अमर अधिकारी‘नोटबैंक’ भन्दा ‘भोटबैंक’ खत्रा ! काण्ड कत्राकत्रा !!
समाजमा परिवर्तन आएको छैन र देशको हालत झनपछि झन चौपट छ। यसरी देशका लागि र नागरिकका लागि नोटबैंकभन्दा भोटबैंक खतरा छ, बेलैमा सचेत रहौँ ।

अमर अधिकारी :
आगामी २०८२ फागुन २१ गते संसदीय निर्वाचन हुने भनेर घोषणा गरिएकोमा निर्वाचन हुने नहुने ठेगान छैन। मुलुक अधोगतितिर धकेलिदो अवस्था छ भने जनताले सास्ती पाइरहेका छन् र युवाहरु रोजगारीका लागि जोखिम मोलेर खाडी मुलुकतिर जान बाध्य छन्। त्यस्तै गरी पढेलेखेका युवाहरु अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकहरुमा ओइरिइरहेका छन्। आगामी चुनावमा एउटै दलले बहुमत ल्याओस् र उसले पूरै अवधि सरकार चलाओस् भन्ने आशा गरिएको हुन्छ। कुनै पनि पार्टीको बहुमत नआउँदा झिना मसिना पार्टीका टेकोको भरमा सरकार उभिनुहुँदैन भन्ने आम जनताको आशा हुन्छ।
बैंकका प्रकारः
‘बैंक’ भन्नाले साधारणतया सर्वसाधारणको आम्दानीको केही अंश निक्षेपको रुपमा लिने र उचित व्याज दिने अनि निक्षेपमा संकलित रकम क्षेत्रीयस्तर र राष्ट्रियस्तरका आयोजनाहरुमा लगानी गर्ने संस्था भन्ने बुझिन्छ। नेपालमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा विभाजन गरिएको छ। जुन पब्लिक लिमिटेडको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान छ। पछिल्लो समय सहकारीले पनि ठूलो आकारमा बैंकिङ कारोवार गर्नखोज्दा सहकारीमा गञ्जागोलको अवस्था छ।
‘ब्लडबैंक’- रक्तदानको माध्यमबाट संकलित रक्तकोषलाई अंग्रेजीमा ब्लडबैंक भनिन्छ। उपचाररत कसैको ज्यान बचाउनका लागि तत्काल उपलब्ध गराउने काम ब्लडबैंकले गर्दछ। काठमाडौँका सबैजसो ठूला अस्पतालहरुमा यो सेवा उपलब्ध छ। आरबिसी, प्लाज्मा, प्लेटलेट्स अलग गराएर उपयोगी तुल्याएर मात्र रगत उपलब्ध गराइन्छ। रक्तदान गर्नु उत्कृष्ट धर्म हो भने तत्काल रगतको आवश्यकता पर्नेलाई रगत उपलव्ध गराउने कार्यमा संलग्नको काम पनि उत्कृष्ट धर्म हो। किन कि कसैको ज्यान बचाउनु जस्तो धर्म अरु केही पनि हुनैसक्दैन।
‘भोटबैंक’- मतदाताहरुको एक विशेष समूहलाई भोटबैंक भनिन्छ। यो चलन भारतबाट नेपालले पनि अनुशरण गरिसकेको छ। भोट बैंकमा आवद्धहरुले मोलमोलाइको आधारमा राजनीतिक दलका उम्मेदवारलाई मत दिन्छन् वा त्यो दलले त्यस समूहबाट भोट कुनै पनि हालतमा उसले पाउँछ र त्यसलाई नै भोट बैंकको राजनीति भनिन्छ। कुनै उम्मेदवारलाई निर्धक्कका साथ भोट दिने जत्थाको समूहलाई त्यस दलको भोटबैंक भनिन्छ। ‘भोट बैंक’ यस्ता वफादार मतदाताहरुको समूह हुन्छ जुन चुनावमा एक निश्चित दलको उम्मेदवारका लागि उपयोग गरिन्छ। यसलाई भरोसामाथिको खेल पनि भनिन्छ। ती उम्मेदवार चुनाव जितेर आएपछि भोटबैंक बनेको संस्थाको हितका लागि काम गर्नुपर्ने हुन्छ। तर यसको सबैभन्दा बढी नोक्सान जनताले व्यहोर्नुपर्छ। त्यस्ता संस्था वा समुदायले संकीर्ण सांप्रदायिक राजनीतिक विचारको आधारमाथि मतदान गर्नका लागि प्रलोभन देखाउँछ जुन लोकतन्त्रको सिद्धान्त विपरित हुन्छ वा हानिकारक मानिन्छ।
यसरी भोट बैंक बन्नेहरुमा विशेषगरी आध्यात्मकि वा धार्मिक संस्थाहरु नै बढी हुन्छन्, जसको सिधा सम्बन्ध वा सम्पर्क राजनीतिसँग रहन्छ। सबै आध्यात्मिक गुरु वा बाबा वा स्वामीप्रति यो लेखकको कुनै दुर्भावना छैन। केही महापुरुष बाहेक धेरैजसो बाबा वा गुरु कमाइ खाने भाँडोको रुपमा अध्यात्मसँग जोडिएका छन्। नक्कली अध्यात्ममा जनतामाथि नचाहिँदा भ्रमहरु फैलाइन्छ र बिस्तारै सोझासिधा मान्छेको तन-मन-धन खिचिन्छ। बर्खामा च्याउ झैँ बग्रेल्ती उम्रिएका यस्ता नचाहिँदा आध्यात्मिक संस्थाहरुले साँच्चिकैका आध्यात्मिक संस्थाको खिल्ली उडाइरहेका छन्। आफूलाई भगवानभन्दा माथि रहेको दाबी गर्ने पाखण्डीहरु पनि छन् यहाँ। उनीहरुबाट सिद्धिप्राप्तिको नाममा गरिबलाई झनझन गरिब बनाउने काम भएको पाइन्छ। त्यहाँ लोकतान्त्रिक संस्कार बिल्कुलै हुँदैन, बाबा वा गुरुबाट शिष्य क्रुरताको शिकार पनि हुनुपर्छ, त्यहाँ विवाद र तर्क गर्न पाइँदैन।
विश्वभर छ करोड अनुयायी रहेका भारतका एक गुरुलाई केही वर्षअघि पक्राउ गर्न भारत सरकारलाई निकै तकलिफ भएको थियो। उनको आश्रमभित्र आफ्नै चेलीहरुमाथि यौन शोषण गर्नका लागि बनाइएको विशेष खालको विस्तरा कक्ष पनि रहेछ। उनले आफ्ना शिष्यहरुलाई नपुंशक बनाउने ट्याब्लेट पनि खुवाउथे ता कि शिष्यका सन्तान नभएपछि सम्पत्ति आश्रमलाई दान गर्न बाध्य हुन्थे। अर्को समाचार अनुसार भारतमै एउटा आश्रमभित्र बालिकामाथि बारम्बार बलात्कार हुनेगरेको समाचार पनि आएको थियो। एकपछि अर्को गरेर पाँचवटा गेट खोलेपछि मात्र आश्रम भेटिने रहेछ। यति गोप्यताका साथ बालिकालाई बलात्कार गरिने त्यस्ता अखडा नभेटिएका त कति होलान् कति? यस्ता दुराचारी कार्य नेपालमा पनि भएका छैनन् भन्न सकिन्न।
‘भोटबैंक’ मा हुने ‘ब्रेनवास’ र ‘हिप्नोसिस’ को जालोः
‘ब्रेनवास’ लाई नेपालीमा ‘जबर्जस्ती विचार लाद्ने’ काम भनिन्छ। ब्रेनवासको माध्यमबाट पनि भ्रमको जालमा पारेर तन-मन-धन लुट्नेगरेको पाइन्छ। ब्रेनवास एक मनोवैज्ञानिक प्रक्रिया हो, जसमा कोही व्यक्तिको विचारहरु, विश्वास र व्यवहारलाई जबर्जस्ती या चलाकीका साथ बदलेर उसलाई नियन्त्रित गरिन्छ। यसमा व्यक्तिको पटकपटक एउटै कुरा भनेर, सामाजिक रुपबाट अलग गराएर, डर देखाएर र झुठो जानकारी दिएर प्रभावित गरिन्छ। ता कि सो व्यक्तिले आफ्नो मुल विचार विर्सन्छ। उसलाई परिवार, साथीभाइ र बाहिरको दुनियाँबाट हटाइन्छ। एक विचार वा सन्देश पटकपटक दोहोर्याएर जबर्जस्ती ‘सत्य हो’ भन्न लगाइन्छ। शारीरिक वा मानसिक तनाव दिएर, धम्की दिएर वा असुरक्षाको भावना सिर्जना गराएर मानसिक प्रतिरोधलाई तोडिन्छ। सोच्ने र सम्झिने क्षमतालाई मन्द वा सुस्त गरिन्छ ता कि व्यक्तिले प्रश्न उठाउन नपाओस्।
कुनै धार्मिक समूह, आतंकवादी संगठन वा तानाशाही शासनद्वारा व्यक्तिहरुलाई आफ्नो एजेन्डामा ढाल्नको लागि यो विधि प्रयोग गरिन्छ। आफ्नो पुरानो मानसिक अवस्थालाई छोड्न लगाएर, आफ्नो विचारलाई पालना गर्न लगाइन्छ। ब्रेनवासबाट बचाउनका लागि सतर्क रहेर अटेर गरेर वा नमानेर ब्रेनवासबाट बच्न सकिन्छ। ब्रेनवास जस्तै अर्को खतरनाक प्रक्रिया ‘हिप्नोसिस’ हो। जसलाई नेपालीमा ‘सम्मोहन’ भनिन्छ। सरल भाषामा भन्नुपर्दा हिप्नोसिस भनेको दिमागको त्यो संवेदनशील अवस्था हो। जुन क्षणमा व्यक्तिले आफ्नो निजी चेतना गुमाउछ र अरु कसैको निर्देशनमा पूर्ण निर्भर भएर सोही आदेशअनुसार काम गर्दछ। तन्त्र विधि वा अन्य कुनै तरिकाले साधारण मान्छेको मानसिक अवस्था उथलपुथल बनाइन्छ। निधारमा छोएपछि ऊ बेहोस् हुन्छ, उठेर चिच्याएर रुन थाल्छ। एउटा भेँडा भ्या गर्दा अरु भेँडाहरु पनि भ्या भ्या गर्छन् भने झैँ यस्ता अखडामा फस्नेहरु पनि त्यस्तै व्यवहारका हुन्छन्। गुरु वा बाबाले वर्षौँ पहिलेको आफ्नो सफलताका काल्पनिक घटना बताउने गर्छन्, जुन घटनाको साक्षी कोही पनि हुँदैन र सबै कुरा पत्याउछन् शिष्यहरु।
२०७० देखि २०७५ सम्म म कार्यरत एक सरकारी निकायमा तीनजना अधिकृतबीच कुरा हुनेगर्थ्यो। तीनैजनाका श्रीमतीहरु अलग अलग गुरुहरुको फन्दामा परेपछि घर व्यवहारमा नकारात्मक असर परेको रहेछ। धोकेवाज गुरुहरुले कुरा सकारात्मक खालका गर्ने र विभिन्न बहानामा घरबार बिगार्ने गरेको पनि पाइयो। एकजना आगन्तुक अधिकृतले भनिहाले- “तपाईँकी श्रीमतीले घरपरिवारमा नकारात्मक असर पर्ने गरी कोही गुरुको भक्ति गर्छिन् भने तपाईँ पनि कुनै हिरोइनको फोटो टाँसेर उनको भक्ति गर्नुस्, अनि ठीक हुन्छ!”
दासता वा गुलामीः
उहिल्यैदेखि नाम सुनिएका एक विवादित धार्मिक गुरुलाई ट्वाइलेटको आवश्यकता पर्दैन, किन कि उनको मलमूत्र प्रसादको रुपमा उनकै शिष्यहरुले ग्रहण गर्दछन् भनेर कताकतै उल्लेख छ। एक स्वामीले उनको आश्रमबाट वितरण गरिने प्रसादमा उनको बिर्यको अंश मिसाइएको हुन्छ भनेर पनि समाचार आएको छ। एक आश्रमको पोखरा शिविरमा गुरुद्वारा शिष्यहरुलाई जुठो खुवाइएको, खुट्टामा ढोगाएर दाम असुलेको कुरा यस लेखकलाई थाहा छ। दीक्षाको नाममा दाम, शिविरको नाममा दाम, मनगढन्ते र कपोलकल्पित कुराहरु लेखिएका विभिन्न पुस्तक तथा पत्रिकाहरुबाट दाम, धर्मको आडमा जसरी भए पनि दामैदाम। यो त एउटा दासता वा गुलामीको पाटो हो।
मीठो प्रवचनले लठ्ठिने भक्तहरु त्यहाँ फसेपछि र आँखामा बाक्लो पट्टी लगाइएपछि गुरुले जे जे भन्यो त्यो त्यो गर्न तयार हुनुपर्दछ। नेपालीहरुलाई जतिसुकै ज्ञान बिक्री गरेको भए तापनि उनीहरुको सोच बदलिएको छैन, समाजमा परिवर्तन आएको छैन र देशको हालत झनपछि झन चौपट छ। यसरी देशका लागि र नागरिकका लागि नोटबैंकभन्दा भोटबैंक खतरा छ, बेलैमा सचेत रहौँ ।
हरि ॐ तत्सत् !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest










































