साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाँती नमिलेको ताँती

लाइनमा लेख्न सिकेर लाइनमा उभिन आइपुग्छ मान्छे । जन्मदर्ता गर्दा होस् वा नागरिकता बनाउँदा होस्। भतेरमा भोज हसुर्नहोस् वा पास्नीमा उपहार टक्र्याउन होस्। पुरस्कार लिन होस् वा परेड खेल्न होस् ।

Nepal Telecom ad

भलादमी भाेला :

दुई दिनदेखि अस्पतालका डाक्टरलाई भेटी चढाउन बिहानैदेखि आएका जगतबहादुर पुर्पुरोमा हात राखेर पेटीमा थचक्क बसेका भेटिए । पुसको ठिहीमा एकाबिहानै उनलाई देखेपछि मलाई आश्चर्य लाग्यो। “किन हो दाइ यता” मैले प्रश्न सोझ्याएँ । उनी मलाई देखेर झसङ्ग भए । शरीरले दुःख दियो नि । हिजो आउँदा टोकन सकिएकोले आज बिहान झिसमिसेमै अस्पतालको टिकट काउन्टर अगाडि लामबद्ध भएपनि न ढङ्गले न ढाँचाले न भाँतीले न ताँतीले आफ्नो पालो पचास जनाभन्दा पछि परेपछि उभिँदा उभिँदै पिडुला फर्केको र ढाड मर्केको हुनाले उनी पेटीमा थचक्क बसेका रहेछन्। अस्पतालमा कसैलाई चिनेको भए हारगुहार गरिदिन उनले मसँग अनुरोध गरे। अस्पतालका झाडुवाल नै झगडालु हुने हुँदा डाक्टर त कसरी दयालु होलान् र छिट्टै पालो मिलाइदेलान् मलाई मुटुमाथि ढुङ्गा राखेझैँ भयो । विचार गर्छु भनेर म फुत्त फुत्किए त्यहाँबाट ।

जरूवाको पानी करूवामा हाली घटघट पिएर आँत भिजाएपछि उनको थिग्रने हिम्मत आउने थियो। तर यो सहरमा त्यो त सम्झने पानी छम्कने जस्तै भयो । उनको जागिरे पद थिएन जमदार । बाउको जमदार पद उनलाई चिठ्ठा परेकोले सोफामा बसेर केराका कोथा गन्न भ्याउँछन् उनी । हिजो आजको जस्तो जमाना भए उनी गिठ्ठा खोज्ने धुनमा रिठ्ठे भीर पुगेका हुन्थे होलान्।

उनलाई पहिलाको जस्तो खाना हजम हुँदैनथ्यो। झर्काको थालमा हर्पेको चार कर्कली घिउ हालेर बासमती चामलको भात भोजन गर्ने उनी अहिले त्योसँग पारपाचुके गरेर अस्पतालको पेटीमा घ्याक्ला दिएर ढाड सेकाइरहेका छन् । बिहान बेलुका कोदाको खोले कर गरेर पिउने हुनाले उनी आफूलाई अपमानित भएको सम्झेर अस्पताल आएका होलान् भन्ने लागेको छ । उनलाई गाउँमा बसेर अझै धेरै वर्ष चकझक गर्नु थियो।

अन्तरेको घरको गाईले बिहान बेलुकाको एकपाथी दूध दिन्थ्यो त्यसलाई आफ्नो थलामा ल्याएर बाँध्नु थियो । भैरे कामीको गैरी खेतमा मानो मुरी धान फल्थ्यो। त्यसको छोरो विदेश उडाउन पाए त्यो खेत आफ्नो हुन्थ्यो। यी सबै कुरा अस्पतालको लाइनमा भाँती नमिलेको ताँती जसरी सबै बिग्रिएर जाने भए । उनको पिरलो यस्तै थियो।

राजनीतिमा पनि गाउँमा खुट्टो घुमाएका र विभिन्न संस्थामा आफ्नो मान्छे भित्र्याउन सक्ने ल्याकत भएकोले उनी गाउँका ग्रान्ड डिजाइनर नै थिए। गाउँतिरै भएको भए आज दुईतिर हात समातेर थरथर काम्दै ८२ वर्षीय मधेशका ठाकुरले संसद हुन दरखास्त बुझाउने स्थानमा उनको नाम पुग्थ्यो। उनी त भर्खर ५५ मा हिँड्दै गरेको लक्का जवानै भन्दा फरक पर्ने नै थिएन तर के गर्नु रोगले आफ्नो भन्दो रहेनछ। डाक्टरले खाली पेट बोलाउला र फेरि भोलि दोहोर्याएर लाइन बस्नु पर्ला भन्ने पिरलोले ११ बजेसम्म उनी भोकै थिए। ओठ कैलेटी पारेर कालो अनुहार लगाउँदै आफ्नो पालो कुरिरहेका जमदार जगतबहादुर टोकन हेर्दै घुटुक्क थुक निल्दै बसिरहेका देखिन्थे।

उनको मात्र पिरोलो कहाँ हो र ? सबैका आआफ्नै गुनासा सुन्न पाइन्छ,लाइनमा । बैंकमा भौचर भरेर पैसा बुझाउन अफिसमा हाजिर भएर दगुर्दै आएकी पञ्चकली कतिखेर हाकिमको टेबुलमा चिया पुर्‍याउन पुग्ली । हाकिमले कतिचोटि घन्टी बजाएर बोलायो होला उसलाई । घर्राको फोनले घरघर गरेर कतिको शान्ति भङ्ग गरिसक्यो होला यतिबेलासम्म । हतार भएपछि पिसाबले पनि दुःख दिइरहन्छ। लाइन छोडेर जाउँ फेरि पछाडिबाटै बस्नुपर्छ। यस्तै बेला कोही यता धकेल्दै छिर्छ । कोही उता घुस्दै जान्छ। जेष्ठ नागरिकको जेष्ठता पनि कदरै गर्नुप-यो। गर्भवतीको गर्भको पनि गौरव नै गर्नुप-यो। झिसमिसे उज्यालैमा लाइन बस्न आउँदा टन्टलापुर घामले खलखली पसिना छुटाउँछ। भोकले भाउन्न छुटाउँछ ।

हामी जनताले भाँती नमिलेको ताती कहाँ कहाँ बस्नुपर्छ। आहतमा परेकालाई दिने सरकारी राहतमा पनि लाइन बस्नुपर्छ। शिशुलाई दिने बिसिजी र टिटि खोपमा पनि लाइन बस्नुपर्छ। थोपा खुवाउनदेखि पोका बुझाउनसम्म बनी बुझ्नदेखि बलि चढाउनसम्म लाइनमै बस्नुपर्छ। कर्मचारीलाई घुस खुवाउन पनि लाइन बस्नुपर्छ। कुखुरालाई भुस ओछ्याउन पनि लाइन बस्नुपर्छ। मान्छेले लाइन बस्न गर्भाशयबाटै सिकेको हो। त्यही क्रमले जेठो, माइलो, साइलो वा जेठी, माइली साइलीको क्रम निर्धारण भएको हो।

मान्छेको बिहानीको सुरुवात विकार त्याग्नको लागि शौचालयमा लाइनमा हुन्छ। भगवानको आराधनाका लागि मन्दिरमा हुन्छ । घर सानो भए भान्साका लागि लाइन नै लाग्नुपर्छ। कहाँ पर्दैन लाइन । विद्यालयमा होस् वा सडकमा । महलमा होस् वा बजारमा होस् । टोखामा होस् कि टोकियोमा होस् । पोखरामा होस् कि पोल्यान्डमा होस् । आकाशमा होस् कि धरतीमा होस् । आर्यघाटमा होस् कि किरिया घरमा होस् । प्रयोगशालामा होस् कि परीक्षामा होस् । हलभित्र पस्न होस कि जल भित्र पौडन होस्। जहाँ पनि लाइनमै उभिनुप-यो ।

पसलमा एक किलो चिनी किन्न एक घण्टा लाइनमै बस्नुपर्छ। मर्दा पनि लाइनमै चितामा जल्नुपर्छ। जिन्दगीमा लाइनका आआफ्नै प्रवृत्तिहरू छन्। कुनै भाँती मिल्छन् कुनै ताँती मिल्छन् । मिल्दै मिलेनन् भने नानाभाँती मिल्छन् । साथी साथी मिल्छन् राति राति मिल्छन् । जोडिएर मिल्छ न चोइटिएर मिल्छन् । सबै ताँतीमाथि त सैनिकको ताँती नै हो । बिहेमा जन्तीको ताँती मृत्युमा मलामीको ताँती । सबै भाँतीभाँतीका के नमिलेका के मिलेका । लाइनमा लेख्न सिकेर लाइनमा उभिन आइपुग्छ मान्छे । जन्मदर्ता गर्दा होस् वा नागरिकता बनाउँदा होस्। भतेरमा भोज हसुर्नहोस् वा पास्नीमा उपहार टक्र्याउन होस्। पुरस्कार लिन होस् वा परेड खेल्न होस् । ताँती भाँती भाँतीका हुने गर्दछन्।

बिहानै लाइन बसेको विद्यार्थी बेलुका घर फर्कँदा पनि लाइनमै फर्कनुपर्छ। अस्पतालमा टिकट काटेपछि डाक्टर भेट्न लाइनमै उभिनुपर्छ। डाक्टरले परीक्षण सकेपछि जाँच गर्नका लागि पैसा बुझाउन लाइनमै उभिनुपर्छ । औषधि किन्न लाइनमै टेकिनुपर्छ। यसो विचार गर्नुस् त। लाइन त हाम्रो दिनचर्या रहेछ। लाइन बस्नु नपर्ने भए नेपालीले चन्द्रमामा रकेट पुर्‍याउँथ्यो । सगरमाथामा केवल कार झुन्ड्याउँथ्यो । पूर्व पश्चिम रेल कुदाउँथ्यो । दरबारका अटालीमा बसेर ताली बजाउँथ्यो। केही नसके लाइन बिगार्थ्यो, लाइन मिलाउँथ्यो। भाँती नमिलेको ताँती बनाउँथ्यो।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x