डी घोट्नेहरूको मुटुको घाउ जस्ताको तस्तै छ । बिजुली आउनेजानेसित उनीहरूलाई खासै सरोकार छैन ।

यो हो वर्तमान परिस्थिति । जलस्रोतको दोस्रो धनी देशको दयालाग्दो अवस्था । बिजुली माफिया र तेल माफियाहरूको टक्कर । ईन्भटर उद्योगीहरूको षड्यन्त्र । दन्ते कथा सुन्न मन पराउने नेपाली जनताहरूलाई एकादेशको कथा सुनाउन खोज्ने नेताजीहरूको मनपरी । छोरी कुटेर बुहारी तर्साउने सासूहरूको प्राचीन शैली । धाकभन्दा धक्कु ठुलो हिँड्दाखेरि खुट्टो लुलो गराउने लम्पसारवादीको हुतिहारापन । जो अगुवा उही बाटो हगुवा भन्ने उखानको मूर्त रूप । मैले जे जे भनेँ त्यो बतुराएर भनेको हो भने तपाईहरूले पनि बतुराएरै बुझ्ने बर्गत राख्नुहोस् । झ्याप्प झ्याप्प बिजुली गइरहेपछि कसलाई बतुराउन परोइन हँ ?

गरीब राष्ट्रबाट विकासोन्मुख हुँदै विकासशीलतिर अघि बढ्ने फुर्ति लगाएको हाम्रो देशमा उता दैलेखतिर ग्यास पनि भेटाइदियो रे एउटा छिमेकीले । यो सुनेर अर्को छिमेकीका मुटुमा ढ्याङ्ग्रो पनि ठोक्न थालिसकेको बुझ्यो यो लम्फुदासले । अब रचिने नयाँ षड्यन्त्रका बारेमा हाम्रा दूरदृष्टिवाला चम्बु नेताहरूलाई छेकछन्द नै छैन । पछिबाट मात्र ट्वाँ पर्ने हुन् । अझै उत्तरी छिमेकीले गरेको सहयोग भएपछि दक्षिणी छिमेकीको दिमागको नसा एक्कासी झ्याप्प भएर फ्युज गएछ रे ! मलाई भित्री गुप्तचरले बताएको ।

तल्लारे माइलाले भन्थे, ‘हेर भाइ ! पैले बुझ्न कठिन बुझेपछि कठिन झन् झन् बुझ्यो झन् कठिन ।‘ कुरा गहिरो छ । जति बुझ्न कोशिस गर्यो उति कठिन बन्दै जान्छ । माकुराको जालो फुकाउन बरु सजिलो होला यी बिजुली माफिया र तेल माफियाहरूको जालो अपरम्पार छ । त्रिकालदर्शी कोही छ भने उसले सक्ला अरुले मरे सक्दैन । त्यसैले मलाई गहिराइमा जानु छैन । सतहमा नै डुल्छु । पौडन त यस्तैमा आनन्द हुन्छ ।

झ्याप्प झ्याप्प बत्ती जानेआउने गरेपछि दिमागका तरङ्गहरू पनि झ्याप्प बन्द हुने र झ्वाट्ट खुल्ने हुँदारहेछन् । गर्ने के ? उता बिजुली खपत गर्न भनेर ग्यासको साटो किनेको इन्फारेड नामको चुलामा भात पकाएकी स्वास्नीको कचकच थपिन्छ – ‘एउटा ग्यास पनि राख्नुपर्ने भयो के बुढा !’ यता अनलाइनमा पढ्दै गरेकी छोरीले माग गर्छे- ‘यो वाइफ हो कि वाइफाइ हो बाबा, यसले भएन डाटा लिनुपर्ने भयो, लाइन गए पनि डिस्टब त हुन्थेन ।‘ होइन, ककसको चित्त बुझाउने हो ? बरु मेरा हजुरबाकै जिन्दगी ठिक थियो गाँठे । कम से कम साँझ पर्नुभन्दा पहिले पकाउनका लागि दाउराको जोहो गर्थे, उज्यालोका लागि दियालो तयार पार्थे । थुक्क खोक्रो आधुनिकता !!

झ्याप्प झ्याप्प त हावा लाग्दा टुकी पो निभ्थ्यो । बिजुली निभ्दा पनि झ्याप्प नै हुनु त ? यो अलि सुहाउँदो भएन कि । केही सकारात्मक चिन्तन पनि गरौँ न । सधै गुनासो र गनगन मात्र कति गरिरहनु ? अब बिजुली छिनछिनमै गएन भने मान्छेको दिमागलाई एआई भन्ने नक्कली दिमागले खाइहाल्छ । यसरी बिजुली जानाले केही समय भए पनि मान्छेलाई आफ्नै बुद्धिको प्रयोग गर्ने सुनौलो मौका मिल्छ क्या । नत्र त दिनको पच्चीस घन्टा नक्कली दिमागको दास बनेर आफ्नो वास्तविकपन नै बिर्सन थाल्यो आजको मान्छेले । मेरा बालाई पौने, डेढ र अढाईका दुना कण्ठस्थ थिए । छोरालाई भने छलाई सातले गुन्दा क्याकुलेटर भन्ने भाँडो थिच्नुपर्छ ! कहाँ पुग्यो जमाना ? खोइ मान्छेको दिमाग ? सबै अरुका पछाडि दौडेर आफूले केही नगरेपछि यस्तै आधुनिकताको दास बन्नुबाहेक उपाय पो के छ र । हकिङ भन्ने वैज्ञानिकले नक्कली बुद्धिसित बेलैमा जोगिन भनेका हुन् मान्छेलाई तर उसैले काँचै खाइदेला जस्तो छ ।

झ्याप्पझ्याप्प बिजुली मैयाँले विदा लिएको बेला मात्र मान्छेले दुःखसुखका कुरा गर्न पाउँछन् । प्रकृतितर्फ फर्क भन्ने रुसोको उक्तिलाई आत्मसात गर्न पाउँछन् । फेरि बत्ती नानी आइन् भने त मुवाइल भन्ने कीरोले डसिहाल्छ । त्यसमा आँखा गाडेपछि हड्डीमा गाडेको दाँत कुकुरले बरु झिक्न मान्ला मान्छेले आँखा झिक्दैन । आँखाको रोगबाट मुक्त गर्नका लागि पनि यसरी बिचबिचमा बिजुली मैयाँ झ्याप्प झ्याप्प जाने गरेकी होलिन् । तत्काललाई घाटा जस्तो देखिए पनि दीर्घकाललाई यो नाफाकै कुरा हो । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड । गरीब जनताले धेरै बिजुली बालेर बिल तिर्न सक्दैनन् भन्ने उद्देश्यले यसरी बत्ती निभाउने गरिएको पनि त हुन सक्छ । सकारात्मक सोचौँ न ।

व्याख्या र विश्लेषण नै गर्ने हो भने बिजुली झ्याप्पझ्याप्प गइरहँदा बेफाइदाभन्दा फाइदा नै बढी हुन्छ । लामै चर्चा गर्ने हो भने तपाईँ मुर्छा पर्न बेर छैन । फेरि गनाउने मोजा सुँघाएर जगाउनुपर्ने सकस हुन सक्छ । त्यसैले थोरै उदाहरण मात्र कोट्याउँछु । दिक्क लाग्यो भने यो जैरेले अनावश्यक फाइँफुट्टी गर्छ भनेर पढ्नै छोडिदिनुहोला केही छैन ।

सुन्नुहोस् न सबभन्दा फाइदा म आफैलाई भएको छ क्या । अरुको कुरा किन गर्नु ? कक्षा दसमा प्रोजेक्टरबाट सन्दुक रुइतको जीवनी सम्बन्धी वृत्तचित्र देखाउँदै थिएँ । आधा देखाइसक्दा झ्याप्प बिजुली गयो । अब भएन काइदा । त्यसपछिको कक्षा चिल्लै ! विद्यार्थीलाई पढ्नै परेन, मलाई पढाउनै परेन । म आफैले ठग्न खोजेको हो र ? मलाई बिजुली मैयाँले सुख दिएकी हुन् ।

बिजुली आइरह्यो भने हाते पङ्खा बुन्ने तालिम गरेकाले के खाने ? बत्ती गएका बेला काम लाग्छ भनेर उनीहरूले पङ्खा बेच्न पाउने सुनौलो मौका जुर्छ । आइसक्रिम बेच्न राखेका व्यापारीहरूले यही गरम मौका छोपेर आफ्नो व्यवसाय चलाउन पाउँछन् भएन त मजा ! अनलाइन सिस्टममा पुगिसकेका सरकारी अड्डामा लाइन जानेबित्तिकै कर्मचारीहरूले सुर्ती माड्ने समय पाइहाल्छन् । नत्र काममा धसिएको धसियै गर्नुपर्छ बिचराहरूले । बिजुली नियमित आउने हो भने जेनेटरको बेपार ठप्प हुन्छ । इन्भटर उद्योग बन्द हुन्छ । देशलाई कत्रो घाटा हुन्छ अनुमान गर्नु पर्दैन ?

आजकल प्रशस्त बिजुली उत्पादन भएको छ भनेर तेलगाडीको सट्टा बिजुलीगाडी किन्नेहरूको तँछाडमछाड छ । चार्जिङ स्टेसनमा चार्ज गर्न रोकिराखेको ईभी (इलेक्ट्रिकल भेइकल)ले चार्ज गर्न नपाउँदै बत्ती गयो । अब गुरुजीले अलिकति होटेलको जिनिस खाने मौका पाउँछन् । यात्रीले पनि चियाचमेना गर्नै पर्यो । नत्र होटेल व्यावसायीलाई फाइदा कहाँ हुन्थ्यो र ? यही मौका पारेर चिसोको थप बिक्री हुन्छ । सबैको कल्याण हेर्नुपर्यो नि बिजुली मैयाँले । कहिले जाने कहिले आउने नगर्ने हो भने नियमितता हुन्छ, नियमितताले कसैलाई फाइदा गर्दैन । अनियमितता गर्न पाउनु हामी सबैको नैसर्गिक अधिकार पनि त हो ।

वास्तवमा झ्याप्पझ्याप्प बिजुली जाँदाका धेरै फाइदाहरू छन् । नियमित बिजुली आइरहने हो भने बेरोजगारी समस्या बढ्छ । बिजुली गएका बेला नै हो सबै सगबगाउने । चोरलाई चोर्ने मौका पनि त उज्यालोमा मिल्दैन नि । कारखानामा काम गरिरहेका मजदुरहरूले आराम गर्ने मौका नै पाउँदैनन् । मेसिनसँगै उसकै तालमा काम गर्दा कम्ती सकस हुन्छ र ! यो त गर्नेलाई पो थाहा हुन्छ । कठिन परिश्रम गर्नु नपर्ने भलाद्मीहरूले एसीको चिसो खान पाइएन भनेर सरापेर मात्र हुन्छ र ? बिजुली गएन भने गर्मीमा बस्ने मान्छेले गर्मीको महसुस कहिले गर्ने त ? हेर बिजुली मैयाँ ! मैले भनेको मान्छ्यौ भने अहिले जस्तै सधै झुक्याएर जाने गर्नु है तिमीले । सधै हुनेखानेलाई मात्र मख्ख नपार क्या, गरीब दुखीको पीर मर्का पनि बुझ्ने गर । तिम्रो यस किसिमको चर्तिकलाले देश अझै फुर्तिलो बन्छ बुझ्यौ ?

०००
२०८२ असार २६ गते
रुरुक्षेत्र -५, गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x