हरिशंकर परसाईंतिवारीजीको कथा
रजनीको विवाह त होला तर उसले जीवनभरि नै तपाईंलाई आफ्नो परिवारलाई नष्ट गर्ने नीच तथा दुष्ट मान्नेछे । उसले तपाईंलाई घृणा गर्नेछे ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
तिवारीजी निकै असल मान्छे हुन् । उनको पुत्र अविनाश राम्रो युवक हो । ऊ लखनऊमा इन्जिनियर छ ।
तिवारीले अविनाशको विवाह गर्नु थियो । उनी ‘टेन्डर’ लिएर घुम्दै थिए । कसैले आफ्नी छोरीको कुरो गर्यो भने उनी भन्ने गर्थे, ‘‘कानपुरका मिसिरजीले तिस हजार भनेका छन्, इलाहावादका दुवेजी पैँतिस हजार दिन तयार छन् । त्यहीँ ग्वालियरका पाण्डेजीले त चालिस हजार भनेका छन् । अब तपाईं पनि आफ्नो कुरो गर्नुस् । म टिपेर राख्छु र पछि तपाईलाई खबर गर्नेछु ।’’
अनि उसले भन्ने गर्थ्यो, ‘‘तिवारीजी, चालिस पैँतालिस हजार त आई.ए.एस. अफिसरको दर हो । तपाईंका छोरा त इन्जिनियर मात्र त हुन् नि !’’
तिवारीले भन्थे, ‘‘उसो भए तपाईंलाई नयाँ दर थाहा रहेनछ । आई. ए. एस.ले त एक लाख पाउन थालेको छ ।’’
लखनऊमै थिए एकजना पाण्डेजी । सामान्य हैसियतका व्यक्ति थिए । अविनाश त्यस परिवारमा आउनेजाने गर्थ्यो । उनकी एउटी छोरी थिई जसको नाम थियो रजनी । अविनाशले त्यसलाई खुबै मन पराउँथ्यो । अविनाशकी आमाले एउटा विवाहमा लखनऊ गएको वेला उसलाई देखेकी थिइन् र उसको घर पनि गएकी थिइन् । उनलाई पनि त्यो केटी खुब मन परेकी थिई । तिवारिनीले तिवारीजीलाई भनिन्, ‘‘त्यो केटी त हाम्रो अविनाशका लागि एकदम ठिक छे नि !’’
पाण्डेजी कुरा गर्न आए । तिवारीजीले भने, ‘‘तपाईंकी छोरी हाम्री बुहारी बनेर आइन् भने हामीलाई खुसी हुनेछ । छोराको चाहना पनि यही छ । तर परम्पराको निर्वाह पनि गर्नुपर्छ । बाबुबाजेले बनाएको बाटो छोड्न पनि त भएन नि ! धर्मको पालन भएन भने अशुभ हुन्छ । आगराका पाण्डेजी चालिस हजार दिन तयार हुनुहुन्छ । तर तपाईंसित भने हामी तिस हजार मात्र लिन्छौँ । योभन्दा कम त हुन्न है !’’
केटीका बाबुले आफ्नो असमर्थता देखाए । केही कम गर्नका लागि अनुरोध गरे । तर तिवारीजी आफ्नो धर्ममार्गबाट विचलित भएनन् । अन्तमा पाण्डेजी पन्ध्र दिनमा म उत्तर पठाउने छु भनेर गए ।
पन्ध्रबिस दिनपछि पाण्डेजीको खबर त आएन तर अविनाशको चिठी भने आयो —
पूज्य बुवा !
दण्डवत् सेवा ।
तपाईंले रजनीका बुवाले तपाईंलाई भेट्नुभएको रहेछ । तपाईंले उहाँसित तिस हजार माग्नुभएछ । तपार्इंले राम्रै गर्नुभएछ । तर पाण्डेजीको आर्थिक अवस्था त्यति राम्रो छैन । उहाँकी छोरीलाई बुहारीका रूपमा पाएर तपाईंलाई अवश्य खुसी हुनेछ । तर उनीहरू भने आफ्नो घर बेचेर बिस हजार रुपैयाँ जुटाउने प्रयासमा छन् । मलाई लाग्यो यदि रजनीका बुवाले घर बेचेर तपाईंलाई रुपैयाँ दिनुभयो भने उहाँको परिवार नै सङ्कटमा पर्नेछ जसको असर रजनीमा पनि पर्नेछ । कुनै छोरीमा पनि पर्ने नै भयो । रजनीको विवाह त होला तर उसले जीवनभरि नै तपाईंलाई आफ्नो परिवारलाई नष्ट गर्ने नीच तथा दुष्ट मान्नेछे । उसले तपाईंलाई घृणा गर्नेछे । म त तपाईंको आज्ञाकारी छोरो हुँ र तपाईंमाथि श्रद्धा गर्छु । त्यसैले मेरी पत्नीले मेरै पितालाई नीच तथा दुष्ट ठानेको सहन सक्दिनँ र तपाईंले पनि यस्ती बुहारी त पक्कै चाहनुभएको होइन ।
त्यसैले मैले तपाईंकै हितलाई ध्यानमा राखेर केही पनि नलिइकन अदालतमा गएर विवाह गरेँ । यो थाहा पाएर तपाईंलाई पक्कै प्रसन्नता हुनेछ । कृपया हामीलाई आशीर्वाद दिनुहोला ।
०००
परसाईंको ‘परसाई रचनावली’ २ अन्तर्गत ‘लघुकथाएँ’ खण्डअन्तर्गतका कथाहरूबाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest






































