हरिशंकर परसाईंतीन व्यङ्ग्यात्मक लघुकथा
त्यहाँ एउटा जनै र तिलक लगाएको मानिस बर्थडे केक काट्तै थियो । राजाले मन्त्रीसित सोधे, ‘के हो यो ?’ मन्त्रीले भने, ‘महाराज, यही त हो नि हाम्रो भारतीय आधुनिकता !’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद रमेश समर्थन
१. वकिल
कुनै समयको कुरो हो । कुतर्कतीर्थ पं. फौजदारी आफ्नो समयका सबैभन्दा ठुला वकिल थिए । उनकी एउटी छोरी मात्र थिइन् । उनी आफ्नो परम्परा यसै गरी बढिरहोस् भनेर आफ्नी छोरीको विवाह कुनै यस्तो प्रतिभाशाली युवक वकिलसँग गरिदिन चाहन्थे ।
उनको चाहना बुझेर एक दिन पाँचछजना प्रतिभाशाली युवकहरू उनीलाई भेट्न आए र आआफ्नो प्रतिभाको बखान गर्न थाले ।
एउटाले भन्यो, ‘मेरो लाइब्रेरीमा कानुनका एक लाख किताबहरू छन् र म प्रतिदिन दश घण्टा अध्ययन गर्छु ।’
अर्कोले भन्यो, ‘क्रस एक्जामिनेसनमा त बडा बडा जजहरूले पनि मेरो प्रतिभाको सराहना गर्छन् ।’
तेस्रोले भन्यो, ‘कानुनको सूक्ष्मतामा त कसैसँग पनि मेरो तुलना हुन सक्दैन ।’
सबैले आआफ्नो गुणहरू बताए । एउटा तन्नेरी वकिल भने केही नबोली बसिरहेको थियो । पण्डित फौजदारीले उसलाई भने, ‘तिमीले केही भनेनौ त ! तिम्रो लाइब्रेरी कस्तो छ ? तिम्रो तर्कशक्ति कस्तो छ ? तिम्रो अध्ययन कस्तो छ ? आदि ?’
उसले भन्यो, ‘तपाई त यी किताब, अध्ययन र तर्कको फेरीमा पर्दै पर्नुहुन्न । तपाईं त सोझै साक्षीलाई भाँड्नुहुन्छ र जित्नुहुन्छ । यसैबाट तपाईंको अभ्यास चलेकै छ ।’
वकिलसाहेबले उसैसित आफ्नी छोरीको विवाह गरिदिए ।
००
२.आधुनिक
एउटा राजा भेस बदलेर आफ्नो मन्त्रीसित प्रजाको हालतह हेर्न निस्किँदा रहेछन् ।
एक दिन राजाले एउटा झ्यालबाट एउटा घरमित्र हेर्दै थिए । त्यहाँ एउटा जनै र तिलक लगाएको मानिस बर्थडे केक काट्तै थियो ।
राजाले मन्त्रीसित सोधे, ‘के हो यो ?’
मन्त्रीले भने, ‘महाराज, यही त हो नि हाम्रो भारतीय आधुनिकता !’
००
३. भगवान्को प्रकाश (खुदा का नूर)
हजरत मुसा नामका एकजना सज्जन दिक्दारिएर पहाडमाथि गएछन् र एकै छि एकान्तमा शान्तिले बसुँला भनेर सोचेछन् । उनले आँखा चिम्लेर भगवान्को स्मरण गर्न थालेछन् । आँखा उघार्दा त के देखेछन् भने जसलाई उनले थुप्रै उधारो र सापटी तिर्न बाँकी थियो उही नुरू नामको बनियाँ उभिएको छ ! नुरूले भनेछ, ‘के हो ? उधारो तिर्न मन नलागेर यहाँ आएर मुख लुकाउन खोज्यौ ?’
हजरत मुसा उसलाई देखेर बेहोस भएछन् ।
मानिसहरूले उनलाई उठाएर लगेछन् उनी त भगवान्को प्रकाश देखेर बेहोस भएका हुन् भनेर प्रचार गरिदिएछन् ।
वास्तवमा उनी त साहूलाई देखेर बेहोस भएका थिए र साहूहरू नै यथार्थमा भगवान्का प्रकाश हुन्छन् ।
०००
यसमा परेका लघुकथाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली’ २ को ‘पाँच लघुकथाएँ’बाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest







































