नन्दलाल आचार्यजय कुर्सी देवा !
हे संसद् भवनका देवता, हामीलाई शक्ति देऊ, पाँच वर्षसम्म कुर्सीमा टाँसिने भक्ति देऊ । नाराज नहुनू जनता, यो त एउटा नाटक हो, हाम्रो लागि सपथ त, सत्ता छिर्ने फाटक हो ।

नन्दलाल आचार्य :
हे कुर्सी महाराज, तिम्रै शरणमा आयौँ हामी,
पाँच वर्षको लाइसेन्स लिन, लामबद्ध भयौँ हामी ।
हातमा रातो किताब छ, मनमा अर्कै धुन,
शपथ त एउटा बहाना हो, भित्र अर्कै खुन !
जय कुर्सी देवा, जय सत्ता देवा !
इस्तरी गरेका दौरा-सुरुवाल, टलक्क टल्किएका कोट,
हिजोसम्म गल्ली चहार्ने, आज गन्छन् भोट ।
ईश्वरको नाम लिँदाखेरि जिब्रो अलि लरबरिन्छ,
जनताको कसम खाँदा किन मन अलि डगमगिन्छ ?
धारा र उपधारा पढ्दा, घाँटी सुकेर आउँछ,
भित्र-भित्रै कसले कुन मन्त्रालय पाउँछ ?
”म निष्ठापूर्वक काम गर्नेछु,” भन्दै हात उठाए,
मनले भन्छ- “खल्ती भर्न त यत्रो दु:ख पाएँ !”
शपथको त्यो हलभित्र क्यामराको लर्को छ,
बाहिर भने बेरोजगार युवाको ठूलै तर्को छ ।
शपथ खाएर निस्कँदा, खुट्टा भुइँमा हुँदैन,
जितेपछि यी नेतालाई, गरिबको आँसुले छुँदैन ।
आज यता भोलि उता, विचित्रको छ खेल,
नमिल्नेका बीचमा पनि जबरजस्ती हुन्छ मेल ।
सपथ खाएको भोलिपल्टै, कुर्सीको छ हानथाप,
जनता भन्छन्- “हामीले फेरि कस्तो पायौँ पाप ?”
जय कुर्सी महाराज, तिम्रो महिमा अपरम्पार,
जसले तिमीलाई ढोग्छ, उसैको छ बेडापार !
हे संसद् भवनका देवता, हामीलाई शक्ति देऊ,
पाँच वर्षसम्म कुर्सीमा टाँसिने भक्ति देऊ ।
नाराज नहुनू जनता, यो त एउटा नाटक हो,
हाम्रो लागि सपथ त, सत्ता छिर्ने फाटक हो ।
जय कुर्सी ! जय भत्ता ! जय सत्ता !
०००
२०८२ चैत ५ गते
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest








































