हरिशंकर परसाईंअश्लील पुस्तकहरू
त्यस दिन जलाउने कार्यक्रम बन्न सकेन । अनि तेस्रो दिन किताबहरू लिएर भेट्ने निश्चय भयो । तेस्रो दिन पनि कसैले किताब ल्याएन । एउटाले भन्यो, ‘अरे यार, किताब त मेरो ड्याडले भेटाएछन् र उनै बुढा पढ्दै छन् कस्सम !’

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
अश्लील पुस्तकहरूको निकै प्रचार हुँदै छ भनेर सहरभरि हल्ला थियो । अखबारमा समाचार र नागरिकहरूका पर्चामा पनि सडकछेउमा खुल्लमखुल्ला अश्लील किताबहरू बेचिँदै छन् भनेर आउन थाल्यो ।
दशबाह्र जना उत्साही समाज सुधारक युवकहरूले टोली बनाएर नै यस्तो साहित्य जहाँ भेटिन्छ त्यहीँ जफत गरिने छ र जलाएर होली मनाइने छ भनेर घोषणा गरे ।
उनीहरूले एउटा पसलमा छापा हानेर बिसच्चिसवटा त्यस्ता पुस्तक कब्जामा पनि लिए । हरेकका हातमा दुईतीनवटा किताब परे । प्रमुखले भन्यो, ‘आज त अबेर भयो । भोलि साँझ अखबारमा जानकारी दिएर पर्सि कुनै सार्वजनिक स्थानमा यिनलाई जलाऔँला । प्रचार गर्दा अन्यमाथि पनि त असर पर्ला नि ! भोलि साँझ सबै मेरो घरमा आउनू । अहिले म सबै किताब बोकेर घर लैजान सक्दिनँ । बिसपभिच्चसवटा छन् । घरमा बुवा हुनुहुन्छ, काका हुनुहुन्छ । उहाँहरूले देख्नुभयो भने आपत आइपर्छ । प्रत्येकले दुईतीनवटा किताब लुकाएर घर लग र भोलि साँझ लिएर आओ ।’
अर्को दिन साँझ आउन त सबै आए तर किताब कसैले पनि ल्याएन । प्रमुखले भन्यो, ‘खोइ, किताबहरू देओ त म यस बोरामा लुकाएर राख्छु । अनि भोलि जलाउने ठाउँमा बोरै लिएर जाऔँला ।’
किताब त कसैले ल्याएकै थिएन ।
एउटाले भन्यो, ‘भोलि हैन, पर्सि नै जलाऔँला नि । एकपटक पढौँ त सही ।’
अर्काले भन्यो, ‘अझै त हामी पढ्दै छौँ । दुईतिन दिनपछि जलाए पनि हुन्छ नि । आखिर किताब जफत भइसकेका छन् क्यारे !’
त्यस दिन जलाउने कार्यक्रम बन्न सकेन । अनि तेस्रो दिन किताबहरू लिएर भेट्ने निश्चय भयो ।
तेस्रो दिन पनि कसैले किताब ल्याएन ।
एउटाले भन्यो, ‘अरे यार, किताब त मेरो ड्याडले भेटाएछन् र उनै बुढा पढ्दै छन् कस्सम !’
दोस्राले भन्यो, ‘अहिले अङ्कलले पढ्दै हुनुहुन्छ । उहाँले पढेपछि ल्याउँला नि हुन्न ?’
तेस्राले भन्यो, ‘मेरो त भाउजूले पो टिपेर लगिन् यार ! भन्दै थिइन्, दुईतीन दिनमा पढेर फर्काइदिइहाल्छु नि !’
चौथाले भन्यो, ‘के भनूँ यार ! मेरो किताब त छिमेकी काकीले पो म नभएको बेलामा लगिछन् । अब उनले पढिसिध्याएपछि दुईतीन दिनमा जलाउँदा हुन्न ?’
यसरी अश्लील पुस्तकहरू कहिल्यै जलाइएनन् बरु तिनको पठन झन् व्यवस्थित बन्दै गएको छ र हर वर्गले पढेको छ ।
०००
याे लघु व्यङ्ग्य हरिशंकर परसाईंको ‘परसाई रचनावली२’ अन्तर्गत ‘लघु कथाएँ’ खण्डबाट अनुवाद गरिएकाे हाे ।
Subscribe
Login
0 Comments
Oldest






































