साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधाले बाधा

ग्याँस किन्न दिएको पैसा गाँजा किनेर गन्जागोल पारेपछि गोलन्जोरको गुमाने कता गुल्टियो आजसम्म पत्तो छैन । आधाले बाधा गर्‍यो भने व्यथा बल्झन्छ ।

Nepal Telecom ad

भलादमी भोला :

आज बिहान एकाएक घरको भान्छाबाट बुढीले हात झिक्ने कुरा गरी । उसको गुनासो नसुन्दा मेरो ढन्नासो फुस्किन सक्थ्यो। सन्नासोले किला चेपे जसरी कुरा गरेपछि उसको कुरा नसुनी मैले धरै पाइन।

नुनको डब्बामा नुन छैन । मेरो कानमा सुन छैन । तसलामा मसला नहाले तरकारी मिठो हुँदैन । भुटुनको भाउ बढेर मुटु नै अठ्याउन लागिसक्यो । चौल्याउनलाई भाँडामा सामल छैन । यो लाइटर पनि के भाको ठ्यास ठ्यास पार्दा पनि ग्यास बल्दैन । अब मेरो हातले यो भान्सा पर्गेल्न सक्दैन ।

लौ, प-यो फसाद ! घरको भान्साबाट विद्रोहको स्वर आएपछि म छलफलका लागि भान्सा कोठाको भाँचिएको कुर्सीमा जसो तसो बसेँ ।संयुक्त राष्ट्रसङ्घको बैठकमा भोकमरी निवारणका लागि यसरी छलफल हुन्छ हुँदैन थाहा भएन तर आज घरभित्र गहन छलफल भयो । घर खर्च नटरेपछि अब खानेकुरामा व्यापक कटौती गर्नुपर्ने आवाज उठ्यो । दाल, तरकारी, अचारबाट दाल र अचार कटौती गरी तरकारी मात्र थमौती गर्ने निर्णय भयो । भातका लागि बिहान र बेलुकाको भोजन समयलाई यथाशक्य तन्काउँदै जाने निर्णय भयो ।

घरभित्र लामो समय नबस्ने, तलतल लागे पानी पिउने । चौतारोतिर गएर शीतल ताप्ने । खाना खानको लागि तोकिएको समयमा आफू मात्र सुटुक्क भित्र पस्ने । पाहुनाहरूका लागि उनीहरूले ल्याएको कोसेली उनीहरूकै अगाडि भाग लगाई हाँसीखुसी खाने निर्णय भयो । खाली हात पाहुन लाग्न आउनेलाई पानी मात्र दिएर स्वागत गर्ने निर्णय गरियो। एक महिनाका लागि आफ्नै पदमा रहेर काम गर्न श्रीमतीलाई आग्रह गरी ,आवश्यक खर्च जोहो गर्ने निर्णय गरियो।

अर्काको घर ढुक्ने पेसा छ आफ्नो । भन्छन् नि अचेल सेक्युरिटी गार्ड । साहुले दिएको तलबले घर खर्चमा फारो गर्दा पनि झारा टार्न पुग्दैन । रोगव्याधिले समाई हाले औषधि खाने कि भात खाने समस्याले गाँज्छ। यस्तो पाराले कोसँग दाह्रा देखाएर बेसाहा खोज्ने मैले। ढुकुवा पेसाबाट आएको पैसाले बुढीको अनुहारमा बुकुवा घस्न पनि पुग्दैन । हातमा चुरा लाउने पैसा दिन नसकेको भनी कुरा काट्दै बस्छे बुढी जहिले । अब भान्साको महङ्गी थपिएपछि मैले कसलाई गएर गुनासो सुनाउनु।

भान्सामा पाक्ने परिकार कटौती गरेको म जैरेलाई एका बिहानै भोक लाग्छ । भोक लागेपछि जङ चल्छ। जङ चलाएर गाली गर्न पनि मिलेन। गाली ग-यो भने भान्सा आफैले सम्हाल्नु पर्छ ।

म सम्झिरहेछु,बिहान उज्यालो नहुँदै भोक लाग्यो भने अनुहारमा कालो रङ चढ्दो हो। भोकले आन्द्रा बटारिएर भान्छामा टेकेपछि भरपेट खान नदिने श्रीमतीलाई आँखा तरेर चिथोर्न मन लाग्दो हो । जसरी पनि सहनु त छँदै छ। चाम्रो भएर होस् वा दाम्रो भएर।

तपाईँले भान्साको समस्या बुझ्नु भएको छ, छैन? अहिले प्रत्येक गृहणीहरूलाई सरकारले परिपत्र गरेको छ। घरका सबैलाई आधा पेट खुवाउनु। भरिपेट खुवाउन सरकारसँग ग्यास छैन। खर्च कटौती गर्नु । खाना थोरै खानु, चाटेर अघाउनु ।

यो अचम्मको सूचना सार्वजनिक भएपछि पाहुनाको चाप घटेको छ। नयाँ बन्न लागेको सरकारले आर्थिक क्रान्ति गर्न लागेको भनेर सबैले ताली पिट्न थालेका छन्। शरीरको वजन घटाउन भोजनमा कटौती गरेको भनेर बिहान बिहानै भ्याङले सुरुवात लगाएर फ्याँफ्याँ गर्दै फ्याङल्याङ फ्याङल्याङ फ्यामेको उकालो कुद्नेहरु ताली पिट्न लागेका छन् ।

सबैभन्दा बढी मार्का खन्चुवाहरूलाई परेको छ। खान बसेपछि दुवै हातमा समातेर अरुले उठाइदिनु पर्नेहरुको चैन अब बेचैन भएको छ। घरमा शत प्रतिशत पाहुना कटौती भएका छन्। भोज भतेरमा मिठो मसिनो पाक्न बन्देज गरिएको छ। खानाजन्य रोगहरू नलाग्नाले औषधि बिक्री ठप्प भएको छ। औषधि व्यवसायीहरू आन्दोलनमा उत्रने चेतावनी दिँदैछन्। क्याँस तिरेर ग्यास नपाएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकी लाइनमै आइपुगेका छन् ।

रातभरि जागा बसी बिहान आधा सिलिन्डर ग्यास साझा बसमा हालेर लन्डठ्याङ लन्ठ्याङ भान्सामा छिरेको जागेश्वरलाई उसकी स्वास्नीले जगल्ट्याएकी जगल्टाइन । ग्याँस किन्न दिएको पैसा गाँजा किनेर गन्जागोल पारेपछि गोलन्जोरको गुमाने कता गुल्टियो आजसम्म पत्तो छैन ।

आधा सिलिन्डर ग्यास पाउने भएपछि अब आधा पेटै खानु पर्ने होला । आधा पेट खाएपछि घरको सामल बच्छ । देशले आयात कम गर्नुपर्छ । आयात कम भएपछि देश समृद्ध हुन्छ। हाम्रो प्रति व्यक्ति आम्दानी ह्वात्तै बढ्छ। विदेश जाने युवाहरूको लर्को रोकिन्छ। हामी फेरि खाद्यान्न निर्यात गर्ने देश बन्न पुग्छौँ ।

आधा पेट खाने नियम बच्चालाई लाग्यो भने कुपोषणको सिकार बन्ला । भर्खर सुत्केरी भएकी सुत्केरीले आधा पेट मात्र खाई भने उसको बच्चाले दुध भरपेट खान पाउला नपाउला । आधा सिलिन्डर ग्यास भनेको आधा भोक हो। आधा गाग्री पानी बोकेर हिँड्दा छचल्किएर आफैलाई भिजाउँछ। आधाले बाधा गर्‍यो भने व्यथा बल्झन्छ । अब आधा होइन साझा गरौं ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
भाँती नमिलेको ताँती

भाँती नमिलेको ताँती

भोलानाथ सुबेदी
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
घण्टा

घण्टा

दिप मंग्राती
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x