साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो लौरो खै ?

मेरो लठ्ठी खै ? कहाँ हालिस् भनेर मलाई लखेटे। पुरेतले लगे भनेर म चिच्याएँ । किन पुरेतलाई दिएको भनेर लात्ताले ढाडमा प्वाक्क हिर्काए। म भुइँमा पछारिएँ । जुरुक्क उठेर बत्ती बालेँ । अम्खोराको पानी पिएँ । निन्द्रा लागेन ।

Nepal Telecom ad

भलादमी भोला :

हाम्रो घरमा चराको चुच्चो भएको लौरो थियो। बुट्टा काटेको सधैँ ट्याक्क, ट्याक्क हजुरबाले टेख्दै हिँड्थे। उठ्नु पर्दा पनि लौरोकै सहारा चाहिन्थ्यो । बस्दा पनि लौरोमा मुन्टो अड्याएर बस्थे। घरी चिउँडोमा टेकाउँथे घरी खुट्टामुनि छिराउँथे । आदतै अचम्मको उनको ।लौरो नभई घरबाट बाहिर समेत निस्कँदैनथे। बेलुका सुत्ने बेला निदालमा सिउरेर सुत्थे। कसैले लौरोको ठाउँ सारिदियो भने एक हप्तासम्म त्यसलाई दपेट्थे । उनले कण्ठ गर्न दिएको रुद्री र चण्डी मुखाग्र भएन भने टाउकामा ट्वाक्क हानेर तेरा जुम्रा मारिदिए भनेर गलल हाँस्थे। बीससम्म दुनोट गर्न लगाउँथे। हजुरबा र लौरो दुबै हाम्रा आदरणीय थिए ।लौरो बोकेर हिँडेपछि हजुरबा आफूलाई जङ्गबहादुर सम्झन्थे। उनी हातका पाँचैवटा औंलामा लौरो मजाले घुमाउँथे।

उनी आफूसँग सबै डराउनुपर्छ भन्ने सोच राख्थे। ढाकरमा नुन बोकेर बाफलको उकालो चढ्दा पनि तोक्मासँगै लौरो साथै हुन्थ्यो उनको । बाटामा भेटेका खिच्चा कुकुरको ढाडमा लौरो नबजारे उनलाई सन्तोष हुँदैनथ्यो। हजुरबाको लौरो मोह देखेर परिवारका सबै आश्चर्यचकित हुन्थे। माझी औंलामा लौरो ठड्याएर लामो समयसम्म नहल्लाई राख्न सक्ने खुबी पनि उनमा थियो। उनका थरीथरी रङ दलेका लौरा थिए। रातो, निलो, पहेलो, सेतो बुट्टेदार । कसैले लौरो माग्यो भने उनी घन्टौ त्यसको अन्तर्वार्ता लिन्थे। उनको अन्तर्वार्तामा उत्तीर्ण नभई कसैले लौरो लैजान पाउँदैनथ्यो। ज्वाईँ र सम्धिलाई अन्तर्वार्ता नलिई माग्ने बित्तिकै लौरो दिन्थे । घँगरुको लौरो उनको प्रिय थियो। गाउँको सभा समारोहमा बिहे, व्रतबन्धमा जाँदा त्यही लौरो प्रयोग हुन्थ्यो। अर्को घोसे मुन्टो भएको लौरो थियो। त्यो लौरो उनी खेतमा पानी लगाउन, गाई, भैंसी चराउन र केटाकेटीलाई तर्साउन प्रयोग गर्थे। अर्को भैँसीका थलामा राखेको बाँसको लौरो थियो ।भैँसीले दुध दिन आनाकानी गरे त्यसैले सुम्ल्याउँथे।

लौरोसँग कस्तो घनिष्टता कस्तो लत । भैँसीका ढाडमा बजाउन होस् वा गोरुलाई सुम्ल्याउन । लुते कुकुरलाई धपाउन होस् वा अटेरी केटाकेटीलाई तर्साउन, उठेकालाई बसाउन होस् वा बसेकालाई उठाउन लौरोकै प्रयोग हुन्थ्यो ।

एक दिन अचानक हजुरबाले माटो खाए। हजुरबाको सेखापछि लौरो दाह्रा र नङ्ग्रा नभएको सिंह जस्तै भयो। लौरोसँग अब कोही पनि डराउन छोड्यो । लौरोले कहिले आँगनमा केटाकेटीलाई अल्झाउँथ्यो। कहिले खुट्टामा ठोकिएर खाटा बसेको घाउ बल्झाउँथ्यो। कसैको आँखा घोच्थ्यो । लौरो सबैको आँखाको कसिङ्गर बन्यो । लौरोले इज्जत पाएन ।कहिले खाटामुनि पुग्यो । कहिले गोठालाको हातमा देखियो। कहिले केटाकेटीले घोडा बनाएर धुलोमा घिसार्दै लगे। जसले जता पुर्‍याए पनि के कसो गरेर हो बास बस्न चाहिँ त्यो घरै आइपुग्थ्यो।

यो सबै देखेका मेरा बाले हजुरबाको बरखीमा पुरेतलाई लौरो दान गरिदिए। दान गर्ने बेला लौरोलाई सफा पारेर धोइयो ।रङ लगाएर चिटिक्क पारियो। पुरेतले लौरोमा आँखा गाडुन भनेर त्यसलाई सिँगारियो। बिदा गर्ने बेला पुरेतको हातमा लौरो थमाइयो। दान गरेको चिज एक हातले दिँदा अर्को हातले थाहा नपाओस् भन्छन् तर हात समातेर दिएपछि हजुरबाले स्वर्गमा लौरो टेके टेकेनन । खबर कसैले पाउन सकेन।

पुरेतले लौरो टेकेर हिँडे मात्र हजुरबाले पाउने हुन् । उनले लौरो टेके नटेकेको कसैले खबर ल्याएन। पुरेत पनि अचेल हाम्रो घरतिर आउन छोडे। एकपल्ट सोध्नु थियो उनलाई । लौरो के गर्नुभयो बाजे ? लौरो घर पुर्‍याउनु भो त हजुर ? पुरेतले पनि आफ्ना पुरेतलाई दान दिए कि ? हजुरबाको लौरो हाम्रो घरबाट हिँडेपछि बेवारिसे भयो होला ।

लौरो घरमा नभएपछि घरको अनुशासन भाँडियो । हामीले चण्डी र रुद्री पढ्न छोड्यौँ । जनै फुकालेर किलामा झुण्ड्याइ दियौँ । धोतीपाटा फेरेर खाना खाने चलन हराएर गयो । बिहान शौचालय जाँदा कानमा जनै भिर्न छोडियो । औसानी हालेर खान बिर्सियो। विवाह, व्रतबन्ध गराउन छोडियो । विधि र विधान मेटिँदै गए। अब लौरो सम्झनामा पनि आउन छोड्यो।

पहिला मास्टरका हातमा लौरो हुन्थ्यो। केटाकेटीहरू मजाले पढ्थे। अहिले मास्टरका हातमा लौरो हुँदैन। दश कक्षामा पढ्ने विद्यार्थी सावाँ अक्षर फुटाउन सक्दैन । न हलो जोतेर काम सघाउँछ न घर सम्हालेर फुर्सदिलो बनाउँछ। त्यसैगरी प्रहरीलाई लौरो नदिने हो भने चोरले प्रहरीलाई कुट्न बेर लाउँदैन। मान्छे अटेरी हुन्छ। घडगडो हुन्छ। म भन्छु, प्रत्येकको हातमा लौरो हुनुपर्छ।

लामो समयपछि एक रात हजुरबा सपनामा आए। हजुरबा उस्तै फुर्तिला थिए। उस्तै उट्पट्याङ थिए। हजुरबाको हातमा लौरो थिएन। लौरो नबोकेका हजुरबा सिंगार गर्न बिर्सेकी बेहुली जस्तै देखेँ मैले।

हजुरबाले आएर मेरो कान निमोठे । गन्जीभित्र हात हालेर जनै खोजे। तेरो जनै खोई? मैले औलो सोझ्याएर किलामा झुन्ड्याएको जनै देखाइदिएँ । उनले एक अम्खोरा पानी मेरो टाउकोमा खन्याइदिए। हातमा रुद्रीको किताब थमाए । जनैको मन्त्र भन्न लगाए। मैले उच्चारण गर्नै सकिन । उनले राताराता आँखा बनाए। धोतीपाटा फेरेर खान सम्झाए । म केही बोल्न सकिन। मनको दुखेसो पोख्न सकिन ।

मेरो लठ्ठी खै ? कहाँ हालिस् भनेर मलाई लखेटे। पुरेतले लगे भनेर म चिच्याएँ । किन पुरेतलाई दिएको भनेर लात्ताले ढाडमा प्वाक्क हिर्काए। म भुइँमा पछारिएँ । जुरुक्क उठेर बत्ती बालेँ । अम्खोराको पानी पिएँ । निन्द्रा लागेन । भित्तामा भएको हजुरबाको धमिलो तस्बिर हेरेर मैले गहभरी आँसु पारेँ। बा तिम्रो लौरो खोज्न म उज्यालो भएपछि हिँड्छु।

म बिहानै खाजा खाएर पुरेतको घर पुगेँ। पुरेतको खुट्टामा निधार पुर्‍याएँ। पुरेत बा हामीले दान दिएको लौरो खोई ? हजुरबाले स्वर्गमा लौरो पाउनुभएन रे। तपाईंले लौरो कहाँ पुर्‍याउनु भो ? उनले अनुहार रातो पारे । हप्काउँदै भने, “दान दिएको वस्तु फिर्ता माग्न आउने तिमी कस्तो जजमान ।” मैले लौरो महानगरपालिकामा मेयर उठ्न लागेको एउटा ठिटोलाई बेचिदिएँ। उतै गएर मागेर लिनु भनेर उनले ढोका ढप्काइदिए।

म न रून सकेँ। न हाँस्न सकेँ। भरे राति सपनामा हजुरबा आए भने मैले के जवाफ दिने ? मैले निर्वाचन आयोगमा मेरा हजुरबाको लौरो काठमाडौँ महानगरपालिकाका मेयरले तीन वर्ष अगाडि जालझेल गरी ल्याएर अहिलेसम्म फिर्ता नदिएकोले उक्त लौरो निजबाट तुरुन्त फिर्ता गरिदिन अनुरोध सहित निर्वाचन आयोगमा पुगेर दर्ता नम्बर ४२० मा उजुरी दर्ता गरेको छु। तपाईँहरुले उक्त लौरो फिर्ता ल्याउनका लागि चर्को स्वरमा हाम्रो लौरो खोई ? भनेर हपार्नु होला। इति सम्वत् चारबिसे दुई साल, ठिही मास, शनिश्चरबार ।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
केशव दाहाल
केशव दाहाल
3 months ago

धेरै राम्रो छ झटाराे

Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
भाँती नमिलेको ताँती

भाँती नमिलेको ताँती

भोलानाथ सुबेदी
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
1
0
Would love your thoughts, please comment.x
()
x