नन्दलाल आचार्यमौसमी भमरा र जनताको आँगन
थुतुनोमा चिनी घसेर, ओठे भक्ति गाउँछन् ढोगभेटको तमासाले, गाउँ नै बिउँझाउँछन् । तिर्खाएको काकजस्तै, घैँटोभित्र ढुङ्गा हाल्ने रित्तो हातले आकाश छुन, नयाँ नयाँ सपना पाल्ने !

नन्दलाल आचार्य :
पाँच वर्षमा पलाउँछन् यहाँ, नयाँ नयाँ पखेटा
आँगनमा झुल्किन्छन् फेरि, हराएका ती ठिटा ।
आश्वासनको झोली बोकी, सपनाको भारी
भोट मागेर हिँड्छन् अचेल, बेंसीदेखि लेकसम्मै झारी !
हिजोसम्म नदेखिने, आज ‘बा’ र ‘आमै’ भन्ने
धुलो उडाउने चिल्लो गाडी, गरिबकै घर गन्ने ।
थुतुनोमा चिनी घसेर, ओठे भक्ति गाउँछन्
ढोगभेटको तमासाले, गाउँ नै बिउँझाउँछन् ।
तिर्खाएको काकजस्तै, घैँटोभित्र ढुङ्गा हाल्ने
रित्तो हातले आकाश छुन, नयाँ नयाँ सपना पाल्ने !
खल्तीमा छ रेलको टिकट, आँखामा छ पानी जहाज
भाषणमा त सुखी नेपाली, घरमा भने चल्दैन चुल्हो आज ।
चिप्लो बाटो देखाउँछन्, आफ्नै खल्ती भर्नलाई
भर्याङ खोज्छन् जनताको काँध, कुर्सी माथि चढ्नलाई ।
बिरालोले मुसो ढुकेझैँ, ढुक्छन् जनताको औँठा
चुनावपछि तिनै नेता, देखाउँछन् फेरि बुढीऔँठा !
रङ्गीचङ्गी झण्डाभित्र, लुकेको छ स्वार्थको पोको
नबिक्नु है साथी हो फेरि, खाएर मासु र रक्सीको झोकको ।
विवेकको दियो बालौँ, उज्यालोतिर लागौँ
मौसमी यी भमरालाई, बेलैमा चिनौँ र भागौँ !
०००
२०८२ माघ २८ गते ।
सिद्धार्थटोल, उदयपुर
Subscribe
Login
0 Comments
Oldest








































