कुमार खड्काआसन्न निर्वाचन र झाँकीहरु…
"प्रतिद्वन्द्वीलाई ठोक्ने हो, सिध्याउने हो...! भन्दैछन् मसलधारी कमाण्डो जत्था । त्यसो भनेर क्रोध ओकल्नु भन्दा आ-आफ्ना साँढेलाई दानापानी हाल्ने वा धपाउने कि ? काँध हाल्ने कि ? कोल्टे पार्ने वा उत्तानै पार्ने हो...?"

कुमार खड्का :
“चुनावमा स्याल पनि शेर हुँदै नारा लाउछन्
केहि मान्छे ओल्छाउदा कोही भने रमाउछन्
टाठालाई अपुताली, बेकुफ बन्छन् सज्जनहरु,
चिट्ठा पार्ने हुन्छन् कति बुझ्नेले चिन्ता जगाउछन् ।”
००
“मासुभात खाइँदैन, (फलानो ढिस्कानो ) चाहिँदैन…!” हावाको लहरमा माइकबाट गुञ्जायमान हुन्छन्, मासुभातकै तागतले नारा फलाक्नेहरुको उराठ लाग्दो आवाज ।
“पुरानै नकारात्मक चेतको धङ्धङी छ अझै, उफ्…!” दालमोठ चिउरा खाइन्छ, (फलानो ढिस्कानो) जिताइन्छ !” भने पनि त अलिकति सकारात्मक सोचको झल्को पाइन्थ्यो होला कि ?
“तपाइँहरु रक्सी, मासु र नगदमा नबिक्नुस्…!” भनेर अर्ति र सुझावको लेक्चर दिँदै थिए एकजना अपुतालीमा चुनावी लाइसेन्स पाउन सफल उम्मेदवार । जनतालाई “अर्ति फलाक्नुको साटो” भावि सन्ततिको भविष्य निम्ति विवेकको प्रयोग गर्नुहोस् !” भन्ने जस्ता अनुरोधात्मक वाक्यहरु ओकेल्न सकेका भए कति राम्रो हुन्थ्यो होला ? अहिलेको नयाँ परिवेशमा फलानो पाटीको उम्मेदवारको चेतना स्तरले नयाँ लिस्नो चढेछ कि कि त ? भन्ने भान हुन्थ्यो । थोरै परिवर्तनको महसुस पनि हुन्थ्यो । अहिलेको जमानामा मासु र रक्सीमै बिक्नेको संख्यामा अलि कमिनै आयो कि ? ठाउँ विशेषको मूल्याङ्कन समेत नगरी निम्नकोटिको उपदेश दिनुले अहिलेको सभ्य चेतका मतदाताको स्तरलाई अवमूल्यन गरिएको त हैन ? ती उम्मेदवारको विज्ञापन प्रबर्द्धनको चेत अलि प्रभावी भएन कि ? झैँ लाग्यो मलाई !
त्यो दरीद्र सोचले सम्बन्धित जत्थालाई भन्दा मलाई चिन्ता लागेर कताकता विरह जाग्यो । हिजोआज चलनचल्तीको भाषागत ज्ञान अभावको कारण ती बबुरोले तजविज पुर्याएर बोल्न नजानेका हुन् कि राजनीतिक दल, गुटमा कतै सम्बद्ध नभै स्वतन्त्र रहन प्रयास गर्ने यो कुवाको व्याङलाइ आधुनिक राजनीतिको ज्ञान नभएर हो ? हुन पनि यो बबुरोलाई नव गणतन्त्रका डिठ्ठाहरुलाई झैँ सबै कुराको जानकारी हुनुपर्छ भन्ने पनि त छैन नि, हैन र ?
“प्रतिद्वन्द्वीलाई ठोक्ने हो, सिध्याउने हो…! भन्दैछन् मसलधारी कमाण्डो जत्था । त्यसो भनेर क्रोध ओकल्नु भन्दा आ-आफ्ना साँढेलाई दानापानी हाल्ने वा धपाउने कि ? काँध हाल्ने कि ? कोल्टे पार्ने वा उत्तानै पार्ने हो…?” त्यहि अनुसार गरे भै गो नि त । आफ्नाको म्वाइ खाएर तलुवानै चाटे पनि हामीलाइ बाल मतलब ? तर समाजमा “अनुशासनहीनता वा अश्लीलता कायमै छ, दासता ज्युँदै छ…!” भनेर देखाउने र जनताकोअस्तित्वलाई अवमूल्यन गर्दै चुनौती दिने कुराभने सैह्य हुँदैन, यो बुज्रुक मनुवालाई । कुरा त्यति हो ।
अर्को ‘फलानो’ पार्टीको नेता कुर्लदै थिए…! अबको यो अन्तिम मौका उनलाई दिए देश सिङ्गापुर हैन स्विजरल्याण्डनै बनाइदिने प्रतिज्ञा गर्दै आफ्नो पक्षमा मतदान गर्न जनताजनार्दनसँग अनुनय विनय गर्दै थिए । लाग्थ्यो उनी अहिलेसम्मकै इमान्दार, देशभक्त भिजनरी नेता हुन् । केही गर्न खोज्दाखोज्दै अरु देश द्रोहीहरुले छिर्केनी हालेर लडाएको मात्र हो, उनलाई…! नत्र, जनताको मनले कल्पेको लोभलाग्दो नयाँ नेपाल बनाउथे अरे ! ऊ…
“ब्रेक थ्रु गर्दै मैदानमा छक्का हान्छु भन्छ अझै
हातखुट्टा चले पेनाल्टी पक्का हान्छु भन्छ अझै
एक चौथाइ भए पनि तीन चौथाइलाई ङ्याक्दै,
दुनियाँको जादुले नयाँ धक्का हान्छु भन्छ अझै ।”
००
फलानो पार्टी नेताको भाषण सुनेर अर्कोतिर फेरि ‘ढिस्कानो’ पार्टीका नेता कुर्लदै मतदाता सामु वाचा गर्दै उनको पार्टीलाई भोट दिएर विजयी गराउन लोकप्रीय योजनाको फेहरिस्त फलाक्दै थिए …
“गाउँ टोलमै airport बादलमा च्याउ खेती गर्ने
टुडीखेलमा Oil well, cash crop हात पर्ने
बिना परीक्षा certificate, पैसैपैसा money plant मा,
सगरमाथामा viewTower पौष्टिक हावाले पेटभर्ने ।”
“घरको छतमै Helipad, remote थिच्दै एमेरिका
मंगलसम्म Railway lik पर्यटनमा एन्टार्काटिका
भान्सामा अविरल gas, एथावत ध्वजावाहक रेल,
हाम्रो विकास heart… n soul बाँकी अरु फिका ।”
००
को भन्दा को कम ? फलानो, ढिस्कानो पार्टीको दोहोरी सुन्दासुन्दै केही वर्ष पहिले ‘तिल्के तिलानो’ पाटीका नेताहरुले दिएका नीतिगत गफको पनि सम्झना आउँदा मनले विचार्दै गर्छ यो बबुरो…!
“Remote hydro trading को बकवास भएकै हो
Force load sheding को कयौं घाउ सहेकै हो
Satellite city को आख्यान promote हुँदाहुँदै,
हाम्रो ध्यान Multi Airport gain तर्फ गएकै हो ।”
००
“जङ्गलले दिएको CO2 ले हृदयघात भएकै हो
औठाछाप नेताका शब्दले भित्र धक रहेकै हो
धूर्त्याँइ र रङ्गीन नीलो स्यालको कथा सम्झदा,
भान्साको gasoline आपूर्तिको गफ सहेकै हो ।”
००
यस्ता मनगढन्ते गफ सुन्दा र सम्झदा लाग्छ कि…
“नेतृत्व हावी हुन्छ जब दुर्बुद्धि र मन्दबुद्धिको
तारा झार्नु भन्दा अझै कठिन हुन्छ समृद्धिको
कुसन्तानको जन्मभन्दा कोखै बाँझो राम्रो हुन्छ,
बकवासे जिब्रो भन्दा लठेब्रेमै छ श्रीवृद्धिको ।”
००
अझ “ताप्के तात्नु भन्दा बिंड ताते जस्तै,
भोलेलाई भन्दा झोलाई खाँचो जस्तै…!”
मूख्य र ‘खास’ भन्दा ‘दास’ र झोलेहरुको खाइन्दो, सिकाई, कुर्लाई, गार्गारगुरगुर र ङार्ङारङुर्ङुरले माहोललाई टिठलाग्दो गराएको छ । भट्टी र स्थानिय चिया पसल एवं सार्वजनिक स्थल त कोराकोर र फोराफोरको खेल मैदान बनेका छन् अहिले ।
सन्दर्भ (२)
मलाई व्यवस्थापन विषय अध्ययन गर्दा बखतको 3C theory याद आयो । व्यापार नीतिको convince, confuse र Corruption, याने उल्लेखित प्रतिज्ञा वाचन, विशुद्ध कुटनीतिक । तपशिलका धारामा उल्लेखित “२ नम्बरी…!”
धारा- १
आफ्नो पूर्ण तयारीका साथ शक्ति, बुद्धि, क्षमता लगाएर प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धीलाई fairly dominent गरेर जित्ने competent theory. यो सभ्य समाजमा अपनाइने उत्तम विधि हो । हाल यसको प्रयोग भाइचारा र आफ्नै बालबच्चा सँगको खेल खेल्न, खेलाउन बाहेक अन्यत्र प्रतिस्पर्धामा प्रयोग भएको देखिदैन । यो सिद्धान्त देवताहरुकै राज्यमा पनि लागु भएको देखिएन । बरु अहिले विकसित राष्ट्रहरुले विभिन्न उपयुक्त र सम्बद्ध सूचाङ्कहरुको व्यवस्था गरेर लोकतन्त्रको जग बलियो बनाउनको निम्ति यो विधि अपनाउने गरेका छन् ।
धारा-२
प्रतिद्वन्द्वीलाई साम, दाम, दण्ड, भेदको कुटनीति, प्रोपोगन्डा र भ्रम समेत सृजना गरि परास्त गर्ने यो वीधि diplomatic र confusion theory अन्तर्गत पर्दछ । शिक्षित र धूर्त्याइँको राजनीतिमा अपनाइने वास्तविक र समुन्नत विधि जस्तो लाग्छ यो । हाम्रो जस्तो देशमा विशेषगरि सहरी र शिक्षित क्षेत्रहरुमा निर्वाचनको दौरानमा केही हदसम्म लागू भएका छन्, हुन सक्छन् । यिनै सिद्धान्तमा आधारित प्रतिज्ञापत्र प्रस्तुतिको उदाहरण केही हदसम्म लागू भएको कुरा माथिनै उल्लेख गरिसकेको छु ।
धारा-३
प्रतिद्वन्द्वीलाई छेकथुन, बारबन्देजका अवरोध लगायत (3m) man, muscles, money को चलखेलले आतङ्क सृजना गर्ने, उसको मौलिक राजनीतिक अधिकारलाई कुण्ठित गर्ने, हातमै कानुन लिई शक्ति र दम्भको नीतिले दमन मार्फत सखाप पार्ने Conspiracy वा 3m corruption theory. यो लुटेराहरुको बाहुल्यता भएको समाजमा लोकतन्त्रको नाउमा अपनाइने सबैभन्दा घटिया अलोकतान्त्रिक र अपराधिक विधि हो । आम अल्पविकसित र अविकसित राष्ट्रहरुमा लागू हुने यो विधि हाम्रो जस्तो देशमा बढी प्रयोग हुनेगरेको देखिन्छ । सहरी क्षेत्रका “पछौटे पकेट” क्षेत्रहरु लगायत मोफसलमा अत्यधिक लागू हुने सामान्य सिद्धान्त यसैका आधारमा कायम रहेको देखिन्छ ।
हिजो राज्य शक्तिको चरम दुरुपयोग गरि भ्रष्टाचार र व्यभिचारमा लिप्त शक्तिहरुनै अहिले प्रस्तुत तेस्रो विधि अपनाएर नयाँ प्रतिद्वन्दी शक्तिलाई अझै परास्त गर्ने दुस्वप्न देख्दैछन् । अल्पमतले बहुमतलाई शासन गर्ने लोकतन्त्रमा अझै पनि gen- z आन्दोलनको पृष्ठभूमिमा बनेको नागरिक सरकार मार्फत हुनलागेको निर्वाचनमा मुट्ठीभरका शक्तिले आम प्रस्तिस्पर्धी र समर्थक मतदातामाथि खुल्लेआम तिघ्रेतन्त्र लाद्ने रियल्सल गर्दैछन्, जुन अत्यन्तै दु:खद छ । अझै स्वतन्त्र र धाँधली रहित चुनाव गराउन प्रतिबद्ध सरकारमा आवद्ध मन्त्रीहरुनै धमाधम राजिनामा गरि आफ्नै वचनलाई समेत धोका दिँदै दलको सदस्यता लिएर चुनावमा होमिएको स्थिति दुखान्त र नाटकीय छ । यसले प्रबुद्धका सङ्कल्प र नैतिकताको धरातलिय जग कति सवल रहेछ भन्ने पनि जगजाहेर हुन्छ ।
तथापि,
अर्कोतर्फ औँशीको रातमा देखिएको जुनकिरीको उज्यालो पक्षलाई भने जोगाउन जरुरी छ । त्यही सन्दर्भका एक पात्र जनता बिच भन्दैछन्…
“म पनि चुनावमा उठेको छु, मन परे भोट दिनुस्, मन नपरे नदिनुस् ! जस्लाई मनपर्छ उसैलाई भोट दिनोस्…!” जनता बिचकै “हिलोमा उम्रिएका कमल…” लाई भने नजर अन्दाज गरिनु हुँदैन, गरियोभने सबै जिम्मेवार र बुज्रुकहरुलाई पाप लाग्नेछ, धर्तीले श्राप दिनेछ । विना तामझाम, विना सुरक्षा, विना सङ्कोच जनतासँग साक्षात्कार गर्ने र सत्विचारको विजारोपण गर्ने मनसायले स्वतन्त्र प्रस्तुति दिएका व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्नुनै छ । प्रेरणा लिनुपर्नेनै छ । परिवर्तन पक्षका अन्य नयाँ शक्तिहरु समेतलाई मध्यनजर गर्दै आफ्नो अमूल्य मत सदुपयोग गर्नसके राष्ट्रको हित हुने अध्यायले सुरुवात गर्न सक्ला कि ?
सोचौं…!
“इमानले घुँडा टेक्दा स्वार्थले चियाउँदै हुन्छ
मौकामा चौका मात्र हान्नेले खिज्याउँदै हुन्छ
घोक्ने कोरा शब्द बन्छन् केवल राष्ट्र, राष्ट्रियता,
खेलाँचीले स्वयंलाई मन्दविष पिलाउदै हुन्छ ।”
००
त्यसैले कामना गर्न सकौं…
“नहुनुथियो, हत्या, हिंसा भो आइन्दा कैले नहोस्
रगत बगिसक्यो अब सेवा, श्रमको पसिना बगोस्
खोलौं सत्कर्मको ढोका सोचेर बलिदान शहीदका,
निर्माण, विकासका लहर फैलिदै शान्तिले वास गरोस् ।”
आसन्न निर्वाचनमा सद्विचार र विवेकको सहि मुल्याङ्कनले मतदान गर्नसके राष्ट्रको मनोकामना पूर्ण हुनमा सहयोग मिल्थ्यो कि ? आन्दोलनको घाउमा केही मल्हमपट्टिको प्रयास्मा राहत हुन्थ्यो कि ?
विवेकशील मतदाता, उम्मेदवार लगायत सम्बद्ध सबैको जय होस्…! सत्यको विजय होस्…!! अस्तु…!!!
०००
आलापोट, काठमाण्डौं।
२०८२/१०/०९
Subscribe
Login
0 Comments
Oldest







































