साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमानत जफतपछि : हनुमानेको हकिकत

सडकमा बसेर आकाश हेर्नुको एउटा फाइदा छ, त्यहाँबाट खस्ने डर हुँदैन, मात्र माथि उक्लने सम्भावना हुन्छ । तिम्रो त्यो 'घोक्रो फुटाउने' ऊर्जालाई अब 'पसिना बगाउने' काममा लगाऊ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

परम मित्र ‘हनुमाने’ जी,
(नाम त अरू नै होला, तर हालसालैको परिचय यही नै सुहाउँदो छ !)
घोक्रो र रगत सुकाएर चुनाव हारिएको उपलक्ष्यमा अलिकति नुन-चुक र धेरै सहानुभूति !

प्रिय मित्र,
आरामै छौ भन्न त मेरो जिब्रोले मानिरहेको छैन, तर पनि लोकलाजका लागि सोध्नै पर्‍यो- आरामै छौ त ? हुन त जसको ‘नेता’ नै सडकछाप भयो, उसको ‘चेला’ लाई सोफामा बसेर तातो कफी खाँदै गरेको कल्पना गर्नु भनेको बालुवा पेलेर तेल निकाल्नु जस्तै हो ।
चुनावको त्यो चटारो, तिम्रो त्यो फुकेको गाला र फुट्न लागेको घाँटीको नसा अझै मेरो आँखामा झलझली नाच्दैछ । हिजोसम्म तिमी “हाम्रो नेता : जिउँदो देउता” भन्दै चोकचोकमा कुर्लिरहेका थियौ । तिम्रो त्यो गर्जन सुन्दा लाग्थ्यो, तिम्रो नेताले जितेपछि यो देशको माटोबाट सिधै सुन फल्नेछ र बेरोजगारी भन्ने शब्द शब्दकोशबाटै हराउनेछ । तर आज ? आज तिम्रो अवस्था देख्दा उखान टुक्काको एउटा हरफ याद आउँछ- “न घरको, न घाटको !”

त्यो ‘प्रचण्ड’ भाषण र ‘मृगतृष्णा’ को सपना मलाई अझै सम्झना छ मित्र, तिमीले ती चुनावी सभाहरूमा गरेका भाषणहरू । ओहो ! कस्तो कलात्मक झुट ! कस्तो लालित्यपूर्ण ढाँट ! तिम्रो जिब्रोबाट निस्किएका प्रत्येक शब्दमा यस्तो रस थियो कि लाग्थ्यो- “यदि झुट बोल्ने ओलम्पिक खेल हुन्थ्यो भने, स्वर्ण पदक तिम्रो घाँटीमा झुण्डिने निश्चित थियो ।”

तिमीले भन्यौ, “हाम्रो नेताले जितेपछि खोलामा पानी होइन, दूध बग्नेछ ।” बिचरा सोझा जनता ! उनीहरूले त खोलामा दूध बग्ने आशमा भोट हाल्लान् कि भन्ने सोचेका थियौ, तर जनता त तिमीभन्दा बाठा निस्किए । उनीहरूले खोलाको पानी त सुकाए नै, तिम्रो नेताको ‘जमानत’ समेत सुकाइदिए ।

जुन नेताका लागि तिमीले आफ्नै बाउआमालाई “पुरानो विचारका” भन्दै थर्कायौ, जसका लागि छिमेकीसँग झगडा गर्‍यौ, आज त्यही नेता तिमीलाई चिन्न समेत इन्कार गर्दैछ । उसले त भन्दै होला- “यो मान्छे को हो ? यसले गर्दा नै मेरो भोट काटिएको हो !” देख्यौ त मित्र ? राजनीतिमा ‘बलि दिएको बोको’ कहिल्यै ‘दसैँको राजा’ हुँदैन, ऊ त केवल काटिनका लागि मात्र पालिएको हुन्छ ।

तिम्रो नेताको जमानत जफत एक दुःखद तर हास्यास्पद यथार्थ हो । जमानत जफत ! यो सुन्दा जति पीडादायक छ, विश्लेषण गर्दा त्यति नै हास्यास्पद । जमानत जफत हुनु भनेको चुनाव हार्नु मात्र होइन, यो त जनताले “तपाईंको अनुहार हेर्न पनि हामीलाई मन छैन” भनेर दिएको औपचारिक पत्र हो । तिम्रो नेताले जति भोट पायो, त्यो त सायद तिम्रै घरपरिवार र नेताका नातागोताले झुक्किएर हालेका होलान् । बाँकी त सबै ‘नो भोट’ जस्तै भयो ।

तिमीले त “हावाको लहर” आएको छ भन्थ्यौ, तर त्यो त ‘लु’ रहेछ मित्र, जसले तिम्रो नेताको राजनीतिक करियरलाई नै डढाइदियो । सडकमा हिँड्दा अब तिमीलाई मान्छेले “हेर् त्यो हनुमान” भनेर गिज्याउँदा कस्तो लाग्छ होला ? हिजोसम्म छाती फुलाएर “पावर” को धाक लगाउँदै हिँड्ने तिमी, आज गल्लीका कुना लुकेर हिँड्नुपर्ने अवस्था आउनु, यो भन्दा ठूलो विडम्बना के होला र ?
“हुने हार, दैव नटार । तर नहुने हार, नेताको झुटले नै हो पार !”

नेताको ‘योजना’ र तिम्रो ‘बलिदान’ गहकिलो छ । बिचरा मित्र ! तिमीले त नेताको एउटा सानो ठेक्का पाउने आशमा, वा एउटा सानो पद पाउने लोभमा आफ्नो इमान, विवेक र समय सबै दाउमा लगायौ । नेता त के छ र ? ऊ त फेरि अर्को चुनावमा अर्को पार्टीबाट वा अर्कै नारा लिएर आउला । उसको त सात पुस्तालाई पुग्ने सम्पत्ति कतै न कतै थुप्रिएकै होला । तर तिम्रो के ?

तिम्रो खल्तीमा अहिले न त ‘विजयरथ’ को अबिर छ, न त खल्तीमा ‘चिया खर्च’ । उल्टो, चुनावमा मान्छे ओसार्दा लागेको पेट्रोलको उधारो तिर्न बाँकी नै होला । साहुले बाटोमा देख्दा “खै त बाबु, नेताले जितेपछि दिन्छु भन्थ्यौ, अब कहिले दिन्छौ ?” भन्दा तिम्रो अनुहारको रङ्ग कस्तो हुन्छ होला ?

तिमीले ती भाषणहरूमा भनेका थियौ- “हाम्रो नेता विकासका पर्याय हुन् ।” तर जनताले त उनलाई ‘विनाशका पर्याय’ पो देख्दा रहेछन् । तिमीले उनलाई ‘तारा’ बनाउन खोज्यौ, तर जनताले उनलाई ‘उल्का’ बनाएर जमिनमा बजारे ।

अब के गर्ने त ? अलिकति तीखो काँडा, अलिकति मलम बन्ने कि मित्र ? यो पत्र लेख्दै गर्दा मलाई तिमीप्रति रिस भन्दा बढी दया लागेको छ । तर यो दयाले तिम्रो पेट भरिनेवाला छैन । अब सुन, यथार्थको ऐना हेर ।

तिमीले जुन नेताका लागि आफ्नो ऊर्जा खर्च गर्‍यौ, उसले तिमीलाई एउटा ‘डिस्पोजेबल प्लास्टिक’ को गिलास जस्तै प्रयोग गर्‍यो । पानी खायो र फालिदियो । अब तिमी सडकमा छौ । तर सडक नै अन्त्य होइन । सडकबाट नै नयाँ यात्रा सुरु हुन्छ ।

तिमीसँग एउटा गजबको कला छ- “मान्छेलाई प्रभाव पार्ने कला” । यदि तिमीले त्यही कलालाई झुटो राजनीतिमा नभई कुनै इमानदार काममा लगाएको भए, आज तिम्रो आफ्नै एउटा साम्राज्य हुने थियो । तिमीले अरूको ‘झोला’ बोक्नुको सट्टा आफ्नै ‘झोला’ मा सफलताका कथाहरू भर्न सक्ने थियौ ।

मेरो एउटा सानो सल्लाह छ सक्छौ भने सुन-
अब केही दिन ती “पार्टीका झण्डाहरू” लाई सिरानी मुनि राखेर सुत, जसले तिमीलाई सधैं भ्रमको सपना देखायो ।
त्यो घाँटीलाई अलिकति आराम देऊ, जसले झुटो नारा लगाउँदा-लगाउँदा आफ्नो मौलिकता हराइसकेको छ । अनि ऐनाको अगाडि उभिएर आफैलाई सोध- “के म अरूको खुट्टाको धुलो बन्नका लागि जन्मिएको हुँ ?”

आशावादी संसारको विचरण र नयाँ विहानी खोज्न अब तम्स । मित्र, तिमीलाई लाग्दो होला, सबै सकियो । तर म भन्छु- बल्ल सुरु भयो !
जुन दिन मान्छेले आफ्नो भ्रमको पर्दा च्यात्छ, त्यही दिनबाट ऊ साँचो अर्थमा बाँच्न सुरु गर्छ । तिम्रो नेता हार्नु तिम्रो लागि एउटा “वरदान” हुन सक्छ । यदि उसले जितेको भए, तिमी अझै ५ वर्ष उसको चाकरीमा व्यस्त हुने थियौ र आफ्नो व्यक्तिगत उन्नति शून्य बनाउने थियौ । अहिले तिमी ‘स्वतन्त्र’ छौ । तिम्रो समय तिम्रो हातमा छ ।

संसार धेरै ठूलो छ, मित्र । राजनीतिभन्दा बाहिर पनि एउटा सुन्दर संसार छ, जहाँ मेहनतको फल पाइन्छ, जहाँ कसैको ‘एस म्यान’ बन्नु पर्दैन । तिमीसँग बोल्ने कला छ, मान्छेलाई आकर्षित गर्ने क्षमता छ । यसलाई अब सिर्जनात्मक काममा लगाऊ । एउटा सानो व्यवसाय सुरु गर, वा कुनै सिप सिक । देख्नेछौ, ५ वर्षपछि तिम्रो त्यही नेता तिमीसँग ‘चन्दा’ माग्न तिम्रो ढोकामा आउनेछ । र त्यतिबेला तिमीले उसलाई भन्न सकौ- “म सडकछाप त भएँ, तर तिम्रो जस्तो इमान बेचेर होइन, तिमी जस्तालाई चिन्नका लागि !”

अँ साँच्चै, ती पुराना चुनावी पर्चाहरू के गर्‍यौ ? यदि बाँकी छन् भने, तिनलाई जलाएर आगो नताप, बरु तिनको पछाडि आफ्नो भविष्यको ‘नयाँ योजना’ लेख । किनकि, ती पर्चाहरूले कसैको भविष्य बनाउन नसके पनि तिम्रो योजनाका लागि ‘कागज’ को काम त पक्कै गर्नेछन् ।

अन्त्यमा प्रिय मित्र,
तिमी हाँस, किनकि तिमीले एउटा ठूलो पाठ सिक्यौ । तिमी रोऊ, किनकि तिमीले आफ्नो समय बर्बाद गर्‍यौ । तर अब उठ, किनकि तिमीले अब आफ्नै लागि बाँच्नु छ ।

सडकमा बसेर आकाश हेर्नुको एउटा फाइदा छ, त्यहाँबाट खस्ने डर हुँदैन, मात्र माथि उक्लने सम्भावना हुन्छ । तिम्रो त्यो ‘घोक्रो फुटाउने’ ऊर्जालाई अब ‘पसिना बगाउने’ काममा लगाऊ । विश्वास गर, माटोले कहिल्यै ‘धोका’ दिँदैन, जुन नेताले सजिलै दिन्छ ।
अर्को पटक भेट्दा तिमी कुनै पार्टीको “झोले” होइन, एउटा “सफल मान्छे” को रूपमा भेटिनेछौ भन्ने पूर्ण विश्वासका साथ ।

तिम्रो आफ्नै,
तिम्रो भ्रमलाई सधैं प्रहार गरिरहने एउटा साँचो मित्र ललादन्न अक्षान्त !

०००
२०८२ चैत १४ गते
सिद्धार्थटोल, उदयपुर !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी विधाता

कुर्सी विधाता

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मुसो र लड्डुको लीला

मुसो र लड्डुको लीला

नन्दलाल आचार्य
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x